योग केका लागि कोसँग सिक्ने ?

डा. योगी विकासानन्द
मङ्गलबार, १२ चैत २०७५
दोष बराबर
हामीले योगलाई स्थापित गर्न जुन समयमा प्रयत्न गरिरहेका थियौँ, त्यसबेला योगबारे अत्यन्तै कम मानिसलाई मात्र थाहा थियो। तर, अहिले योग गाउँगाउँसम्म पुगिसेकेको छ। स्वास्थ्यका लागि योग गर्नु उपयोगी हुन्छ भन्ने अधिकांशलाई थाहा छ। संख्यात्मक रूपमा हेर्ने हो भने योगसँग सम्बन्धित गतिविधि तीव्र र विस्तारित छन्। योगको उच्च प्रचारप्रसारसँगसँगै अब यसको गुणस्तरीय पक्षमा पनि ध्यान पुर्याउनु जरुरी भइसकेको छ।
योगले जुनजुन रोग निको वा नियन्त्रण हुन्छ भनेर दाबी गरिएको हुन्छ, नियमित योग गर्दा पनि उक्त रोग बीसको उन्नाइस पनि नभएको दाबी गर्नेहरू धेरै भेटिनुबाट अब हामी गुणात्मक पक्षमा केन्द्रित हुनु पर्ने स्पष्ट भएको छ।
योगमार्फत जे ठीक हुन्छ भनेर दाबी गरिएको हुन्छ, उक्त समस्या ठीक नहुनाका पछाडि दुई कारण छन्। पहिलो जसले योग सिकाइरहेको छ, उक्त व्यक्तिको ज्ञान सम्बन्धित समस्यालाई सम्बोधन गर्न सक्ने सामथ्र्यको नहुनु र अर्काे योग गर्नेले सही विधिबाट योग नगर्नु।
कुनै पनि समस्या निम्तनुमा एउटै पक्ष मात्रै पूर्ण जिम्मेवार हुँदैन। दुवै पक्षको ५०–५० प्रतिशत अर्थात् आधा–आधा जिम्मेवारी हुन्छ। उदाहरणका लागि, हामीहरू देशको विकास नहुनुको पछाडि नेतालाई दोष दिइरहेका छौँ। अझ देशका सबै नेता दुर्गुणले भरिएका छन् भन्ने हाम्रो निष्कर्ष छ। तर, ती नेतालाई नेता बनाउने हामी जनता नै हौँ।
हाम्रो समर्थन र मत नपाएको भए ती व्यक्ति नेता नै बन्ने थिएनन्। हो, नेताले देश र जनताप्रति ध्यान नदिएर व्यक्तिगत हित र स्वार्थ मात्र पूर्ति गरे होलान् ? तर, व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुने मानिसलाई विजय गराउने हामी जनता नै हौँ।
नेताले गर्नुपर्ने काम नगरेर गल्ती गरे भने हामी जनताले काम नगर्ने मानिसलाई काम गर्नुपर्ने ठाउँमा पठाएर गल्ती गर्यौँ। यसरी हेर्दा देशको विकास नहुनुमा नेताजत्तिकै दोष हामी जनताको पनि छ। कुनै पनि क्षेत्रमा दुवै पक्षको ५०–५० प्रतिशत दोष नभईकन दुर्घटना निम्तँदैन। आवरणबाट हेर्दा हामीहरू एउटा पक्षलाई दोषी र अर्काे पक्षलाई निर्दाेष वा कम दोषी देख्छौँ। तर, अन्तर्यमा दुवैको समान दोष रहन्छ।
अर्काेतर्फ हामीहरू गल्ती कसले पहिला गरेको हो भनेर अल्झिन्छौँ। तर, यसको कुनै अर्थ हुँदैन। जे हुनु भइसक्यो। जसले गल्ती गरे पनि खराब परिणाम हात लागिसक्यो। आफूले दुःखपीडा भोग्नु परिसक्यो। अब गल्ती कसको पहिला भनेर दोष पहिचानको के अर्थ ?
योगबाट लाभ हुन नसक्नुमा पनि दुवै पक्षको बराबर जिम्मेवारी हुन्छ। सिकाउनेले गल्ती सिकाउनु र आफ्नो समस्या समाधानका लागि कस्तो मानिस योग्य हुन्छ भन्ने पहिचान नगरीकन योग सिक्नु। योग सिकाउनेले गल्ती सिकायो भनेर गुनासो गर्नुको अर्थ छैन।
किनकि, गलत सिकाइले निम्तने समस्याको भागीदार योग सिक्ने मानिस हुन्छ, सिकाउने हुँदैन। त्यसैले अरूको गल्तीमा दोष दिनुभन्दा पनि आफ्नो गल्ती सम्हाल्नु नै बुद्धिमतापूर्ण हुन्छ। अर्काेतर्फ अर्काको गल्ती सामान्यतः सच्याउन सकिन्न। उक्त गल्तीले पर्ने असरबाट आफूलाई बचाउन सकिन्छ। लामखुट्टेलाई नटोक् भन्न सकिन्न। तर, झुल हालेर उसको टोकाइबाट बच्न सकिन्छ।
योगको एकेडेमिक अध्ययन
मैले योग सिक्न खोज्दा नेपालमा योग सिक्ने ठाउँ नै थिएन। जसको कारण योग सिक्नकै लागि भारत जानुपर्यो। भारतमा पनि हिजोआजजस्तो सजिलो थिएन। कयौँ ठाउँ खोज्दै र भौतारिँदै योग सिक्ने अवस्था थियो। मलाई योगासन सिक्नकै लागि छ वर्ष लाग्यो।
विभिन्न गुरुहरू परिवर्तन गर्दै छ वर्षको अथक साधनापश्चात् आफू योग सिकाउन सक्ने भएँ र नेपाल आएर २०४३ सालमा आनन्द योग केन्द्र स्थापना गरेर योग सिकाउने काम सुरु गरेँ। आज पनि त्यही योग, ध्यान र साधनामै काम गरिरहेको छु। २०४३ सालबाट नै जोड्ने हो भने पनि ३१ वर्ष यसै क्षेत्रमा बिताइसकेको छु। यसरी हेर्दा एक जना योग टिचर तयार पार्नको लागि वर्षाैंवर्ष लाग्छ।
पछिल्लो समय भारतीय योग गुरु रामदेवको नेतृत्वमा योग शिक्षकहरूको ‘मास प्रोडक्सन’ सुरु भयो। एक हप्ता वा एक महिना कक्षा दिएर योग शिक्षक वा गुरु उत्पादन गर्ने अवधारणाका कारण योगको गुणात्मक पक्ष संकटमा परिरहेको छ। योगको जागरणका लागि योग शिक्षकहरूको ‘मास प्रोडक्सन’ आवश्यक पनि थियो, तर अब गुणत्मक क्षेत्रमा ध्यान पुर्याउनु जरुरी भइसकेको छ।
योगको उच्चतम माग र प्रयोग भएपछि यसलाई प्राज्ञिक विषयका रूपमा पनि अध्ययन–अध्यापन गराउन थालिएको छ। अब योगमा नै डिप्लोमा, ब्याचलर्स र मास्टर्स गर्न पाइने भएको छ। यस्तो अध्ययन भारतमा सुरु भइसक्यो। हुन त मैले पनि कलेजमा योग पढेको हो। तर, योगासन वा व्यायामभन्दा पनि दर्शनका रूपमा पढिएको हो। अब अहिले त योग थेरापी मात्र अध्ययन गर्न पाइने भएको छ।
एउटा विद्यार्थीले कुनै पनि विषयमा डिप्लोमा वा डिग्री गर्दा चार÷पाँच वर्ष सम्बन्धित विषयकै अध्ययन गरेको हुन्छ। त्यसै गरी योगलाई एकेडेमिक कोर्सका रूपमा अध्ययन–अध्यापन गराउने परिपाटी भएपछि यसको गुणात्मक पक्षमा स्वतः सुधार आउनेछ। यसरी योग सिकेर आउनेमध्ये मानिस योग प्रशिक्षक वा थेरापिस्टका रूपमा बजारमा आउँछ।
मैले बुझेसम्म भारतले योग थेरापिस्टसँग मात्र योग सिक्ने नीतिगत व्यवस्था निर्धारण गर्दै छ। नेपालमा पनि यस्तै प्रावधानको निर्माण गरिनुपर्छ भन्ने प्रस्ताव नेपाल सरकारसमक्ष पुर्याइसकिएको छ।
कोसँग सिक्ने योग ?
सामान्य स्वास्थ्य रक्षाका लागि वा तन्दुरुस्त रहनका लागि जोसँग पनि योग सिक्न सकिन्छ। अझ योग मात्र होइन, दौडन सकिन्छ, जिम वा फिटनेस सेन्टर जान सकिन्छ। तर, जो रोग वा समस्या भएर योग सिक्न वा गर्न चाहान्छ भने उसले योग थेरापिस्टसँग नै योग सिक्नुपर्छ। हप्ता÷पन्ध्र दिन वा छोटो अवधि योग सिकेर योग सिकाइरहेको मानिसँग योग सिक्नु हुँदैन। यस्ता व्यक्तिसँग योग सिक्नु भनेको ‘कच्चा वैद्यको मात्रा, यमपुरीको यात्रा’ जस्तै हो। लाभभन्दा हानि नै हुन्छ।
अहिले सडकसडक र टोलटोलमा योग छ। योग सिकाउनेले आफूलाई योग्य योग शिक्षकको दाबी गर्नु स्वाभाविकै हो। सामान्य मानिस गएर यस्ता ठाउँमा योग सिक्दा खासै ठूलो अनर्थ हुँदैन। जब रोगी मानिस गएर योग सिक्न थाल्छ, तब समस्या उत्पन्न हुन्छ। गलत योग सिकाइका कारण योग गर्दागर्दै मानिसको मृत्युसमेत भएको छ।
उदाहरणका लागि, सामान्य योग अभ्यासहरूमा सास रोक्ने विधि छन्। तर, मुटुको रोग भएको मानिसले सास रोक्नु हुँदैन। यदि यस्तो रोगीलाई सामान्य मानिसलाई योग सिकाए जसरी सास रोक्न लगाइयो भने उसको मृत्यु पनि हुन सक्छ। प्रेसरको रोगीले तल झुकेर गर्ने आसनहरू गर्नु हुँदैन। अगाडि झुकेर गर्ने आसन ढाडको रोगीले गर्नु हुँदैन।
नसा च्यापिएको मानिसलाई कुन योग गराउने भन्ने कुराको निर्धारण मेडिकल डाक्टरको परामर्शमा मात्र गर्न सकिन्छ। अमेरिका– युरोपतिर योग गराउनुभन्दा अगाडि डाक्टरको सल्लाह लिने गरिन्छ। जसबाट बिरामीलाई थप हानि हुँदैन भने रोग निको पार्न सहयोग पुग्छ। स्वास्थ्य जोगाइराख्नका लागि गरिने योग र रोग निको पार्नका लागि गरिने योग पृथक् अवस्था हुन्। स्वास्थ्य जोगाइराख्नका लागि गरिने योग सामान्य योग शिक्षकसँग सिक्न सकिए पनि रोग निको पार्नका लागि गरिने योगका लागि योग थेरापी अध्ययन गरेकै योग थेरापिस्टको आवश्यकता पर्छ।
फिटनेसका लागि गरिने योगका लागि योग टिचर, रोग निको पार्नका लागि गरिने योगका लागि योग थेरापिस्ट र आध्यात्मिक यात्राका लागि गरिने योगका लागि योग गुरु आवश्यक पर्छन्। त्यसैले तपाईं कुन आवश्यकताका लागि योग सिक्दै हुनुहुन्छ, सोहीअनुसार योग सिकाउने मानिस छनोट गर्नुपर्छ। योग टिचर एक÷दुई महिनाको तालिमपश्चात् पनि तयार हुन सक्छ। थेरापिस्टका लागि दुइटा पक्ष छन्।
एकथरी जसले चारपाँच वर्ष योग थेरापी नै पढेर आएका छन्, अर्काेथरी जो वर्षाैंवर्षदेखि परम्परागत रूपमा योग सिक्दै र सिकाउँदै आएका छन् वा अनुभवी छन्। उनीहरू योग थेरापिस्टका रूपमा योग सिकाउन सक्छन्। योगको अन्तिम उद्देश्य भनेको सम्पूर्ण दुःखबाट मुक्ति हो। मुक्ति अर्थात् अध्यात्मसँग सम्बन्धित रहेर योग सिक्ने हो भने तालिम लिएको वा अनुभव भएको गुरु भएर पुग्दैन। जागरुक वा रूपान्तरण भएको गुरुको आवश्यकता पर्छ।
रूपान्तरण भएको गुरु कसरी ठम्याउने भन्ने प्रश्नमा गीताको कृष्णको भनाइलाई लिन सकिन्छ। गीतामा कृष्णले योगः कर्मसु कौशलम् भनेका छन्। अर्थात् योगीको योग, कर्ममै अभिव्यक्त हुन्छ। भित्र घटेको ज्ञान उसको कर्ममा अभिव्यक्त हुनुु नै जागरुक गुरुको पहिचान हो। तर, हामीकहाँ सबै गोलमाल भइरहेको छ। टिचर, थेरापिस्ट र गुरु जसलाई पनि गुरु भनेर सम्बोधन गर्ने गरिन्छ। जसले आममानिसमा भ्रम पैदा हुनु स्वाभाविक हो।
हरेक योग सिक्न चाहने मानिसले आफूले किन योग गर्न चाहेको हो भन्ने धरातलीय यथार्थ बुझ्न जरुरी छ र सोही आधारमा योग सिक्नु र योग सिकाउने मानिसको पहिचान गर्नुपर्छ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७