नेपाली फिल्मका नयाँ मसला

writer

दीपेन्द्र लामा

शुक्रबार, ०८ चैत २०७५


‘पुरानो ढर्रा त्याग्छौं र मसालेदार फिल्म बनाउँदैनौँ’ भन्दै मैदानमा आएका नयाँ पुस्ताका फिल्मकर्मी अहिले स्वयं ‘मसालेदार परिकार’ पस्किँदै छन्। उनीहरू एकखाले मसलाबाट मुक्त त भए, सँगसँगै नयाँ खाले मसलाको स्वादमा फस्दै गए। दर्शकको ‘डिमान्ड’लाई सम्बोधन गर्ने क्रममा उनीहरू नयाँ मसला आविष्कारतिर फसेका हुन्।

हिजोआज नेपाली फिल्ममा कस्ता–कस्ता मसलाको प्रकोप छ ? त्यसलाई बुझ्न पूरै फिल्म हेर्नु पर्दैन, फिल्मको ट्रेलर हेरे पुग्छ। पछिल्ला केही मुख्य मसलाहरूको यहाँ चर्चा गरिएको छ।
 

खर्चिलो लोकगीत

पछिल्लो समय लोकगीत नभएको नेपाली फिल्म सायदै हुन्छ। तर, ठेट लोकगीत होइन, लोकशैलीमा आधारित गीत मान्न सकिन्छ तिनलाई। ती गीतहरू सुन्दा पनि उस्तै–उस्तै लाग्ने हुन्छन्। 

शब्दहरू अलि भड्किला र चुट्किला हुन्छन्। गीतको कोरियोग्राफीमा अलिक ध्यान दिइन्छ। त्यस्ता गीतमा फिल्मभित्रका सबै कलाकार नाच्छन्। लोकेसन चाहिँ रोटेपिङवाला मेलाको छानिन्छ। नत्र कुनै ठाउँलाई निकै तामझामका साथ सजाइन्छ।

एउटै गीतको सेटमा २० लाखभन्दा बढी खर्च गर्न पनि थालिएको छ। कहिलेकाहीँ गीतमा फिल्मका कलाकार मात्र होइन, ‘केमियो’का रूपमा कुनै सेलिब्रिटीलाई पनि नचाइन्छ। जस्तै, ‘जात्रैजात्रा’को ‘माया पिरिम’ गीत। यसमा निश्चल बस्नेत, करिश्मा मानन्धर र सारा सिरपाइलीलाई ‘केमियो’का रूपमा नचाइएको छ।

संगीतकार राजनराज शिवाकोटीको माग यस्तै गीतका कारण बढेको हो। उनले थुप्रै हिट गीत दिइसकेका छन्। गीत हिट हुँदा फिल्मको व्यापारमा फाइदा पुग्ने विश्वास गरिन्छ। तर, यो सधैँ सत्य ठहरिएको छैन। गीत सुपरहिट, फिल्म सुपरफ्लप भएका उदाहरण प्रशस्तै छन्।

‘डबल मिनिङ’ संवाद

पहिले–पहिले नेपाली फिल्ममा शालीन स्वभावका संवाद हुन्थे। अहिले पनि हुन्छन्। तर, शालीन संवादलाई खासै महŒव दिइँदैन। दर्शक लोभ्याउन हिजोआज ‘डबल मिनिङ’ वाला संवाद बोलाउने प्रवृत्ति मौलाएको छ। यस्तो खाले संवादलाई नकारात्मक नै मान्न मिल्दैन। यदि फिल्ममा सान्दर्भिक सुनिन्छ भने त्यो कलात्मक लेखनै हो।

विडम्बना, धेरैजसो संवाद फिल्ममा जबर्जस्ती खाँदिएको महसुस हुन्छ। कथा र तिनका पात्रलाई समेत नसुहाउने संवाद बोल्न लगाइँदा भद्दा वा अश्लील भइदिन्छ। त्यसले फिल्मको सौन्दर्य बिगारिदिन्छ।

फिल्मभित्रको परिवेशलाई न्याय दिने गरी कलात्मक संवाद लेख्ने क्षमता नेपाली लेखकमा खासै छैन। त्यही भएर सेन्सर बोर्डले अनावश्यक दुःख पाइरहेको छ। धेरै फिल्ममा वाक्यपिच्छे संवाद मेटिएको देखिन्छ।

यही हप्ता रिलिज हुन लागेको फिल्म ‘कागजपत्र’को ट्रेलर अहिले चर्चामा छ। त्यसमा पनि द्विअर्थी संवाद छन्। तर, ती परिस्थितिलाई न्याय गर्ने खालका भएकाले भद्दा लाग्दैनन्।

विदेशी लोकेसन

लभस्टोरी फिल्ममा रोमान्टिक गीत हुने भइहाल्यो। तर, रोमान्टिक गीतका लागि सबैले एकैखाले लोकेसन प्रयोग गर्न थालेका छन्। पछिल्लो समय मनाङ गएर गीत खिच्ने होडबाजी नै छ।

‘ए मेरो हजुर २’ ले गत वर्ष ‘कसम हो कसम’ गीत मनाङ पुगेर खिचे। सलिनमान बानियाँ र साम्राज्ञीराज्यलक्ष्मी शाह अभिनीत उक्त गीत लोकप्रिय पनि बन्यो। त्यसपछि त्यहाँ अरू थुप्रै फिल्मका गीतहरूको छायांकन गरियो।
एक समय नेपाली फिल्मका प्रायः रोमान्टिक गीत मुस्ताङमा खिचिन्थ्यो। त्योभन्दा अघि मुडेमा पनि खिचिन्थ्यो। पछि कालिञ्चोकमा खिच्न थालियो।

अलि खर्च गर्न सक्ने टिमले हिजोआज युरोपमै गएर गीत खिच्न थालेका छन्। अनमोल केसी र प्रदीप खड्का अभिनीत फिल्महरूका गीत युरोपमा खिचिएका छन्। अनमोलको ‘कृ’ फिल्मको एउटा गीत बेलायतमा खिचिएको थियो भने भर्खरै ‘ए मेरो हजुर ३’ को गीत अमेरिकामा खिचिएको छ। प्रदीपका फिल्महरू ‘लिली बिली’ र ‘रोज’मा युरोपका दृश्य समेटिएका थिए। त्यसअघि ‘प्रेमगीत २’ मा थाइल्यान्ड पुगेर गीत खिचिएको थियो। विदेशी लोकेसनमा खिच्दैमा फिल्म सफल हुन्छन् भन्न सकिने स्थिति चाहिँ छैन।
 
ड्रोन सट

फिल्म गाउँमा खिचिएको होस् या शहरमा, ड्रोनबाट लिइएको सट अवश्य राखिएको हुन्छ। ड्रोन–सटलाई ट्रेलरमै हाइलाइट गरिएको हुन्छ। सायद त्यस्तो सटले फिल्म भव्य देखिन्छ भन्ने विश्वास सम्बन्धित फिल्मकर्मीमा रहेको हुनुपर्छ।

अहिले प्रदर्शन भइरहेका फिल्म ‘क्याप्टेन’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ सबैमा ड्रोनबाट खिचिएका सटहरू हेर्न पाइन्छ। तीन वटै फिल्ममा केही दृश्यलाई छाडेर ड्रोन–सटहरू खासै अस्वाभाविक लाग्दैनन्। तर, कतिपय फिल्म यस्ता हुन्छन्, जसमा ड्रोन–सटको प्रयोग अस्वाभाविक लाग्छ। ड्रोनको अनावश्यक प्रयोगले दृश्यको संवेदनामा अवरोध ल्याइदिन्छ। 

नेपालमा जस्तो विषयमा फिल्म बनिरहेको छ, त्यस्तो फिल्ममा ड्रोन–सटको आवश्यकता नै छैन। हलिउड र बलिउडमा ड्रोन–सट खासै देखिँदैन। बलिउडमा भन्दा नेपाली फिल्ममा ड्रोन–सट धेरै हेर्न पाइन्छ। बाहिरका फिल्मकर्मीले ड्रोनलाई अत्यावश्यक दृश्यमा मात्र उडाउँछन् भने नेपालमा चाहिँ राम्रो देखिन्छ भन्दै जहाँ पनि उडाइन्छ।

चहकिलो लाइटिङ

लभस्टोरी फिल्म अरूभन्दा चहकिलो हुनु स्वाभाविक हो। यस्तो फिल्ममा ‘कलरफुल फ्रेम’ सुहाउँछ। र, ‘लोकेसन’ पनि स्वच्छ हुँदा आनन्द पैदा हुन्छ।

तर, अचेल लभस्टोरी मात्र होइन, सबै खाले फिल्ममा चहकिलो लाइटिङ गरिएको पाइन्छ। सफा र ‘ग्लसी’ बनाएर खिच्दा नै फिल्म राम्रो हुन्छ भन्ने गलत बुझाइ धेरैजसो फिल्मकर्मीको छ। वास्तवमा यस्तो खाले लाइटिङले कहिलेकाहीँ फिल्मको स्तरलाई बढाउने होइन, घटाउने काम गरिरहेको हुन्छ।

फिल्मको ‘लुक्स’ यथार्थपरक बनाउने हो भने चहकिलो लाइटिङ रोकिनुपर्छ। शहर, गाउँ, इन्डोर, आउटडोर सबैतिर एकैखाले लाइटिङ गरिँदा फिल्मको लुक्स अत्यन्त नाटकीय महसुस हुनपुग्छ। दर्शकले झकिझकाउ लाइट मन पराउँछन् भन्दै कतिपय निर्देशकले जानाजान यस्तै लाइटिङ गराउँछन्, जबकि यथार्थपरक लाइटिङमा रमाउने दर्शक दिनहुँ बढिरहेका छन्।

हास्य कलाकार

हास्य कलाकार भनेर चिनिनेहरू फुर्सदमा छैनन्। सबै जना कुनै न कुनै फिल्ममा व्यस्त छन्। बुद्धि तामाङ दैनिक ज्यालादारीमा अभिनय गर्ने भइसके भन्दा फरक पर्दैन। उनी आज एउटा फिल्म, भोलि अर्को फिल्म गर्दै अभिनय गरिरहेका छन्।

रवीन्द्र झा, राजाराज पौडेल, जयनन्द लामाजस्ता कलाकारको पनि पारिश्रमिक र व्यस्तता दुवै बढेको छ। हरेक फिल्ममा दर्शकलाई हँसाउन उनीहरूलाई परिचालन गरिएको हुन्छ। हुन त फिल्ममा हास्य कलाकार राख्ने चलन नयाँ होइन। 

तर, ‘छक्कापञ्जा’ सिरिजको सफलतापछि सबै फिल्मकर्मीले हास्य कलाकारलाई आफ्ना फिल्ममा ‘कास्ट’ गर्न थालेका हुन्। उनीहरूलाई ट्रेलरमै राम्रो ‘स्पेस’ दिइएको हुन्छ। 
 

तपाईको कमेन्ट