रङसँग जब भाङ मिल्थ्यो

writer

युवराज भट्टराई

बुधबार, ०६ चैत २०७५


ध्रुवचन्द्र गौतम, आख्यानकार

होली रङको पर्व हो। अहिले होलीमा एक दिन मात्र बिदा दिइन्छ। मधेशमा पनि सायद एक दिन मात्रै मनाउने चलन छ। तर, पहिले मधेशमा होली दुई दिन मनाइन्थ्यो। वीरगञ्जमा मधेश र पहाड मूलका मानिस बसोबास गर्थे। उनीहरूले दुवै दिन होली मनाउँथे। 

म २०२० सालतिर काठमाडौँ आएको हुँ। त्यति बेला काठमाडौँमा अहिलेको जस्तो रङ खेल्ने, लोला हान्ने चलन थिएन। अबीरले होली खेलिन्थ्यो। तर, वीरगञ्जमा भने रङ र अबीर दुवैले होली खेल्ने गरिन्थ्यो। रङ नै बढी प्रयोग हुन्थ्यो। दुई दिन मात्र बिदा भए पनि एक साताअघिबाटै होली खेल्न थाल्थ्यौँ। भाङ खाने चलन थियो। बाटोमा आउने–जानेलाई रङ लगाइदिने, पिचकारीमा पानी भरेर भिजाइदिने गथ्र्यौं। त्यतिखेर पित्तल र बासका पिचकारी हुन्थे। आफू पुराना लुगा लगाउँथ्यौँ। अरूले लगाएको नयाँ र सफा लुगामा रङ छ्यापिदिन्थ्यौँ।

होलीका दिन खूब भाङ खाइन्थ्यो। भाङ खाने ठाउँ टोलको चोकमा वा कसैको घरमा हुन्थ्यो, जहाँ मान्छे जम्मा हुन सक्छन्। त्यो ठाउँमा दूध ल्याएर, भाङको पात ल्याएर भाङ बनाइन्थ्यो। त्यसरी खाँदा पैसा तिर्नु पर्दैन्थ्यो। अगाडि नै पैसा उठाइन्थ्यो। हामी त केटाकेटी थियौँ। केटाकेटी भए पनि प्रशस्तै खान पाउँथ्यौँ। भाङ खाएपछि कोही नाच्थे, कोही गाउँथे। खूब नाचगान हुन्थ्यो। 

रङ लगाउनेबाहेक अरूलाई सताउने काम पनि हुन्थ्यो। रमाइलो चकचक हुन्थ्यो। साना साइकलका टायर बाटोमा हिँडनेमाथि फ्याँकेर सर्प भन्दै तर्साउँथ्यौँ। पैसा बाँधेर झुक्याउने खेल पनि हुन्थ्यो। एक वा दुई रुपैयाँको नोटलाई धागोले बाँधेर बाटोमा राखिन्थ्यो। बटुवाले नदेख्ने ठाउँमा लुकेर बस्थ्यौँ। पैसा देखेपछि मान्छे टिप्न खोज्थे। टिप्न खोज्दा पैसा पर सथ्र्यो। वरिपरिका मान्छे हाँसेपछि बटुवाले थाहा पाउँथ्यो र लजाएर भाग्थ्यो। 

मेरो बाल्यकाल बितेको कुमाल टोलमा ठूलो रूख थियो। होलीका दिन त्यो रूखमा गाउँका गन्नेमान्ने मान्छेको नाम लेखी पर्चा टाँसिन्थ्यो। युवादेखि बूढाबूढीसम्म सबैका लागि त्यसमा अनेक कुरा लेखिएको हुन्थ्यो। एक किसिमको मनोरञ्जन हुन्थ्यो र समाचार पनि हुन्थ्यो। ती पर्चाका माथि ‘बुरा ना मानो होली है’ लेखिएको हुन्थ्यो। ठूलठूला पिचकारी बोकेर हिँड्नेहरू पनि थिए। कोही गोजीमा मसला बोकेर हिँड्थे।

महिला–पुरुष भनेर छुट्टाउने चलन थिएन। तर, एकल महिला र मुस्लिम समुदायका मानिसलाई जबर्जस्ती रङ लगाइँदैनथ्यो। आलुका चानामा अनेक लेखेर छाप लगाउने गरिन्थ्यो। पछि बिस्तारै होलीमा विकृति सुरु हुन थाल्यो। रङ, अबीर, पानीसँगै मोबिल प्रयोग हुन थाल्यो। कहिलेकाहीँ झगडा हुन्थे। भाङभन्दा पनि रक्सी खानेहरूले बढी झगडा गर्थे। 

काठमाडौँ आएपछि अबीरको होली खेलियो। लोला पनि हानियो। त्यतिखेर अबीरकै लोला हुन्थे। त्यो लोलाले कसैलाई हानेपछि अबीर झथ्र्यो। अहिले त त्यो लोला पनि फेरिएर बेलुन भएको छ, पानी हान्ने चलन बसेको छ। 

वीरगञ्ज र काठमाडौँ दुवै होलीको अनुभूति छ, मसँग। वीरगञ्जमा पूरै शहर होली खेल्थ्यो। पूरै कुमाल गाउँ होली खेल्थ्यो। एकअर्कालाई मिठाई, मसला बाँड्ने गर्थे। चोक–चोकमा भाङ बाँड्ने चलन थियो। नचिनेको ठाउँमा पनि भाङ खान पाइन्थ्यो। वीरगञ्जमा भाङ हालेको बर्फी पाइन्थ्यो। त्यो पनि खूब खाइयो। 

काठमाडौँ आएपछि भने होली सीमित भयो। आफ्ना साथीभाइसँग मात्र होली खेलियो। त्यो बेला म चाबहिल बस्थेँ। त्यहीँको एउटा पसलमा भाङ हालेको बर्फी पाइन्थ्यो। नगेन्द्रराज शर्मा, धु्रव सापकोटा, विनोद दीक्षित र म काठमाडौँका सडकमा होली खेल्दै हिँड्थ्यौँ। बानेश्वर, चाबहिल, कालिकास्थानतिर डुल्थ्यौँ। पछि–पछि होली झन्–झन् सीमित हुँदै गयो। 

पछिल्लो समय होलीमा रङ खेलेको छैन। होली नखेलेको १० वर्षभन्दा बढी भयो। उमेरले दिँदन भन्ने होइन तर उमेर हुँदा मात्रै यस्ता कुराको मजा हुँदोे रहेछ। अहिले त बाहिर निस्किएर अरूले होली खेलेको पनि हेर्दिनँ। साथीभाइसँग फोनमा  कुराकानी हुन्छ। केही साथीले आफ्नो घरबाट देखिएका दृश्य सुनाउँछन्। फोनमा होलीका रमझम सुनाउँछन्। 


 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि