होलीका मज्जा–नमज्जा

writer

प्रकाश देवकोटा

मङ्गलबार, ०५ चैत २०७५


राज सिग्देल, गायक

होलीमा मज्जाले रङ खेल्न पाइन्छ। लामो समयसम्म भेटघाट नभएका साथीलाई भेट्ने अवसर जुर्छ। रमाइलो गर्न पाइन्छ। होलीको यही पक्ष मन पर्छ। तर, आजभोलि बजारमा रसायन मिसिएका रङ बिक्री हुन्छन्। यस्ता रङले छालालाई हानि पुर्‍याउँछन्। आँखामा असर पार्छन्। रसायन भएका रङ प्रयोग गर्नु चाहिँ होलीको नराम्रो पक्ष हो।

मेलिना राई, गायिका

होलीमा बोलचाल बन्द भएका साथीसँग पनि खुलेर रमाइलो गरिन्छ। जसले गर्दा आत्मीयता बढ्छ। यो यसको राम्रो पक्ष हो। होलीमा भाङ, जाँड–रक्सी खाई होहल्ला गरिनु चाहिँ ठीक होइन। कतिपयले नशामा झगडा गर्ने, नचिनेकालाई पनि जबर्जस्ती रङ लगाइदिने गर्छन्। यसो गरेको मन पर्दैन। 

विल्सनविक्रम राई, अभिनेता

होलीमा आँखा, मन, दिमाग सबै रंगिन हुन्छन्। होलीम पूरै वातावरण नै रंगिन हुन्छ। साथीभाइको जमघटमा भोकप्यास सबै बिर्सिन्छु। रङभन्दा पनि पानीको होली खेल्न मन पराउँछु। होलीले सद्भाव बढाउँछ। त्यसैले मलाई होली असाध्यै मन पर्छ। तर, अचेल होलीमा कुकुर, बिरालोलाई पनि रङ लगाइदिन्छन्। त्यो देख्दा नरमाइलो महसुस हुन्छ। जनावरलाई रङ लगाइदिनाले उनीहरूको कपाल झर्छ। उनको ज्यान पनि जान सक्छ। मान्छेहरूको यो व्यवहार चाहिँ मन पर्दैन। 

आस्था राउत, गायिका

दुःख भुलेर एकापसमा खुशी साट्ने पर्व हो, होली। भेट नभएका साथीसँग यस दिन भेट हुन्छ। यो पक्ष राम्रो लाग्छ हो। जबर्जस्ती रङ दल्ने, पानी छ्याप्ने काम चाहिँ ठीक होइन। होलीमा फोहोर पानी प्रयोग गरेको पनि मन पर्दैन। 

विपिन कार्की, कलाकार

होलीमा माया–प्रेम, सद्भावको पर्व हो। यही यसको विशेष गुण हो र राम्रो पक्ष पनि। तर, जबर्जस्ती अरूको इच्छाविपरीत रङ लगाइनु, रक्सी खाएर झैझगडा गर्नु, होहल्ला मच्चाउनु राम्रो होइन।

हिरा बिजुली नेपाली, कलाकार

होलीले दुःख पनि रंगिन बनाई सुखमा बदलिदिन्छ। हरेकको जीवनमा खुशी ल्याउँछ। शत्रु पनि मित्र बन्छ। यही होलीको विशेषता हो। तर, होली हो भन्दै जथाभावी लोला हान्ने काम मन पर्दैन। 

सुनीता दुलाल, लोकगायिका

होलीको दिन साथीसंगीलाई निर्धक्क भएर रङ दल्न पाइन्छ। होली भन्नासाथ त्यो समय नै रंगिन लाग्छ। तर, हिलो, फोहर पानीका लोला हान्ने गतिविधि मनै पर्दैन। यस्ता काम गर्नु होली पर्वलाई बदनाम गर्नु हो। 

रामचन्द्र काफ्ले, गायक    

होली भन्नासाथ मनै प्रफुल्ल भएर आउँछ। साथीभाइसँग सुमधुर सम्बन्ध कायम राख्न यो चाडले सहयोग गर्छ। होलीमा धेरै महिलालाई निशाना बनाएर लोला हान्ने, अपमान गर्ने काम गरेको मन पर्दैन। यो त रमाइलो गर्ने पर्व हो। कसैलाई हेपेर दुःखी बनाउन पाइँदैन। 

गजित विष्ट, अभिनेता 

होलीले मनमा कुण्ठिएका वेदनालाई भुलेर अघि बढ्न सहयोग गर्छ। होलीले रङ लिएर आउँछ र जीवन रंगिन बनाएर जान्छ। यो नै यसको मलाई मन पर्ने पक्ष हो। तर, होली आउनुअघि नै मान्छेलाई बाटा–बाटामा पानी छयाप्ने काम चाहिँ ठीक लाग्दैन। यो त संस्कारमा बसेर मनाउने पर्व हो।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि