पर्यटकसँग होली

writer

विकास राेकामगर

मङ्गलबार, ०५ चैत २०७५


पोखरा : होलीका लागि तम्तयार छ, पोखरा। आन्तरिक र बाह्य पर्यटकलाई रङमा रंग्याउन  पोखरामा विभिन्न कार्यक्रमको तयारी भइरहेको छ। अघिल्ला वर्षझैँ विदेशी तथा स्वदेशी पर्यटकलाई खानासँगै रङको स्वाद चखाउन होटल तथा रेस्टुरेन्टका आ–आफ्नै योजना छन्। 

पोखरामा हरेक वर्ष होली भव्य हुने गर्छ। होली विशेष कार्यक्रममा विदेशीले फेस पेन्ट, रङ तथा पानीमा छ्यापाछ्याप गर्ने दृश्य रमाइला लाग्छन्। हातमा अबीरका पोका बोकेर विदेशीसमेत नेपालीसँगै बाटोमा होली खेलिरहेको यहाँ देख्न सकिन्छ। 

विदेशीलाई नेपाली रङसँग भिज्न रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेबान) पोखराले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। वर्षैपिच्छे रेबानले बाजागाजासहित र्‍यालीको आयोजना गरेर पर्यटकको ध्यान आकर्षित गर्दै आएको छ। यसवर्ष पनि रेबान उही क्रम दोहोर्‍याउने तयारीमा छ। होलीका दिन रेबानले विदेशी पर्यटकसँग नेपाली रङ सँगसँगै आत्मीयता साटासाट गर्नेछ।

संस्थाका महासचिव गणेशबहादुर थापा रेबानको उक्त कार्यक्रममले धेरै विदेशी पर्यटकलाई लोभ्याएको बताउँछन्। ‘पोखरा आएका पर्यटकले रुचिअनुसार होलीमा सहभागी हुने गर्छन्,’ थापाले भने, ‘उनीहरूले पनि नेपाली जत्तिकै मजा लिइरहेका हुन्छन्।’ 

पोखरामा विदेशी पर्यटक भिœयाउनमा सहयोग पुर्‍याउन र उनीहरूलाई नेपाली संस्कृतिबारे जानकारी दिन प्रत्येक वर्ष कार्यक्रम गर्दै आएको थापा बताउँछन्। ‘पर्यटकलाई टीका लगाएर र्‍यालीमा ल्याउँछौँ,’ उनले भने, ‘यस पटक पनि उल्लेख्य पर्यटकको उपस्थिति रहने अपेक्षा गरेका छौँ।’ 

लेकसाइड क्याम्पिङ चौरमा पोखरा सांगीतिक कलाकार संघले होलीमा रमाउँदै संगीतमा जम्न रुचाउनेलाई लक्षित गरी ‘पोखरा होली म्युजिक फेस्टिबल’ कार्यक्रम आयोजना गर्दै छ। कार्यक्रममा पोखराका नयाँ तथा पुराना ब्यान्ड र कलाकारको प्रस्तुति रहने गायक तथा कार्यक्रमका प्रचार–प्रसार समितिका संयोजक विनोद बानियाँ बताउँछन्।

‘होलीमा धेरैलाई रमाइलो गर्ने सोच हुन्छ,’ उनले भने, ‘मान्छेहरूको त्यही इच्छालाई पूरा गर्न कार्यक्रम गर्न लागेका हौँ। कार्यक्रममा विदेशी पर्यटकको पनि उपस्थिति रहने विश्वास गरेका छौँ।’ कार्यक्रममा ‘कन्दरा’, ‘डिमोर्चा’, ‘देउराली’, ‘लेकाली’ लगायत ब्यान्ड, विनोद बानियाँ, भाइ गुरुङ, प्राप्ति तुलाचन, आनन्दराज वज्राचार्य, सागर साहलगायत कलाकारले प्रस्तुति दिने बानियाँ बताउँछन्। 

पोखरा नदीपुर, भलिबल ग्राउन्डमा ‘अनुप्रास्थ’ ब्यान्डले एकल प्रस्तुति दिँदै छ। पोखरामा विभिन्न जिल्लाबाट आएका समाज समूह पनि भव्य होली मनाउने तरखरमा छन्। समाजका सदस्य कोही होली कै दिन पिकनिकको तयारी गर्दै छन्, त कोही विभिन्न प्रतियोगिताको तयारी गर्दै छन्। 

पोखराको टीका रिसोर्टमा बद्री पंगेनी र लक्ष्मी बानियाँले प्रस्तुति दिँदै छन्। लेकसाइडका प्रायः होटल तथा रेस्टुरेन्ट विभिन्न डिजेइङ योजना बनाइरहेका छन्। उनीहरूले होलीको अवसरमा विभिन्न छुट तथा उपहार योजना ल्याएका छन्। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि