मिथिलामा ‘फगुनहट’

writer

मनिका झा

मङ्गलबार, ०५ चैत २०७५


जनकपुरधाम  

कोन गाछ तर ढोलक बाजे 
कोन गाछ मन्जिर,
कोन गाछ तर होली खेले रामलखन दोउ वीर जोगिरा सरररर...

मिथिलामा फगुवा अर्थात् होली लागेपछि चारैतिर सुनिने जोगिरा हो यो। मिथिलाञ्चलमा होलीलाई निकै उत्साह, उमंग र उल्लासका साथ मनाइन्छ। होलीको रङ फागुन महिना लागेदेखि नै चढ्न थाल्छ। ठेट भाषामा होली लाग्नुलाई ‘फगुनहट’ पनि भनिन्छ। 

हुन त होली मनाउने दिन फागु पूर्णिमा नै हो। तर, मिथिलाको होली साता पूर्वदेखि नै सुरु हुन्छ। १५ दिवसीय मिथिला मध्यमा परिक्रमाअन्तर्गत महोत्तरीको कञ्चनवनमा परिक्रमा यात्रीले होली मनाएपछि मिथिलामा विधिवत् होली प्रारम्भ हुन्छ। कञ्चनवनमा त्रेता युगमा रामसीताले होली खेलेको किम्वदन्ती छ। रामसीताले खेलेको होलीको रङकै प्रभावका कारण आज पनि कञ्चनवनको माटो रातो भएको विश्वास छ।  

कञ्चनवनमा इच्छावती गंगा र वीरजा गंगाको संगमस्थल छ। त्यहाँ रामसीताले होली उत्सव मनाएको स्मरणमा होली समारोहको आयोजना गरी परिक्रमा यात्रीहरूले विधिवत होली सुरु गर्छन्। 

परिक्रमा यात्रीहरूले कञ्चनवन पुगेर होलीको शुभकामना आदान–प्रदान गर्छन्। मठ–मन्दिरबाट निस्केको डोलामा संतमहन्थले होली आयोजना गर्छन्। अबीरले कञ्चनवन रंगिन्छ। मध्यमा परिक्रमाको आठौँ पडाव स्थल कञ्चनवनमा होली खेलिएपछि मिथिलावासीले होली मनाउन थाल्छन्। 

१५ दिवसीय परिक्रमाका यात्री विभिन्न धार्मिक स्थलको परिक्रमा गरी फागु पूर्णिमाका दिन जनकपुर आइपुग्छन्। पूर्णिमाको बिहानै जनकपुरमा अन्तरगृह परिक्रमा गरिन्छ। होलीको पूर्वसन्ध्यामा होलिका दहन गरिन्छ। जसलाई ‘सम्मद जलाउनु’ पनि भनिन्छ। होलिका दहन र अन्तरगृह परिक्रमा सम्पन्न भएपछि होली मनाइन्छ।

फगुनहट सुरु भएपछि कसैको विवाह हुँदा, व्रतबन्ध हुँदा वा शुभकार्य हुँदा त्यहाँ रङ–अबीर खेल्ने गरिन्छ। घरबाट शुभकार्यका लागि निस्किँदा रङको टीका लगाएर पठाइन्छ। होलीमा विभिन्न समारोह र सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्। जनकपुरको होली अझ विशेष हुन्छ। यहाँ विभिन्न संघसंस्थाले होली मिलन समारोह  गर्छन्। 

जोगिरा सरररर...
शिव मठ पर राम खेलैया होली, 
शिव मठ पर,
किनका के हात कनक पिचकारी,
किनका हात अबीर झोरी हो...

मिथिलामा फगुवा चढेको आभास होली लोकगीतले नै गराउँछ। जोगिराको आफ्नै धुन हुन्छ। ढोल, तासा, हार्मोनियमलगायतमा मिथिलावासी झुम्छन्। होलैयाले गाउँ–गाउँमा समूह बनाएर जोगिरा गाउने गर्छन्। जोगिरामा विशेष गरी भगवान्को गाथा, तिनले होली खेलेको सन्दर्भको वर्णन गरिन्छ। 

जोगिरा हास्यव्यंग्यमा पनि आधारित हुन्छ। यसमा महिला–पुरुषको मनोरम सम्बन्ध, उनीहरूको प्रेमबारे समेत गीत बनाएर गाइन्छ। त्यसै गरी परिवारमा मजाकको नातालाई विशेष रूपमा जोगिरामा उल्लेख गरी गीत गाइन्छ। पछिल्लो समय जोगिरा गाउँहरूबाट लोप हुन थालेको छ। जोगिरा गाउने नयाँ पुस्ताको अभावले गर्दा यसको संरक्षणमा समस्या आएको त्रिभुवन विश्वविद्यालयका मैथिली विभागका पूर्वप्रमुख परमेश्वर कापडी बताउँछन्। ‘जोगिराको ठाउँमा अश्लील गीत गाउँमा बजाउन थालिएको छ,’ उनी भन्छन्, ‘यस लोकसंस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु र यसको महत्त्वलाई उजागर गर्नु निकै आवश्यक छ।’ 

होलीका विशेष पकवान

होलीको आगमन भएको सन्देश मिथिलाका विशेष पकवानले पनि दिन्छन्। फागुन लागेपछि अधिकांश घरमा शुभकार्यको बेला मैदामा चिनी, दूध र केरा मिसाई बनाइने गुलियो पुरी पकाइन्छ। जसलाई ‘पुवा’ भनिन्छ। चामलको पिठोमा सुक्खा दाल राखेर बनाइने पुरी, खीर र दहीबडा होलीका विशेष परिकार हुन्। इमलीको चटनीको स्वाद पनि होलीमा चाख्न पाइन्छ। 

महामूर्ख सम्मेलन

जनकपुरमा होली आउनुसँगै महामूर्ख सम्मेलनको तयारी तीव्र हुन्छ। मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा २०५० सालमा महामूर्ख सम्मेलनको सुरुवात गरिएको थियो। मिथिला कला संस्कृतिको संरक्षण संवद्र्धनका लागि काम गर्ने यस संस्थाले सो बेला कविता गोष्ठी आयोजना गरी सम्मेलन सुरु गर्यो‍। होलीका हास्यव्यंग्य कविता सम्मेलनमा भनिन्थे।

तर, बिस्तारै यो सम्मेलनको स्वरूप बदलियो। २५ वर्षको अवधिमा यो सम्मेलन जनकपुरमा होलीको पर्यायवाची नै बनेको छ। मिनापले दुई दिवसीय होली महोत्सव आयोजना गर्न थालेपछि पहिलो दिन जोगिरा गायन प्रतियोगिता र दोस्रो दिन महामूर्ख सम्मेलन आयोजना हुन थालेको छ। 

होलीका परम्परागत, मौलिक गीत संरक्षण गर्ने उद्देश्यले गाउँ–गाउँबाट जोगिरा गाउने समूह बोलाई प्रतियोगिता गरिन्छ। प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो हुनेलाई पुरस्कार र सम्मानपत्र दिइने मिनापका अध्यक्ष परमेश झा बताउँछन्। ‘मिथिलामा होलीको वास्तविक मौलिकतालाई जोगाउन होली महोत्सव मनाउन थालिएको हो,’ उनी भन्छन्, ‘यस महोत्सवले जोगिरा गाउने लोकगायकमा उत्साह थपेको छ। गाउँघरमा लुकेको लोककला र संस्कृतिलाई बाहिर ल्याउने सानो प्रयास गरेका छौँ।’ 

महामूर्ख सम्मेलनमा हास्यव्यंग्यका कविता, जोगिरा सुनाउने गरिन्छ। देशको शासन व्यवस्था, प्रशासनिक अवस्था, समसामयिक विषयमा व्यंग्यात्मक प्रहार कविले गर्ने गर्छन्। महामूर्ख सम्मेलनको सुरुवात मिनापले गरे पनि अहिले मधेसका विभिन्न जिल्लामा यो सम्मेलन मनाउन थालिएको छ। 

सम्मेलनमा सत्ता र समाजप्रति व्यंग्य गर्दै विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरेका ११ जनालाई महामूर्खका साथै अन्य मूर्खसम्बन्धी मानपदवी दिने गरिन्छ। भाषा संस्कृति, राजनीति, सामाजिक क्षेत्र वा प्रशासनिक क्षेत्रमा उत्कृष्ट काम गरेका व्यक्तिलाई महामूर्खको व्यंग्यात्मक सम्मान प्रदान गरिने चलन छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि