‘होलीमा केटीको कुटाइ खाएँ’

writer

मेनुका कोइराला

मङ्गलबार, ०५ चैत २०७५


किरण केसी, हास्यकलाकार ।

पहिलाका होली अहिलेको भन्दा निकै निकै फरक हुन्थ्यो। स्कुल पढ्दाताकाको होली खूब रमाइलो हुन्थ्यो। साथीभाइसँग एकदमै मस्ती गरिन्थ्यो। होली आउन एक साताअघिदेखि प्लान बनाउन थाल्थ्यो। हप्तैभरि होली मनाइन्थ्यो। स्कुलले पनि एक हप्ता बिदा दिन्थ्यो।

पानीभन्दा रङकै होली बढी खेलिन्थ्यो। अहिलेजस्तो प्लास्टिकमा पानी हालेर लोला हान्ने चलन थिएन। त्यतिखेर त स–साना बेलुन पाइन्थे। त्यसमा पानी हाल्नु एकदमै झन्झटिलो हुन्थ्यो। त्यसैले बाल्टिनमा पानी भरेर जगले अरूमाथि पानी छ्याप्थ्यो। अहिलेको जस्तो पिचकारी त्यतिबेला हुन्थेन। बिहानदेखि बाल्टिनमा पानी भरेर राख्थ्यौँ। साथीभाइ एक ठाउँमा जम्मा भई भरेको पानीले एकअर्कालाई भिजाउँथ्यौँ। 

‘पानी धेरै सक्काइस्’ भनेर आमाको गाली पनि खाइन्थ्यो। अहिलेका जस्ता थरी–थरी रङ हाम्रो पालामा पाइँदैन थियो। अबीर र केसरीका प्याकेट बोकेर टोलभरिका केटासँग घुम्ने गर्थें। स्कुलका साथीले नथाहा पाउने गरी उनीहरूको गालामा रङ दल्थेँ। पछाडिबाट ढाडमा पानी हालेर भिजाइदिन्थेँ। होलीको मौका पारेर केटीहरूलाई पनि सताउने गर्थें। तर, मैले पछि केटीहरूलाई सताउन छोडेँ। कुरा कक्षा सातमा पढ्दाताकाको हो।

एक पटक केटाहरूको ग्याङले स्कुलबाट फर्किरहेकी एउटी केटीलाई पानी भरेको बेलुनले हानेर निथु्रक्क बनाएका थिए। केटी केही बोल्न सकिनन्। केटाहरूलाई गाली गर्नुको साटो रुन थालिन्। म परबाट हेरिहेको थिएँ। उनलाई रोएको देख्न नसकेर मैले केटाहरूलाई गाली गरेँ। उनीहरूले उल्टै होली त हो भनेर मलाई पनि भिजाइदिए। त्यस दिनदेखि मैले होलीमा कसैलाई कर गरेर रङ दल्ने गरेको छैन। 

हामी स्कुल पढ्दा अहिलेको जस्तो अनुहारभरि मोबिल दल्ने, कालो रङ दलेर चिन्नै नसक्ने भएर केटीहरूलाई जिस्काउने चलन थिएन। केटीलाई होलीको रङ दल्नलाई एकदमै आँट जुटाउनुपथ्र्यो। केटीको दाजुभाइले देखे भने कराउने हुन् कि भन्ने डर हुन्थ्यो। एक पटक केटीको गालामा रङ दल्न जाँदा मैले केटीको हातबाट कुटाइ खाएको छु। साथीहरूको लहलहैमा भाङ पनि खाएको छु। भाङ खाएपछि घरमा निकै गाली खानुपर्यो‍। त्यो दिनदेखि आजसम्म भाङ छोएको छैन। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि