‘सभ्य पाराले मनाउनुपर्छ होली'

writer

मेनुका कोइराला

मङ्गलबार, ०५ चैत २०७५


काठमाडौँ, चाबहिलस्थित विनायक सिद्घ कलेजको क्यान्टिनमा भावना घले, माया घले, निङ्वा लिम्बू, निर्जरा श्रेष्ठ, उर्मिला राउत, मनीष उप्रेती, अर्जुन कट्टेल गफिँदै थिए। उनीहरू बीबीएस पहिलो वर्षका विद्यार्थी हुन्। 


अर्जुनः होली लाग्यो त, साथीहरू। के छ तिमीहरूको प्लान ? 

मायाः गत वर्ष खासै होली खेलिनँ। यस वर्ष चाहिँ मज्जाले खेल्ने सोच छ। 

ङ्वाः कलेजमा नै साथीहरूसँग रमाइलो गरे मात्र हो। वसन्तपुरतिर म त जादिनँ। 

निर्जराः वसन्तपुर त म पनि जान्नँ। घरबाट पनि पठाउनुहुन्न। 

मनीषः वसन्तपुरसँग किन एलर्जी होला केटीहरूलाई। त्यहीँ त हुन्छ रमाइलो। 

अर्जुनः हाम्रो झापातिर होली एकदमै रमाइलो हुन्छ। यो वर्ष तिमीहरूसँग काठमाडौँमा होली मनाउँला भनेको नजाने कुरा गर्छन्, झुर हुने भइहाल्यो नि ! 

उर्मिलाः केटाहरूलाई त रमाइलो भइहाल्छ नि ! उनीहरूले केटी जिस्काउन पाउँछन्। रङ लगाउन पाउँछन्। त्यस्तो हूलमूूलमा म त जान्नँ। 

भावनाः तिमीहरू वसन्तपुरको के कुरा गर्छौ, हिजो मलाई बाटोमा सानो फुच्चेले झण्डै भिजाइदिएको। फुच्चे आफू मात्र हो र, मलाई देखेपछि उसको ग्याङ नै लोला हान्न खोजिरहेको थियो। झपारेपछि त्यहाँबाट भागे तिनीहरू। 

उर्मिलाः हिजो घर फर्किदा म पनि बाटोमा भिज्दै गाको। बच्चाहरूलाई नगर  भन्दाभन्दै लोला हानेर भागिहाले। 

मनीषः तिमीहरूलाई राम्रो देखेर हानेका होलान् लोला। खै हामीलाई कसैले एक थोपा पानी हाल्ने आँट गर्दैन। 

अर्जुनः केटीहरूले गाली गरेको पनि माया जस्तो लाग्छ केटाहरूलाई। अनि, नगर भन्दा कसले मान्छ ? अलि मज्जाले थर्काउनुपर्छ बल्ल पो मान्छन् त। 

मनीषः हाम्रो झापातिर होलीमा भाङ, गाँजा खान्छन्। होलीमा बबाल रमाइलो हुन्छ। 

अर्जुनः काठमाडौँमा पनि त्यस्तै हो। खानेहरूले लागुपदार्थ खाएर रमाइलो गर्छन्। होलीका दिन विभिन्न कार्यक्रम हुन्छन्। कार्यक्रममा नाच्नेगाउने गरिन्छ। 

भावनाः होलीमा गाँजा पनि खान्छन् ? 

निर्जराः खान्छन् नि ! केटाहरू गाँजा, रक्सी खाएर होली खेल्छन्। त्यसैले त झगडा पर्ने गर्छ। 

मायाः सभ्य पाराले होली खेल्ने हो भने रमाइलो हुन्छ तर आजकल होलीमा विकृति भित्रिएको छ। 

निर्जराः आजकल लोला हान्न त निकै कम भएको छ। प्रहरीले सभ्य तरिकाले होली मनाउने, कसैको इच्छाविपरीत रङ नलगाउने सूचना जारी गरेको छ। लागुपदार्थ खाएर होली खेल्नेलाई प्रहरीले कारबाही गर्नेछ।

निङ्वाः कुरा राम्रो हो तर व्यवहारमा लागू कमै हुन्छ। तर, हामी आफैँ पनि सचेत हुनुपर्छ। 

मनीषः कुरा एकदमै ठीक हो। हामी आफैँ सचेत हुनुपर्छ। अरूले हाम्रो सुरक्षा गर्ला भन्नुभन्दा पनि हामी आफैँले कसरी सुरक्षित हुन सकिन्छ त्यो बाटो रोज्नुपर्छ। 

उर्मिलाः होली रमाइलो पर्व हो तर आजकल विकृति बढ्दो छ। साथीभाइसँग खुशी साटासाट गर्नुभन्दा जाँडरक्सी खाने होहल्ला गर्नेतिर समाज अगाडि बढिरहेको छ। 

मनीषः अहिले त होलीमा कन्सर्ट र ग्याङ फाइटबाहेक केही हुँदैन। 

अर्जुनः तिमीले ग्याङ फाइट भनेपछि याद आयो, हिजो कपनमा होलीमा कन्सर्ट गर्ने विषयमा नराम्रो झगडा परेछ। आफ्नो मन परेको कलाकार बोलाउने सल्लाह गर्दागर्दै झगडा परेको भन्ने सुनेको थिएँ। 

मायाः किन गर्नु है झगडा, आफ्नै साथीभाइसँग रमाइलो गरेर मनाए त भइहाल्यो। 

मनीषः त्यही त, त्यसो भए हामी भेला भएर कलेजको मैदानमा होली खेलौँ। सबैलाई रमाइलो पनि हुने। केटीहरू पनि वसन्तपुर नजाने भनेपछि कलेज त आइहाल्छन्। सरहरूलाई पनि बोलाउँला। रमाइलो हुन्छ। 

भावनाः कलेजमै मनाउने भए म पनि आउँछु। 

अर्जुनः त्यसो भए सरसँग कुरा गरेर यो वर्षको होली कलेजमा मनाऔँ है त। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि