पञ्चैबाजामा झुम्छ बुटवलको होली

writer

लक्ष्मण पोखरेल

मङ्गलबार, ०५ चैत २०७५


न तराई, न पहाड। बुटवलको भूगोलले होली पर्वमा खास अर्थ राख्छ। होली पहाडमा पहिलो दिन र तराईमा अर्को दिन मनाइन्छ। बुटवल त्यस्तो ठाउ हो, जहाँ दुई दिन नै होली मनाइन्छ। 

मधेशको ‘जोगिरा सरररर’ मात्रै होइन, यहाँ पहाडको पञ्चैबाजाको धुनमा पनि होली खेल्ने चलन छ। पाल्पाली समाजले हरेक वर्ष पञ्चैबाजासहित होलीलाई विशेष उत्सवका रूपमा मनाउँछ। संस्कृतिविद् राजेन्द्रकुमार आचार्य भन्छन्, ‘बुटवल पहाड र तराईको सम्मिश्रण भएकाले पनि यहाँको होलीको छुट्टै रौनक हुन्छ। तर, फागु खेल्ने चलन हराउँदै गयो।’

बुटवल होलीमा रंगिन मात्रै बन्दैन, रक ब्यान्डसँग समेत झुम्छ। बुटवलको ट्राफिकचोक होलीमा विशेष उत्सव हुने स्थान हो। यहाँ हरेक वर्ष विभिन्न रक ब्यान्डले होलीलाई भव्य बनाउँछन्। 

गत वर्षको होली सम्झँदै बुटवलका श्यामकिरण क्षत्री भन्छन्, ‘अन्य पर्वमा सुनसान हुने बुटवल होलीमा भने निकै तातिन्छ।’ उनी यो वर्ष पनि होलीमा रम्ने सोचमा छन्। ‘बुटवलमा कुनै एउटा रक ब्यान्ड आओस् भन्ने चाहेका छौँ,’ उनले भने, ‘पोहोरभन्दा यसपालिको होली निकै रमाइलो हुनेछ।’

बिहान १० बजेदेखि ट्राफिकचोक र राजमार्ग चौराहानजिकै गुञ्जिने संगीतले बुटवलका तन्नेरीलाई रंगहरूको कुहिरोमा नचाउँछ। होलीमा सबै पुस्ताका मानिस रमाउँछन्। 

पाको पुस्ताका मान्छे पहाडी जिल्ला जोडिएर बनेका समाजले गर्ने होलीमा मनोरञ्जन गर्छन्। युवा पुस्ता हिलो, पानीको फोहोरा, रंगहरूको माहौलमा रमाउँछ। राजमार्ग चौराहा, पुरानो बसपार्क, जोगीकुटी, जीतगढी होलीका विशेष स्थान हुन्। बुटवलको अर्काे विशेषता भनेको होली सभ्यता हो। यहाँ फोहोर पानी भरेर लोला हानिँदैन। न त अपरिचितलाई रङ दल्ने चलनै यहाँ छ।

सभ्य रूपमा होली खेलिने भएकै कारण एकसाता सडक सफा नहुने गरी रङ पोखेर होली खेलिन्छ। बुटवलमा होलीका लागि दक्षिण भैरहवा, लुम्बिनी, पश्चिम सैनामैनाका युवायुवती बुटवल आउने गर्छन्।

होलीमा यहाँका स्थानीय हास्य कलाकार विष्णुजी पाण्डे ‘माइलाबा’, पुरुषोत्तम पाण्डे ‘पुर्खे’ले  रमाइलो माहौल बनाउँछन्। ‘यो वर्ष गएका वर्षभन्दा निकै रमाइलो होली हुनेछ,’ पाण्डे भन्छन्। सडकमा मात्रै होइन, यहाँका पार्कमा समेत होली उत्सव हुन्छ। वनवाटिका, फूलवारी, हिलपार्क क्षेत्रमा कलाकारहरूसमेत होलीमा रमाउँछन्। 

होलीमा फागु खेल्ने चलन थियो। तर, त्यो संस्कृति भने हराउँदै गएको छ। रूपन्देहीमा अष्टमीदेखि फागु खेलिन्थ्यो । बुटवल, रुद्रपुर, तिलोत्तमा, सैनामैनालगायत बजारका चोकमा असत्यमाथि सत्यको जीतका रूपमा चीर ठड्याइन्थ्यो। चीर उठाएकै स्थानमा फागु खेल्ने चलन थियो। अहिले भने यस्तो संस्कृति देख्न पाइँदैन। पुरुषहरू व्यंग्य गरिएका गीतलाई फागुका रूपमा गाएर बस्ती–बस्तीमा नाच्थे।

महिलाले घर तथा टोलमा मात्रै मनाउँथे। पूर्णिमाका दिन चीर दहन गरेपछि मात्रै रङ लगाइन्थ्यो। रङ के–के लगाउने भन्ने पहिल्यै टुंगो गरिन्थ्यो। पछिल्लो समयमा परम्परागत रूपको फागु हराएर होली बनेको छ। संस्कृतिप्रेमीहरूलाई भने यो चिन्ताको विषय बनेको छ। संस्कृतिविज्ञ विमलबहादुर शाक्य पुरानो पुस्ताबाट नयाँ पुस्तामा आउँदा विकृत बनेको फागुमा शुद्धीकरण आवश्यक रहेको बताउँछन् । ‘होली रङ लगाउने मात्रै पर्व होइन, फागु खेल्नु पनि महत्त्वपूर्ण संस्कृति हो,’ उनी भन्छन्। 

थारू बाहुल्य बसोबास रहेको प्रदेश नम्बर ५ मा होलीका फरक संस्कृति छन्। थारूहरू होलीलाई आगो फेर्ने पर्वका रूपमा मनाउँछन्। नयाँ आगो बाल्ने र पुरानो आगो फाल्ने चलन थारू समुदायमा छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि