रजत युगदेखि दुईहप्ते युगसम्म

writer

दीपेन्द्र लामा

शुक्रबार, ०१ चैत २०७५


सुरुवाती कालखण्डतिर नेपाली भाषामा फिल्म बन्नु नै हर्षबढाइँको विषय हुने गथ्र्यो। हिन्दी फिल्म हेर्न बाध्य नेपाली दर्शकलाई आफ्नो भाषाको फिल्म प्यारो नलाग्ने सवालै थिएन। नेपाली फिल्म रिलिज हुनासाथ हिट हुन्थे। लगानी डुब्दैन थियो। 

नेपालमा २०२२ सालमा ‘माइतीघर’बाटै निजी स्तरको लगानीमा फिल्म बन्न थालेको हो। विसं २०३० को दशकसम्म प्रायः फिल्म सरकारी लगानीमै बने। २०४० को दशकमा आइपुगेपछि मात्र निजी लगानीमा चौतर्फी फिल्म बन्न थाल्यो।

रजत युग

२०४० को दशकमा वर्षमा तीनचार वटा फिल्म बन्थे। धेरैजसो फिल्म फाइदामै हुन्थे। त्यो दशकमा तीनटा फिल्मले प्रदर्शनमा २५ हप्ता पार गर्दै रजत जयन्ती मनाउन सफल भए। त्यसैले उक्त अवधिलाई नेपाली फिल्मको ‘रजत युग’ मान्न सकिन्छ। 

२०४२ सालमा ‘कुसुमे रुमाल’, २०४६ मा ‘लाहुरे’ र २०४८ मा ‘चिनो’ले रजत जयन्ती मनाएका थिए। तीनवटै फिल्मका निर्देशक थिए, तुलसी घिमिरे। निर्देशक घिमिरेको पहिलो फिल्म ‘बाँसुरी’ २०३८ सालमा रिलिज भएको थियो। तर, त्यो फिल्म भारतमा बनेको थियो।

नेपाल आएर घिमिरेले बनाएको पहिलो फिल्म ‘कुसुमे रुमाल’ हो। त्यसको सफलतापछि उनले नेपाल छाडेनन्। घिमिरेको आगमनलाई चालीसको दशकको उपलब्धि मान्न सकिन्छ। उनले ‘अन्याय’, ‘दुई थोपा आँशु’ र ‘कोसेली’ त्यही कालखण्डमा बनाए।
अभिनेता राजेश हमाललाई चालीसको दशकको अर्को खोजका रूपमा लिन सकिन्छ। उनी २०४८ सालमा ‘युगदेखि युगसम्म’बाट रजतपटमा ‘नयाँ स्टार’का रूपमा उदाए। त्यतिबेला नेपाली फिल्ममा भुवन केसी र शिव श्रेष्ठको दबदबा थियो। हमालले पहिलो फिल्मबाटै आफूलाई लामो दौडको घोडा साबित गरे।

पहिलो जनआन्दोलन सफल भएर बहुदलीय व्यवस्था स्थापित हुँदै थियो। त्यतिबेला अधिकांश नेपालीमा विद्रोही मनोविज्ञान प्रबल थियो। फिल्मभित्र हमालले त्यही मनोविज्ञानको प्रतिनिधित्व गरे। पचासको दशकसम्म उनले नेपाली फिल्ममा आफ्नो पकड कायम राखे।

सयदिने युग

पचासको दशकमा फिल्मको संख्या ह्वात्तै बढ्यो। हरेक महिना नयाँ फिल्म रिलिज हुन थाले। हलको संख्या पनि बढ्दै गयो। साना लगानीका हाइभिजन हलहरू खुले। हाइभिजन हलमा भिडियो प्रविधिबाट नेपाली फिल्म चल्न थाले। यो प्रविधिले नेपाली फिल्म एकैचोटि दर्जनभन्दा बढी हलमा चल्न सम्भव भयो।

हल धेरै भएपछि दर्शकको बहाव एकैपटक बाक्लो हुन थाल्यो। त्यसैले यो अवधिमा कुनै पनि फिल्मले प्रदर्शनमा २५ हप्ता अर्थात् १ सय ७५ दिन नाघ्न सकेनन्। यो दशकमा ‘रजत जयन्ती’ नै भएन। बरु प्रदर्शनको सय दिन मनाउने चलन सुरु भयो। र, ‘बलिदान’, ‘करोडपति’, ‘ठूलदाइ’, ‘वसन्ती’जस्ता फिल्मले सय दिन मनाए।

पचासको दशकको सबैभन्दा धेरै कमाउन सफल फिल्म ‘दर्पणछायाँ’ हो। २०५७ सालमा रिलिज भएको तुलसी घिमिरेको उक्त फिल्मले एकैपटक नौ वटा हलमा ५१ दिन मनायो। २२ लाख रुपैयाँमा बनेको फिल्मले तीन करोड नाफा कमायो। फिल्मको लगानी काठमाडौँको एउटै हल विश्वज्योतिबाट उठेको थियो।

दिलिप रायमाझी र उत्तम प्रधान यही फिल्मबाट दर्शकमाझ लोकप्रिय बने। उनीहरूलाई फिल्ममा खेलाउन निर्माताहरूबीच होडबाजी नै चल्यो। केही वर्षसम्म दुवै व्यस्त रहे।

त्यतिबेला राजेश हमालले आँखा चिम्लेर जस्तो पायो त्यस्तै फिल्म खेलिरहेका थिए। उनका सबैजसो फिल्ममा एकैखाले भूमिका रहन्थ्यो। शिव श्रेष्ठ र भुवन केसीको उमेर ४० कटिसकेको थियो। युवा दर्शकका लागि ताजा अनुहार नै थिएन।

राजेश हमालले कापीकिताब च्यापेर कलेज पढ्न गएको दृश्य दर्शकले पचाउन छाडेका थिए। ‘दर्पणछायाँ’ले यसैको फाइदा उठायो। यसमा दिलिप र उत्तम ‘कलेज ब्वाय’को भूमिकामा थिए। दर्शकले सजिलै स्विकारिदिए।

५१ दिने युग

विसं २०६० को दशकमा नेपाली फिल्म डिजिटलमैत्री बन्यो। ननप्रोफेसनल डिजिटल प्रविधिमा फिल्महरू थुप्रै बने। प्रोफेसनल रूपमा तयार भएको पहिलो डिजिटल फिल्म ‘कागबेनी’ हो। २०६४ सालमा रिलिज भएको भूषण दाहालद्वारा निर्देशित ‘कागबेनी’बाटै नेपालमा डिजिटल प्रोजेक्सन सुरु भयो।

डिजिटल प्रोजेक्सन सुरु भएपछि फिल्मको रिलिज नेपालका सबै हलमा एकसाथ हुन थाल्यो। नत्र काठमाडौँभित्र र काठमाडौँबाहिर फरक–फरक समयमा फिल्म रिलिज हुन्थ्यो। सबैतिर एकैपटक फिल्म चलाउनका लागि चारपाँच वटा प्रिन्टले पुग्दैनथ्यो। एउटा प्रिन्टको डेढ लाख रुपैयाँ पर्ने भएकाले निर्माताले पाँचभन्दा बढी प्रिन्ट बनाउँदैन थिए।

डिजिटल प्रविधि आएपछि प्रिन्ट बनाउनुपर्ने झन्झट हट्यो। हलमा डिजिटल प्रोजेक्सन सिस्टम जडान हुन थाले। फिल्मको लगानी पनि तुलनात्मक रूपमा घट्यो।

लगानी घटेपछि फिल्म निर्माणमा आउने निर्माता–निर्देशकको संख्या बढ्दै गयो। प्रविधि सस्तो भएपछि यसमा पहुँच बढेको हो। यसलाई सकारात्मक मान्नुपर्छ। 
तर, फिल्म बनाउन जति मिहेनत गरिनुपथ्र्यो, त्यति गरिएन। मिहेनतभन्दा पनि लहडबाजीमा फिल्म बनाउने प्रवृत्ति हाबी भयो। स्तरहीन फिल्म बन्न थाले। एकपछि अर्को फिल्म डुबे। 

यस्तो अवस्थाबाट विचलित भएर सरोकारहरूले फिल्ममा संकटकाल घोषणा गर्न लागेका थिए। तर, २०६८ को पुस २९ मा ‘लुट’ रिलिज भएपछि उनीहरूले आफ्नो निर्णय बदले। निश्चल बस्नेतद्वारा निर्देशित ‘लुट’ले काठमाडौँका मल्टिप्लेक्स र मोफसलका मुख्य शहरहरूमा धमाका नै मच्चायो। 

फिल्मबाट सौगात मल्ल र दयाहाङ राई सेलिब्रिटीका रूपमा स्थापित भए। कोरियन र हिन्दी फिल्मका कथालाई नेपाली भाषामा हेर्दाहेर्दा हैरान भएका दर्शकले ‘लुट’मा काठमाडौँको लोकल स्वाद पाए। फिल्मले ५१ दिन मनायो। २०६० को दशकमा ‘लुट’पछि अर्को फिल्मले स्वतःस्फुर्त ५१ दिन मनाउन सकेन।

निकै सानो बजेटमा बनाइएको ‘लुट’ले तीन करोड रुपैयाँजति नाफा कमायो। यसको ५१ दिनलाई ठूलो उपलब्धि मानियो। त्यतिबेला ५१ दिन मनाउन सजिलो पनि थिएन। त्यसैले साठीको दशकलाई ५१ दिने युग मान्न सकिन्छ।

दुईहप्ते युग

२०७० को दशकमा आइपुग्दा मल्टिप्लेक्स कल्चर नेपालमा निकै फस्टाइसकेको छ। एउटै छानामुनि तीनटा हल हुनु अब नौलो रहेन। काठमाडौँका प्रायः सपिङ मलमा मल्टिप्लेक्स हल खुलेका छन्। यो क्रम अझै बढ्दो छ।

हल बढेपछि फिल्मको संख्या पनि बढ्नुपर्छ। नत्र हलको खर्च कसरी धान्ने ? त्यसैले हलिउड र बलिउडका नयाँ फिल्म हरेक हप्ताजसो रिलिज हुन्छन्। 

नेपाली फिल्म नै वर्षमा ८०–९० वटा रिलिज हुन थालेका छन्। हलमा फिल्मको प्रतिस्पर्धा निकै कडा हुने गर्छ। एकैदिन तीनटा नेपाली फिल्म रिलिज हुनु सामान्य भइसक्यो।

अचेल पहिलाजस्तो सय दिन वा ५१ दिन मनाउने मौका नै छैन। ‘छक्कापञ्जा’ सिरिज, ‘शत्रुगते’ र अरू केही फिल्मलाई अपवाद मान्ने हो भने अब ५१ दिनको रेकर्ड आकाशको फल भइसक्यो।

फिल्म नचले पनि बजारमा गलत हल्ला फिँजाउन निर्माताहरू यति माहिर छन् कि रिलिजको तीन दिनमै करोड क्लबको केक काटिदिन्छन्। जबकि एक करोड ग्रस हुँदा निर्माताको हातमा ३३ लाख रुपैयाँ मात्र हात पर्छ। त्यो भनेको खुशी मनाउनुपर्ने कारण नै होइन। किनभने, एउटै हिरोले ४० लाख रुपैयाँ पारिश्रमिक लिन थालिसकेको समय हो यो।

राम्रो व्यापार गरेमा पहिलो हप्तामै फिल्मको लगानी सुरक्षित हुने अवस्था चाहिँ अहिले छ। मल्टिप्लेक्सको महँगो टिकटले यो सम्भव भएको हो। त्यसैले निर्माताहरूको प्राथमिकता मल्टिप्लेक्स भइसकेको छ।

दुई हप्तासम्म फिल्मले ६० प्रतिशतको हाराहारीमा व्यापार गर्नसक्यो भने फिल्म फाइदामा जान सक्छ। जे होस्, दुई हप्ता सम्मानजनक रूपमा टिकेको फिल्मलाई हिटकै दर्जामा राख्न थालिएको छ। धेरै निर्माताले ठूला फिल्मसँग नजुधोस् भन्नका लागि दुई हप्ता ग्याप राखेर फिल्म रिलिज गर्ने गर्छन्। अर्थात्, ‘दुई हप्ता चले पुग्छ’ भन्ने मनस्थितिमा निर्माताहरू छन्। त्यसैले अहिलेको समयलाई ‘दुईहप्ते युग’ मान्दा फरक पर्दैन।

तपाईको कमेन्ट