कुलतमुक्त नयाँ जीवन जिउनेहरू

writer

मेनुका कोइराला

बिहिबार, ३० फागुन २०७५


अभिनेता गौरव पहारीले केही समयअघि ‘सम्पूर्ण’ लाई दिएको अन्तर्वार्तामा कलेज पढ्दाताका आफू लागुपदार्थ दुव्र्यसनमा फसेको कुरा सुनाएका थिए। ‘कुलतमा फसेकाले ए लेभल भर्ना भएर पनि पास गर्न सकिनँ,’ उनले अन्तर्वार्तामा भनेका थिए। साथीभाइको संगतले आफू कुलतमा फसेको बताउने पहारीले त्यसबाट मुक्त हुन रिह्याब सेन्टर नै पुग्नुपर्‍यो। कुलतबाट मुक्त भएर अहिले उनी कलाकारितामा सक्रिय छन्। 

उनीजस्तै धेरै युवा लागुपदार्थ दुव्र्यसनबाट मुक्त हुन सफल भएका छन्। काठमाडौँ, नारायणटार घर भएकी २८ वर्षीया डोमा लामा जोरपाटीस्थित सोबर पुनःस्थापनामा काम गर्छिन्। कुनै बेला कुलतमा फसेकी उनी अहिले दुव्र्यसनबाट मुक्त भएकी छिन्। आफू १८ वर्षकी हुँदादेखि गाँजा खान सुरु गरेको उनी बताउँछिन्। ‘एक गैरसरकारी संस्थाको सहयोगले नौ कक्षादेखि अमेरिकामा पढ्ने मौका पाएँ,’ उनी भन्छिन्, ‘त्यहाँ नियमित डिस्को, क्लब जाने साथीभाइको संगतमा परेँ। उनीहरू ड्रग एडिक्ट थिए। साथीहरूका लहलहैमा म पनि ड्रग्स खान थालेँ।’ 

बिस्तारै उनी गाँजा नभई नहुने भइन्। ‘गाँजा खाएको बेलामा सबै काम राम्ररी गर्थें,’ उनी भन्छिन्, ‘नखाई काममा जाँदा काममा मन लाग्दैन थियो। सधँै काम बिग्रिन्थ्यो। गाली खानुपथ्र्यो।’ त्यसपछि उनको गाँजाको डोज बढ्यो। ‘दिउँसो बिहान नभनी गाँजा खाने थालेँ,’ उनी भन्छिन्। 

संस्थाले दिएको पैसा गाँजा र रक्सीमा सकाएको उनी बताउँछिन्। ‘आफू पनि खाने अरूलाई पनि खुवाएर भएजतिको पैसा सकेँ,’ उनी भन्छिन्। गाँजा–रक्सीको सँगै सेवनले दिमागले कामै गर्न छोडेको उनी बताउँछिन्। त्यसपछि घरपरिवारले उनलाई नेपालमा बोलाएर सुधारगृहमा पुर्‍याए। ‘त्यहाँबाट तीन चोटि त भागेँ,’ उनी भन्छिन्, ‘भागेपछि परिवारकाले घरमै नछिर्न दिएपछि बस्नै पर्‍यो भन्दै रिह्याबमा बसेँ।’ कुलतबाट उम्किन उनलाई दुई वर्ष लाग्यो। ‘दुई वर्षमा कुलतबाट मुक्त भएँ,’ उनी भन्छिन्, ‘एक वर्षदेखि यहीँ पुनःस्थापनामा कार्यरत छु।’

सोबर पुनःस्थापनामै काउन्सिलरका रूपमा कार्यरत सुजिता गुरुङ पनि कुनै बेलाकी लागुऔषध दुव्र्यसनी हुन्। ‘२५ वर्षको उमेरदेखि ट्याबलेट खान सुरु गरेकी थिएँ,’ उनी भन्छिन्। पहिला हङकङ बस्ने उनी पारिवारिक कलहको माहौलका कारण आफू लागुपदार्थतिर आकर्षित भएको बताउँछिन्। ‘पारिवारिक झगडाले वाक्क भएर टेन्सन मुक्त हुन ट्याबलेट खाने गर्थें,’ उनी भन्छिन्, ‘जति धेरै टेन्सन बढ्यो मेरो डोज पनि बढ्दै गयो। पछि त नभई नहुने भयो। बिस्तारै, ट्याबलेटबाट अफिमसम्म खान पुगेँ।’ 

छोरीकी आमा उनलाई माइतीले नेपाल बोलाए। छोरी माइतीमा छोड्न आएकी सुजितालाई करबल गरेर परिवारले रिह्याब सेन्टर पुर्‍याए। ‘यहीँ बस्न थालेको चार वर्ष भइसक्यो,’ उनी भन्छिन्, ‘अहिले पछुतो लाग्छ। किन मैले पैसा र समय कुलतमा खर्च गरेँ।’ अहिले उनी पनि दुव्र्यसनबाट टाढिइसकेकी छिन्।

१८ वर्षीय प्रशान्त कार्की एक वर्षदेखि नार्कोनन पुनःस्थापनामा छन्। कुलतमा फसेका उनी ठीक हुन यहाँ आएका हुन्। अहिले उनले नार्कोननमा आउने दुव्र्यसनीलाई खाना पकाएर खुवाउने गरेका छन्। ‘सँगसँगै सेफको टेनिङ पनि लिइरहेको छु,’ उनी भन्छन्। एक समय उनी नराम्ररी कुलतमा फसेका थिए। ‘कक्षा चारमा पढ्दादेखि नै कुलतमा फसेँ,’ उनी भन्छन्, ‘साथीले चुरोट खान सिकायो। चुरोट खाँदाखाँदा गाँजा तान्न थालेँ। १६ वर्ष पुग्दासम्म म नराम्ररी कुलतमा फसिसकेको थिएँ।’ लागुपदार्थ किन्न आफूले पैसाका लागि अनेक उपाय अपनाएको उनी बताउँछन्। ‘घरको सामान बेच्थेँ,’ उनी भन्छन्, ‘नशाको तलतलले छट्पटिँदा पागलजस्तै हुन्थेँ। त्यसका लागि जे पनि गर्न तयार हुन्थेँ।’ उनलाई सुधार्न परिवारले नार्कोननमा पुर्‍याएको हो। ‘एक वर्षदेखि लागुपदार्थ खान त परै जाओस्, देखेको पनि छैन,’ उनी भन्छन्।

विशाल भट्टराई नार्कोननका कर्मचारी हुन्। उनी अरूलाई कुलतबाट मुक्त हुन् मनोपरामर्श दिन्छन्। ‘पहिला म पनि दुव्र्यसनी थिएँ,’ उनी भन्छन्, ‘२० वर्षको उमेरदेखि कुलतमा फसेको थिएँ।’ कक्षामा सधँै फस्ट हुने विशालले कुलतमा फसेर आफ्नो पढाइ बीचमै छोडे। भन्छन्, ‘पहिलो चोटि खाँदा कस्तो हुन्छ भनेर अरूको लहलहैमा खाएँ। पछि बानी नै पर्‍यो।’ 

‘खाने बानी लागेपछि झन्–झन् बढी डोज खान मन लाग्ने रहेछ,’ विशाल थप्छन्, ‘घरमा कति झुटो बोले, कति पैसा चोरे त्यो सबै लागुऔषध किन्दा सक्काएँ।’ खान हुन्न भन्ने थाहा हुँदाहँुदै पनि नभए बाँच्नै सकिन्न जस्तो हुने गरेको उनी सुनाउँछन्। ‘आफूलाई सबै सामान्य लाग्थ्यो तर म कति गलत काम गरिरहेको हुन्थेँ,’ उनी भन्छन्। विशालले अकाउन्टमा मास्टर्स सकाइसके। ‘कुलतमा हुँदा पढ्न नसकेर पढाइ छोडेको थिएँ,’ उनी भन्छन्, ‘कुलतबाट मुक्त भएपछि पढाइ पनि सके, जागिर पनि गरिरहेको छु।’ उनी आफ्नो पुनर्जन्म भएको बताउँछन्। भन्छन्, ‘यसरी काम गर्न सक्छु होला भनेर कल्पना पनि गरेको थिइनँ। मैले त जिन्दगी नै सकियो भनिठानेको थिएँ। तर, सुधारगृहले मलाई सुधार्‍यो।’ मनबाटै केही गर्छु भन्ने ठान्यो भने असम्भव केही नहुने उनी बताउँछन्। 

नार्कोनन नेपालका संस्थापक वसन्तराज कँुवरका अनुसार दैनिक १० जना अभिभावक सुधारगृहबारे बुझ्न आउने गरेका छन्। ‘सबै अभिभावक डराएर आउनुहुन्छ,’ कुँवर भन्छन्, ‘समाजमा कसैलाई थाहा नहोस् भन्नुहुन्छ। ड्रग्स खायो भन्दैमा कसैलाई नराम्रो नजरले हेर्नु हुँदैन। बरु उनीहरूलाई मायाप्रेमले सुधार्नेतिर लाग्नुपर्छ।’ कुलतमा फसेका कतिपय युवा दुव्र्यसनमुक्त भएर नयाँ जीवन बाँचिरहेको कुँवर बताउँछन्। ‘सर्वप्रथम कुनै पनि युवाले कुलतको बाटो रोज्नु हुँदैन,’ उनी भन्छन्, ‘फसियो भने योसँग लड्छु। जितेरै छाड्छु भन्ने आत्मबल हुनुपर्छ।’ 

‘कुलतमा फस्नेबित्तिकै जिन्दगी सकियो भन्ने सोच्नु हुँदैन,’ कुँवर भन्छन्, ‘कुलत एउटा बानी हो चाह्यो भने त्यसबाट उम्किन सकिन्छ। दुव्र्यसनमा फसेकालाई घृणाको नजरले हेर्नुभन्दा पनि उनलाई त्यसबाट मुक्त हुन सहयोग गर्नुपर्छ।’ डर र त्रासले कुलत छुटाउन नसकिने उनी बताउँछन्। ‘म छोड्छु भन्ने आत्मबल आफैँसँग हुनुपर्छ,’ उनी भन्छन्, ‘कुलतमा फसेर जिन्दगी सकियो भनेर हरेस नखाई कसरी निस्किनुपर्‍यो भन्ने सोच आफूमा ल्याउन सकेँ कुलतबाट निस्कन सफल भइन्छ।’ 


 

तपाईको कमेन्ट

मुख्य समाचार