आफ्नै पखेँटामा  तृष्णाको उडान

writer

सृजना खड्का

बिहिबार, ३० फागुन २०७५


 प्रशंसा पात्र


कार्यक्रम प्रस्तोता हुन्, तृष्णा रेग्मी। टेलिभिजन, रेडियोमा उनी कार्यक्रम प्रस्तुत गर्छिन्। उनी आफ्नो जीवन आफ्नै तरिकाले बाँच्न चाहन्छिन्। घरेलु हिंसा र अन्य विभेद भोगेकी उनले अन्ततः मुक्तिको बाटो खोजिन्। 


‘तिम्रो हातमा भएको ट्याटूको अर्थ के हो ?’ मोरङ, उर्लाबारीकी तृष्णा रेग्मीलाई नचिन्नेले सुरुमा यही प्रश्न तेस्र्याउँछन्। कतिलाई उनी जवाफ दिन जरुरी ठान्दिनन्। कतिलाई भने हाँसेर टारिदिन्छिन्। उनको दाहिने हातमा दुई वटा ट्याटू छन्। एउटा ट्याटुमा पिँजडाबाट स्वतन्त्र भएर चरा उडिरहेको देखिन्छ। त्यसमुनि लेखिएको छ– ‘रिप ०६७.७.२५’। ‘२०६७ साल कात्तिक २५ गतेको दिनलाई ट्याटूमार्फत श्रद्धाञ्जली दिएकी हुँ,’ तृष्णाले भनिन्। त्यही हातमा भएको अर्को ट्याटूमा लेखिएको छ– ‘सी फ्लाइज विद हर ओन विङ्ज।’  

हातमा कुदिएका दुवै ट्याटूभित्र कथा लुकेको तृष्णाले बताइन्। ‘जति पटक हातका ट्याटू हेर्छु, उति पटक जीवनमा केही गर्ने ऊर्जा मिल्छ,’ उनले भनिन्, ‘जीवन कसरी बाँच्ने भन्ने कुरा मैले यही ट्याटू खोपेको दिनबाट सिकेकी थिएँ।’
०००

प्लस टू पढ्दाताका उनी एक युवकको प्रेममा परिन्। त्यतिखेर उनको उमेर १७ वर्ष थियो। ‘उसको साइबर थियो,’ उनले भनिन्, ‘साइबरमा आउँदा–जाँदा देखभेट भयो। भेटेको केही समयमै मायामा पर्‍यौँ।’ आफूभन्दा तीन वर्ष जेठा ति युवकसँग उनले परिवारको सहमतिमा २०६६ सालमा बिहे गरिन्। ‘चिनजान भएको पाँच महिनामै हामीले बिहे गर्‍यौँ,’ तृष्णाले भनिन्, ‘मायाको लागि घरपरिवारदेखि पढाइ सबथोक छाड्न तयार भएँ।’  

बिहे गरेको केही समय उनको जीवन सामान्य चल्यो। घरायसी काममा व्यस्त हुन थालिन्। बिस्तारै उनले आफ्नो लवाइखवाइ, हिँडाइ सबै परिवर्तन गर्नुपर्ने भयो। ‘मन लागेको लुगा लगाउन पाइँदैनथ्यो,’ उनले भनिन्, ‘कुर्ता–सुरुवाल,  धोती लगाएर बस्नुपथ्र्यो। दिनभरि चुलोचौकोमा व्यस्त हुन्थेँ। रातमा सासुको खुट्टामा तेल दलेर मालिस गर्थें।’ 

परिवारले आफूमाथि लगाएका प्रतिबन्ध देखेर उनी छटपटाउन थालिन्। ‘कहिले त बेकारमा बिहे गरेछु भन्ने लाग्थ्यो,’ उनले भनिन्, ‘छोरा बिग्रिन्छ भनेर उसको परिवारले हतार–हतार बिहे गरिदिएका रहेछन्।’ उनका पूर्व श्रीमान्ले तृष्णामाथि शंका गर्थे।

‘योसँग किन बोलेको, त्योसँग किन हाँसेको, यहाँ किन गएको, त्यहाँ किन गएको भन्थ्यो,’ उनले सम्झिइन्, ‘आफ्नै दाजुभाइ पर्नेसँग बोल्दा पनि शंकाको दृष्टिले हेथ्र्यो।’ यी कुराले आफूलाई तनाव दिने तृष्णाले बताइन्। ‘उसको शंका गर्ने बानीले गर्दा हाम्रो सम्बन्ध चिसिँदै गयो,’ उनले सुनाइन्, ‘कहिलेकाहीँ शारीरिक सम्बन्धका लागि तयार नहुँदा अरूसँग सम्बन्धमा रहेको आरोप लगाउँथ्यो। सबै कुरा उसको इच्छाअनुसार हुनुपथ्र्यो।’ 

उनीहरूबीच झैझगडा हुन थालेपछि उनी माइतीमा बस्न थालिन्। त्यहाँ गएर उनले हिमशिखर टेलिभिजनमा ‘दिव्य सन्देश’ भन्ने कार्यक्रम चलाउन थालिन्। ‘रेडियो टेलिभिजनमा बोल्न मलाई एकदमै मन पथ्र्यो,’ उनले भनिन्, ‘कार्यक्रम तनावमा हुँदा मन भुलाउने बाटो बनेको थियो।’ 

‘बुहारीले बाहिर काम गर्नु हुँदैन’ भन्दै उसको परिवार तृष्णालाई लिन आयो। ‘उसले त एक पटक अफिसमै गएर बबाल मच्चायो,’ उनले सम्झिइन्, ‘‘तलाईँ मैले मात्र हेर्ने हो, अरूले हेर्ने होइन’ भन्दै अफिसमा कराउन थाल्यो।’ घरबार बचाउन उनी फर्किइन्। ‘काम गर्छे भनेर घरका मान्छेले मेरो नागरिकता लुकाइदिएका थिए,’ उनले भनिन्, ‘हुँदाहुँदा उसले ममाथि कुटपिट गर्न थाल्यो।’

त्यो रात...

२०६७ साल साउनमा तृष्णा श्रीमान्सँग काठमाडौँ आइन्। त्यतिबेला उनी गर्भवती थिइन्। ‘उसका लागि कुटपिट गर्नु सामान्य भइसकेको थियो,’ उनले सम्झिइन्, ‘गर्भवती भएको बेलासमेत उसले मलाई पिट्न छाडेन।’ गर्भ रहँदा उनको वजन ४० केजी थियो। ‘त्यतिखेर म एकदमै दुब्ली थिएँ,’ उनले भनिन्, ‘उमेर र वजन कम भएकाले मलाई देखेर डाक्टरसमेत छक्क परेका थिए।’ स्वास्थ्य जाँच गर्न जाँदा डाक्टरले तृष्णालाई भनेका थिए– ‘यौन सम्बन्ध नराख्नुहोला। बच्चा र आमा दुवैलाई खतरा हुन सक्छ।’ 

कात्तिक २४ गतेको रात उनी कहिल्यै बिर्सिदिनन्। ‘भर्खरै तिहार सकिएको थियो,’ उनले सम्झिइन्, ‘मान्छेहरूले तिहारका झिलिमिली बत्ती अझै निकालेका थिएनन्।’ त्यस रात श्रीमान्ले उनलाई यौन सम्बन्ध राख्न कर गरे। त्यति बेला उनी चार महिनाकी गर्भवती थिइन्। उनले डाक्टरका कुरा सम्झिइन् र श्रीमान्लाई सम्झाइन्। तर, उनी मानेनन्। ‘केही हुँदैन भन्दै उसले जबर्जस्ती मसँग शारीरिक सम्बन्ध बनायो,’ तृष्णाले सुनाइन्, ‘उसले मेरो बलात्कार गर्‍यो  भन्दा पनि हुन्छ।’

बाहिर झिलिमिली बत्ती बलिरहेको त्यो रात आफ्नो जीवनको सबैभन्दा कालो रात भएको तृष्णाले बताइन्। ‘त्यस रात म पीडाले छटपटाएँ,’ उनले भनिन्, ‘रगत बग्न थाल्यो। म तड्पिन थालेँ। तर, ऊ बेवास्ता गरेर कोल्टे फेरेर सुत्यो।’ 

धेरै रगत बगेर बेहोश भएपछि उनलाई अस्पताल पुर्‍याइयो। ‘होश आउँदा टिचिङ अस्पतालको ओछ्यानमा थिएँ,’ उनले भनिन्, ‘मेरो बच्चा खेर गइसकेको थियो। म उठ्नबस्न सक्ने अवस्थामा पनि थिइनँ। दुखाइ त्यस्तै थियो।’ यस्तो अवस्थामा समेत उसलेलाई वास्ता नगरेको गुनासो उनले गरिन्। ‘म मरिरहँदा पनि उसलाई कुनै वास्ता भएन,’ उनले भनिन्।

त्यही रातको सम्झनामा आफूले ट्याटूमा ‘रिप ०६७.७.२५’ लेखेको उनले सुनाइन्। ‘यस मितिका दुई वटा अर्थ लाग्छन्,’ उनले भनिन्, ‘पहिलो त्यस दिन मैले आफ्नो बच्चा गुमाएँ। दोस्रो, त्यही दिनबाट मैले डराउने, घरेलु हिंसा सहने, बोल्न नसक्ने बानीलाई गुडबाई भनेकी हुँ।’ आफ्नो दाहिने हातमा भएका ट्याटूको रहस्य खोल्दै उनले भनिन्।

स्वतन्त्रतातिर...

श्रीमान्को बेहोरा देखेर उनले छुट्टिने निर्णय गरिन्। ‘केटीले सजिलै डिभोर्स गर्न मिल्छ भने पनि भनेजस्तो सजिलो भएन,’ उनले भनिन्, ‘डिभोर्स गर्न तीन वर्ष लाग्यो। डिभोर्सको प्रोसेस गर्दा तारिखमा श्रीमान् र उसका पक्षका मानिस नआउँदा निकै समस्या पर्‍यो। समय लम्बियो।’ उनलाई कसैले साथ दिएनन्। ‘यो लडाईमा म एक्लै लडेँ,’ उनले भनिन्, ‘‘यही नै खराब होला’ भन्नेहरू भेटिए। ‘जीवन एक्लै चल्दैन’, ‘आइमाईको जातले सहेर बस्नुपर्छ’, ‘घर गरेर खानुपर्छ’ भन्नेहरू पनि थिए।’ तर, तृष्णाले कसैको कुरा सुनिनन्। आफ्नो निर्णयमा अडिग रहिन्। ‘आफ्नो निर्णयमा म दृढ थिएँ,’ उनले भनिन्, ‘अन्ततः मैले लामो दुःखबाट छुटकारा पाएँ।’ 

सम्बन्ध विच्छेदपछि उनी दमकस्थित हिमशिखर टेलिभिजनमा काम गर्न थालिन्। अहिले पनि त्यही कार्यरत छिन्। छ वर्षयता उनले ‘हेलो पूर्वाञ्चल’ कार्यक्रम चलाउँछिन्। उर्लाबारीको रेडियो इन्द्रेणीमा पनि कार्यक्रम चलाउँछिन्। स्टेज कार्यक्रममा व्यस्त रहन्छिन्। ‘कुनै पनि राम्रो काम गर्न ढिलो गर्न हुँदैन,’ उनले सुनाइन्, ‘जिन्दगी बर्बाद भयो भनेर रोएर बसेको भए आज यहाँ आइपुग्ने थिइनँ। स्वतन्त्र हुने थिइनँ।’ 

‘त्यसैले पिँजडाबाट स्वतन्त्र भएर चरा उडिरहेको ट्याटू बनाएकी हुँ,’ उनले थपिन्, ‘म त्यो पिँजडा रूपी घरबाट स्वतन्त्र भएँ। म आत्मनिर्भर छु, सक्षम छु। आफ्नो जीवन आफ्नै इच्छाअनुसार बाँच्न चाहन्छु र बाँच्न सक्छु। मेरो दोस्रो ट्याटू ‘सी फ्लाइज विद हर ओन विङ्ज’ को अर्थ यही हो।’

सम्बन्ध विच्छदेपछि महिलाको जिन्दगी बर्बाद हुन्छ भन्ने सोचाइ राख्ने समाजका लागि तृष्णासँग मुखभरि जवाफ छ। ‘डिभोर्स गर्दैमा जीवन बर्बाद हुँदैन,’ उनले भनिन्, ‘जीवन त्यति बेला बर्बाद हुन्छ, जब दिनदिनै कुटाइ खानुपर्छ। घरेलु हिंसा सहनुपर्छ। डिभोर्सले जीवन बिगार्दैन बरु सपार्छ। महिलालाई स्वतन्त्रतातिर डोर्‍याउँछ। आफू खुशी जीवन बाँच्न प्रेरित गर्छ।’ 

वैवाहिक बलात्कार पनि सहन नहुने उनले बताइन्। ‘वैवाहिक बलात्कार दर्दनाक हुन्छ,’ उनले भनिन्, ‘मलाई थाहा छ, किनकि म यो पीडाबाट गुज्रेकी छु। धेरै महिलाले वर्षौदेखि यस्ता घटना भोग्दै आएका छन्। तर, उनीहरूले यस पीडाबाट बाहिर निस्कने प्रयास गर्नुपर्छ। यसबारे खुलेर बोल्नुपर्छ।’

आफ्नो प्रेरणाको स्रोत आफैँलाई मान्छिन्, तृष्णा। ‘म सेल्फ मोटिभेटेड मान्छे हुँ,’ उनी भन्छिन्, ‘सानो उमेरमै त्यस्तो दुःख भोगेकाले अब जस्तोसुकै दुःखको सामना गर्न सक्ने, लड्न सक्ने हिम्मत ममा छ। हरेक दिन जब उठ्छु, सबैभन्दा पहिला आफूले आफैँलाई धन्यवाद दिन्छु।’
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि