सजना, सजनी अनि प्रेम

writer

कृष्णराज सर्वहारी

बिहिबार, ३० फागुन २०७५


शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा खाजा लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रूख देख्छिन्, न कुनै शीतल स्थान। उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ। त्यसैले सोध्छिन्, ए स्वामी घैलाको पानी कहाँ राखूँ हँ ? यसरी किसानहरू खेतीपातीको लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै संगीतमय हुन्छ। 


थारू समुदाय प्रेममा उदार छ। यस समुदायमा प्रचलित सजना गीतले यसलाई पुष्टि गर्छ। हिन्दीमा साजन र सजनी शब्दले क्रमशः प्रेमी–प्रेमिकालाई इंगित गरेझैँ थारू लोकसाहित्यमा पनि सजनाको अधिकांश गीत प्रेमी–पे्रमिकाको विरह, मिलनका गाथाका रूपमा आएका देखिन्छन्।जब पानी पर्छ, थारू किसान खेतमा ओइरिन्छन्। यता पुरुष नभएको घरको महिला पानी परे पनि खुशी हुन सक्दिनन्। 
    

सावन सजनी बरसे झिन बुँडिया रे, टुटे बजरा केवरियाँ
अरे रानी भिजै रंगी रे महलिया, पिहा हो परुडेशे। 
    

खेतीपाती गर्ने बेला जाडोले सताएको मौसममा श्रीमान् (राजा) सँगै नभएको बेला कुन चाहिँ रानीको मन खुशी होला र ? रंगिन महलमा भिजेर उसको अंगको काँडा उम्रिन्छ तर काँडा सम्याउने पति हुँदैनन्। यता भर्खर–भर्खर नयाँ दुलही भिœयाएको श्रीमान् भने खेतमा कम, घरको यादले उसलाई बढी सताइरहेको हुन्छ। काम गर्ने मित्रले उसलाई सजनामार्फत गिज्याउँछ। 
    

खेट्वा टे जोतल मुरसुवा रे...कि कोडरा छनाछन
कव अइही लौली डुल्हनीया, कलवा पानी डेहे। 
    

अर्थात्, मुरसुवा नामक व्यक्ति खेतमा दनादन कोदालो उजाउँदै छ, उसलाई भोकले सताइसक्यो। उसकी नयाँ दुलही कलवा (बिहानको खाना) दिन कति बेला आउँदैछिन् कुन्नि ? उता नयाँ दुलही खाना पानी लिएर खेत पुग्छिन् र सजनामार्फत यसरी भाव व्यक्त हुन्छ। 

शिरे टे लेहल गगरिया रे, हाँठे र करुवा पानी 
भुजवा टे लेहल कोछियाइ, चलल खेत पानी डेहे
ना मै डेखुँ रुख्वा, बरिख्वा, ना सिटल जुर छाँही
घैला छलक चुन्डरी भिजे, कहाँ रे ढारु पैला ?

शिरमा घैँटो, हातमा करुवाको पानी, कम्मरमा भोजन लिएर खेतमा गइरहेकी दुलहीले खेतमा न रूख देख्छिन्, न कुनै शीतल स्थान। उनको घैला छल्किएर चुनरी भिजिरहेको हुन्छ। त्यसैले सोध्छिन्, ए स्वामी घैलाको पानी कहाँ राखूँ हँ ? यसरी किसानहरू खेतीपातीको लागि जब खेतमा छरिन्छन्, सजना गीतको रागले खेतै संगीतमय हुन्छ। 
  

परदेशमा बस्ने श्रीमान्को बिछोडको पीडा कुन श्रीमतीलाई हुँदैन र ? तर, भर्खरकी बेहुलीको बिछोडको पीडा झन् हुन्छ  । बरमासा सजनामा एक नवदुलहीले लामो समयको लागि बिछोडिएको स्वामीलाई महिना (ऋतुं) अनुसार यसरी सम्झिन्छिन्–

पुस मासकै महिना रे, जारा कैनै बहुट
आज पिया मोरे हुइटै कि अग्नि जलैटैँ
माघ मासकै महिना रे, पाला परलै ढुसला
आज पिया मोर हुइटै, कोरा लेके सुटटुँ 
बैशाख मासकै महिना रे, ढारु धुप कैनै 
आज पिया मोरे हुइटै कि बेनिया डोलैटुँ

ओहो पुुुसको महिनामा कति जाडो भएको, यदि पिहा (श्रीमान्) भएको भए अग्निको धुनी जलाउने थिए। माघमा कस्तो असिना परेको, हुस्सु लागेको, यदि श्रीमान् भएको भए उनको काखमा हराउने थिएँ। बैशाखमा कस्तो उखरमाउलो गर्मी, यदि श्रीमान् भएको भए बेना (पंखा) हम्किने थिएँ। उता अर्को प्रसंगमा बैशाख महिनामा सँगसँँगै भएको नवदुलहाले मस्त सुतेर आफूलाई बेवास्ता गरेको देखेर नवदुलहीको सजना सिर्जिन्छ–
  

जाग्यो रे पिहा जाग्यो रे बैशाख भर जाग्यो 

चलि जैबुँ गोहुँ कि लँवागि खाए, पाछे रे पस्टैवो। 

 

ए पिहा बैशाख भर त जागा होऊ। गोहुँको लँवागी (नयाँ रोटी चढाएर खाइने रीति) खान माइती गएँ भने पछि पछुताउलाऊ नि। यता लोग्नेले सजनामार्फत उत्तर दिन्छ–
  

जायो रे ढानी जायो रे, टिकुली छोडि जायो

टिकुली हेरि हेरि जियरा बुझैबुँ, सिरहनि ढैके सुट्बुँ। 
  

ए ढानी (पियारी) माइती जाने नै भए टिकुली (बिन्दी) छोडी जानु है, त्यही हेरेर चित्त बुझाउनेछुँ, त्यसैलाई सिरानीमा राखेर सुत्नेछुँ। नवदुलहीलाई घरको यादले सताइरहन्छ तर मलाई यहाँ लिन को पो आउला र ? भन्ने चिन्तन पनि हुन्छ। यस्तो चिन्तनमा डुबेकी चेलीलाई जब उनकी नजिकको सखीले तिम्रा श्रीमान् त अरूसँग लागेर हिँड्छन् रे, किन आफ्नो मान्छेलाई सम्झाउँदैनौ भन्छिन्। थकित मनस्थितिमा रहेकी उनले भन्छिन्–
     

अरे, नोन तेल  हुइटैँ जोख्टुँ रे, पिहा कैसे जोखौँ
 गोरु भैंस हुइटैँ बँध्टुँ रे, पिहा कैसे बाँधौँ 
 मुर्गि चिँग्ना हुइटैँ छोप्टुँ रे, पिहा कैसे छोपौँ 
 मोरे पिहा मरद भँवरवा, छत्तिस फूला लोह्रहीँ

नुन, तेल भए कम भयो कि भनेर जोख्ने थिएँ, पिहा (लोग्ने) लाई कसरी जोखौँ ? गोरु भैँसी भएको भए पिहालाई बाँध्ने थिएँ, पिहालाई कसरी बाँधौँ ? कुखुरा चल्ला भए छोप्ने थिएँ, पिहालाई कसरी छोपौँ, मेरा स्वामी त मर्द भमरा हुन्, छत्तीस फूल चुसुन्, म के नै गर्न सक्छु र ? यसरी यस सजनामा महिलाको लाचारी व्यक्त भएको छ। यस्तो अवस्थामा जोगी भएर हिँड्न पाए नि हुन्थ्यो भन्ने भाव पलाउनु स्वाभाविकै हो। 
  

 जोगिन्या बजावै सोनक् बसिया रे, रुपन लागल डोरी हो
 अइसा मन लागल मयरी, जोगीन हुइ जैबुँ। 

आँगनमा जोगीको टोली आएको छ। जस मध्येकी एक जोगिनीले बाँसुरी बजाउँदै छिन्। बाँसुरीको डोरीको रूप पनि कति सुन्दर हो, ए मेरी आमा मलाई त जोगिनी हुन मन लाग्यो। यसरी जोगिया सजना भनेर कथावस्तु बोकेको छुट्टै सजना पनि थारू लोकसाहित्यमा छ। जसमा वयस्क युवतीले १६ सय जोगीबाट एक जोगी सुन्दर देखेको, उसैको पछि लाग्ने निर्णय आमाबालाई सुनाउँदा घर–घर भिक्षा माग्नुपर्छ, रनवन पुग्नुपर्छ भन्दा पनि नमान्दा जोगीलाई नै सुम्पेको कथा छ। 

प्रेमी र प्रेमिकाको प्रसंग सजनामा स्वाभवतः आउँछ। प्रेममा घात, प्रतिघात हुन्छ। बिहे भएकी महिलाले अर्को प्रेमीसँग वार्तालाप गरेको प्रसंग हेरौँ। 
गोरे पहिरे चन्दन खरौला रे, जिउ रे पहिरे ढोटी 
मोरे अंगना होके गैलो छैला, मही नै जगैलो। 
  

चन्दन काठको खराउ लगाएर, धोती कुर्तामा चमक–दमक गरी राति मेरै आँगन भएर गयो रे, तर मलाई किन ब्यँुझाएनौ ए मेरा प्यारा ? 
डुवारे टोर बाटै सग्गे ससुरवा रे, बहरी टोर जेठवा
सेज पठरी बाटैँ टोर समिया, कैसे रे टुहिन जगैबुँ। 
    

ढोकामै तिम्रो ससुराको ओछ्यान छ, पिँढीमा तिम्रा जेठाजु सुत्छन्, तिम्रो ओछ्यानमा तिम्रो स्वामी पनि छन्, यस्तोमा मैले तिमीलाई कसरी ब्युँझाउन सक्थेँ र ? प्रेमीले लाचारी व्यक्त गर्दा महिलाले नै उपाय सिकाउँछे। 
  

 गोरियम मारी जगैटो रे, हम ढानी जगटुँ
 छोरी जैटुँ पिहवा रे, टोहारे सँगे लगटुँ। 

गोडामा सामान्य छोएजस्तो हानेको भए म ब्युँझिहाल्थेँ नि। त्यसपछि त पिहालाई छाडेर तिम्रै साथ लाग्ने थिएँ। यसरी बहुविवाहको प्रसँग मात्रै होइन, अन्तर्जातीय विवाहको सम्भावनाको प्रसंग पनि सजनामा देखिन्छ। 
  

 सटरंग गोन्द्री विछैनै रे, डरजी भैया बैठे
 सुटुर सुटुर डरजी सिएनै कि सुवरनी मुस्की मारे

यहाँ आफ्नो घरमा लुगा सिउन आउने दर्जीलाई रंगिन गुन्द्री ओछ्याएर स्वागत गरी लुगा सिएको हेर्ने र मुसुक्क मुस्कान छाड्ने सुवरनी नामक जवान केटीको वर्णन छ। 
    

भाग्यो रे सुगा भाग्यो रे, कजरी वनमेँ भाग्यो 
 गोहीक पिहा बटाँ रे शिकरिया बत्तीस गोली मरहीँ 
    

यहाँ सजनाको सामान्य अर्थ लगाउँदा एक चेलीले आफ्नो सखीको लोग्ने निकै सिकारी भएकोले सुगालाई बत्तीस गोली मार्न सक्ने भन्दै कजरी वन अर्थात् घना जंगलमा भाग्न अनुरोध गर्छिन्। प्रस्तुत सजनाको लाक्षणिक अर्थ केलाउँदा पोथी सुगालाई महिलाको रूपमा चित्रण गरिएको छ र सखीको लोग्नेबाट जोगिन अनुरोध छ। उनले घरमा आफ्नी श्रीमती छँदाछँदै अन्य ३१ जनालाई प्रेमजालमा फँसाइसकेको तिमी बत्तीसौँ नम्बरको सिकारमा पर्न सक्छ्यो भनी सचेत गराइएको छ। यसरी थारू लोकसाहित्यको सजनामा प्रेमप्रसंगको वर्णन छताछुल्ल भएको देखिन्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि