मन्त्र के हो ? यसको प्रयोग किन गरिन्छ ?

writer

याेगी विकासानन्द

मङ्गलबार, २८ फागुन २०७५


कतिपयले मन्त्र योग वा मन्त्रको प्रयोगलाई अन्धविश्वास पनि भन्ने गरेका छन्। यसलाई रुढीग्रस्त परम्परा ठान्नेको संख्या ठूलो छ। तर, विज्ञान र प्रविधि क्षेत्रका पछिल्ला अनुसन्धानले मन्त्रको सामथ्र्यलाई पुष्टि गरिरहेका छन्। 


हाम्रा परम्परागत हरेक संस्कारमा मन्त्रको प्रयोग हुँदै आएको छ। हामी कतै न कतैबाट मन्त्रनिर्देशित वा मन्त्रसँग सम्बन्धित छौँ। जन्मदेखि मृत्यु संस्कारसम्म हरेक कार्यमा मन्त्र केन्द्रीय पक्ष बन्ने गरेको छ। तर, मन्त्र के हो ? मन्त्र योग के हो ? यसको प्रयोग किन गरिन्छ भन्ने विषयमा अधिकांश अनभिज्ञ छौँ।

मन्त्रको प्रयोगमा वैज्ञानिकता छ कि छैन ? यो अन्धविश्वास हो कि ? वा यसले जीवन विकासमा अर्थपूर्ण सम्बन्ध राख्छ ? के मन्त्रहरू सिद्ध हुन्छन् ? अनि मन्त्र सिद्ध भनेको के हो ? मन्त्र उच्चारणबाट धर्म हुन्छ भन्ने सुन्दै आएका छौँ। के मन्त्रसँग पाप र धर्मको सम्बन्ध छ ? मन्त्रको विषयमा एक क्षण घोत्लियौँ भने हाम्रो मथिंगलमा यति धेरै प्रश्न आउन सक्छन्। 

दुई प्रकारका मन्त्र

अर्थप्रधान र ध्वनिप्रधान गरेर मन्त्र दुई किसिमका हुन्छन्। अर्थ दिने मन्त्र अर्थप्रधान हो भने कुनै अर्थ नखुल्ने ध्वनिप्रधान। उदाहरणका लागि, ‘स्वहम्’ भन्ने मन्त्र अर्थप्रधान हो। किनकि स्वः भनेको परमात्मा र हम भनेको म (आफू) हो। यो मन्त्रले परमात्मा भनेकै मै हुँ वा मभित्र परमात्मा छ भन्ने अर्थ दिन्छ। अर्थपूर्ण मन्त्रलाई वर्तमान समयमा ‘अटोसजेसन’ भन्न सकिन्छ। मनोविज्ञानको एउटा विधा मानिने अटोसजेसनअन्तर्गत बारम्बार एउटै कुरालाई दोहोर्‍याइयो भने उक्त कुरा यथार्थ बन्छ भन्ने मान्यता छ।

उदाहरणका लागि, आफू खुशी भएको कुरालाई पटक–पटक दोहोर्‍याएर आफ्नो मस्तिष्कलाई सूचना दिने हो भने यथार्थमै खुशी हुन थालिन्छ। मन्त्र जाप पनि लाखौँ पटक गरेपछि सिद्धि हुन्छ भनिन्छ। यसरी हेर्दा उही कुरालाई धर्म–संस्कृतिले मन्त्र जाप र वर्तमान विज्ञानले अटोसजेसन मान्दै आएको छ। 

अर्थप्रधान मन्त्रलाई विज्ञानले आत्मसात् गरेको छ। तर, ध्वनिप्रधान मन्त्रको विषयमा विज्ञानले आफ्ना तर्कहरू उल्लेख्य मात्रामा पेश गर्न सकेको छैन। उदाहरणका लागि ॐ भन्ने मन्त्रले कुनै अर्थ दिँदैन। तर, मन्त्र जापमा ॐ को सबैभन्दा ठूलो स्थान छ। 

ॐ र ४३२ 

पद्धति र नियमअनुसार सृष्टि सञ्चालन भइरहेको छ भने ॐ कम्पन (भाइब्रेसन) ले काम गरिरहेको हुन्छ। जब सृष्टिमा विपरीत कर्म वा कार्यहरू भइरहेका हुन्छन्, तब ॐ कम्पन क्रियाशील हुँदैन। यसरी हेर्दा ॐ लाई ‘सृष्टि ध्वनि’ पनि भन्न सकिन्छ। 

पछिल्लो समयमा अमेरिकी स्पेस एजेन्सी नासाले सूर्यको आवाजसँग सम्बन्धित रहेर विभिन्न अनुसन्धान गरेको थियो। ती अनुसन्धानमा ॐ ध्वनि उच्चारण गर्दा जस्तो आवाज निक्लन्छ, सूर्यबाट पनि करिब–करिब त्यस्तै ध्वनि निक्लरहेको पत्ता लाग्यो। त्यसै गरी, प्रकृतिको सतत् कम्पनमा पनि ॐ ध्वनि नै प्रसारित भइरहेको हुन्छ।

कम्पन्न र आवृत्ति (फ्रिक्वेन्सी) अवस्थाअनुसार परिवर्तन हुन्छन्। हामी स्वस्थ छौँ भने हाम्रो कम्पन्न र आवृत्ति एउटा हुन्छ भने बिरामी भयौँ भने अर्कै हुन्छ। यतिसम्म कि हामीले देख्ने रङहरूको पनि आ–आफ्नै आवृत्ति हुन्छ। रंग परिवर्तन हुनासाथ आवृत्ति पनि परिवर्तन हुन्छ।

सम्पूर्ण वातावरण वा सृष्टि पद्धति नियमसंगत रूपमा चलिरहँदा ४३२ हर्ज आवृत्ति प्रसारित भइरहेको छ। ४३२ हर्ज आवृत्ति प्रसारित हुनु सकारात्मक, स्वस्थ, आनन्दित र सृजनशील वातावरण बन्नु हो। वा, ४३२ हर्ज आवृत्तिमा सकारात्मकता, आनन्द र सृजनाको ऊर्जा प्रवाहित हुन्छ। जब अस्वस्थ, विनाश र विखण्डनको अवस्था आउँछ, त्यो बेलामा प्राकृतिक आवृत्ति ४३२ हर्ज पनि परिवर्तित हुन्छ। 

पछिल्ला अनुसन्धानहरूले के पत्ता लगाए भने हामीले ॐ कार ध्वनि जाप गर्दा वातावरणमा ४३२ हर्जको आवृत्ति निर्माण हुन पुग्छ। जसले आनन्द, स्वास्थ्य र शान्तिको सृजना गराउँछ। ॐ ध्वनि ‘अ’ ‘उ’ र ‘मऽ’ मिलेर बनेको छ। ‘अ’, ‘उ’ र ‘मऽ’ जिब्रोबिना पनि उच्चारण गर्न सकिन्छ। यसरी हेर्दा कुनै पनि शब्दको विकास हुनु वा कुनै पनि ध्वनि बन्नुभन्दा पहिला नै ॐ को प्रादुर्भाव भइसकेको थियो। 

संसारका सबैभन्दा खतरनाक शासक मानिएका हिटलरले संगीतमा प्रयोग हुँदै आएको ४३२ हर्जको आवृत्तिलाई परिवर्तन गर्न लगाएको बताइन्छ। हिटलर आफ्नो उद्देश्य प्राप्तिका लागि मानिसहरूलाई उद्वेलित बनाउन चाहान्थे। जसले युद्ध र हिंसाको वातावरण तयार पारोस्। तर, तत्कालीन समयमा प्रयोग भइरहेको ४३२ हर्जको आवृत्तिको संगीतले मानिसमा शान्ति र सद्भाव सम्प्रेषित गरिरहेको थियो। जसका कारण हिटलरले संगीतको आवृत्ति नै परिवर्तन गर्न लगाएका थिए। 

सामान्यतः जुन संगीतले शान्ति र आनन्दको प्रत्याभूति गराउँछ, उक्त संगीतमा ४३२ हर्ज आवृत्ति हुन्छ भने चञ्चलता र अस्थिरता निम्त्याउने संगीतमा ४३२ हर्ज आवृत्ति हुँदैन। 

कतिपय गीत पचासौँ वर्षदेखि सदाबहार छन्। ती गीतले हरेक पुस्तालाई उत्तिकै प्रभावित पार्दै आएका छन्। तर, पछिल्ला समयका अधिकाशं गीतले तत्काललाई हलचल निम्त्याउँछन्। मानिसलाई उत्तेजित पार्छन्। तर, केही समयपछि हराएर जान्छन्। यसो हुनुको पछाडि हामीहरू गीतको शब्दलाई दोष दिन्छौँ। शब्द पनि एउटा कारण होला। तर, प्रमुख कारण गीतको आवृत्ति नै हो। 

मन्त्र र मस्तिष्कको आवृत्ति

हाम्रो मस्तिष्कमा बिटा, अल्फा, थेटा, डेल्टा र गामा गरी पाँच वटा ब्यान्डहरू मार्फत ‘इलेक्ट्रिसिटी’ उत्पादन हुन्छ। यी हरेक ब्यान्डका आ–आफ्नै सामथ्र्य हुन्छन्। पाँच वटै ब्यान्ड एकसाथ सक्रिय भए भने मानिस सर्वाधिक शक्तिशाली बन्छ। यदि मस्तिष्कको विद्युतीय तरंग परिर्वतन गर्न सकियो भने मानिसले आफूलाई रूपान्तरण गर्न सक्छ। मन्त्रले मस्तिष्कका विद्युतीय तरंगमा परिवर्तन ल्याउँछ। 

मानिसका आवश्यकता र चाहना अनुसारका मन्त्रहरू छन्। ज्ञान चाहिनेलाई ज्ञानदायक मन्त्र छन्। बुद्धि चाहिनेलाई बुद्धि, त्यसै गरी धन चाहिनेलाई धन र मोक्ष चाहिनेलाई मोक्षप्रदायक। यी मन्त्रले मस्तिष्कको तत्–तत् तरंगलाई प्रभावित पार्छन्, जसले सम्बन्धित विषयको रूपान्तरण वा परिवर्तनमा महŒवपूर्ण भूमिका लिन्छन्। उदाहरणका लागि, कामनापूर्ति गर्न ‘क्लिम्’ भन्ने मन्त्र छ। यो मन्त्रले तपाईंको मस्तिष्कको आवृत्ति परिवर्तन गराउन सहयोग पुर्‍याउँछ।

जसअनुरूप कामनापूर्तिसँग सम्बन्धित व्यवस्थापन गर्ने सामथ्र्य तपाईंमा पैदा हुन्छ। यसरी तपाईंलाई प्रेम आवश्यक छ कि क्रोध ? धन आवश्यक छ कि ज्ञान ? कामनापूर्ति गर्नु छ कि वितरागी बन्नु छ ?  जे आवश्यकता छ वा जे बन्नु छ, उक्त कुरा प्राप्त गर्न तपार्इंको मस्तिष्कको आवृत्ति परिवर्तन गर्नैपर्छ। र, उक्त परिवर्तन मन्त्र जापमार्फत सम्भव हुन पुग्छ।

अर्थप्रधान वेदका मन्त्र 

वेदका मन्त्रहरू अर्थप्रधान हुन्। ऋग्वेदको पहिलो ऋचा ‘ ॐ अग्निमीले पुरोहितं यज्ञस्य देवमृत्विजम्। होतारं रत्नधातमम्।।’ ले अग्निको उपासना गरेको छ। यस मन्त्रमा ‘अग्नि मार्गदर्शक हो,  जसले भौतिक र आध्यात्मिक दुवै प्राप्तिसम्म पुर्‍याउँछ, त्यसैले अग्निको उपासन गर’ भनिएको छ। यो मन्त्रलाई सरसरती हेर्दा हामीले बाल्ने गरेको आगोको उपासना गर भनिएको बुझिन्छ। तर, हाम्रा शास्त्रमा आठ प्रकारका अग्निको चर्चा गरिएको छ।

जसले जीवनका सम्पूर्ण पुरुषार्थहरू प्राप्तिमा सहयोग पुर्‍याउँदै मोक्षसम्म पुर्‍याउने अवधारणा अगाडि सारिएको छ। उदाहरणका लागि, हाम्रा शास्त्रमा खूबै प्रयोग हुने ‘तप’ शब्दको अर्थ ‘तताउनु’ पनि हो। जसलाई साधना पनि भन्न सकिन्छ। तताउनु अर्थात् आफूलाई अग्नि स्वरूप बनाउनुबाट नै जीवन उपलब्धिमूलक हुन्छ। त्यसैले ‘अग्निमीले पुरोहितं यज्ञस्य...’ ले अग्निको उपासनामार्फत आफूलाई तताऊ र सक्षम बनाऊ भन्न खोजेको हो। तर, दुर्भाग्य, हामीले  दाउरामार्फत बल्ने आगो मात्र बुझ्यौँ। 

धामी–झाँक्री र मन्त्र भय

धामी–झाँक्रीहरूले पनि बिरामीको रोग निको पार्न मन्त्र प्रयोग गर्छन्। यो पनि आवृत्ति परिवर्तनसँग सम्बन्धित विषय हो। बिरामीमा अप्राकृतिक आवृत्ति प्रवाहित भइरहेको हुन्छ। जसलाई मन्त्रमार्फत परिवर्तन गराउँदै प्राकृतिक बनाउन खोजिन्छ। अर्काेतर्फ, मनोवैज्ञानिक कारणले पनि फुकफाकमार्फत रोगीहरू निको हुन्छन्। जसलाई ‘प्लेसिबो इफेक्ट’ भनिन्छ।

सामान्यतः धामी–झाँक्रीबाट रोग निको हुनुको पछाडि ‘प्लेसिबो इफेक्ट’ कै मुख्य भूमिका हुन्छ। किनकि, मन्त्रको प्रयोग, उच्चारण र अनुशासनमा सामान्य त धामी झाँक्रीहरूको ध्यान पुग्नै सक्दैन। 

मानव सभ्यताको विकाससँगै अध्यात्मको विकास भएको हो। सुरुमा साह्रै थोरै मानिस मात्रै अध्यात्मसँग जोडिएका थिए। ती जोडिएका मानिसले प्राप्त गरेको खुशी, आनन्द र स्वास्थ्यले अरूलाई पनि प्रभावित बनायो। जसका कारण ठुलो जनसंख्या आध्यात्मिक क्षेत्रमा प्रवेश गर्न खोज्यो। तर, आध्यात्मिक क्षेत्रमा प्रवेश गर्न धेरै बाधाहरू देखिए।

घर, परिवार र आफन्त नै बाधा बनेर उभिए। अहिले पनि ध्यान र धर्म भन्नासाथ परिवारले खासै उत्प्रेरित गर्दैन। कमाउने समयमा मानिस अनुत्पादक क्षेत्रमा बहकियो भन्ने मान्यता राखिन्छ। सिद्धार्थ गौतम पनि बाधा पन्छाउन हम्मे परेकै कारण मध्यरातमा सुटुक्क दरबारबाट निक्लिएका थिए। हरेक युगका साधकहरूले यस्ता बाधा झेल्छन्।

यी बाधा पन्छाउनका लागि अविचार विद्या (बोक्सी विद्या) को जन्म भएको हो। जसमा बाधाका रूपमा उभिएकालाई तृप्त पार्ने वा संहार गर्ने गरिन्छ। मोहित पार्नुपर्नेलाई मोहित पारेर, तृप्त बनाउनुपर्नेलाई तृप्त पारेर, संहार गर्नुपर्नेलाई संहार गरेर साधकले आफ्ना आध्यात्मिक बाधाहरू पन्छाउनुपर्छ भन्ने अवधारणाअनुरूप अविचार विद्या सुरु भएको हो।

यसमा पनि मन्त्रकै प्रयोग हुन्छ। महान् उद्देश्यसँग जोडिएको यो अविचार विद्या कालान्तरमा बदनाम हुन पुग्यो। जसका कारण मन्त्रलाई सर्वसाधारणले खतरनाक विषयका रूपमा बुझ्ने अवस्था सृजना भयो। 

सफल हुने र नहुने मानिसहरूको कार्यशैलीमा आकाश जमिनको फरक हुँदैन। उनीहरूको सफलता र असफलताका बीचमा आकाश–जमिनको फरक देखिए पनि साह्रै थोरै दृष्टिकोणको पृथकताले एउटा सफल र अर्काे असफल बन्छ। सामान्य देखिने मानिसकताको बदलावले पनि मानिसको जीवनमा अद्भूत परिवर्तन हुन्छन्। मन्त्र योग पनि मानसिकता परिवर्तन गराउने विधि हो। जसले तरंग र आवृत्तिमार्फत मानिसको दृष्टि, सामथ्र्य र ऊर्जामा परिवर्तन गराउँछ र मानिसले चाहेका विषय र क्षेत्र प्राप्त हुने आधार तयार पार्छ।

कतिपयले मन्त्र योग वा मन्त्रको प्रयोगलाई अन्धविश्वास पनि भन्ने गरेका छन्। यसलाई रुढीग्रस्त परम्पराको रूपमा नकार्नेहरूको ठूलो संख्या छ। तर, हामीले यो ठीक हो÷होइन भन्नका लागि विज्ञान र प्रविधि क्षेत्रले गरेका अनुसन्धानलाई आधार बनाउनुपर्छ। पछिल्ला अनुसन्धान र अन्वेषणले मन्त्रको सामथ्र्यलाई झनै पुष्टि गरिरहेका छन्।

मुख्य कुरा के हो भने जुनसुकै राम्रो कुरामा पनि विधि र मात्र पुगेन भने त्यसको कुनै अर्थ रहँदैन। त्यस्तै, मन्त्र योगको पनि आफ्नै विधि—विधान, पद्धति र अनुशासन छ, जसलाई अनुसरण गर्न सकियो भने मात्रै यसबाट लाभ लिन सकिन्छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार