नेपाली फिल्ममाथि खोइ रिसर्च ?

writer

दीपेन्द्र लामा

शुक्रबार, २४ फागुन २०७५


‘लुट’जस्तो ब्लकबस्टर फिल्म निर्देशन गरेका निश्चल बस्नेत हिजोआज अभिनय र आइटम डान्समा व्यस्त छन्। उनी निर्देशित पछिल्लो फिल्म ‘लुट २’ २०७३ फागुन १३ मा रिलिज भएको थियो। अर्थात्, दुई वर्ष भइसक्यो, उनी निर्देशनमा फर्किएका छैनन्। कहिले फर्किने हुन्, टुंगो छैन।

उनले पटकपटक भन्दै आएका छन्, ‘मैले निर्देशन गर्नलाई भनेजस्तो कथा नै भेटिएको छैन। म राम्रो कथाको खोजीमा छु। अहिले बनिरहेकाजस्ता फिल्म निर्देशन गर्ने इच्छा पनि छैन।’ पछिल्लो समय अधिकांश फिल्मले लगानी उठाउन सकेका छैनन्। निश्चलले तत्काल निर्देशन गर्न नचाहनुको कारण पनि यही हुन सक्छ।

तीन हप्ताअघि रिलिज भएको फिल्म ‘बुलबुल’ले गम्भीर दर्शक र समीक्षकबाट प्रशस्त प्रशंसा कमायो। तर, फिल्मले सोचेजस्तो पैसा कमाउन सकेन। स्टोरी–टेलिङ, अभिनय र प्राविधिक रूपमा परिपक्व यो फिल्मले पैसा कमाउन नसकेको देख्दा धेरैले चिन्ता व्यक्त गरेका छन्। 

हुन त पैसा कमाउनु मात्र फिल्मको सफलता होइन। तर, फिल्म बनाउन पैसाकै खाँचो पर्छ। र, निरन्तर फिल्म बनाइरहने हो भने हरेक फिल्मले कम्तीमा लगानी उठाउन सक्नुपर्छ।

पछिल्लो समय, ‘तान्द्रो’, ‘नाका’, ‘हरि’, ‘कथा ७२’ जस्ता अलि भिन्न स्वाद र शैलीका फिल्म पनि रिलिज भए। ती सबैले समीक्षकहरूबाट एकखाले प्रोत्साहन पाए। तर, ती सबै फिल्मले बक्सअफिसमा कुनै जादु देखाउन सकेनन्।

त्यसो त कमर्सियल भनिने पुरानो शैलीका फिल्महरूले पनि पैसा कमाउन सकेका छैनन्। कतिपय फिल्मले त काठमाडौँका मल्टिप्लेक्स हल नै पाउँदैनन्। ४०–५० लाखको लगानीमा बन्ने ‘सी’ ग्रेडका मानिने फिल्म त चलेको र उत्रेको थाहा नै हुँदैन। 

सस्तो र कमजोर मेकिङ भएका फिल्म हेर्न दर्शक नआउनु स्वाभाविकै हो। तर, राम्रा र कलात्मक भनिएका फिल्म हेर्न दर्शक किन आएनन् त ? अहिले यो प्रश्नले धेरैलाई पिरोलेको छ। 

सम्भवतः फिल्म राम्रो बनेको छ भन्ने सूचना दर्शकसम्म नपुगेको पनि हुन सक्छ। अथवा ती फिल्मका शैली बहुसंख्यक दर्शकले नरुचाएका हुन् कि ? अथवा फिल्मका गम्भीर दर्शकलाई पनि ती फिल्म अपेक्षा गरेभन्दा कमजोर लागेको पनि हुन सक्छ।

नेपालमा दर्शकको रुचि र ‘फिल्म लिटरेसी’मा विविधता छ। सबै दर्शकले सबैखाले फिल्म हेर्दैनन्। कोही आर्ट भनिने खालका फिल्म हेर्छन् भने कोही हल्काफुल्का कमर्सियल भनिने फिल्म मात्र हेर्छन्। कोही चाहिँ नेपाली फिल्म नै नहेर्ने पनि छन्। 

दर्शकको यो मिश्रित चरित्रलाई केलाउन वैज्ञानिक रिसर्चको खाँचो छ। कम्तीमा हरेक पाँच वर्षमा दर्शक मनोविज्ञान बुझ्न रिसर्च गरिनुपर्ने हो। फिल्मको बजारको पनि अध्ययन गर्न जरुरी छ। तर, नेपालमा फिल्मको दर्शक र बजारमाथि भरपर्दो अध्ययन गरिएकै छैन।

सरकारी निकाय चलचित्र विकास बोर्ड वा फिल्मका पेशागत संघ–संगठनहरूले यसतर्पm तुरुन्तै ध्यान दिनुपर्छ। अनि मात्र फिल्मबजारको वास्तविक आकार र दर्शकको चरित्र प्रष्ट हुन्छ। त्यस्तो अध्ययन फिल्मकर्मीका लागि एउटा मार्गनिर्देश हुन सक्छ।

नेपाली फिल्मको कारोबार पारदर्शी नभएकोले पनि निर्माताहरूलाई मर्का परेको छ। फिल्मले कति पैसा उठायो भन्ने हिसाब हलवालाले जे दियो, त्यही विश्वास गर्न उनीहरू बाध्य छन्। कारोबार पारदर्शी भइदिएको भए कस्तो विषयमा कतिसम्म लगानी गर्ने ? निर्मातालाई सजिलो हुन्थ्यो। बक्सअफिस प्रणाली पनि व्यवहारमा लागू भइसकेको छैन।

नयाँ पुस्ताका मेकरहरूले बनाएका फिल्मले बढीजसो पैसा मल्टिप्लेक्सबाट उठाइरहेका छन्। तर, त्यस्ता फिल्मले पनि मल्टिप्लेक्समा बलिउड र हलिउडका फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ। एकैदिन हिन्दी वा अंग्रेजी फिल्म रिलिज भए हलवालाको प्राथमिकतामा नेपाली फिल्म पर्दैन। 

फेसबुक, ट्वीटर र युट्युबमा पाएको ‘कमेन्ट’ र ‘लाइक्स’लाई नै सफलताको संकेत मानेर पनि धेरै फिल्मकर्मी आफ्नो काममा चिप्लिएका छन्। इन्टरनेट र सामाजिक सञ्जालमा सक्रिय ‘युजर’हरू धेरैजसो विदेशमा हुन्छन् भने स्वदेशमै भएकाहरू पनि ‘कमेन्ट’को नाममा ‘कमेन्ट’ दिनेहरू बढी हुन्छन्, जो फिल्म हेर्न हलमा विरलै जान्छन्। अनलाइन फ्रेन्डको अनुरोधमा लाइक गर्नेको संख्या पनि धेरै हुने गर्छ। यसैलाई इन्टरनेटमा राम्रो पब्लिसिटी भएको ठान्दै हात बाँधेर बस्दा धेरै निर्मातालाई घाटा परेको छ।

‘छक्कापञ्जा’ सिरिजमा दर्शक ओइरिए। तीनवटै सिरिजले पाँच करोडभन्दा बढी नाफा कमाएर देखाए। त्यही लहैलहैमा अरु निर्माताहरूले फिल्ममा अढाइ करोड रुपैयाँसम्म लगानी गर्न थाले। ‘कृ’ फिल्ममा अढाइ करोड लगानी परेको बताइन्छ।
‘कृ’ले पैसा कमाउन ‘छक्कापञ्जा’को जस्तै व्यापार गर्नुपथ्र्यो। तर, अनमोल केसी अभिनीत उक्त फिल्मले सुरुका दिनमा दर्शक ताने पनि टिकाउन सकेन। फिल्मको लगानी उठेन।

‘कृ’मात्र होइन अनमोलको पछिल्लो फिल्म ‘क्याप्टेन’ले पनि अपेक्षाकृत व्यापार गर्न सकेको छैन। पछिल्लो समय दर्शकको नजर स्टारभन्दा पनि फिल्मको कन्टेन्टमै जान्छ भन्ने प्रमाणित हुँदै छ। प्रदीप खड्काको ‘रोजी’ले दर्शक नतान्नु यसकै एउटा उदाहरण हो।

हिजोआज दर्शकसँग आपूmलाई इन्गेज्ड गराउने माध्यम धेरै छन्, मोबाइल फोन, इन्टरनेट, टीभी, खेलकुद, कन्सर्ट, डिस्को, ई–गेम आदि। दर्शकले फिल्म हेर्न समय त छुट्याउलान् तर गम्भीर र कलात्मक फिल्म हेर्ने, बुझ्ने र मनन गर्ने धैर्य चाहिँ धेरैसँग पक्कै छैन। त्यसैले पनि ‘बुलबुल’जस्ता फिल्म बक्स अफिसमा कमजोर देखिए। 

‘आमा’देखि गन्ती सुरु गर्ने हो भने नेपाली फिल्मको आयु ५३ वर्ष पुगेको छ। अहिलेसम्म पनि नेपाली फिल्मको नाटकीय संरचनामा पूरै परिवर्तन आइसकेको छैन। अभैm पनि नेपाली फिल्मकर्मीले बलिउडभन्दा पर सोच्ने र हेर्ने प्रयास नै गरेका छैनन्। ‘बुलबुल’ जस्ता फिल्मले यस्तो प्रयास गर्दै आएका छन्, तर तिनलाई पनि उल्लेखनीय प्रोत्साहन मिलिरहेको छैन।

नेपालकै मौलिकतामा आधारित भई फिल्म बनाउनुपर्छ भन्ने मान्यता अभैm पनि मजबुत भइसकेको छैन। १५–१८ वर्षअघि ‘मुकुन्डो’ र ‘नुमाफुङ’ले सुरु गरेको नेपाली समाजको कथा भन्ने परम्परालाई सबैले अनुकरण गरेको भए सायद अहिलेसम्म नेपाली फिल्मको एकखाले अन्तर्राष्ट्रिय पहिचान र भरपर्दो बजार बनिसक्थ्यो। 

नेपाली फिल्मले हलिउड वा बलिउडका भौतिक र प्राविधिक भव्यतासँग लड्न सक्दैन। हलिउड वा बलिउडमा नपाइने चिज हेर्न पाइयो भने मात्र नेपाली फिल्मको हालत सप्रिने हो। नेपालका स्थानीय साधारण पात्रहरूका असाधारण जीवन र उनीहरूले झेलिरहेका संघर्षका कथाहरू हलिउड वा बलिउडमा पाइँदैन। नेपाली फिल्मकर्मीले टिप्नुपर्ने विषय नै यिनै हुन्।

स्थानीय मौलिक विषयलाई फिल्ममा कलात्मक शैलीमा पस्किएमा दर्शक हलसम्म पक्कै आउनेछन्। तैपनि चलेका भनिएका फिल्मले समेत बल्लतल्ल लगानी मात्र उठाइरहेको अवस्था छ। बजार नबढेको प्रमाण हो यो। फिल्मको बजेट कतिसम्म बढाउने, कलाकारलाई पारिश्रमिक कतिसम्म दिने र रिलिजलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा सम्बन्धित निकायले तुरुन्त रिसर्च गर्नुपर्छ।
 
 

तपाईको कमेन्ट