हिउँको हिरो

युवराज भट्टराई
शुक्रबार, २४ फागुन २०७५
सफल पर्वतारोही हुन्, फुर्वा तेन्जिङ शेर्पा। गिनिज बुकमा उनको नाम लेखिएको छ। नेपाल, तिब्बत, चीन, युरोपका कैयौँ हिमाल चढिसकेका छन्। १० दिनमा दुई पटक, तीन दिनमा दुई पटकसम्म सगरमाथाको चुचुरोमा पुगेका छन्।
सन् २००६ मा फुर्वा तेन्जिङ शेर्पा आफ्ना माइला दाइ र अन्य साथीसँग पुमरी हिमाल चढ्न हिँडेका थिए। हिमपहिरोमा परी उनका दाइ तथा अन्य आरोहीको मृत्यु भयो। ‘धन्न म बाँचेँ,’ उनी सम्झिन्छन्, ‘माइला दाइ र अरू साथीलाई आफ्नै आँखाअगाडि कालको गाँस बनेको देखेँ।’
सानैदेखि हिमालसँग परिचित फुर्वा यस घटनापछि हिमालबाट टाढिए। ‘त्यो दुर्घटनाले मलाई झस्काइराख्थ्यो,’ उनी भन्छन्, ‘दाइ बित्दा आमा खूब रुनु भयो। आमाका आँसुले मलाई पोलिरह्यो। मैले ‘हिमाल चढ्दिनँ’ भन्ने अठोट गरेँ।’
तर, उनको अठोट एक वर्षभन्दा बढी टिक्न सकेन। ‘जीवनयापनका लागि मसँग एउटै सीप थियो, हिमाल चढ्ने र चढाउने,’ उनी सुनाउँछन्, ‘त्यो नगरी सुखै पाइनँ।’ उनी फेरि फर्किए हिमाल चढ्न र चढाउन। सन् २००७ मा १० दिनमा उनी दुई पटक सगरमाथाको चुचुरोमा उक्लिएँ। त्यसपछि उनी निरन्तर सगरमाथा चढिरहे। सन् २००८ मा तीन दिनमा दुई पटक र सन् २०१७ मा पनि तीन दुईमा दुई पटक उनी चुचुरोमा पुगे।
गिनिज बुक अफ वल्र्ड रेकड्र्समा फुर्वाको नाम दुई विधामा सुरक्षित छ। एउटै परिवारका सदस्यले एकै पटक सगरमाथा चढेको र एउटै परिवारका धेरै जनाले सगरमाथाको आरोहण गर्ने विधामा उनको नाम छ। उनका दाइहरूले पनि धेरै पटक सगरमाथा आरोहण गरेका छन्। दोलखामा रहेको रोल्बालिङ गाउँमा फुर्वाको बाल्यकाल बित्यो।
बाल्यकालमा उनी भारी बोक्ने गर्थे। हिमाल आरोहीका मार्गदर्शक बन्ने गर्थे। गाउँमा भएको स्कुल वर्षमा एक महिना पनि मुश्किलले लाग्थ्यो। ‘हिउँ परिरहने र एकदमै चिसो हुने भएकाले स्कुल वर्षमा एक महिना पनि राम्ररी खुल्थेन,’ उनी भन्छन्, ‘त्यसैले स्कुलको नाकमुख खासै देख्न पाइनँ।’ औपचारिक शिक्षा नपाए पनि उनलाई विभिन्न भाषाको ज्ञान छ। भन्छन्, ‘काठमाडौँमा बसेर अंग्रेजी, चाइनिज, जापनिजलगायत भाषा सिकेँ।’
जोखिममा ज्यान
फुर्वाले अहिलेसम्म १३ पटक सगरमाथाको सफल आरोहण गरेका छन्। पहिलो पटक तिब्बतपट्टिबाट सगरमाथाको चुचुरोमा पुगेका उनी चार पटक त्यही बाटो रोजेको बताउँछन्। ‘पछि नेपालबाटै चढ्न थालेँ,’ उनी भन्छन्, ‘नेपालबाट चढ्दा आफ्नो देशको पर्यटन प्रवद्र्धन हुन्छ भन्ने लाग्यो।’
नेपालबाहेक तिब्बत, चीन, युरोपका थुप्रै हिमाल चढेको उनी बताउँछन्। अक्सिजन मास्क बिगिँ्रदा, अक्सिजन सकिँदा जोखिम मोलेर पनि सगरमाथा आरोहण गरेको उनी सुनाउँछन्। ‘एक पटक मौसम, बाटोलगायत विभिन्न कारणले चुचुरोमा पुग्न दुई महिना लाग्यो,’ उनी भन्छन्, ‘चुचुरोमा पुग्दा अक्सिजन सकियो। मर्छु कि जस्तो लागेको थियो। धन्न, तल्लो क्याम्पबाट अक्सिजन, पानी, जुस आदि लिएर टोली उद्धार गर्न आइपुग्यो।’
अमादब्लमको चुलीमा पनि पुगेका छन्, फुर्वा। ‘१० दिनमा त्यहाँ पुगेँ,’ उनी सम्झिन्छन्, ‘चुलीमा पुगेपछि १० घण्टा त्यहाँ बिताएँ।’ नेपाल पर्यटन बोर्डले सन् २०११ मा उनलाई अमादब्लम चुलीको सद्भावना दूत बनाएको थियो।
शेर्पाहरू बाध्यताले हिमाल चढ्ने गरेको फुर्वा बताउँछन्। ‘मान्छेहरू रहरले हिमाल चढ्छन्,’ उनी भन्छन्, ‘शेर्पा बाध्यताले हिमाल चढ्छन्। आजभोलि केही शेर्पा अन्य क्षेत्रमा काम गर्न थालेका छन्। नत्र, पहिला त शेर्पाको काम नै हिमाल चढ्नु, भारी बोक्नु थियो।’ आफ्नो ज्यान जोखिममा पारेर शेर्पाहरूले हिमाल चढ्ने गरेको उनी बताउँछन्। ‘शेर्पाले हिमाल चढउँदा आफ्नो ज्यान जोखिममा पारेर पनि पर्यटककोे ज्यान जोगाउँछ,’ उनी भन्छन्, ‘मैले दुई पटक आफ्नो अक्सिजन मास्क दिएर पर्यटकको ज्यान बचाएको छु।’
हिमालमा पुग्दा
जीवनलाई एकछिन बिर्सिएर हिमाल चढ्ने गरेको फुर्वा बताउँछन्। उनी तिब्बत र नेपाल दुवैतिरको बाटोबाट सगरमाथा चढेका छन्। उनलाई नेपालको बाटो बढी खतरापूर्ण लाग्छ। ‘तर, खतरा सम्झिएर पनि भएन,’ उनी भन्छन्, ‘एक वर्षअघिदेखि सगरमाथा चढ्ने भन्दै बुकिङ भएको हुन्छ। पर्यटकको इच्छा मार्न सकिँदैन।’
हिमालका गोरटाहरूबाट राम्ररी परिचित छन्, फुर्वा। उनलाई हिउँका बाटाहरूको राम्रो ज्ञान छ। तर, ती बाटाहरूमा पर्यटकलाई लैजान कहिलेकाहीँ धेरै अप्ठ्यारो हुने उनी बताउँछन्। भन्छन्, ‘ती बाटा देखेर कोही–कोही पर्यटक साह्रै रिसाउँछन्,’ उनी भन्छन्, ‘कसैले गाली गर्छन् भने कोही त झम्टिनै आउँछन्।’ यस्तो हुँदा चित्त दुख्ने उनी सुनाउँछन्। ‘दुःख लागे पनि के गर्नु ?’ उनी भन्छन्, ‘पर्यटकलाई अलपत्र पार्नु त भएन। जेजस्तो भए पनि उनीहरूलाई सुरक्षित गन्तव्यसम्म पु¥याउने प्रयास गरिन्छ।’
हिमालमा पुग्दा शेर्पाहरूको आफ्नै चलन भएको फुर्वा बताउँछन्। ‘शिखरमा पुगेपछि ढोग्ने गर्छन् शेर्पाहरू,’ उनी भन्छन्। पटक–पटक सगरमाथा पुगिसकेकाले त्यहाँको रमाइला दृश्यसँग उनी परिचित भइसकेका छन्। तर, पहिलो पटक त्यहाँ पुग्दा पर्यटक खुशीले रुने गरेको उनी सुनाउँछन्। ‘त्यो दृश्य देख्दा पर्यटक खुशीले रुने गर्छन्,’ उनी भन्छन्।
परबाट हेर्दा हिमाल सुन्दर देखिए पनि हिमालको दुःख त्यसलाई नजिकबाट नियाल्नेहरूले मात्र बुझेको उनी बताउँछन्। ‘हिउँमा हुर्किदाको पीडा र शिक्षा नपाउँदाको दुःख शेर्पालाई मात्र थाहा हुन्छ,’ उनी भन्छन्। फुर्वा हिमाल मात्र चढ्दैनन्, उनको ट्र्याकिङ एजेन्सी पनि छ। त्यसमार्फत उनले विभिन्न सामाजिक काम पनि गर्छन्।
उनले आफू हुर्किएको गाउँमा स्वास्थ्य चौकी बनाएका छन्। त्यहाँको स्कुललाई सहयोग गरेका छन्। जीवनको तुलना पैसासँग मात्र गर्न नहुने उनको मान्यता छ। ‘जीवन अमूल्य छ,’ उनी भन्छन्, ‘जीवनयापन गर्न शेर्पाहरूले हिमाल चढ्न र चढाउनुपर्छ। तर, कतिपय शेर्पा गन्तव्यमा नपुगी हिउँपहिरोको चपेटमा परी त्यहीँ जीवन गुमाउन पुग्छन्।’ शेर्पाहरूले यसरी जीवन गुमाएको देख्दा आफूलाई दुःख लाग्ने उनी बताउँछन्।
‘सगरमाथा’ नेपालीको परिचय
सरकारले पर्यटक वर्ष ‘यति र उति’ भनेर मात्र नहुने लाग्छ, फुर्वालाई। ‘हिमाल नेपालको महत्त्वपूर्ण सम्पत्ति हो,’ उनी भन्छन्, ‘यतातिर सरकारले विशेष ध्यान दिनुपर्छ।’ हिमाल चढ्न स्वदेशीभन्दा पनि विदेशी पर्यटक बढी आउने उनको अनुभव छ। ‘नेपालीहरूले पनि हिमाल चढ्नुपर्ने हो,’ उनी भन्छन्, ‘हामी नेपाली आफ्नै हिमाललाई चिन्दैनौँ। नेपाली हिमाल चढ्न विदेशबाट मान्छे आउँछन्।’
विदेशमा नेपालीको परिचय नै सगरमाथासँग जोडिने फुर्वा बताउँछन्। ‘विदेश जाँदा नेपालीको परिचय नै सगरमाथासँग जोडिएको छ भन्ने महसुस हुन्छ,’ उनी भन्छन्, ‘कतिपयले मलाई नै ‘सगरमाथा चढेका छौ ?’ भनेर प्रश्न गर्छन्। उनीहरूको कुरा सुन्दा हाँसो उठ्छ।’ छ हजार मिटरभन्दा मुनिका कति हिमाल चढेका छन् भन्ने उनलाई गन्ती छैन। कति पर्यटकलाई हिमाल चढाएका छन्, त्यसको हिसाब उनीसँग छैन।
देशको पर्यटन र आर्थिक विकासका लागि सर्वप्रथम नेपालीले नै नेपालको सुन्दरता चिन्नुपर्ने फुर्वा बताउँछन्। भन्छन्, ‘हामीले आफ्नो सुन्दरतालाई चिन्नुपर्छ। त्यसपछि मात्र देशको पर्यटन र आर्थिक विकास हुन्छ।’ प्राकृतिक रूपमा सम्पन्न भए पनि प्रचार–प्रसारको अभावमा नेपालको पर्यटन विकास हुन नसकेको उनको बुझाइ छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७