गुन्डागर्दी सिध्याउने अभियान

writer

सम्पूर्ण

बिहिबार, २३ फागुन २०७५


धरानमा लागुऔषध दुव्र्यसन र गुन्डागर्दीको समस्या अहिले प्रदेशकै टाउको दुखाइको विषय बनेको छ। आपराधिक घटनामा जेल परेर छुटेका युवा नै दोहोरिन थालेपछि प्रहरीले गुन्डागर्दी सिध्याउने अभियान थालेको छ। 



चौतारीमा लस्करै ५० भन्दा बढी युवायुवती बसेका छन्। धेरै जसो टिनएजर छन्, केही २२–२५ वर्षका युवा छन्। केही युवती पनि छन्। 
‘तिमीहरू सबैलाई चिनिराखूँ भनेर यहाँ बोलाएको हुँ,’ उनीहरूको अगाडि इलाका प्रहरी कार्यालय धरानका डीएसपी सुमनकुमार तिम्सिना चेतावनीको शैलीमा भनिरहेका छन्, ‘अब धरान पहिलाजस्तो हुँदैन। कि धरान छाड कि सुध्र। अरू उपाय छैन।’

प्रहरीले एक नम्बर प्रदेशमा बढी आपराधिक गतिविधि हुने शहरका रूपमा पहिचान गरेको धरानमा अचेल प्रहरीले ‘गलत संगत’मा लागेका युवायुवतीलाई जम्मा गरेर कार्यालयमै यसरी कक्षा चलाइरहेको छ। दुव्र्यसन र झैझगडामा संलग्नहरूले जतिसुकै बेला आपराधिक घटना गराउन सक्ने सम्भावना भएकाले प्रहरीले कार्यालयमै बोलाएर उनीहरूको नियमित निगरानी गरिरहेको छ।

धरानमा लामो समयदेखि रहेको लागुऔषध दुव्र्यसन र गुन्डागर्दीको समस्या अहिले प्रदेशकै टाउको दुखाइको विषय बनेको छ। पछिल्लो समय जेलबाट छुटेर आएका युवा पनि यस्ता घटनामा संलग्न हुन थालेपछि धरानमा पुनः अशान्ति बढ्न थालेको छ। चालु आर्थिक वर्षमा मात्र प्रहरीले ज्यान मार्ने उद्योगमा २२ जना, लागुऔषधमा ४६ जना र सार्वजनिक उपद्र्याइँमा ५६ जनालाई कारबाही गरिसकेको इलाका प्रहरी कार्यालय धरानको तथ्यांकमा उल्लेख छ। आपराधिक घटनामा पटक–पटक पक्राउ परेका र जेल परेर छुटेका युवा नै दोहोरिन थालेपछि इलाका प्रहरीले प्रदेश प्रहरीको सहयोगमा गुन्डाहरूको वर्गीकरण गरेर गुन्डागर्दी सिध्याउने अभियान थालेको हो।

गुन्डाहरूको वर्गीकरण

प्रहरीले गुन्डागर्दी र दुव्र्यसनमा संलग्नहरूलाई तीन श्रेणीमा वर्गीकरण गरेको छ। जसमध्ये राजनीतिक पहुँच भएका र ठूला आपराधिक गतिविधिमा संलग्न आठ जनाको नाम ‘क’ वर्गमा छ। त्यसमा सबैभन्दा सक्रियमा सन्तोष विक र श्री सुब्बाको नाम छ। 

धरानमा भएका गोलीकाण्ड, कट्टीकाण्डदेखि विभिन्न घटनामा संलग्न भएका विक अहिले कांग्रेसको भातृ संगठन तरुण दलका जिल्ला उपसभापति हुन्। यसअघि उनी संघीय लिम्बूवान पार्टीमा आबद्ध थिए। त्यस्तै, विभिन्न आपराधिक घटनामा मुछिएका श्री सुब्बा संघीय समाजवादी पार्टीमा आबद्ध छन्। प्रहरीले उनीहरूलाई सबैभन्दा सक्रिय र अन्य युवालाई परिचालन गर्ने गुन्डाको सूचीमा राखेको छ। प्रहरीले ‘क’ वर्गमै नेकपा आबद्ध दिवस राई र रतन लिम्बूलाई पनि राखेको छ। तर, उनीहरू हाल बाहिरी रूपमा निष्क्रिय रहेको उल्लेख छ।

प्रहरीको ‘ख’ वर्गमा २३ जनाको नाम उल्लेख छ। जसमा मोहित मगर, जञ्जु श्रेष्ठ, बालकुमार लिम्बूलगायत चार जना बढी सक्रिय रहेको प्रहरीको सूचीमा उल्लेख छ। ‘ख’ वर्गका गुन्डालाई ‘क’ वर्गका गुन्डाले आपराधिक गतिविधिमा प्रयोग गर्ने गरेको प्रहरीको दाबी छ।

प्रहरीको ‘ग’ वर्गको सूचीमा ३ सय ६४ जनाको नाम छ। जसमा अधिकांश लागुऔषधको कारोबार र प्रयोग गर्ने छन्। उनीहरूले जुनसुकै बेला आवेगमा घटना गराउन सक्ने प्रहरीको आंकलन छ। उनीहरूको सूची नै बनाएर प्रहरीले नियमित निगरानी र काउन्सिलिङ गरिरहेको छ। 

जेलबाट छुटेका नै अपराधमा 

गएको मंसिर २४ गते धरानमा जन्जु भनिने साइमन श्रेष्ठको समूहले आक्रमण गर्दा ‘मनोज राउत’को नाममा नक्कली नागरिकतासमेत बनाएर विभिन्न गतिविधि गरिरहेका मोहित मगर सख्त घाइते भए।

घटनाको दुई महिनापछि प्रहरीले जन्जुसहित सुमिर बम्जन र बालकुमार लिम्बूलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा चलायो। मोहितलाई पनि प्रहरीले पक्राउ गरेको थियो। तर, नागरिकता बदर गरेको भन्दै उनलाई छाडिदिएको छ।

यी युवाहरूको झगडालाई प्रहरीले सामान्य झगडाको रूपमा मात्र लिएको छैन।  जन्जु र मोहित २०६० साल कात्तिक १४गते धरानका विष्णा लिम्बूको हत्या अभियोगमा १२ वर्ष जेल सजाय भोगेर केही वर्षअघि मात्र छुटेका युवा हुन्।

त्यसबेला एउटै घटनामा दोषी ठहर भएका उनीहरू अहिले आपसमा दुश्मन बनेका छन्। हत्या अभियोगमा उनीहरूसँगै जेल परेर छुटेका चुचु भनिने दीपक राईलाई केही वर्षअघि अर्को समूहले हत्या गरेको थियो। लामो समय जेल बसेर फर्केका अभियुक्तको आचरण सुधार हुने अपेक्षा गरिन्छ। तर, अपराधमा जेल सजाय भोगेर फर्किनेकै संलग्नता बढ्न थालेपछि प्रहरीले यसलाई गम्भीरतापूर्वक लिएको डीएसपी सुमनकुमार तिम्सिना बताउँछन्।

प्रहरीको अध्ययनमा उनीहरूको अहिलेको झगडा व्यक्तिगत मात्र होइन। उनीहरूलाई परिचालन गर्ने अरू समूह छन् धरानमा। डीएसपी तिम्सिना भन्छन्, ‘यहाँ मेला, नगरपालिकाका ठेक्कापट्टाजस्ता कुरामा संलग्न समूहले परिचालन गर्ने गरेका छन्। तिनलाई राजनीतिक दलका नेताको संरक्षण छ।’

नेता र व्यापारीको संरक्षण

गएको दशैँताका धरान उपमहानगरपालिकाले विवादित रमाइलो मेलाको स्वीकृति दियो। स्थानीय नेता र गुन्डाको मिलेमतोमा लाग्ने मेलामा विगत केही वर्षदेखि काटाकाट हुन थालेपछि प्रशासनले बन्द गराएको मेला केही नेता र गुन्डाको दबाबमा कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले स्वीकृति दिएकी थिइन्। 

प्रहरीले गुन्डाको सूचीमा राखेका सन्तोष विक लगायतको समूह मेला लगाउनेमा थिए भने अर्का युवा श्री सुब्बाको समूह मेला लगाउनु नहुने पक्षमा। मेला सुरु नभई यस पटक पनि युवा समूहबीच झगडा भयो। जिल्ला प्रशासनले सुरक्षा दिन नसक्ने भनेपछि मेला लागेन तर त्यसबेलाको झगडाको तुस युवाहरूमा अझै बाँकी छ। बेला–बेला त्यही निहुँमा झगडा परिरहन्छ। प्रहरीले अहिलेको झगडालाई पनि तिनै दुई समूहको झगडाको रूपमा लिएको छ। 

धरानमा युवा समूहबीच काटमार र झैझगडाको इतिहास लामै छ। कुनै बेला धरानमा दुव्र्यसनमा लागेका युवाबीच दैनिकजसो काटाकाट हुन्थ्यो। बीचमा यस्ता घटना कम भएका थिए। तर, स्थानीय ठेकेदार र राजनीतिक दलका केही मान्छेले तिनै युवालाई ठेक्कापट्टादेखि दलका झण्डा बोक्न प्रयोग गरे। त्यसपछि उनीहरूबीच झगडा सुरु भयो। 

डीएसपी तिम्सिनाका अनुसार धरानमा राजनीतिक दलका केही स्थानीय नेता, व्यापारी र केही प्रहरीले समेत गुन्डाहरूको संरक्षण गरेको भेटिएको छ। उनी भन्छन्, ‘कुनै गुन्डा पक्राउ ग¥यो भने छुटाउन दलकै मान्छे आउँछन्।’

धरानमा लामो समयदेखि गुन्डागर्दी अन्त्य गर्ने कोसिस भए पनि प्रहरी सफल हुन सकेको छैन। त्यसको मुख्य कारण कुनै गुन्डा पक्राउ पर्नेबित्तिकै राजनीतिक दलका स्थानीय नेता छुटाउन पुग्थे। धरानमा नाम चलेका अधिकांश गुन्डा कुनै न कुनै राजनीतिक दलमा आबद्ध छन्। प्रहरीका अनुसार कुनै अभियुक्त पक्राउ पर्नेबित्तिकै छलफलका लागि भन्दै प्रहरी कार्यालय पुग्ने राजनीतिक र सामाजिक आवरणका बिचौलिया धेरै थिए। अहिले प्रहरीले आपराधिक घटनामा संलग्नका विषयमा छलफल गर्न भनेर आउनेलाई फर्काइदिने गरेको छ। यसअघिका डीएसपी रामेश्वर पौडेलले प्रहरी कार्यालयमा छलफल गराउने काम बन्द गरेका थिए।

प्रहरीले अनुसन्धान गर्दा नेता मात्र होइन, स्थानीय केही व्यापारीले समेत गुन्डाहरूलाई संरक्षण गरेको भेटेको छ। डीसपी तिम्सिना भन्छन्, ‘केही व्यापारीले आर्थिकदेखि सबै सहयोग गरेर गुन्डा प्रयोग गर्ने गरेका छन्। बगरकोटमा रातभर गुन्डाहरूको जमघट हुन्छ। त्यहाँ जाने प्रहरीलाई व्यापारीले समेत गाली गर्छन्।’ 

डीएसपी तिम्सिनाका अनुसार गुन्डाहरूको सम्बन्ध नेता, व्यापारी मात्र होइन केही प्रहरीसँग पनि रहेको भेटिएको छ। गुन्डा विरुद्धको अपरेसनमा नेपाल प्रहरीको कडा नीति रहेकाले उनीहरूसँग संलग्न कसैलाई पनि नछाड्ने तिम्सिनाको भनाइ छ। भन्छन्, ‘हामीले प्रहरीकै पनि निगरानी गरिरहेका छौँ। गुन्डागर्दी अन्त्य गर्न कुनै कसर बाँकी राखिन्न।’

त्यसो त प्रदेश प्रहरी कार्यालय विराटनगरले पनि गुन्डागर्दी अन्त्यका लागि सक्रिय हुने जनाउँदै गुन्डागर्दीबाट पीडितलाई उजुरी दिन आग्रह गरेको छ। 



‘गुन्डाहरूको प्रोफाइल तयार पार्दै छौँ’
डीएसपी सुमनकुमार तिम्सिना 
प्रमुख, इलाका प्रहरी कार्यालय धरान

पहिलादेखि धरानमा गुन्डाहरूले धेरै दुःख दिएका रहेछन्। तर, ती गुन्डालाई यहाँका राजनीतिक दल र समाजकै केही मान्छेले संरक्षण गरेका रहेछन्। अहिले पनि कोही गुन्डा पक्राउ पर्दा तिनै मान्छे मिलाउन भन्दै आउँछन्। अहिले यहाँ अपराध गर्नेलाई मिलाउने कुनै काम हुँदैन। भनसुन गर्न आउनेलाई सम्झाएर फर्काइदिन्छौँ। मैले गुन्डालाई पक्राउ गर्दा उनीहरूका संरक्षक केही मान्छे मलाई नै हटाउनका लागि ‘डेलिगेसन’ गए। अहिले हामीले वर्गीकरण गरेका गुन्डाको प्रोफाइल बनाइरहेका छौँ। यिनीहरूको सम्बन्ध को–कोसँग, कहाँ–कहाँ छ भनेर खोजिरहेका छौँ। भोलिका दिनमा कुनै घटना हुँदा गुन्डालाई जोगाउन, संरक्षण गर्न लागि पर्नेलाई पनि छाडिँदैन। गुन्डाहरूले कि धरान छाड्नुपर्छ, कि सुध्रिनुपर्छ। अरू उपाय छैन।

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि