नेपालले कहिले जित्ला ओस्कर ?

writer

दीपेन्द्र लामा

बिहिबार, १६ फागुन २०७५


एकेडेमी अवार्ड अर्थात् ओस्करसँग नेपालको नाम जोडिएको २० वर्ष पूरा भएको छ। नेपालले सन् १९९९ मा रिलिज भएको ‘क्याराभान’ फिल्मबाट ओस्कर यात्रा थालेको थियो। ७२ औँ एकेडेमी अवार्ड समारोहमा फ्रान्सेली निर्देशक एरिक भ्यालीद्वारा निर्देशित ‘क्याराभान’लाई ‘बेस्ट फरेन ल्यांग्वेज फिल्म’को सम्भावित विजेताका रूपमा हेरिएको थियो। 

फ्रान्सको ‘इस्ट वेस्ट’, बेलायतको ‘सोलोमन एन्ड जाइनर’, स्विडेनको ‘अन्डर दी सन’ तथा स्पेनको ‘अल अबाउट माई मदर’सँग ‘क्याराभान’को भिडन्त चल्दै थियो। निर्देशक एरिक भ्याली र निर्माता नीर शाहले अमेरिका पुगेर फिल्मका लागि ‘लबिङ’ पनि गरेका थिए।

तर, पेड्रो अल्मोदोभारद्वारा निर्देशित स्पेनिस फिल्म ‘अल अबाउट माई मदर’ले बाजी मा¥यो। नजिते पनि पहिलो सहभागितामै ओस्करमा मनोनीत हुन पाउनुलाई नेपालको ठूलो उपलब्धि मान्नुपर्छ। त्यसो त, निर्देशक, टेक्निसियन र लगानीकर्ता विदेशी भएकाले ‘क्याराभान’लाई नेपाली बलबुतामा बनेको फिल्म मान्न नहुने तर्क एकथरीको छ। 

७२ औँ ओस्करमा नेपालसहित भुटान र ताजिकिस्तानले पनि डेब्यू गरेका थिए। भुटानबाट ‘द कप’ र ताजिकिस्तानबाट ‘लुना पापा’ फिल्म पठाइएको थियो। ‘द कप’का भुटानी निर्देशक खेन्से नोर्बुले नेपालमा छायांकन गरिएको सन् १९९३ को इटालियन फिल्म ‘लिटिल बुद्ध’मा निर्देशक बर्नार्डो बर्टोलुचीसँग कल्चरल कन्सल्ट्यान्टका रूपमा काम गरेका थिए।

अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइसेन्जले ७२ औँ ओस्करको ‘बेस्ट फरेन ल्यांग्वेज’ क्याटगोरीमा सहभागी हुनका लागि ७५ देशलाई पत्राचार गरेको थियो। तीमध्ये ४७ देशले आफ्ना फिल्म पठाएका थिए। 

यसपालि ९१ औँ ओस्करका लागि नेपालबाट शिवम अधिकारीद्वारा निर्देशित ‘पञ्चायत’ फिल्मले सहभागिता जनाएको थियो। नेपालसहित ८७ देशका फिल्म प्रतिस्पर्धी बने। मलावी र नाइजरले यही वर्षदेखि ओस्कर यात्रा थालनी गरे।

८७ देशमध्ये सन् २०१८ को अन्त्यतिर नौ वटा फाइनलिस्ट फिल्मको नाम घोषणा गरिएको थियो। फाइनलमा पर्न सफल फिल्म कोलम्बियाको ‘बड्र्स अफ प्यासेज’, डेनमार्कको ‘द गिल्टी’, जर्मनीको ‘नेभर लुक अवे’, जापानको ‘सपलिफ्टर्स’, काजाकिस्तानको ‘आएका’, लेबनानको ‘केपरनाम’, मेक्सिकोको ‘रोमा’, पोल्यान्डको ‘कोल्ड वार’ र दक्षिण कोरियाको ‘बर्निङ’ थिए। सन् २०१९ जनवरी २२ मा घोषित पाँच मनोनीतको सूचीमा कोलम्बिया, डेनमार्क, काजाकिस्तान र दक्षिण कोरियाका फिल्म अटाउन सकेनन्। 

मनोनीत चार फिल्मलाई उछिन्दै अल्फोन्सो क्वारोनद्वारा निर्देशित ‘रोमा’ले अवार्ड उचाल्यो। ९१ औँ संस्करणसम्म आइपुग्दा मेक्सिकन फिल्मले यस क्याटगोरीमा अवार्ड जितेको यो पहिलो अवसर हो। अहिलेसम्म ५१ वटा मेक्सिकन फिल्मले ओस्करमा सहभागिता जनाइसकेका छन्। तीमध्ये ‘रोमा’सहित नौ वटा फिल्म अन्तिम भिडन्तका लागि मनोनयनमा परेका थिए।

गत आइतबार लस एन्जलसस्थित हलिउडको डल्बी थिएटरमा सम्पन्न ओस्कर समारोहमा ‘रोमा’बाट निर्देशक अल्फोन्सोले निर्देशन र छायांकन विधामा पनि अवार्ड उचाले। अल्फोन्सोले यसअघि सन् २०१३ को फिल्म ‘ग्य्राभिटी’बाट पनि ओस्करमा उत्कृष्ट निर्देशकको अवार्ड जितिसकेका छन्। उनी उत्कृष्ट निर्देशनमा ओस्कर जित्ने प्रथम दक्षिण अमेरिकी निर्देशक हुन्। स्पेनिस भाषाको फिल्म ‘रोमा’ कुल १० वटा विधामा मनोनीत भएको थियो। 

ओस्करसँग जोडिएको २० वर्ष पूरा भए पनि नेपालले यो अवधिमा जम्मा १० वटा फिल्म मात्र पठाएको छ। ‘क्याराभान’पछि लगत्तै ७३ औँ ओस्करमा नेपालबाट ‘मुकुन्डो’ले सहभागिता जनायो। निर्देशक छिरिङरितार शेर्पाका अनुसार यो फिल्म दोस्रो चरणमा पुग्न सफल भएको थियो। तर, मनोनीत चाहिँ हुन सकेन।

त्यही वर्ष ताइवानी फिल्म ‘क्राउचिङ टाइगर हिडेन ड्रागन’ले अवार्ड जित्दा बेल्जियमको ‘एभ्रिबडी फेमस’, चेक गणतन्त्रको ‘डिभाइडेड वी फल’, फ्रान्सको ‘द टेस्ट अफ अदर्स’ र मेक्सिकोको ‘एमोरेस पेरोस’समेत अन्तिम पाँचमा पुग्न सफल भएका थिए।

नेपालले त्यसपछि दुई वर्ष फिल्म पठाएन। एकैपटक ७६ औँ संस्करणमा फिल्म ‘मुनामदन’ पठायो। लक्ष्मीप्रसाद देवकोटाको खण्डकाव्यमा आधारित फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका थिए। उक्त वर्ष ५६ फिल्म ओस्कर दौडमा सहभागी भए। मंगोलिया, प्यालेस्टाइन र श्रीलंकाले सोही वर्ष पहिलोपटक सहभागिता जनाए।

चेक गणतन्त्रको ‘जेलारी’, जापानको ‘ट्वाइलाइट सामुराई’, नेदरल्यान्ड्सको ‘ट्वीन सिस्टर्स’, स्विडेनको ‘इभिल’ र क्यानडाको ‘द बार्बारियन इन्भेजन्स’ अन्तिम पाँचमा पुगेका थिए। त्यो वर्ष भारतले ‘आफ्नो देशबाट ओस्कर अवार्डका लागि योग्य कोही पनि छैन’ भन्दै फिल्म पठाएन। अवार्ड क्यानडाले जित्यो।

‘मुनामदन’पछि नेपालले ओस्करमा फेरि दुई वर्ष विश्राम लियो। सन् २००६ मा रिलिज भएका फिल्महरूले सहभागिता जनाएको ७९ औँ ओस्करका लागि नेपालबाट सुभाष गजुरेलको ‘बसाइँ’लाई सिफारिस गरियो। उक्त वर्ष नवप्रवेशी अजरबैजान र किर्गिस्तानसहित ६१ देशका फिल्मले भाग लिएका थिए।

त्यही संस्करणदेखि ‘बेस्ट फरेन ल्यांग्वेज फिल्म’ क्याटगोरीमा दुइटा नियम परिवर्तन गरियो। प्रारम्भिक कमिटीका सदस्यहरूको मतका आधारमा जनवरी महिनामा उत्कृष्ट नौ फिल्म छान्ने। त्यसपछि प्रारम्भिक कमिटीका १०, लस एन्जलसका १० र न्युयोर्कका १० एकेडेमी सदस्यहरूले उत्कृष्ट पाँच फिल्म छान्ने।

फिल्म जुन देशमा बनेको हो, त्यही देशको रैथाने भाषामा बनेको हुनुपर्छ भन्ने नियम पनि हटाइयो। इटालीको ‘प्राइभेट’ हिब्रु र अस्ट्रियाको ‘क्याचे’ फ्रान्सेली भाषामा निर्माण भएकाले ७८ औँ संस्करणको ओस्करको ‘बेस्ट फरेन ल्यांग्वेज फिल्म’को क्याटगोरीमा भाग लिन अयोग्य भएका थिए। हिब्रु र फ्रान्सेली क्रमशः इटाली र अस्ट्रियाका रैथाने भाषा होइनन्।

रैथाने भाषामै बनेको हुनुपर्ने नियम हटाएपछि ‘वाटर’ फिल्मलाई फाइदा मिल्यो। दीपा मेहताद्वारा निर्देशित उक्त हिन्दी भाषाको फिल्म ७९ औँ संस्करणको ओस्करमा क्यानडाबाट सहभागी भएको थियो। ‘वाटर’ अन्तिम पाँचसम्मै पुग्यो।

त्यस संस्करणमा अल्जेरियाको ‘डेज अफ ग्लोरी’, डेनमार्कको ‘आफ्टर दी वेडिङ’, जर्मनीको ‘द लाइभ्स अफ अदर्स’ र मेक्सिकोको ‘प्यान्स लेबिरिन्थ’ पनि अन्तिम पाँचसम्म पुगेका थिए। फ्रान्सको ‘एभेन्यु मोन्टेन’, नेदरल्यान्ड्सको ‘ब्ल्याक बुक’, स्पेनको ‘भोल्भोर’ र स्विट्जरल्यान्डको ‘भाइटस’ उत्कृष्ट नौसम्म पुगेर बाहिरिएका थिए। अवार्ड चाहिँ जर्मनीले जित्यो।

‘बसाइँ’पछि नेपाल ओस्करमा छ वर्ष अनुपस्थित रह्यो। ८६ औँ संस्करणमा ‘सुनगाभा’बाट नेपाल ओस्करमा फर्कियो। सुवर्ण थापाद्वारा निर्देशित फिल्मले अन्तर्राष्ट्रिय महोत्सवहरूमा राम्रै प्रतिक्रिया पाएकाले ओस्करमा पनि केही नतिजा हात पार्छ कि भन्ने आशा गरिएको थियो। तर, यो अन्तिम नौ फिल्मको सूचीमा पनि पर्न सकेन। इटालीको ‘द ग्रेट ब्युटी’ले अरू ७५ फिल्मलाई उछिन्दै अवार्ड जित्यो।

‘सुनगाभा’ले कुनै उपलब्धि हासिल नगरे पनि त्यसपछि नेपाली फिल्मले ओस्करमा निरन्तर भाग लिँदै आएको छ। ८७ औँ संस्करणमा यादव भट्टराईको ‘झोला’ र ८८ औँ संस्करणमा निश्चल बस्नेतको ‘टलकजंग भर्सेस टुल्के’ले भाग लिए। 

८९ औँ संस्करणमा मीन भामको ‘कालो पोथी’ र ९० औँ संस्करणमा दीपक रौनियारको ‘सेतो सूर्य’ सहभागी भए। यी दुवै फिल्म भेनिस र अरू प्रतिष्ठित फेस्टिभलमा छानिएका थिए। त्यसैले दुई फिल्ममाथि धेरैको अपेक्षा थियो। तर, दुवैले ओस्करमा कुनै प्रभाव पार्न सकेनन्। 

त्यसो भए नेपालले ओस्कर कहिले जित्छ त ? यो प्रश्नको जवाफ खोज्नुअघि एउटा तथ्यलाई मनन गर्न जरुरी छ। चीन, भारत, इजरायल, हङकङ, दक्षिण कोरिया, थाइल्यान्ड र श्रीलंका राम्रा फिल्म बनाउने देशमा गनिन्छन्। तर, उनीहरूले समेत अहिलेसम्म ओस्करमा ‘बेस्ट फरेन ल्यांग्वेज फिल्म’को अवार्ड जित्न सकेका छैनन्। 

तपाईको कमेन्ट