‘साइकल नै मेरो सर्वस्व’

writer

रचना श्रेष्ठ

सोमबार, १३ फागुन २०७५


यमलाल रसाइली, साइकल यात्री

कसैले मेरो जीवनको प्रिय पक्षबारे सोधे भने मेरो एउटै जवाफ हुन्छ– साइकल। साइकल मेरो जीवनको उज्यालो किरण हो। साइकलले मेरो जीवनको परिभाषा नै फेरिदिएको छ। 

मेरो जन्म भैरहवामा भयो। कैलाली, चुहा नगरपालिका, लम्कीमा बाल्यकाल बित्यो। अहिले ४० वर्षको भएँ। जन्मँदा मेरा दुवै खुट्टा ठीक थिए। चार वर्षको हुँदा दाहिने खुट्टामा समस्या देखियो। अस्पतालको साटो मलाई धामीझाँक्रीकोमा लगियो। काम्रो लगाए निको हुन्छ भनियो। सुन्निएको खुट्टामा बाँसको टुक्रा र जडीबुटीको लेप लगाएर काम्रोले बाँधियो। छ÷सात दिनपछि काम्रो खोल्दा यससँगै छाला पनि उप्कियो। पछि अस्पताल पुर्‍याउँदा त मेरो दाहिने खुट्टाको तिघ्रामुनिको भाग नै काट्नुपर्‍यो।

खुट्टा काटिएपछि मेरो जीवन कष्टकर र पीडादायी बन्दै गयो। सबैले मलाई हेयदृष्टिले हेर्न थाले, होच्याउन थाले। मेरो सहारा भनेकै बैसाखी थियो। चञ्चले स्वभाव भएकाले बैसाखी टेकेर बाहिर डुल्न जान्थेँ। जहाँ जाँदा पनि सबैले मप्रति सहानुभूति राख्थे। नरमाइलो महसुस हुन्थ्यो, फरक्क घर फर्किन्थेँ। खिन्न हुन्थेँ। स्कूलमा साथीभाइले मेरो बैसाखी समातेर हुत्याउने, धक्का दिने गर्थे। उनीहरूका आमाबुबा उनीहरूलाई मबाट टाढा रहन भन्थे। मसँग खेल्ने कोही साथी हुँदैनथ्यो। स्कुलमा पढ्ने वातावरण नभएपछि मैले तीन कक्षामा स्कुल छोड्नुपर्‍यो। मेरा दिन कोठाबाट बाहिर हेर्दै बित्थे भने रात रोएरै बित्थे। 

बुबाले कैलालीमै ‘नेपाल अपांग संघ’बाट सिलाइकटाइ तालिममा हालिदिनुभयो। त्यतिखेर म १३÷१४ वर्षको थिएँ। त्यहीँ बस्ने÷खाने व्यवस्था थियो। त्यतैबाट भजनी माध्यमिक विद्यालयमा पढ्न जान्थँे। जसोतसो एसएसली पास गरेँ। पछि त्यहीँ प्रशिक्षकका रूपमा काम गर्न थालेँ। अपांग संघबाट घरको दूरी ४८ किलोमिटर थियो। गाडी चढ्नुुपथ्र्यो। अपांगलाई हत्तपत्त गाडी रोक्दैनथे।

एक दिन चार÷पाँच जना भेला गरेर बल्लतल्ल गाडी रोक्न लगाएँ। गाडी रोकियो। बसको डन्डी समातेर चढ्दै थिएँ। मलाई धक्का दिएर बस सुुत्त अगाडि बढ्यो। म बुङ्लुङ्ङ लडेँ। यस घटनाले मलाई नराम्रोसँग घोच्यो। त्यहाँदेखि मैले अरूको भर नपर्ने निर्णय गरेँ। ‘सार्वजनिक गाडी चढ्दिनँ, अब साइकल चलाउँछु’ भन्ने सोच बनाएँ। त्यतिखेर म १९ वर्षका थिएँ।

घरमा दाइको साइकल थियो। जसलाई मैले नै सफा गर्थें। अंकलको साइकल पसल थियो। फुर्सद हुनेबित्तिक्कै त्यहाँ जान्थेँ, बस्थेँ। टुुटेफुटेका साइकल बनाउन पनि तम्सिन्थेँ। एक दिन अंकलको पसलमा देब्रे खुुट्टाको औँला नभएको मान्छेले मज्जाले साइकल चलाएको देखेँ। यो कुरा दाइलाई सुनाएँ। उहाँले ‘तिमी पनि चलाउन सक्छौ’ भन्नुभयो।

दाइको आँटले मैले साइकल सिक्ने कोेसिस गरेँ। दाइ सिटमा बस्नुुहुन्थ्यो, म पछाडि क्यारेजमा। उहाँले दाहिने खुुट्टाले प्याडल चलाउनुुहुन्थ्यो, म देब्रे खुुट्टाले। गर्दागर्दै पछि एक्लैले प्रयास गर्न थालेँ। धेरै पटक लडेँ। साइकल चलाउँदा कुलोतिर जागिन्थेँ। 

एउटा खुुट्टाले साइकल चलाउन मैले अनेक उपाय अपनाएँ। कति पटक सफल भएँ, कति पटक असफल। देब्रे खुुट्टाको चप्पल प्याडलमा बान्थेँ। अनि, आफूू खाली खुुट्टा साइकल डोर्‍याएर लैजान्थेँ। यसो गर्दा धेरै चप्पल टुुटे। दाहिने प्याडलमा चार फिटको लट्ठी राखेर हातलै घुुमाउँथेँ। यसो गर्दा पनि भएन। खूूब लडियो। एट्लसको हिरो साइकल चलाउँथेँ, त्यतिबेला। मैले साइकल चलाउन सिकेको कुरा घरमा दाइबाहेक कसैलाई थाहा थिएन। बिहान घरमा कोही नउठ्दै साइकल लिएर निस्कन्थेँ। 

एउटा खुुट्टाले प्याडल चलाउँदा बेस्करी च्याप्नुुपथ्र्यो। एक दिन देब्रेतिरको प्याडल जबर्जस्ती ठेल्दा फुुत्कियो। देब्रेतिरको प्याडल तल र दाहिनेतिरको माथि उठ्यो। यसो हुँदा साइकल चलाउन सजिलो महसुस भयो। यसरी उपाय लगाउँदालगाउँदै दुुई महिनामा साइकल चलाउन सिकेँ। पछि घरमा थाहा भएपछि सबैले अचम्म मान्नुुभयो। पछि म मज्जाले साइकलको ह्यान्डिल घुुमाउन जान्ने भएँ। यो मेरो जीवनको सबैभन्दा खुुशीको क्षण थियो। त्यसपछि साइकलमै ओहोरदोहोर गर्न थालेँ। 

मैले एक खुुट्टाले साइकल चलाएको देख्दा वरपरका मान्छे घुुरेर हेर्थे। बैसाखी टेकेर हिँड्ने मान्छेले साइकल गुडाएको देख्दा छक्क पर्थे। पछि मैले साइकल यात्रा गर्ने सोच बनाएँ। घरपरिवारबाट पनि साथ पाएँ। साइक्लिङ गर्नुपर्छ भनेर दिनहुँ अभ्यास गर्थें। त्यतिखेर मसँग राम्रो साइकल थिएन। साइकलकै लागि काठमाडौँ आएँ। यहाँ चिनेजानेको कोही थिएन।

बागबजारतिर डुुल्दै टेलरिङ काम खोज्न थालेँ। काम पाएँ पनि। एक खुुट्टा भएको मान्छेले साइक्लिङ गर्छु भन्दा कतिपय ठाउँमा हाँसोको पात्र बनेँ। पछि चिनजानमार्फत एउटा गैरसरकारी संस्थाबाट सहयोग स्वरूप साइकल पाएँ। 

२०५९ फागुुन २६ गते कञ्चनपुरको गड्डाचोकीबाट सुुरु गरेर २०६० साल जेठ १८ गते काठमाडौँ, गोरखा, पोखरा, पाल्पा हुँदै बुुटवलमा साइकल यात्रा टुुंग्याएँ। ३१ जिल्लाको साइकल यात्रा गरेँ। ३ हजार ३ सय किलोमिटरको यात्रा थियो। करिब साढे दुई महिना लाग्यो। दिनको आठ÷नौ घण्टा चलाउँथेँ। आफूलाई आवश्यक पर्ने सामान बोक्दा ४४ किलोको भारी भएको थियो।

धेरै ठाउँमा उकालो–ओरालो बाटो भएकाले चिप्लिएँ। रौतहटमा गोठमा बास बसेँ। गोठ, चौकीमा बास बस्दै साइकल यात्रा गरेँ। राति ८ बजेसम्म साइकल चलाउँथेँ। चिउरा, चाउचाउ बोक्थेँ। बाटोमा त्यही खान्थेँ र यात्रा गर्थें। रौतहट, जनकपुुरतिर धेरै माया पाएँ। मुुग्लिङबाट काठमाडौँ आउँदा बाटोमा धेरै सास्ती खेप्नुुपर्‍यो। हाइवेतिर साइकल गुडाउनु एकदमै गाह्रो भयो। 

साइकल यात्रा गरिसकेपछि ‘शारीरिक अपांग संघ’ले मलाई दोसल्ला ओढाई सम्मानपत्र दिएको थियो। मैले अहिलेसम्म ३९ जिल्लामा साइकल यात्रा गरिसकेँ। साइकलसम्बन्धी विभिन्न अभियान तथा प्रतियोगितामा सहभागी हुुने गर्छुु। साइकल नहुुँदो हो त सायद मैले आफ्नो क्षमतालाई चिन्न सक्दिनथेँ होला। साइकल नै सर्वस्व हो। साइकल नै मेरा लागि सबथोक हो। 

प्रस्तुतिः रचना श्रेष्ठ

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि