कान समाती उठबस अर्थात् गणेश योग

डा. योगी विकासानन्द
सोमबार, १३ फागुन २०७५
स्कुलमा दाहिने हातले देब्रे कानको लोती र देब्रे हातले दाहिने कानको लोती समातेर २०, ४०, ५० वा १०० चोटि उठबस गर्न लगाइन्थ्यो। उक्त सजायलाई ‘कान समातेर उठबस’ भन्ने गरिन्थ्यो। यो अपमान, ग्लानि र लाजको विषय थियो। तर, यो त अत्यन्तै वैज्ञानिक कसरत रहेछ। जसले दिमाग विकासमा महŒवपूर्ण योगदान पुर्याउँदो रहेछ।
भक्ति योग र गणेश
क्षेत्रपाटी र ठहिटीको बीचमा रहेको गणेश मन्दिरमा सालनालसहितको बच्चाका रूपमा म भेटिएको थिएँ। यसरी मेरो जन्मसँग गणेश मन्दिर जोडिएका कारण गणेशजीप्रति मेरो विशेष आकर्षण र जिज्ञासा थियो। सानो बेलामा आम हिन्दू बालबालिकाजसरी गणेशको दर्शन वा पूजा–अर्चना गरिन्थ्यो। किशोरकालको उत्तरार्धमा म माक्र्सवादी दर्शनसँग नजिकिन पुगेँ।
युवाकालमा आध्यात्मिक क्षेत्रमा प्रवेश गरेपछि पनि ओशो र कृष्णमूर्तिहरूले बढी प्रभावित गरे। जसबाट ज्ञान र ध्यान योग नै मुख्य चासोको विषय बन्यो भने भक्ति योगप्रति खासै अभिरुचि जागेन। जसको कारण गणेशजीप्रतिको मेरो जन्मजात जिज्ञासा विस्तारित हुन सकेन।
सन् १९९५ मा योगसँग सम्बन्धित कार्यक्रमका लागि ब्राजिल गएको थिएँ। अंग्रेजी नबुझ्ने ब्राजिलयनहरू योग गर्नुअगाडि र सकिएपछि बडो डुबेर भजन गाउँदा रहेछन्। म जीवनमै पहिलोपल्ट मन लगाएर भजन सुन्न बाध्य भएँ। ‘शिवशंकर शम्भो’ बोलको उक्त भजन सुनेको रात मलाई बडो मिठो निन्द्रा लाग्यो। त्यस दिन मलाई भक्ति योगको सामथ्र्य अनुभूत भयो।
‘हरे राम हरे कृष्ण अभियान’का प्रभुपाद तत्कालीन सोभियत संघमा जाँदा एक जना मानिस मात्र उनको भजन सुन्न आएका थिए रे। प्रभुपादको भजन सुन्न आउने मानिसलाई समाजले नै पागल भनेको थियो रे। तर, आज तिनै पागल भनिएका मानिसले रसियामा सुरु गरेको ‘हरे राम हरे कृष्ण अभियान’ अहिले संसारकै ठूलो अभियानका रूपमा परिचित छ।
तार्किक रूपमा हेर्ने हो भने यो अभियान वाहियात लाग्न सक्छ। तर, संसारभरका करोडौँ मानिस उक्त अभियानमा आबद्ध छन्। तर्क, गणित र तथ्य खोज्ने हो भने यो अभियानमा अभियानमा केही पनि छैन। तर, पनि संसारभर यो किन फैलँदो छ त ? बलिउड अभिनेता सलमान खानले एउटा फिल्ममा ‘मै दिल में तो आता हुँ, लेकिन समझ में नही आता हुँ’ भन्ने संवाद बोलेका छन्। भक्ति योग पनि यस्तै हो। तर्क गर्ने हो भने यसमा सामान्यतः तथ्य हुँदैन।
तर, यसले मानिसको दिललाई सहजै छुन्छ। नदेखिने विषयले मानिसलाई प्रभावित पार्नु तथा नदेखिने विषय वा क्षेत्रमा मानिसले विश्वास गर्नुलाई युक्तिसंगत नमान्ने आम दृष्टिकोण छ। तर, विज्ञान जब ‘क्वान्टम फिजिक्स’मा प्रवेश गर्यो, तब ‘पार्टिकल’ र ‘वेभ’ एउटै हुन्, अवस्था मात्र फरक हो भन्ने तथ्य उजागर भयो। उही वस्तु कहिले देखिने पार्टिकल बन्छ त कहिले नदेखिने वेभ ! त्यस्तै, तथ्य र तर्कबाट हेर्दा केही नदेखिने भक्ति योग पनि अन्य योगजत्तिकै महŒवपूर्ण छ।
हामीले बुझ्ने भगवान् गणेश भक्ति योगसँग सम्बन्धित भगवान् हुन्। सामान्यतः सम्पूर्ण भगवान् भक्ति योगसँग नै सम्बन्धित हुन्छन्। भगवान् गणेशसँग जोडिएर उत्तर भारतमा रहेको एक योग साधना वा गणेश पूजा परम्परा अहिले संसारभर ‘सुपर ब्रेन योगा’का रूपमा चर्चित भइरहेको छ। जसलाई मस्तिष्कसम्बन्धी सबैभन्दा शक्तिशाली योगका रूपमा परिभाषित गर्न थालिएको छ।
कमजोर विद्यार्थी एकदन्तमान
म नरदेवीस्थित भक्त विद्या आश्रममा दुई कक्षामा पढ्थेँ। स्कुलको वार्षिक उत्सव चलिरहेको थियो। उत्सव कार्यक्रमका वक्ताका रूपमा बोलिरहनुभएका एक जना सरले हाम्रो स्कुलमा यस्ता–यस्ता असल र पढ्ने विद्यार्थी पनि छन् भनेर चारपाँच जना विद्यार्थीको नाम लिनुभयो। त्यही बेलामा उहाँले ‘उ त्यो एकदन्तमान जस्तो एकदमै खराब विद्यार्थी पनि यहीँ पढ्छ’ भनेर मलाई भीडमा इंगित गर्दै देखाउनुभयो। त्यस दिन म लाजले पानी–पानी भएँ। आफ्नो ठूलो अपमान भएको महसुस गरेँ।
‘मास’मा सरले नै खराब विद्यार्थी भनेपछि स्वाभाविक रूपमा म कमजोर विद्यार्थी थिएँ। होमवर्क नबुझाएको, सरले सोधेको प्रश्नको जवाफ नदिएको जस्ता कारणले म हरेक दिन सजायको भागीदार बन्थेँ। सरहरूको सजाय दिने आ–आफ्ना शैली थिए। प्रायः सरहरू दाहिने हातले देब्रे कानको लोती र देब्रे हातले दाहिने कानको लोती समातेर २०, ४०, ५० वा १०० चोटि उठबस गर्न लगाउनुहुन्थ्यो।
उक्त सजायलाई ‘कान समातेर उठबस’ भन्ने गरिन्थ्यो। कान समातेर उठबस मेरो स्कुल कर्मको अभिन्न अंग थियो। कान समातेर उठबस गर्नु ठूलो अपमान, ग्लानि र लाजको विषय थियो। अहिले विद्यालयमा सजाय दिने क्रम घट्दै गएको छ। शैक्षिक सिकाइमा सजायलाई हटाउनुपर्छ भन्ने अभियान तीव्र छ। हाम्रो पुस्ताले विद्यालयमा पाएको कठोर सजाय अहिलेको पुस्तालाई कथा बन्दो छ।
हामीलाई सरहरूले गराउने उठबस अत्यन्तै वैज्ञानिक कसरत रहेछ। जसले दिमाग विकासमा महŒवपूर्ण योगदान पुर्याउँदो रहेछ भन्ने कुरा मैले केही समय अगाडि मात्र मेसो पाएँ।
तोपुकरणम अर्थात् गशेण योग
दक्षिण भारतमा गणेश पूजनअन्तर्गत तोपुकरणम भन्ने एउटा पूजा विधि प्रचलित छ। जसमा उही हामीले स्कुलमा गर्ने गरेको उठबस नै समावेश छ। तोपुकरणमअन्तर्गत गणेश मन्दिरमा गएर पूजा–अर्चना गरेपछि दाहिने हातले देब्रे कानको लोती र देब्रे हातले दाहिने कानको लोती समातेर उठबस गर्ने गरिन्छ। हाम्रा विद्यालयहरूमा रहेको ‘कान समातेर उठबस’ दक्षिण भारतमा तोपुकरणमको नाममा सुरक्षित छ। यहाँ शैक्षिक सजायका रूपमा रहेको विधि त्यहाँ धार्मिक प्रक्रियाको रूपमा स्थापित छ।
तोपुकरणम वा ‘कान समातेर उठबस’ गुरुकुलबाट सुरु भएको हो। गुरुकुलमा सबै खाले विद्यार्थी जान्थे। कोही मेधावी हुन्थे, कोही समान्य त कोही अति कमजोर। कमजोर विद्यार्थीहरूको शिक्षा सामथ्र्य विकास गर्न तत्कालीन ऋषिमुनिहरूले खोज गरेर तोपुकरणम प्रयोगमा ल्याएका हुन्। जसले विद्यार्थीलाई सजायको अनुभूति दिनु सँगसँगै उनीहरूको मस्तिष्क विकासमा पनि महŒवपूर्ण भूमिका निर्वाह गर्छ।
गुरुकुलबाट सुरु भएको उक्त विधिको रूप नै हामीले गरेको कान समाती उठबस हो। तर, प्रचलनमा रहेको कान समाती उठबसमा तोपुकरणमको सम्पूर्ण विधि समावेश छैन। गुदीविनाको बोक्रा मात्र छ। अर्काेतर्फ यसलाई सजायका रूपमा मात्र बुझ्ने क्रम तीव्र भएपछि यसको गुणवत्ताको विषयमा खासै चर्चा भएन। बरु विद्यार्थीमाझ झन्झट र यातनाका रूपमा यो स्थापित भयो।
तिमीहरूले ‘यो–यो विधिसहित यो उठबस गर्यौ भने तिमीहरूमा पनि मेधावी विद्यार्थी बन्ने सम्भावना बढ्छ’ भनेर कमजोर विद्यार्थीलाई ‘मोटिभेट’ गर्न सकेको भए तोपुकरणमबाट फाइदा लिन सकिन्थ्यो।
गुरुकुलबाट स्थापित कान समाती उठबस एकातर्फ शिक्षा क्षेत्रको सजायका रूपमा परिचित भयो भने अर्काेतर्फ गणेश पूूजन विधिका रूपमा संस्कृति बन्यो। गणेशजी बुद्धिका देवता हुन्।
पौराणिक मान्यताअनुसार गणेशजीका ऋद्धि, सिद्धि र बुद्धि गरी तीन जना श्रीमती छन्। एउटी श्रीमती बुद्धि हुनुबाट पनि यो कुरा स्पष्ट हुन्छ। अर्काेतर्फ गणेशलाई बिघ्नहर्ता भनिन्छ। बिघ्न त्यतिबेला मात्र हट्छ, जब मानिसले ज्ञान र बुद्धिले काम गर्छ। बिघ्न के हो ? बिघ्न कहाँबाट छ ? असफल हुनाका वा काम रोकिनाका कारण के–के ? आदि ठम्याएपछि मात्र बाधा हट्ने हो। अनि, यो कारण ठम्याउन बुद्धि र ज्ञान चाहिन्छ।
बुद्धि र ज्ञान प्रबल बन्न मस्तिष्क शक्तिशाली हुनुपर्छ। तोपुकरणमले मस्तिष्क शक्तिशाली बनाउने हुनाले नै यसलाई गणेश पूजन विधिमा समावेश गरिएको हो। गणेश भगवान्सँग जोडिएर संस्कृतिका रूपमा सुरक्षित रहेको कारणले तोपुकरणमलाई गणेश योग पनि भन्न सकिन्छ।
सुपर ब्रेन योगा
भारत तथा नेपालमा प्रचलनमा रहेको तोपुकरणम वा कान समाती उठबसलाई अहिले सुपर ब्रेन योगाको रूपमा परिभाषित गरिएको छ। यसमा विभिन्न अनुसन्धान भइरहेका छन्। युरोप, अमेरिका र भारतका विभिन्न विश्वविद्यालयमा यससँग सम्बन्धित थुप्रै अध्ययन भइरहेका छन्। भारतको उत्तराखण्ड संस्कृत विश्वविद्यालय यसमा अग्रसर छ।
त्यस्तै, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियास्थित डिपार्टमेन्ट अफ रेडियोलोजी साइन्सका प्रमुख डा जोय पी जोन्स लगायतले गरेका अनुसन्धानहरूले सुपर ब्रेन योगा विद्यार्थीका लागि अत्यन्तै प्रभावकारी रहेको स्पष्ट पारेका छन्।
अहिले अमेरिकाका धेरै विद्यालयमा यो गणेश योग वा सुपर ब्रेन योगा सुरु भइरहेको छ। यसरी सुपर ब्रेन योगा गराउँदा ‘अटिजम’ (दिमाग नै नचल्ने रोग) भएका विद्यार्थीहरूलाई पनि फाइदा पुगेको पाइयो। दिमागलाई छिटै सशक्त र प्रभावकारी बनाउन सक्ने भएका कारणले नै यो योगको नाम सुपर ब्रेन योगा भएको हो।
सुपर ब्रेन योगाले स्मरणशक्ति तेज गराउनुको साथसाथै मानसिक रूपमा कमजोर विद्यार्थीको शैक्षिक सिकाइ पनि सुधार हुन्छ। त्यसै गरी, विद्यार्थीबाहेक वयस्क मानिसका लागि पनि सबैभन्दा प्रभावकारी ‘ब्रेन एक्सरसाइज’का रूपमा यो योगा उपयोगी छ।
गशेण योग विधि
गणेश योगका लागि बिहान ४ देखि ७ बजेसम्मको समय सबैभन्दा उपयुक्त समय हो। तर, खाली पेटमा जुनसुकै समयमा पनि गर्न सकिन्छ।
–पूर्व फर्किएर उभिने।
–दुवै गोडालाई एक फुटजति फट्याएर सीधा उभिने।
–दायाँ कानको लोतीलाई बायाँ हातले र बायाँ कानको लोतीलाई दायाँ हातले समाउने। यसरी समाउँदा हात क्रस हुन्छ।
–जिब्रोलाई माथि तालुतर्फ टाँस्ने।
–गहिरो सास फाल्ने।
–गहिरो सास तान्दै दुवै घुँडा खुम्च्याउँदै बस्ने।
–गहिरो सास फाल्दै उठ्ने।
–सास तान्ने–छाड्ने तथा उठ्ने–बस्ने क्रियालाई निरन्तरता दिने।
–गणेश योग कम्तीमा ३ देखि ५ मिनेट र बढीमा २० मिनेट सम्म गर्न सकिन्छ।
तपाईको कमेन्ट
अन्य समाचार
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७