प्रेमले शरीर हेर्दैन

writer

लक्ष्मण पोखरेल

शुक्रबार, १० फागुन २०७५


स्याङ्जाका गणेश न्यौपाने र पाल्पा बराङ्दीकी नमा घिमिरेबीच प्रेमको अंकुर पलाउँदै थियो। प्रेम टुसाउन नपाउँदै उनीहरूमाथि वज्रपात आइलाग्यो। नमा रूखबाट लडिन्। ज्यान त बच्यो तर उनी पहिलेको जस्ती सक्षम रहिनन्। बिहे भएको तीन महिनामै उनी अपांग भइन्। हिँडडुल गर्न उनलाई ह्विलचियरको सहयोग लिनुपर्ने अवस्था आइलाग्यो।

रूखबाट लडेपछि उनको ढाड भाँच्चियो। कम्मरभन्दा तलको भागले काम नगर्ने भएपछि उनले ह्विलचियरमा बस्नुपर्ने बाध्यता भयो। नमाको अवस्था देखेर वैदेशिक रोजगारीका लागि दुबई आउजाउ गरिरहेका गणेशलाई अब विदेश जान मन लागेन। ‘फागुन ४ गते घटना भएको तीन वर्ष पूरा हुन्छ,’ गणेशले भने, ‘त्यसयता नमाले उभिएर मलाई अँगालो हाल्न सकेकी छैनन्।’

दुर्घटनापछि उनीहरू बुटवल झरे। दुई वर्षयता यो जोडी बुटवलमै बस्दै आएको छ। ‘गाउँमा धेरैले कुरा काट्थे,’ गणेशले भने, ‘फलानाकी बुहारी, श्रीमती त यस्तीउस्ती भन्न थाले। यस्ता कुरा सुनेर नमालाई नराम्रो लाग्थ्यो। उनलाई दुःखी हुन नदिन बुटवल झरेँ।’ प्रेमका लागि उनले जन्मथलो छोडिदिए। श्रीमती अपांग भएपछि कतिपयले उनलाई अर्काे विवाह गर्ने सुझाव दिए। ‘‘यति राम्रो छस्, कमाइ पनि राम्रै छ, त्यस्तीसँग बसेर किन जीवन बर्बाद गर्छस्’ भन्नेहरू पनि थिए,’ उनले भने, ‘म उनीहरूको कुरा एक कानले सुन्थेँ, अर्कोले उडाउँथेँ।’ 

उनका लागि माया नै सबथोक हो। ‘माया भन्ने कुरा सबैभन्दा ठूलो हो,’ गणेशले भने, ‘शरीर त सबैको फरक–फरक हुन्छ।’

दुबईको जागिर छाडेर श्रीमतीको हेरचाह गर्न घरमा बसेपछि उनीहरू बीचको माया झन्–झन् गहिरो हुँदै गयो। सुरुमा गाह्रो भए पनि दुखाइ हटेपछि अहिले नमा ह्विलचियरबाटै घरको काम गर्न सक्छिन्। खाना पकाउने, आफ्ना कपडा धुने कामसमेत गर्छिन्। बुटवलको दीपनगरमा उनीहरूको स्टेसनरी पसल छ। नमाले पसलमा सामान बिक्री गर्छिन्। गणेश अटो रिक्सा चलाउँछन्। 

श्रीमतीलाई असाध्यै माया गर्छन्, गणेश। ‘म उनलाई दुःखी देख्न सक्दिनँ,’ उनले भने, ‘कहिलेकाहीँ त लाग्छ हामीजति खुशी यो संसारमा कोही छैन होला।’ उनीहरूले एकअर्कालाई बुझेका छन्। केही निर्णय गर्नुपरे एकअर्काको सल्लाहमा गर्ने उनी बताउँछन्। ‘विदेश गएको भए उनीसँग यति धेरै माया बस्दैन थियो होला,’ गणेशले भने, ‘छेउमै बसेर मनको कुरा भनेपछि धेरै माया हुँदो रहेछ।’

नमा पाल्पाको बराङ्दीमा स्कुल पढाउँथिन्। स्नातकोत्तर पढ्दै गर्दा दुर्घटना भएपछि उनको पढाइमा ‘ब्रेक’ लाग्यो। तर, उनले हिम्मत हारेकी छैनन्। सरकारी जागिर गर्ने धोको मरेको छैन, उनको। ह्विलचियरमा बसेर हिँड्डुल गर्ने नमाका कोठामा लोकसेवा, शिक्षक सेवा आयोगका प्रशस्त किताब छन्। आयोगको तयारी गरेकी उनले परीक्षा भने दिन पाइनन्। ‘गर्भवती भएकाले उनले परीक्षा दिन पाइनन्,’ गणेशले भने। तीन महिनाअघि नमाले छोरी जन्माइन्। 

कहिलेकाहीँ यात्रु नपाएर कम आम्दानी हुँदा निराश घर फर्किने गणेश नमालाई देखेपछि आफ्नो सारा दुःख र थकान बिर्सिने बताउँछन्। एक वर्ष भाडाको रिक्सा चलाएका गणेशको अहिले आफ्नै रिक्सा छ। नमालाई अप्ठ्यारो नहोस् भनेर उनले घरको सजिलो संरचना बनाइदिएका छन्। खाना पकाउनका लागि होचो टेबुल छ। जहाँ नमाले ह्विलचियरमै बसेर खाना पकाउन सक्छिन्।

पानी भर्ने भाँडा, शौचालय, कोठा सबै नमामैत्री छन्। ‘जीवनसाथी भन्नु नै आफू हो,’ गणेशले भने, ‘आफ्ना लागि जति सजिलो खोजिन्छ, उसलाई पनि त्यस्तै हो भनेर सोच्नुपर्छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार