बलिउड नै भारतको प्रतिनिधि होइन

writer

दीपेन्द्र लामा

बिहिबार, ०९ फागुन २०७५


भारतको बक्सअफिसमा नयाँ–नयाँ कीर्तिमान राख्ने फिल्म बलिउडकै हुन्छन्। ओभरसिज मार्केटमा बलिउड नै हाबी छ। नेपाली दर्शकले दशकौँदेखि हेर्दै आएको पनि बलिउड नै हो।

यद्यपि, बलिउडले मात्र भारतीय फिल्मको प्रतिनिधित्व गर्दैन। केही वर्षदेखि नेपालमा हिन्दीमा डब गरिएका दक्षिण भारतीय एक्सन फिल्मको लोकप्रियता बढ्दो छ। कतिलाई लाग्ला, भारतमा बलिउडबाहेक यही ‘साउथ फिल्म’मात्र बन्छ। तर, यो गलत हो। 

भारतमा करिब २० भाषामा नियमित फिल्म बन्ने गरेको पाइन्छ। तुलनात्मक रूपमा बलिउडकै फिल्म महँगो बजेटमा बन्ने गर्छन्। धेरै खर्च गरिने भएकाले बलिउडका फिल्म भारतका अन्य क्षेत्रका भन्दा उत्कृष्ट हुनुपर्ने हो। तर, छैनन्।

भारतमा कलात्मक फिल्म थुप्रै बन्छन्। तर, ती बलिउडभन्दा बाहिर पनि बन्छन्। धीत मर्ने खालको फिल्म बलिउडमा कहिलेकाहीँ मात्र बन्ने हो।
हामीले भारतीय टेलिभिजन च्यानलमा हेर्दै आएको फिल्मफेयर अवार्ड वा जी सिने अवार्डले बलिउडमा बन्ने फिल्मलाई मात्र समेट्छन्। तिनले बलिउडका फिल्म, निर्देशक र कलाकारलाई मात्र पुरस्कृत गर्छन्। बलिउडकै फिल्म र कलाकार भारतका उत्कृष्ट हुन् कि भन्ने भ्रम पैदा गर्न यस्ता कार्यक्रमको पनि ठूलो भूमिका छ।

बलिउड नै भारतको एक्लो प्रतिनिधि होइन र यो मात्रै उत्कृष्ट फिल्म बन्ने उद्योग होइन भन्ने कुराको प्रमाण खोज्न टाढा जानै पर्दैन। भारतको नेसनल फिल्म अवार्डमा सरसर्ती नजर लगाए पुग्छ।

सन् १९५४ मा स्थापित भारतको नेसनल फिल्म अवार्डलाई सन् १९७३ देखि भारत सरकारले आयोजना गर्दै आएको छ। सरकारले गठन गरेको ‘डाइेक्टोरेट अफ फिल्म फेस्टिभल’ले अवार्ड आयोजना गर्छ। विजेताहरूले दिल्लीमा भारतका राष्ट्रपतिको हातबाट अवार्ड पाउँछन्। 

नेसनल फिल्म अवार्डमा बलिउडका फिल्म मात्र होइन, भारतमा बन्ने दुई दर्जनभन्दा बढी भाषाका फिल्मलाई समावेश गरिन्छ। कलात्मक रूपमा जुन उत्कृष्ट छ, त्यही फिल्मलाई पुरस्कृत गरिन्छ। फिल्मको बजेट, बक्सअफिस रिपोर्ट वा फिल्ममा आबद्ध स्टार हेरेर अवार्ड दिइँदैन।

बलिउडभन्दा सय गुणा सस्तोमा बनेका फिल्मले नेसनल फिल्म अवार्ड जितेका उदाहरण छन्। फरक के मात्र हो भने, नेसनल फिल्म अवार्डमा भाषाअनुसार अलग्गै उत्कृष्ट फिल्म पनि छानिइन्छन्। अर्थात्, मुख्य अवार्डका रूपमा उत्कृष्ट भारतीय फिल्म छानिइन्छ भने क्षेत्रीय फिल्मका रूपमा हिन्दी, तमिल, तेलगु, बंगाली आदि भाषाका उत्कृष्ट फिल्मलाई पनि पुरस्कृत गरिन्छ।

सन् २०१७ मा आमिर खानको ‘सेक्रेट सुपरस्टार’, सलमान खानको ‘टाइगर जिन्दा है’, शाहरूख खानको ‘रइस’, अक्षय कुमारको ‘ट्वाइलेट एक प्रेमकथा’जस्ता फिल्म बलिउडमा रिलिज भए। त्यही वर्ष रिलिज भएको ‘बाहुबली २’ले बक्सअफिसमा तहल्का नै मच्चायो।

तर, सन् २०१७ मा बनेका उत्कृष्ट भारतीय फिल्ममाथि उल्लिखित कुनै पनि ठहरिएनन्। केही लाखमा बनेको र बक्सअफिसमा जम्मा ८० लाख भारु कारोबार गरेको आसामी फिल्म ‘भिलेज रकस्टार्स’ले नेसनल फिल्म अवार्डमा उत्कृष्टता हासिल गर्‍यो। 

३७ वर्षीया रिमा दासद्वारा निर्देशित यो फिल्ममा कुनै स्टारले अभिनय गरेका छैनन्। कथा पनि साधारण छ। दश वर्षीया धुनु नामक बालिकाको एउटा असली गिटार बजाउने चाहनामै कथा बुनिएको छ। ऊ र अरू केटोकेटीको एउटा ब्यान्ड छ, तर कसैसँग पनि असली बाजा छैन। ऊ चाहन्छे कि, एक दिन उसका ब्यान्डमेम्बरहरूसँग असली बाजा होस्।

सन् २००८ देखि २०१७ सम्म अर्थात् १० वर्षको अवधिमा भारतको नेसनल फिल्म अवार्डमा उत्कृष्टता हासिल गर्ने एक मात्र बलिउड फिल्म ‘पान सिंह तोमर’ हो। तिगमांशु धुलियाद्वारा निर्देशित यस फिल्मले सन् २०१२ का लागि उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो।
यस अवधिमा उत्कृष्ट फिल्मको अवार्ड पाउन सफल चर्चित फिल्म भनेको सन् २०१५ को ‘बाहुबली’ हो। तर, ‘बाहुबली’ तेलगु भाषाको फिल्मका रूपमा सहभागी भएको थियो। 

सन् २०१४ मा आमिर खानको ‘पिके’ले बक्सअफिसमा कब्जा जमायो। चीनमा समेत फिल्मले उल्लेखनीय दर्शक बटुल्यो। भारतमा यत्तिको राम्रो फिल्म त बनेकै थिएन भन्ने तर्क पनि सुनिए। तर, उक्त वर्ष जम्मा साढे तीन करोड भारुमा बनेको ‘कोर्ट’ भारतको उत्कृष्ट फिल्म घोषित भयो। गुजराती, मराठी, अंग्रेजी र हिन्दी भाषा यसमा प्रयोग गरिएको छ। तर, यो बलिउडको फिल्म होइन। 

दश वर्षको अवधिमा मराठी फिल्मले तीन पटक, मलयालम फिल्मले दुई पटक, बंगाली फिल्मले एक पटक र तेलगु फिल्मले एक पटक नेसनल फिल्म अवार्ड जिते। सन् २०११ मा मराठी फिल्म ‘देउल’ र ब्यारी भाषाको फिल्म ‘ब्यारी’ उत्कृष्ट भएका थिए। ‘ब्यारी’ उक्त भाषामा बनेको पहिलो फिल्म थियो।

नेसनल फिल्म अवार्डमा निर्देशकलाई पनि पुरस्कृत गरिन्छ। सन् २००८ देखि २०१७ सम्म उत्कृष्ट भएका निर्देशकको सूची हेर्ने हो भने बलिउडका निर्देशकले जम्मा दुई पटक जितेका छन्।

सन् २०१३ मा ‘शाहिद’ फिल्मबाट हंसल मेहता र २०१५ मा ‘बाजिराओ मस्तानी’बाट सञ्जय लीला भन्सालीले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका हुन्। बाँकी आठ वर्ष तमिल, बंगाली, मराठी, पञ्जाबी र मलयालम फिल्मका निर्देशकले अवार्ड पाएका छन्।

उत्कृष्ट अभिनेताको अवार्डमा चाहिँ बलिउडको उपस्थिति अलि बलियो देखिन्छ। दश वर्षको अवधिमा सन् २००९ र २०१५ मा अमिताभ बच्चनले ‘पा’ र ‘पिकु’ फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका छन्। त्यस्तै, इरफान खानले सन् २०१२ मा ‘पान सिंह तोमर’, राजकुमार रावले सन् २०१३ मा ‘शाहिद’ र अक्षय कुमारले सन् २०१६ मा ‘रुस्तम’बाट यो अवार्ड जितेका छन्।

उत्कृष्ट अभिनेत्रीमा पनि बलिउड सुन्दरीहरूले खासै जादु देखाउन सकेका छैनन्। सन् २००८ मा ‘फेसन’बाट प्रियंका चोपडा भारतकै उत्कृष्ट अभिनेत्री भइन्। त्यसपछि विद्या बालन, कंगना रनोट र श्रीदेवीले क्रमशः ‘डर्टी पिक्चर’, ‘क्विन’ तथा ‘तनु वेड्स मनु रिटन्र्स’ र ‘मम’बाट यो उपाधि हासिल गरे। बाँकी वर्षका अवार्डहरू बंगाली, मराठी, तमिल, मलयालम फिल्मका अभिनेत्रीले पाए। 

ओस्कर अवार्डमा भएको सहभागितालाई पनि उत्कृष्टताको एउटा मानक मान्न सकिन्छ। भारतबाट ओस्करमा हरेक वर्ष एउटा फिल्मले भाग लिँदै आएको छ। यसमा पनि बलिउडको एकाधिकार छैन।

सन् २००९ देखि २०१८ को अवधिमा १० फिल्मले ओस्करमा भारतको प्रतिनिधित्व गरे। तीमध्ये २०१० को ‘पिप्ली लाइभ’, २०१२ को ‘बर्फी’, २०१७ को ‘न्युटन’मात्र बलिउडका फिल्म थिए। २०१४ को ‘लायर्स् डाइस’ हिन्दी भाषाकै थियो, तर त्यो बलिउडको थिएन।

बाँकी छ वर्ष मराठी, मलयालम, गुजराती, तमिल र आसामी फिल्मले भारतको प्रतिनिधित्व गर्दै ओस्कर अवार्डमा अरू देशसँग प्रतिस्पर्धा गरे। नेसनल फिल्म अवार्ड विजेता आसामी फिल्म ‘भिलेज रकस्टार्स’ले २०१८ को ओस्करमा सहभागिता जनाएको थियो। आसामी भाषाको फिल्म ओस्करमा गएको यो पहिलो अवसर थियो। 

भारतमा कस्ता फिल्म बनिरहेका छन् ? कस्ता फिल्मलाई भारतमा राम्रा मानिएका छन् ? भारतीय फिल्मको बहुआयामिकता कस्तो छ ? बुझ्न चाहने हो भने बलिउडभन्दा बाहिरका फिल्म पनि हेर्न जरुरी छ। 

तपाईको कमेन्ट