९३ वर्ष पुरानो साइकल पसल

writer

सम्पूर्ण

आइतबार, ३१ असार २०७५


पुरानो पसल
ब्रेकरः अष्टनारायण मानन्धरले १९८१ सालमा काठमाडौँ, असनमा साइकल पसल खोल्दा उनका बाबुले भनेका थिए– ‘खानेकुरा बेच्न छोडेर फलाम बेच्न थालिस् ?’ 

९३ वर्ष पुरानो साइकल पसल 
–रामकुमार डिसी
नौ दशकअघि एक दिन जर्नेल शूरशमशेर राणाका ड्राइभरलाई फकाएर अष्टनारायण मानन्धरले साइकल मगाएका थिए । साइकल चढेर कमलादी गणेश मन्दिरनिर पुग्दा सन्तुलन बिग्रेर लडेछन् । दुर्घटनामा उनको खुट्टा भाँचियो, तैपनि साइकल पसल थाप्ने रहरमा कमी आएन । उनले काठमाडौँ, असनको कमलाक्षीमा रहेको आफ्नो घरको आँगन सफा गरे । त्यसपछि साइकल ल्याउन उनी भारतको कलकत्ता हानिए । 
कलकत्ताबाट उनले जम्मा छ वटा साइकल ल्याए । १९८१ सालमा स्थापना भयो, ‘पञ्चनारायण अष्टनारायण साइकल पसल’ । पसल थापेको अहिले झन्डै ९३ वर्ष भइसक्यो । साइकल व्यवसायमा अष्टनारायणको परिवारको चार पुस्ताले समय बिताइसक्यो । अष्टनारायणको शेषपछि उनका छोरा तीर्थनारायण, नाति त्रिरत्न र अहिले पनाति तिरेकले पसल चलाइरहेका छन् । ‘मेरा जिजुहजुरबुबाले फिलिप्स कम्पनीको छ वटा साइकल कलकत्ताबाट वीरगञ्ज, हेटौँडा, भीमफेदी हुँदै काठमाडौँ ल्याउनुभएको थियो,’ तिरेकले इतिहास खोतल्दै भने, ‘‘खानेकुरा बेच्न छोडेर फलाम बेच्न लागिस्’ भन्दै उहाँले बुबाको हप्की पनि खानुभएको थियो ।’ 
हाल १८ वटा पसल भएको कमलाक्षीको बाटोमा आफू सानो छँदा जम्मा तीन वटा साइकल पसल मात्रै रहेको तिरेक सम्झिन्छन् । पुस्ता फेरिएसँगै ‘पञ्चनारायण अष्टनारायण’ साइकल पसलको रूप र रङ पनि फेरिएको छ । ऊबेलाको नाम बदलेर अहिले साइकल पसलको नाम ‘प्यांक बाइक’ राखिएको छ । यसको अर्थ ‘पञ्चनारायण एन्ड अष्टनारायण साइकल’ हो । ‘नाम छोटो र सजिलो होस्,’ तिरेकले भने, ‘अलि मोडर्नजस्तो पनि देखियोस् भनेर पसलको नाम परिवर्तन गरेका हौँ ।’ 
अष्टनारायण मानन्धरले पहिलो पसल खोल्दा काठमाडौँका सडकमा साइकलको सवारी केही राणा र शाहहरू मात्रै गर्ने तिरेक बताउँछन् । तत्कालीन समयबारे तिरेककै हजुरबा तीर्थनारायण मानन्धरले एउटा किताब लेखेका छन् । जसमा ऊबेलाको साइकलबारे यस्तो लेखिएको छ, ‘त्यतिबेला राजा–महाराजाहरू चार वटा घोडाले तान्ने बग्गीमा सवारी हुन्थे । ठूलठूलो सरकारी उत्सव, जात्रा, पर्वमा जानु पर्दा हात्ती र बग्गी नै त्यसबेला सुविधायुक्त यातायातका साधन थिए । यसको उपभोग ठूलठूला घराना र कुलीनहरूले मात्रै गर्न पाउँथे ।’
त्यो बेला अष्टनारायणलाई छ वटा साइकल बिक्री गर्न एक वर्षभन्दा बढी समय लागेको थियो । ‘फिलिप्स’पछि ‘रेली’, ‘हर्कुलस’, ‘ए वान’, ‘हिरो’ कम्पनीका साइकल काठमाडौँमा भित्रिएको तीर्थनारायणले लेखेका छन् ।
तिरेकको पढाइ इन्जिनियरिङ हो । तर, उनले व्यापार रोजे । साइकल पसल गरेर बाउबाजेको पेशालाई निरन्तरता दिए । ‘इन्जिनियरिङभन्दा पनि साइकल व्यवसायमा राम्रो करिअर देखेँ,’ उनले भने, ‘यसो गर्दा अग्रजको पेशाले पनि निरन्तरता पाउने आफ्नो करिअर पनि बन्ने ।’
ऊबेला यस पसलमा बाहिरबाट ‘फिक्स्ड’ गरी ल्याएको साइकल मात्र बेचिन्थ्यो । अहिले साइकलको मेकिङ, रिमेकिङदेखि रिपेयरिङ सबै हुने तिरेक बताउँछन् । कमलाक्षीमा अहिले ‘प्यांक बाइक’ पसलका पाँच छ वटा बिक्री केन्द्रसमेत छन् । त्यस्तै, साइकलको ‘भेराइटी’ पनि अहिले धेरै थपिएको छ । ‘हामीसँग अहिले विभिन्न कम्पनीका अलग–अलग विशेषता भएका साइकल छन्,’ तिरकले भने, ‘ग्राहकको मागअनुसार साइकल मगाउँछौँ । ग्राहककै मागअनुसार पसलबाट १८ लाख मूल्य पर्ने एउटा साइकल पनि बेचेका छौँ ।’
साइकल रेस्ट्रो
प्यांक बाइक पसलको  अर्को आयाम पनि छ । त्यो भोजनसँग जोडिएको छ अर्थात् ‘साइकल रेस्ट्रो’ । साइकल चढ्ने ग्राहकको भोक मेट्न उनले रेस्टुरेन्ट पनि खोलेका छन् । ‘ग्राहक आफ्नो बनाउन ल्याएको साइकल छोडेर जान चाहँदैनन्,’ तिरेकले भने, ‘साइकल बन्दासम्म के गरेर बस्ने त ? उनीहरूलाई कुर्ने ठाउँ चाहिन्छ । यी सबै कुरा सोचेर रेस्टुरेन्ट खोलेँ ।’ साइकल रेस्ट्रोमा साइकल पसलमा आएका ग्राहक साइकल बन्दासम्म कुर्दै बस्छन् । खाजा पनि खान्छन् । रेस्टुरेन्टले छोटो अवधिमा राम्रो व्यापार गरेको उनी बताउँछन् । 
तिरेकले साइकल रेस्ट्रोको ‘लोगो’ पनि नयाँ खालको डिजाइन गरेका छन् । झट्ट हेर्दा लोगो रेस्टुरेन्टको नभई साइकलको जस्तो लाग्छ । तर, राम्ररी हेर्दा त्यहाँ साइकलसँगै काँटा र चम्चा पनि छ । जसले साइकल र रेस्टुरेन्टको ‘फ्युजन’ देखाउँछ । ‘साइकल र रेस्टुरेन्टको फ्युजन गरेर लोगो बनाउने सोच थियो,’ तिरेकले लोगो डिजाइनको रहस्य खोले, ‘त्यसमा काँटा र चम्चा मिलाउँदामिलाउँदै साइकलको बनोट बन्नपुग्यो ।’
लोगो मात्र नभएर रेस्टुरेन्टमा राखिएका कुर्सीमा पनि साइकलको फ्युजन गरिएको छ । रेस्टुरेन्टमा राखिएको सबै कुर्सीका खुट्टा साइकलको डन्डीबाट बनाइएका छन् । कुर्सीमा साइकलको पांग्रा पनि प्रयोग गरिएको छ ।
 

तपाईको कमेन्ट

मुख्य समाचार