प्रेमको प्रकाशले उज्यालो दाम्पत्य

writer

केशवशरण लामिछाने

बुधबार, ०८ फागुन २०७५


इच्छा विश्वकर्मा र कृष्णबहादुर भुजेल,तस्बिरः युनिश गुरुङ ।

पोखरा : पानी पँधेरातिर नुहाइधुवाइ गर्न जाँदा बाटोमा उनलाई कसैले भन्थ्यो, ‘दाइ बाटो अप्ठ्यारो छ, समाइदिऊँ ?’ अरू बेला बाटोघाटोतिर भेटिँदा पनि उनी आवाज सुन्थे, ‘दाइ, बिस्तारै कुना–कुनाबाट जानोस् न।’ अरू कसैलाई भनेको पनि सुन्थे, ‘उहाँलाई समातेर लैजानु न, लड्नुहोला भन्ने डर।’ 

‘कस्तो मधुर वाणी, कस्तो विशाल मन !’  कृष्णको मन पग्लिहाल्यो। उनको दृश्य आँखामा आएन। मनमा उत्रियो। मनमनै मन पराउन थाले। संयोग, त्यही आवाजले कृष्णलाई एक दिन भन्यो, ‘हाम्रो महिला समूहको विधान बनाउनु थियो, सहयोग गर्दिनु न।’ अरू बेला आफूलाई त्यतिका सद्भाव राख्नेको आग्रह कृष्ण किन टार्थे, हुन्छ भनिहाले।

उनले मुखले बोले, तिनले टिप्दै गइन्। विधान बन्यो। संस्था दर्ता भयो। यता कृष्णको मनमा माया दर्ता भएको थियो। फेरि अर्काे संयोग कक्षा ११ र १२ का विद्यार्थीलाई ट्युसन पढाउँदा कक्षामा कृष्ण त्यही आवाजसँग ठोक्किए। उनी त पढ्न आउन थालिछिन्। दिनदिनै सुन्न थाले मधुरवाणी। भन्छन्, ‘शिष्ट र शालीन बोलीवचन र व्यवहारले मलाई यस्तै जीवनसाथी भइदिए भन्ने भयो, अनि प्रेम प्रस्ताव राखेँ।’ 

कृष्णबहादुर भुजेलले राखेको प्रेम प्रस्ताव इच्छा विश्वकर्माले स्विकारिनन्। कृष्णले पर्खिरहे। दिन, महिना र साल बित्यो। तर, स्विकारिनन्। जवाफ दिइनन्। पाँच वर्ष बित्यो। बल्ल स्विकारिन्। कृष्णले त्यसको पर्वाह कत्ति गरेका थिएनन्। इच्छालाई डर थियो। एक दिन भने मनले भन्यो, ‘जोसँग भए पनि बिहे गर्ने नै हो, आफूले चिनेको, जानेको र यत्तिको मान्छेसँग जीवन बिताउन कसो नसकिएला र !’ उनले आँटिन्। परिवारको सहमति दुवैपट्टि रहेन। कृष्ण २८ र इच्छा २३ वर्षकी हुँदा २०६२ सालको असोजमा उनीहरूले कोर्ट म्यारिज गरे। 

चार वर्षकै उमेरमा कृष्णलाई दादुराले च्याप्यो। गाउँमा न ओखतीपानीको सुविधा थियो, न बजार आउने मेसोमेलो मिल्थ्यो। कृष्णलाई निको हुन गाह्रो भयो। आँखाले देख्ने शक्ति गुमायो। उनलाई चार वर्षअघि देखेको दृश्यको धमिलो सम्झना पनि छैन। आमाबाबुले थाहा पाए, आँखामा दृश्यशक्ति नभएका बच्चाबच्चीलाई पोखरामा पढाइन्छ। कृष्ण अमरसिंह मावि ल्याइए। होस्टलमा बसे। ब्रेललिपिमा पढ्न थाले।

एसएलसी त्यहीँबाट गरे। दृश्य हेर्न नसक्ने हुँदाहुँदै पनि कृष्णले हार मानेनन्। पढाइमा अब्बल बनाए। कहिले फस्ट भए, कहिले सेकेन्ड। एसएलएसी सकेर छुट्टिमा गाउँ जाँदा गाउँकै स्कुलका केटाकेटीलाई अंग्रेजी ट्युसन पढाउन थाले। क्याम्पस पढेपछि पनि गाउँमा फेरि ११÷१२ कक्षाकालाई पढाए।

कास्कीको रूपा गाउँपालिका हंसपुरका कृष्ण र इच्छा अहिले डेढ दशक लामो र सुखद दाम्पत्य जीवन बिताइरहेका छन्। पोखराको रामबजारमा बस्छन्। कृष्ण लेखनाथको लक्ष्मी माविमा पढाउँछन्। इच्छा डेराकै सटरमा सिलाइकटाइ गर्छिन्। आँखाका नानीजस्ता दुई नानीबाबु छन्। ‘खुशी छौँ, कुनै पछुतो छैन,’ लजाउँदै इच्छा भन्छिन्। कृष्णलाई पनि स्वावलम्बी जीवन बिताउन पाएका छौँ भन्ने गर्व छ। 

राहतको विशेष कोटामा लक्ष्मी माविको प्रावि तहको नियुक्ति लिए पनि कृष्ण निमाविलाई अंग्रेजी पढाउँछन्। डेरादेखि दुई वटा बस चढेर स्कुल पुग्छन्। ‘ब्रेललिपिका किताब पढेर आफूले बुझ्छु अनि पढाउँछु,’ उनी भन्छन्, ‘अरूले बोर्डमा केही लेखेर आराम गर्न पाउँछन्, म चाहिँ चिच्याइरहनुपर्छ, त्यति फरक हो।’ शिक्षाशास्त्रमा स्नातक कृष्णलाई २०७३ सालमा जिल्ला शिक्षा कार्यालय कास्कीले उत्कृष्ट शिक्षक भनेर पुरस्कृत गर्‍यो। ‘प्रश्न निकाल्न र जाँच्न चाहिँ अरूको सहयोग चाहिन्छ,’ उनी भन्छन्, ‘सहयोग गर्ने छँदै छिन्, प्लस टूको पढाइ भ्याइसकेकी जीवनसाथी इच्छा।’ 

छोरा संकल्प निजी स्कुलमा सात कक्षामा पढ्छन्। छोरी दीक्षा एसओएसमा पढ्छिन्। डेराबाट छोराछोरी दुवैको स्कुल नजिक छ। इच्छाले ११÷१२ कक्षा पढ्दाताका लिएको सिलाइकटाइसम्बन्धी तीनमहिने तालिमबाट पनि अर्थाेपार्जनको मेसो मिलिरहेको छ। 

कृष्णका पिताको देहान्त हुँदा संस्कारमा दाजुभाइसँगै उनी सामेल हुन पाएनन्। दुःख त्यसमा उनलाई लागेकै थियो। हुन पनि बिहे गरेपछि आमाले भनेकी थिइन्, ‘मन त होइन बाबु, समाजले पचाउँदैन, तिम्लाई अलग्गै राख्नुपर्‍यो।’ तर, बाँच्ने त दम्पती नै हो भन्ठानेर कृष्ण र इच्छाले हार मानेका थिएनन्। अझै पनि कतिपय अवस्थामा नातापाता र साथीभाइले मर्दापर्दा र चाडपर्वमा छुटाउँछन्। बिर्सेजस्तो गर्छन्। कृष्णले यस्ता कुरा पचाइसके। भन्छन्, ‘आज नभए पनि एक दिन त समाजको चेतनास्तर बढ्ला, मान्छे–मान्छे एकै हो भन्ने बुझ्ने दिन आउला।’ 
 

तपाईको कमेन्ट

मुख्य समाचार