पवनको दुनियाँमा  शीतलको उज्यालो

writer

किरण दहाल

बिहिबार, ०२ फागुन २०७५


नेत्रहीन क्रिकेटर पवन घिमिरेको ज्योति हुन्, उनकी पत्नी शीतल। पवन शीतललाई समर्पित प्रेमको प्रतीक ठान्छन्। 


२०६० साल साउन २७ गते एक टुकडी सेना कालिकोटबाट दैलेख फर्कदै थियो। जुम्ला–कालीकोटको सडक निर्माणमा एक हप्ता खटिएर आफ्नै गणतिर ‘मुभ’ भएको थियो टोली।  

त्यतिबेला सरकार र तत्कालीन माओवादी युद्धविराम गरेर वार्ताका लागि प्रयास गर्दै थिए। दुवै पक्षलाई ‘दुश्मन’ले आक्रमण गर्ला भन्ने रत्ती पनि डर थिएन। आक्रमण होला भन्ने आशंका नभएपछि युद्धका लागि सतर्क भइरहनु परेन। बाटो खनेर फर्किएको टोली हाँस्दै, रमाइलो गर्दै अघि बढिरहेको थियो। 

कालीकोटको जुविधा भन्ने ठाउँमा अचानक एम्बुसमा पर्‍यो सेनाको टोली। ‘युद्धविराममा पनि त्यसरी आक्रमण होला भन्ने हामीले सपनामा पनि सोचेका थिएनौँ, हामीमाथि घात भयो,’ एम्बुसमा पर्ने मध्येका एक सैनिक जवान पवन घिमिरे विगत सम्झिन्छन्। आफ्नै अगाडि बम पड्किएपछि पवनको होसहवास उड्यो। आँखैमा बिजुली चम्किएजस्तो भयो। केही तिरमिराएजस्तो भयो। हात निधारतिर लगे। एउटा आँखा बाहिर झुन्डिरहेको थियो। रगत बगिरहेको थियो। उनले केही सोच्नै सकेनन्। ‘भाउन्न भयो, हेर्न खोज्थेँ, अँध्यारो मात्र देखिन्थ्यो,’ त्यो क्षण सम्झदै उनी भन्छन्। 

दुर्घटनापछि पवनलाई तत्कालै काठमाडौँ ल्याइयो। आर्मी अस्पतालमा आँखाको अपरेसन सम्भव भएन। उनलाई टिचिङ अस्पताल, महाराजगञ्जमा राखियो। आँखाको शल्यक्रिया सुरु भयो। ‘अब मेरो आँखाले काम गर्दैन भन्ने त कालीकोट हुँदै लागेको थियो,’ पवन भन्छन्, ‘किनकि, एउटा आँखा झरिसकेको थियो। अर्काे आँखामा अलिकति चोट लागेको जस्तो भएको थियो। पाँचसात प्रतिशत देख्न सकिएला कि भन्ने थियो।’ त्यो उनको आशा मात्र थियो।

जुम्लाका जनतालाई यातायातको उज्यालो देखाउन गएका पवनले आफ्नो जीवनको उज्यालो उतै गुमाउनुपर्‍यो।

०००    

हामी थसिखेलस्थित पवनको घरमा छौँ। काखमा दूधे छोरो बोकेर पवन विगत सम्झिरहेछन्। बेला–बेलामा उनको मोबाइलमा फोन आउँछ। ‘हिँजोआज साह्रै व्यस्त छु,’ उनी भन्छन्, ‘कता–कताबाट कार्यक्रमको लागि बोलाइरहेका हुन्छन्।’   उनकी श्रीमती शीतल श्रीमान्कै छेउमा बसिरहेकी छिन्। बेला–बेला पवनको कुरा सुनेर हाँस्छिन्। पवन पनि श्रीमतीको गफ सुनेर केही सम्झिएजस्तो गर्छन् र नयाँ–नयाँ घटना बताइरहन्छन्। 

दुर्घटनामा परेको छोरो रुँघ्न बसेकी थिइन्, पवनकी आमा। त्यहाँ उनले दुःखसुखको गफ गर्ने एक जना महिला भेट्टाइन्। छोरोको हालतबारे तिनै महिलासँग दुःख पोख्थिन्, रुन्थिन्। लक्काजवान छोरो दुर्घटनामा परेर जखमी भएकाले उनको मन बेचैन थियो। छोरोको विवाह, भविष्यबारे पवनकी आमा चिन्तित हुन्थिन्। बेडमा सुतेका पवन बेला–बेला दुई महिलाका गफ सुन्थे, केही बोल्दैन थिए।

ती महिला एक÷दुई दिनको अस्पताल बसाइपछि घर जाने भइन्। घर जाने बेलामा महिलाले पवनको परिवारको घर र ठेगाना सोधिन्। पवनकी आमाले सबै बताइदिइन्। 

अस्पताल भेटघाटको लामो समयपछि एक दिन तिनै महिला थसिखेलस्थित पवनको घरमै आइपुगिन्। ‘एक घण्टाजति गफ भयो,’ पवन त्यो दिन सम्झन्छन्, ‘सामान्य गफ भयो। हालखबर सोधियो। परिवारबारे सोधियो। चिया खाएर उहाँ जानुभयो। जानेबेला मेरो फोन नम्बर माग्नुभयो। भेट्दै गरौँला है भन्नुभयो।’

एक दिन दिउँसोपख पवनको मोबाइलमा नयाँ नम्बरबाट फोन आयो। एक महिलाको आवाज। पवनले ठम्याउन सकेनन्। ‘म शीतल सिलवाल बोलेको’ भन्दै फोनबाट उनको हालखबर सोधियो। उनी अलमलमा परे। एक छिन त ‘गलत नम्बरमा फोन गरिन् क्यारे !’ भन्ने पनि लाग्यो उनलाई। ‘मैले त चिनेको थिइनँ तर पनि परिचय भयो,’ पवन हाँस्दै भन्छन्, ‘गफ भयो। पछि त आफ्नै हुन लेख्या रै’छ।’ 

श्रीमान्को गफ सुनेर मुसुमुसु हाँसिरहेकी छिन्, पवनको छेउमै बसिरहेकी शीतल। ‘अस्पतालबाट फर्किएपछि उहाँबारे ठूलो ममीले सबै कुरा गर्नुभयो,’ शीतल भन्छिन्, ‘मलाई माया पनि लाग्यो। मैले त्यतिबेला जिस्किएर भनेकी थिएँ– ‘त्यो केटोसँग म पो बिहे गर्नुपर्छ कि क्या हो !’’ त्यतिबेला शीतलको बिहेको कुरा चलिरहेको थियो घरमा। बेला–बेला केटाहरू हेर्न आउँथे। तर, उनी विवाह नगर्ने भन्दै केटाहरूलाई फर्काइदिन्थिन्। ‘मभन्दामुनि तीन जना भाइबहिनी थिए,’ उनी भन्छिन्, ‘उनीहरूको पनि विवाह गर्नुपर्छ भन्दै ममी÷बाबा आत्तिनुभएको थियो।’ 

ठूलो ममीले पवनलाई भेटेर फोन नम्बर नै ल्याएपछि शीतलले एक दिउँसो उनलाई फोन गरेकी थिइन्। पवनको दुर्घटनाबारे बुझेकी थिइन्। हालखबर सोधेकी थिइन्। ‘सामान्य कुराकानी भयो त्यो दिन,’ शीतल भन्छिन्, ‘उहाँले चिन्नुभएन। उहाँसँग त्यो दिन कुरा गर्न मजा लागेको थियो।’

०००
फोनबाट पवन र शीतलबीच बेला–बेला कुरा हुन थाल्यो। एक दिन उनीहरूले भृकुटीमण्डपमा भेटघाट गरे। ‘पवनसँग विवाह होला भन्ने मैले एक मनले पनि सोचेकी थिइनँ,’ शीतल भन्छिन्, ‘म नेत्रहीनहरूलाई माया र सम्मान गर्छु। पहिला–पहिला बाटोमा कोही नेत्रहीन भेटे उनीहरूलाई डोर्‍याएर हिँड्ने, बाटो कटाइदिने गर्थें। उनीहरू कसरी हिँड्छन्, बाटो कसरी चिन्छन् भनेर उत्सुक हुन्थेँ। त्यो दिन पनि नेत्रहीनहरूबारे कुरा गर्न पवनलाई भेटेकी थिएँ।’

त्यसपछि पनि उनीहरूको भेटघाट हुन थाल्यो। भेटघाट स्थल उही भृकटीमण्डप थियो। ‘हामी चिया खाँदै गफ गथ्र्याैं तर त्यो डेटिङ चाहिँ थिएन,’ पवन भन्छन्, ‘डेटिङ जान त पहिला लभ पर्नुपर्‍यो नि ! हामी त भेटघाट गरेर गफ गर्ने साथी मात्र थियौँ।’
चार÷पाँच महिनाको भेटघाटपछि पवन र शीतलले एकअर्काको विवाहबारे कुरा गर्न थाले।

मिल्ने साथीभन्दा अब माया गर्ने साथीमा रूपान्तरण हुन थाले उनीहरू। प्रेम प्रस्ताव नराखेरै उनीहरूबीच प्रेम टुसायो। एकअर्कालाई मूल्यांकन गर्न थाले। भविष्यबारे कुरा गर्न थाले। शीतल भन्छिन्, ‘भेटिरहेपछि आत्मीय सम्बन्ध गाँसिँदै गयो। माया पनि बढ्दै गयो।’ 

बिहे गर्न आमाबुबाले शीतललाई दबाब दिइरहेका थिए। उनले मानिरहेकी थिइनन्। ‘कोही केटासँग मेरो प्रेम छ कि भनेर बुबाले एक दिन आमालाई बुझ्न पठाउनुभयो,’ उनी भन्छिन्, ‘पवनलाई भेटिरहेको कुरा आमालाई सुनाएँ। पवनबारे आमालाई थाहा भए पनि हामी भेट्छौँ भन्ने पत्तो थिएन। मैले उसैसँग बिहे गर्छु भनेँ।’ 

आफ्नी कलकलाउँदी छोरीलाई नेत्रहीन केटासँग विवाह गरिदिन आमाबुबा राजी भएनन्। आफन्तले जिब्रो टोके। एक वर्षसम्म विवाहको कुरा लम्बियो। छोरी पवनबाहेक अरूसँग बिहे नगर्ने, आमाबुबा पवनलाई छोरी नदिने। छोरीले जिद्दी गरेपछि आमाबुबाको केही सीप लागेन। पवन र शीतलको विवाह हुने नै भयो।

इंगेजमेन्टको मिति तोकियो। ‘आफन्तले पछिसम्म पनि इंगेजमेन्ट तोड भनिरहेका थिए,’ शीतल भन्छिन्, ‘आँखा नदेख्ने केटासँग विवाह गर्दा दुःख पाइन्छ भनेर डर देखाइरहेका थिए।’ औँठी साटासाट भयो। विवाह भयो। त्यतिबेला पवन २८ वर्षका थिए भने शीतल २४ वर्षकी। 

०००  
‘घरपरिवार, आफन्तले विभिन्न डर देखाएका थिए,’ शीतल भन्छिन्, ‘तर, त्यस्तो केही भएन। विवाहपछि पनि जीवन रमाइलै भइरहेको छ।’

उनीहरू बेला–बेलामा घुम्न निस्किन्छन्। कहिले स्वदेशकै विभिन्न पर्यटकीय स्थल पुग्छन्, कहिले विदेश। पोखरा, चितवन, सौराहाजस्ता ठाउँ गइरहन्छन्। फुर्सद हुँदा काठमाडौँकै विभिन्न ठाउँमा पुगिरहेकै हुन्छन्। भारत, दुबई, पाकिस्तानसम्म घुम्न पुगेका छन्। ‘बच्चा जन्मेपछि खासै निस्कन पाएको छैन,’ पवन भन्छन्, ‘यो सानो केटो अलि ठूलो भएपछि श्रीमतीलाई लिएर विदेश घुम्न जानुपर्ला।’

हिजोआज अलि व्यस्त छन्, पवन। दिउँसोतिर अफिस जान्छन्। सैनिक खेलकुद तथा तालिम केन्द्र, लगनखेलमा दिउँसभरि बस्छन्। तालिम गर्छन्, गराउँछन्। उनले सेनामा जागिर गर्न थालेको १९ वर्ष पुग्यो। ‘अब त पेन्सन पाक्ने बेला पनि भयो,’ उनी भन्छन्। आर्मीका मेजर हुन्, उनी। 

श्रीमान्–श्रीमतीको बेला–बेलामा ठाकठुक पर्छ। तर, धेरै बेर रिसाउन सक्दैनन्। पवन भन्छन्, ‘कहिलेकाहीँ त्यो सामान दिनु त भन्छिन्। अब कताको सामान दिनु ? कि दायाँ कि बायाँ भन्नु। कि अगाडि भन्नु। ऊ त्यहाँ छ भन्छिन्, अब कता छ कता।’ यति मात्र हैन, कहिलेकाहीँ शीतलले बिर्सिएर हिँड्ने बाटोमै भाँडाकुँडा राखिदिन्छिन्। पवन ठोकिँदा पो उनी झल्यास्स हुन्छिन्। ‘सबै काम गर्नुहुन्छ,’ उनी भन्छिन्, ‘उहाँ नेत्रहीन हो भन्ने कुरा नै बिर्सिन्छु।’ 
 

तपाईको कमेन्ट