सौराहामा स्वादसहितको प्रेम दिवस

writer

तुलमान गुरुङ

बिहिबार, ०२ फागुन २०७५


चितवन : प्रेमी जोडीका लागि चितवनको सौराहा महत्त्वपूर्ण ठाउँ हो। जोडीहरू सौराहा घुम्न निकै मन पराउँछन्। प्रेम दिवसको छेकोमा स्वदेशी मात्रै होइन, विदेशी जोडीसमेत सौराहा आउने गर्छन्।

पहिलेको तुलनामा हिजोआज प्रेम दिवसको अवसरमा सौराहा घुम्न आउनेको संख्या बढेको होटल व्यवसायीहरू बताउँछन्। १३ वर्षयता सौराहामा जोडीहरूकै लागि भनेर फुड फेस्टिभल आयोजना हुने गरेको छ। 

त्यसो त सौराहामा अन्य समयमा पनि विभिन्न रमाइला कार्यक्रम हुने गरेका छन्। ‘तर, यो बेलाको फेस्टिभल भने भ्यालेन्टाइन्स डे विशेष हो,’ मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु ढुंगाना भन्छन्। सौराहास्थित रेस्टुरेन्ट एन्ड बार एसोसिएसनले पे्रम दिवसकै अवसरमा फुड फेस्टिभल आयोजना गरेको छ। ‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नारासहित २०६३ सालबाट फुड फेस्टिभल सुरु भएको हो। 

हरेक वर्ष युवायुवतीको सहभागिता बढ्दै गएपछि विगत केही वर्षदेखि भने बृहत् रूपमै कार्यक्रम गरेर फेस्टिभल मनाउँदै आएको सौराहा फुड फेस्टिभल २०७५ का संयोजक ध्रुव गिरी बताउँछन्। उनका अनुसार यस्ता खालका मेलामहोत्सवले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित हुने हुँदा व्यावसायिक हिसाबले समेत फाइदा हुने गरेको छ। सौराहाको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने भएपछि आयोजकले हरेक वर्ष फेस्टिभललाई अझ परिष्कृत गर्दै लगेको उनी बताउँछन्।

अहिले सौराहा निकै झिलिमिली बनेको छ। सौराहा मात्रै होइन, पटिहानी, गोलाघाट, भरतपुर, नारायणी नदी किनार, देवघाटलगायत अन्य स्थानमा समेत प्रेमी–प्रेमिका घुम्न आउने गर्छन्। हिजोआज हरेक दिन साँझ नारायणगढस्थित नारायणी नदी किनारमा जोडीहरू प्रेममा मस्त रमाइरहेका दृश्य देखिन्छन्।

‘एकान्त लाग्ने नारायणी नदीको किनार प्रेमी–प्रेमिकाको भेट गर्ने र मायापिरतीका कुरा गर्ने थलोका रूपमा विकास हुँदै गइरहेको भरतपुरका विनोद अनुज बताउँछन्। ‘पहिले–पहिले प्रविधिको सुविधा नहुँदा महिनौँ दिनसम्म चिठ्ठीको पर्खाइमा हुन्थेँ प्रेमी–प्रेमिका,’ उनी भन्छन्, ‘तर, अहिले सामाजिक सञ्जालले नजिक बनाएको छ। तैपनि नभेटी चित्तै नबुझेपछि धेरै जोडीका लागि नारायणी नदी किनार भेट्ने गन्तव्य बनेको छ।’ 

तपाईको कमेन्ट