मिथिलामा मिलन मेला

writer

मनिका झा

बिहिबार, ०२ फागुन २०७५


जनकपुरधाम  : केही वर्षयता मिथिलामा प्रणय दिवस भव्य रूपमा मनाउन थालिएको छ। प्रेम उत्सवमा युवायुवती खुलेर सहभागी हुन नसके पनि पर्वलाई उनीहरूको मौन समर्थन प्राप्त हुँदै गएको छ।

यो दिवस हाम्रो समाजका लागि उपयुक्त नरहेको तर्क गर्नेहरू पनि छन्, यहाँ। कतिपयले भ्यालेन्टाइन्स डेलाई छाडापनको संज्ञासमेत दिने गरेका छन्। तर, युवामाझ प्रेम दिवसले आकर्षण बढ्दै गएको छ। जनकपुरमा प्रेम दिवसको रौनक साताअघिदेखि नै सुरु भइसकेको छ। युवायुवतीहरूले यस दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने गर्छन्। जनकपुरका प्रमुख चोकहरूमा प्रणय प्रतीक बनाउने गरिन्छ। 

पसलमा भ्यालेन्टाइन्स डेका लागि विशेष उपहार पाइन्छन्। मुटु आकारको कुसन, चकलेट, प्रेमका प्रतीक ताजमहल र अन्य उपहारले पसल भरिभराउ हुन्छन्। जनकपुरधाम उपमहानगरपालिका–४ मा गिफ्ट सफ चलाउँदै आएका सुनिल साहले यस वर्ष भ्यालेन्टाइन्स डेका लागि फोटो फ्रेम, सुनौलो गुलाब, लभ बर्ड र अन्य विभिन्न आकर्षक उपहार पसलमा राखेको बताउँछन्। ‘पछिल्लो वर्षमा यस दिन उपहार किन्नेको संख्या बढ्दै गएको छ,’ उनी भन्छन्।  

प्रेमी–प्रेमिकाले मात्र नभई विवाहित जोडीले पनि एकअर्कालाई उपहार दिने र प्रेम साट्ने गरेका छन्। गत वर्ष वैवाहिक बन्धनमा बाँधिएका सुमन झाले प्रेम दिवसमा श्रीमतीलाई विशेष उपहार दिने योजना बनाएका छन्। ‘उपहारले यो दिवसलाई झन् विशेष बनाउँछ,’ उनी भन्छन्, ‘एक दिनका लागि भए पनि वातावरण प्रेममय हुने गर्छ।’ व्यस्तताका कारण समय दिन गाह्रो भएकाले भ्यालेन्टाइन्स डेमा श्रीमतीसँग  घुम्न जाने र मनोरञ्जन गर्ने झाको योजना छ। 

छ वर्षअघि फेब्रुअरी १४ कै दिन बिहे बन्धनमा बाँधिएका विजयकुमार झा यस दिनलाई जीवनकै महŒवपूर्ण दिनको रूपमा मनाउँछन्। ‘मेरो लागि यो दिन विशेष हो,’ उनी भन्छन्, ‘फेब्रुअरी १४ मा मैले आफ्नो भ्यालेन्टाइनलाई जीवनसाथीका रूपमा पाएँ।’

भ्यालेन्टाइन्स डेको अवसरमा यस वर्ष जनकपुरमा फेसन सो आयोजना गरिने भएको छ। त्यसै गरी रेस्टुरेन्टहरूले मनोरञ्जन कार्यक्रम गरी प्रणय दिवस मनाउने तयारी गरेका छन्। 
 

तपाईको कमेन्ट