साइकलः जीविकाको साथी

writer

रचना श्रेष्ठ

सोमबार, २८ माघ २०७५


उनका लागि साइकल गुडाउने साधन मात्र नभई गरिखाने भाँडो पनि हो। साइकलले आफ्नो दैनिकी सहज बनाएको उनी बताउँछन्। ‘साइकल भएपछि क्यानको भारी ज्यानले बोक्नुपर्दैन,’ उनी भन्छन्।


 
काठमाडौँ, भेडासिङका ५४ वर्षीय चेनगोपाल महर्जन साइकल चढेर घर–घरमा दूध पु¥याउँछन्। बिहान ७ बजे क्षेत्रपाटीदेखि नक्साल हुँदै मरुहिटीसम्म साइकलमा यात्रा गर्छन्। दिनहुँ यसरी नै उनको दैनिकी सुरु हुन्छ। 

साइकलमा दूधका तीन वटा क्यान झुन्ड्याइएका हुन्छन्। महर्जनले साइकलमा क्यान बोकेर दूध बेच्न थालेको ४० वर्षभन्दा बढी भइसक्यो। दूधका लागि उनले तीन वटा गाई पालेका छन्। बिहान ५ बजे उनी उठ्छन्। गाईको दूध दुहुन्छन्। गाईलाई दानापानी दिन्छन्। त्यसपछि साइकल लिएर काममा निस्कन्छन्। 

महर्जन काठमाडौँमै जन्मे÷हुर्किए। मामाघरको हजुरबुबाको पालादेखिको कामलाई उनले अहिलेसम्म गरिरहेका छन्। ‘म मामाघरमै हुर्कें,’ उनी भन्छन्, ‘मामाघरका हजुरबुबाले गाई पालेर दूध बेच्नुहुन्थ्यो। मैले पनि त्यही गरिरहेको छु।’ उनी अहिले पनि मामाघरमै बस्छन्। ‘आफ्नो घर त भुइँचालोले भत्काइहाल्यो नि,’ उनी भन्छन्। नयाँबजार, खुशीबुमा उनको गाईगोठ छ।

सानोमा सक्ने ठाउँमा क्यान झुन्ड्याउँदै पैदलै हिँड्ने उनी बताउँछन्। ‘१०÷११ वर्षको हुँदा हजुरबुबा बित्नुभयो,’ उनी भन्छन्, ‘त्यसपछि उहाँले गरेको कामलाई मैले अगाडि बढाएँ।’ त्यतिबेला उनी चार कक्षामा पढ्थे। स्कुल जानुपर्ने उमेरमा उनी गाई चराउन जान्थे। ‘गाई चराउन स्वयम्भू, छाउनी सैनिक हस्पिटलसम्म पुग्थेँ,’ उनी भन्छन्।

त्यसपछि उनले साइकल चलाउन सिके। ‘१०÷११ वर्षको हुँदा साइकलको ह्यान्डल घुमाउन सिकेँ,’ उनी भन्छन्, ‘सुरुमा ‘बबी’ साइकल चलाएँ। अहिले त्यसलाई बूढो साइकल भने पनि त्यो बेला त हिरो नै थियो त्यो।’ 

घण्टाको तीन सुका तिरेर साइकल सिकेको उनी सुनाउँछन्। ‘आफूसँग साइकल थिएन,’ उनी भन्छन्, ‘साथीलाई पैसा तिरेरै साइकल सिक्थेँ। साइकल सिक्दा हत्केलाको छाला नै खुइलियो। साइकल सिक्दासिक्दै बालाजु, स्वयम्भूसम्म पुग्थेँ।’

महर्जनले अहिलेसम्म तीन वटा साइकल फेरिसके। सुरुमा उनले छ सय रुपैयाँ तिरेर सेकेन्ड ह्यान्ड साइकल किने। अहिले उनीसँग सात÷आठ वर्षअघि किनेको साइकल छ। ‘रिङ, टायर सब फेरिसकेँ तर रामै्र चल्छ,’ उनी भन्छन्। 

उनका लागि साइकल गुडाउने साधन मात्र नभई गरिखाने भाँडो पनि हो। साइकलले आफ्नो दैनिकी सहज बनाएको उनी बताउँछन्। ‘साइकल भएपछि क्यानको भारी ज्यानले बोक्नुपर्दैन,’ उनी भन्छन्।

साइकलले मनग्य आम्दानी गर्न सघाएको उनी बताउँछन्। ‘महिनामा ३०÷४० हजार रुपैयाँ कमाइन्छ,’ उनी भन्छन्, ‘रातदिन यसैमा खटेको हुन्छु। त्यति त कमाउनु परिहाल्यो। यति पनि नकमाए के गरिखानु ?’ एक मानो दूध ४५ रुपैयाँमा बेच्दै आएको उनी सुनाउँछन्। ‘एक दिनमा २० मानाजति दूध बिक्री हुन्छ,’ उनी भन्छन्। 

दूध बेचेरै आफूले चार छोरा हुर्काएको उनी बताउँछन्। सम्झिन्छन्, ‘छोराहरूलाई यही बूढो साइकलमा राखेर स्कुल पु¥याउँथेँ। अब त छोराहरू ठूलठूला भइसके र सक्षम पनि।’ साइकलमा दूधका क्यान मात्रै झुन्ड्याउँदैनन् उनी, गाईका लागि काउलीका पात र घाँस लिन टाढा–टाढा पुग्ने गर्छन्। साइकलविना आफूलाई निरीह महसुस गर्छन् उनी। ‘जहाँ गए पनि साइकलमै गइन्छ,’ उनी भन्छन्, ‘घाँस बोकेर टाढा–टाढा जान सकिन्न, साइकलमै ल्याइन्छ। साइकल नभए त आफ्नो खुुट्टा भाँचिएसरह नै हुन्छ।’ 

सात÷आठ वर्षअघि उनको साइकल हराएको थियो। साइकल हराएपछि उनी आत्तिए, छट्पटिए। भन्छन्, ‘कतै भेटिन्छ कि भनेर हस्याङफस्याङ गर्दै खोजेँ। चोरिएको साइकल के भेटिन्थ्यो ? खाँचो परेपछि १६ सय रुपैयाँमा फेरि सेकेन्ड ह्यान्डमा साइकल किनेँ।’

बेलुका घर नपुग्दासम्म उनी दिनभरि साइकलमै हुन्छन्। पुरानो साइकललाई औधी माया गर्छन्। ‘छोराले सजिलो होस् भनेर स्कुटर किन्देको थियो,’ उनी भन्छन्, ‘तर, स्कुटरभन्दा साइकल नै सहज लाग्छ। साइकलै प्यारो लाग्छ।’ साइकल चलाउँदा जीउलाई मज्जाले कसरत पुग्ने उनको अनुभव छ। ‘जाम हुँदा समेत सजिलै फुत्त छिराउन सकिन्छ,’ उनी भन्छन्, ‘न धुवाँ फाल्छ। जीउलाई व्यायाम पनि पुग्छ।’ 

साइकलले आफ्नो जीवन फेरिदिएको उनी बताउँछन्। ‘जबदेखि साइकलको साथ पाएँ, यो मेरो प्रिय साथी बनेको छ,’ उनी भन्छन्। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि