फिल्म सम्पादनः अदृश्य कला

दीपेन्द्र लामा
शुक्रबार, २५ माघ २०७५
फिल्ममा कलाकारको अभिनय देखिन्छ। संवाद सुनिन्छ। संगीत बज्छ। सुन्दर दृश्य आँखाअगाडि नाच्छन्। यी सबै देखिने वा सुनिने कला हुन्। तर, फिल्ममा सम्पादन कतै पनि देखिँदैन। त्यसैले सम्पादनलाई फिल्मभित्रको अदृश्य कला पनि भनिन्छ।
नेपालका समीक्षकले फिल्मको टिप्पणी गर्ने बेला ‘सम्पादकले कैँची चलाउन कञ्जुस्याइँ गरेका छन्’ भनेर लेख्छन्। ‘सम्पादन उत्कृष्ट छ’ भनेर पनि लेख्छन्। के कारणले सम्पादन फितलो वा उत्कृष्ट छ ? त्यो चाहिँ केलाइएको पाइँदैन।
जबकि, सम्पादन विधाको मूल्यांकन गर्न सजिलो छैन। धेरैले अनावश्यक दृश्य फिल्ममा रहनुलाई नराम्रो सम्पादनको प्रमाण मान्छन्। त्यस्तै निकै इफेक्टका साथ स्टाइलिस तरिकाले दृश्यहरू जोडिएको छ भने सम्पादनलाई राम्रो मान्ने पनि उत्तिकै छन्। तर, वास्तवमा दुवै खाले बुझाइ गलत हुन्।
बुझेका सम्पादकले अनावश्यक दृश्य फिल्ममा राख्दै राख्दैनन्। एक पटक हेर्दा अनावश्यक लाग्ने दृश्य फिल्मको कथाका लागि महŒवपूर्ण अंगका रूपमा बुनिएको हुन सक्छ। अनि, स्टाइलिस तरिकाले दृश्य जोड्नु सिर्फ भिजुअल सफ्टवेयरको प्रयोग हो। यो नहुँदा सम्पादन खल्लो हुने होइन। बरु कहिलेकाहीँ बिनाकारण प्रयोग गरिएको इफेक्टले फिल्म बिगार्न सक्छ।
सम्पादन विधा अरू विधाभन्दा बढी टेक्निकल हो। यसको काम नै कम्प्युटर र सफ्टवेयरबाट गरिन्छ। तर, यो टेक्निकल मात्र होइन, भावनात्मक विधा पनि हो।
निर्देशक स्टेभेन स्पिलबर्गका नियमित सम्पादक माइकल कान भन्ने गर्छन्, ‘फिल्मलाई ज्ञानले होइन, भावनाले काट्ने गरौँ।’ वास्तवमा फिल्मको कथामा डुबेर त्यसको भावनामा डुब्न सके मात्र राम्रो सम्पादन गर्न सकिन्छ।
निर्देशकले स्पटमा खिचेर ल्याएका सटहरू फिल्मका लागि इँटाजस्तै हुन्। ती इँटालाई एकअर्कासँग जोडेर सम्पादकले एउटा घर बनाउँछन्। फिल्मको स्क्रिप्ट चाहिँ घरको नक्शा हो। तर, आवश्यक परेमा सम्पादकले नक्शा परिवर्तन गरेर पनि घर बनाउन सक्छन्। त्यसैले फिल्म सम्पादनलाई ‘फिल्म कन्स्ट्रक्सन’ पनि भन्ने चलन छ।
फिल्म राम्रो बन्नमा सम्पादनको भूमिका कति अहम् हुन्छ भन्ने कुरा बुझ्न ओस्कर अवार्डको आँकडा हेरे पुग्छ। सन् १९८१ देखि २०१३ सम्म अर्थात् लगातार ३३ वर्षको अवधिमा ओस्कर अवार्ड जित्ने फिल्म सम्पादन विधामा पनि मनोनीत थिए। र, तीमध्ये दुईतिहाइले सम्पादन विधामा अवार्ड जितेका छन्। जस्तै, सन् १९९७ को ‘टाइटानिक’, सन् २००९ को ‘द हर्ट लकर’ र २०१२ को ‘आर्गो’। ‘टाइटानिक’का सम्पादक निर्देशक जेम्स क्यामरन आफैँ हुन्।
हामीकहाँ आयोजना हुने अवार्ड कार्यक्रममा सम्पादन विधाको मूल्यांकन सजिलै गरिन्छ। निर्णायक मण्डलका चारपाँच जना सदस्यकै मतका आधारमा उत्कृष्ट सम्पादनको विजेता छनोट हुन्छ। तर, ओस्कर अवार्ड अथवा एकेडेमी अवार्डमा भने वैज्ञानिक प्रावधान छ।
आयोजक एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेज (अम्पास) मा २ सय २० सदस्यीय बेग्लै ‘एडिटिङ ब्रान्च’ अर्थात् सम्पादन शाखा छ। त्यही शाखाका सदस्यहरूको मतका आधारमा सम्पादन विधामा पाँच फिल्मलाई मनोनीत गरिन्छ। र, मनोनीतमध्येबाट उत्कृष्ट छान्न एकेडेमीका सम्पूर्ण आजीवन वा पूर्ण सदस्यहरूले मतदान गर्छन्।
बेलायतको ओस्कर अवार्ड मानिने ‘बाफ्टा अवार्ड’मा चाहिँ योभन्दा उल्टो प्रक्रिया अपनाइन्छ। पहिला ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आट्र्स (बाफ्टा)’ का सम्पूर्ण आजीवन वा पूर्ण सदस्यका मतअनुसार सम्पादन विधाका पाँच मनोनीत फिल्म छानिइन्छ। त्यसपछि एकेडेमीको सम्पादन शाखाका सदस्यले उत्कृष्ट सम्पादक छान्न मतदान गर्छन्।
कुनै पनि फिल्म राम्रो हुनका लागि निर्देशक र सम्पादकको ट्युनिङ मिल्न जरुरी छ। त्यसैले प्रायः निर्देशक एउटै सम्पादकसँग सहकार्य गर्न रुचाउँछन्। संसारका विख्यात निर्देशकहरूले दशकौँसम्म एउटै सम्पादकसँग सहकार्य गरेका उदाहरण छन्।
‘गडफादर’का निर्देशक फ्रान्सिस फोर्ड कोपोलाले सम्पादक वाल्टर मर्चसँग सन् १९७४ देखि २००९ सम्म सँगै काम गरेका थिए। त्यस्तै, जोयल कोक्सले निर्देशक क्लिन्ट इस्टवुडका ३० भन्दा बढी फिल्म काटेका छन्। थेल्मा स्कुनमेकर चर्चित सम्पादक हुन्। उनले ५० वर्षदेखि मार्टिन स्कोर्सिससँग सहकार्य गरिरहेकी छिन्। स्कोर्सिसकै तीनटा फिल्मबाट उनले सम्पादन विधामा ओस्कर अवार्ड जितिसकेकी छिन्।
स्टेभेन स्पिलबर्ग र माइकल कानको सहकार्यलाई पनि उदाहरणीय मानिन्छ। दुवैले ३५ वर्षभन्दा बढी सहकार्य गरिसकेका छन्। कानले सम्पादन विधामा स्पिलबर्गकै फिल्मबाट तीनटा ओस्कर अवार्ड पाएका थिए।
आफ्नो फिल्मको सम्पादन आफैँ गर्ने निर्देशक पनि छन्। सायद आफ्नो फिल्मको कलात्मक बहावलाई अन्तिम क्षणसम्म जीवन्त राख्न निर्देशक आफैँ सम्पादनमा सरिक भएका हुन्। ‘टाइटानिक’ र ‘अवतार’को सम्पादन कार्यमा निर्देशक जेम्स क्यामरन स्वयं सहभागी भएका थिए।
आफ्नो फिल्म आफैँ सम्पादन गर्ने सबैभन्दा प्रख्यात निर्देशक जापानका आकिरा कुरोसावा हुन्। आफ्नो ५७ वर्षे फिल्मी यात्रामा उनले ३० वटा फिल्म निर्देशन गरेका थिए। सबै फिल्मका सम्पादक उनी आफैँ थिए। तैपनि, जम्मा १२ वटा फिल्ममा मात्र उनको नाम सम्पादनमा देख्न पाइन्छ।
हलिउडका स्टेभेन सोडरबर्गले पनि आफ्ना ११ वटा फिल्म काटिसकेका छन्। आफ्नो सम्पादन आफैँ गर्ने निर्देशकमा दाजुभाइ कोएन ब्रदर्स पनि पर्छन्। उनीहरूले आफ्ना १४ वटा फिल्मको सम्पादन गरिसकेका छन्।
जसलाई हामी संसारको पहिलो फिल्म भनेर हेर्छौं, त्यसमा सम्पादन नै थिएन। वास्तवमा ती फिल्म सिर्फ फुटेज थिए, आजका जस्ता कथानकसहितको फिल्म थिएनन्। ती फिल्मलाई ‘एक्चुआलिटिज’ भनिन्छ। एउटा स्टेसनमा रेल आइरहेको, फ्याक्ट्रीबाट मजदुरहरू बाहिरिरहेको, यस्तै फुटेजलाई पहिलो फिल्मका रूपमा मान्यता दिइएको छ। पछि जर्ज मेलिस र एड्विन एस पोर्टरका फिल्ममा मात्र सम्पादन विधाले स्थान पाउँदै गएको थियो।
अहिले सम्पादनबिना फिल्मको कल्पना नै गर्न सकिँदैन। सम्पादनमा सबैभन्दा धेरै समय खर्च हुन थालेको छ। नेपालमै पनि फिल्म खिच्न एक महिना लगाइन्छ भने सम्पादनमा न्यूनतम तीन महिना लाग्छ। तर, पछिल्लो समय रिलिज डेट घोषणा गरेर छ महिनाअघि सुटिङमा जाने प्रवृत्ति बढ्दो छ। यसले गर्दा फिल्ममा सम्पादकले यथेष्ट समय दिएर काम गर्न पाइरहेका छैनन्।
स्क्रिप्ट र सुटिङलाई फिल्मको पहिलो र दोस्रो ड्राफ्ट मानिन्छ भने सम्पादनलाई तेस्रो तथा अन्तिम ड्राफ्ट। अन्तिम ड्राफ्टमै मिहेनत गरिएन भने फिल्म पक्कै पनि राम्रो हुन सक्दैन। नेपाली फिल्म निर्माता–निर्देशकले यो सत्यलाई आत्मसात् गर्न जरुरी छ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७