‘पहिलो गीत रेकर्ड हुनै पाएन’

writer

गोपाल दाहाल

शुक्रबार, २५ माघ २०७५


गायिका टीका प्रसाईं एकपछि अर्को चर्चित गीत ल्याएर नेपाली संगीतमा छाइरहेकी छिन्। ‘एउटा कुरा भनूँ’, ‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी–लुकी’ लगायत चर्चित गीतकी गायिका टीकाका ‘तिम्रो माया साह्रै रसिलो’ र ‘जे पनि हुन सक्छ मायामा’ गीत हालै बजारमा आएका छन् भने सञ्जीव पराजुलीसँगको गीत ‘किन कर्के’ बजारमा ल्याउने तयारीमा छिन्। नेपालीसँगै भोजपुरी, राजवंशी, थारु भाषाका गीत गाएकी टीकाले संगीत संघर्षका क्रममा भोगेका विभिन्न पहिलो अनुभव ‘सम्पूर्ण’ सँग बाँडेकी छिन्।

धेरै सुनेको गीत

सुरुका दिनमा तारादेवी, अरुणा लामा, फत्तेमान, नारायणगोपाल, प्रेमध्वजका गीत खूबै सुनिन्थ्यो। तिहारको बेला खूब बज्ने आशा भोसलेको गीत ‘दियो बाली पूजाको’ पनि धेरै सुनेँ। तारादेवीको ‘सोचेजस्तो हुन्न जीवन’। आशा भोसलेको ‘फेरि आयो त्यो कालो रात’ गीत पनि बढी सुन्थेँ। आशाकै गीत ‘झझल्को लिएर’को कम्पोज र आलाप खूब मन पथ्र्यो। 

पहिलो रेकर्डेड गीत 

२०५८ सालमा बिर्तामोडको नेसनल साउन्ड स्टुडियोमा सूर्य नेपालको शब्द र मिलन ओलीको संगीतमा एकै दिन मेरो स्वरमा दुई वटा गीत रेकर्ड भएका थिए। त्यसमा पहिलो ‘के गर्नु हो मेरो खसम’ बोलको गीत दीपचण्डी तालमा थियो, दोस्रो ‘तिम्रो दिलको कुनाकानी’ बोलको ख्याम्टा तालमा। त्यो बेला संगीतको धेरै ज्ञान थिएन। गीत खासै चलेन। सुन्दै जाँदा आफैँलाई पनि चित्त बुझेन। संगीत सिकेँ भने योभन्दा राम्रो गाउन सक्छु भन्ने लाग्यो। तर, पनि आफ्नो आवाजमा पहिलो पटक गीत सुन्न पाउँदा आनन्द लाग्यो। 

हिट भएको पहिलो गीत

२०६१ देखि फिल्मका गीत गाउन थालेकी थिएँ। टेलिभिजनको अन्ताक्षरी कार्यक्रममा विजेता भएपछि ‘पाँच पाण्डव’, ‘छोरीको कर्म’, ‘कन्यादान २’, ‘आगो २’ मा पनि गाएँ। फिल्म ‘बीच बाटो’मा विकास चौधरीको संगीत र दयाराम पाण्डेको शब्द रहेको गीत ‘सेल्फीको जमाना’ गीत स्रोताले मन पराए। गीत धेरैले सुने पनि मेरो नाम चिनिएन। मैले स्टेजमा गाउँदा मात्र थाहा पाउँथे। पछि एल्बमको गीत ‘एउटा कुरा भनूँ’ ले अलि चिनायो। ‘नाइँ मलाई थाहा छैन’ र ‘माया लुकी–लुकी’ले अझै धेरैमाझ चिनाए।

पहिलो म्युजिक भिडियो 

फिल्मका गीत र कलेक्सन एल्बमको गीतमा पहिला पनि भिडियो थिए। तर, आफ्नै एल्बममा लगानी गरेर बनाएको पहिलो भिडियो मेरै शब्द, संगीत रहेको ‘तिमी भन्छौ भने’ गीतको भिडियो हो। चार वर्षअघि ७० हजार रुपैयाँ लगानी गरेको भिडियोमा केकी अधिकारी र विनोद पोखरेलले अभिनय गरेका थिए। त्यो भिडियो आएपछि मलाई गाउन मात्र होइन संगीत गर्न र शब्द लेख्न पनि अफर आउन थाले। 

पहिलो शब्द, संगीत

खासमा मलाई पाँच कक्षामा पढ्दा नै स्कुलमा हुने कार्यक्रमका लागि गीत बनाउने जिम्मा आयो। संगीतकार, गीतकार चिनेकै थिइनँ। त्यसपछि आफैँ ‘कतिका काख रित्तिए’ बोलको गीत लेखेर संगीत पनि गरेँ। तर, त्यो गीत रेकर्ड हुन पाएन। आफैँले रिलवाला टेपमा रेकर्ड गरेकी थिएँ। त्यो पनि हरायो।

पछि २०६२मा ‘रमपम स्वर संगम’को विजेता भएपछि निःशुल्क गीत रेकर्ड गर्ने अवसर पाएँ। त्यसपछि आफ्नै शब्द, संगीतमा ‘न तोड न बाचा’ गीत २५ सयमा एरेन्ज गरेर पहिलो पटक रेकर्ड गरेँ। त्यही गीत २०६४ सालमा री–एरेन्ज, री–रेकर्ड गरेँ।

पूरै शब्द कण्ठ भएको पहिलो गीत

प्रायः सुनेका सबै गीत कण्ठ हुन्थे। अहिले बरु बिर्सिइन्छ। सुरुमा अरुणा लामाको ‘झझल्को लिएर आएको सावन’ को पूरै शब्द कण्ठ भएको थियो।

पहिलो अन्तर्वार्ता

२०५८मा कृष्ण धरावासीले कञ्चनजंघा एफएमको साहित्यिक कार्यक्रममा पहिलो पटक अन्तर्वार्ता लिएका थिए। लाइभमा अरुणा लामाको ‘पोहोर साल खुशी फाट्दा’ लगायत गीत गाएकी थिएँ। अन्तर्वार्ता रमाइलो लाग्यो। आफैँ रेकर्डर किनेर कम्पोज गर्दा रेकर्ड गर्थें, मिडियाका साथीहरू थिए। त्यही भएर नौलो त खास लागेन तर रमाइलो भयो। 

पहिलो कन्सर्ट

झापा, बिर्तामोडमा १५ दिन, एक महिनामा हुने साहित्यिक कार्यक्रमहरूमा भाग लिन्थेँ। २०५८ सालमा त्यस्तै साहित्यिक कार्यक्रममा ट्र्याकबिना नै लीला अनमोलको शब्दमा आफ्नै कम्पोजमा ‘सावनमा झरी पर्दा’ पहिलो पटक गाएकी थिएँ। २०६३ सालतिर ‘तिम्रो सुर मेरो गीत’को विजेता भएपछि धेरै कार्यक्रममा गाउन गएँ। ठूलो महोत्सवमा चाहिँ पहिलो पटकको कैलालीको महोत्सवमा गाएकी थिएँ।

संगीतबाट पाएको पहिलो पारिश्रमिक

पहिलो पटक रेकर्ड भएका गीत ‘तिम्रो दिलको कुनाकानी’ र ‘के गर्ने हो मेरो खसम’बाट छ हजार रुपैयाँ पाएकी थिएँ। 

संगीतको पहिलो साथी

झापामा हुँदा लीला अनमोल, कृष्ण धरावासी, देवीभक्त श्रेष्ठले संगीतमा धेरै सहयोग गर्नुभयो। २०६१ भदौ ११मा काठमाडौ आएँ त्यसपछि डोरेमीमा संगीत सिक्न थालेपछि माया अधिकारी मेरो नजिककी साथी भइन्। हामी खूब मिल्थ्यौँ।

तपाईको कमेन्ट