नङ सुन्दर बनाउन के गर्नुपर्छ ? ब्युटी एक्सपर्ट यसाे भन्छिन्

writer

रञ्जना सितिखु, ब्युटी एक्सपर्ट

शुक्रबार, २५ माघ २०७५


नङको सुन्दरताबिना हातको सौन्दर्य अधुरो हुन्छ। जतिसुकै सुन्दर हात भए पनि नङ राम्रो छैन भने यसले महिलाको व्यक्तित्वमा नकारात्मक असर पार्छ। शरीरका सम्पूर्ण अंगमध्ये सबैभन्दा बढी प्रयोग हुने हात हो। हात अघि सार्दा नङ स्वतः देखिन्छ। फोहर, दाग भएका, खिइएका, टुक्रेका, फाटेका वा भाँच्चिएका नङले व्यक्तित्वमा नराम्रो असर पार्छ। सुन्दर र सही आकारमा काटिएका, फाइलिङ गरिएका, सुहाउँदो रङको पोलिस लगाइएका स्वस्थ सुन्दर नङले महिलाको व्यक्तित्वमा निखार ल्याउँछ। 

बलियो, सफा, गुलाबी, मिलेको, चम्किलो नङले स्वस्थ शरीर भएको, सन्तुलित आहार लिएको, स्याहार गरेको भन्ने दर्शाउँछ भने बेढंग काटिएका, फोहोर, दागधब्बायुक्त, टुक्रेका नङले अल्छी व्यक्तित्वलाई झल्काउँछ। प्राकृतिक रूपले स्वस्थ र सुन्दर नङ भए पनि अन्य विभिन्न कारणले नङ बिग्रन सक्छ वा नङका विभिन्न समस्या देखापर्न सक्छन्। त्यसैले नङको हेरचाहमा विशेष ध्यान दिनुपर्ने हुन्छ। 

साबुन, डिटरजेन्ट, केमिकल आदिबाट नङमा रिएक्सन हुन सक्छ। कडा पानीको प्रयोग गरी काम गर्दा नङ कमजोर र दागयुक्त हुन्छ। भाँडा सफा गर्दा, लुगा धुँदा, बोटविरुवा गोडमेल गर्दा, सरसफाइ गर्दा गरिने लापरबाहीले नङमा विभिन्न समस्या देखिन्छन्। यस्तै नङ टोक्ने, नङको प्रयोग गरी काम गर्ने बानी, नङले सुन्तलाजस्ता फलफूलको बोक्रा उप्काउने, कमसल र मिति नाघेका कस्मेटिक (नेलपोलिस, पोलिस रिमुभर, क्रिम आदि) प्रयोग गर्दा, फाइलिङ गर्दा गरिने लापरबाही, रोग लाग्नु वा बिरामी पर्नु आदि कारणले नङ अस्वस्थ र कमजोर भई नराम्रो देखिन्छ। 
नङलाई सुन्दर बनाउने तरिका

–नङमुनि वा कुनातिर भएका दाग र फोहर हटाउन कागती दल्न सकिन्छ। 

–फिट्किरी दलेमा नङ बलियो र चम्किलो हुन्छ। 

–मनतातो तेलमा नङ केही बेर डुबाउनाले पनि नङ बलियो हुन्छ। 

–टुथपेस्ट लगाएर ब्रस गर्नाले नङको दाग सफा हुन्छ। 

–नेल बफरले रगड्नाले नङ सफा र चम्किलो बन्छ।


–म्वाइस्चराइजिङ वा कन्डिसनिङ गुणयुक्त नेल पोलिस रिमुभरको प्रयोग गर्नुपर्छ। 

–नङको प्रयोग गरेर काम गर्ने बानी हटाउनुपर्छ। 

–नुहाउनासाथ वा लुगा धुनेबित्तिकै नङ काट्ने वा फाइलिङ नगर्ने। यसबेला नङ एकदमै नरम हुन्छ। 

–रफ किसिमको काम गर्दा पन्जा लगाएर काम गर्ने। 

–सन्तुलित आहार खाने र सफा पानी पिउने। 

–क्युटिकल र नेलवालको सुरक्षाको लागि मेनिक्योर गर्नुपर्छ। 

–नङ सफा गर्दा तिखो वस्तुको प्रयोग नगर्ने। 

–नङ फाँटेको वा भाँचिएको छ भने टी ब्याग पेपर नेल ग्लुबाट टाँस्नाले नङलाई बचाउन सकिन्छ। 

–नङको स्याहार गर्न नसकिने भएमा छोटो नङ राख्नु नै राम्रो हुन्छ। 

–नङको रङमा आएको असाधरण परिवर्तनबारे सचेत हुनु जरुरी छ। स्वास्थ्य जाँच गराएर उचित उपचार गराउनुपर्छ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि