विश्वकप आउँदै, सट्टेबाज सलबलाउँदै

writer

गोपाल दाहाल

बुधबार, २३ जेठ २०७५


काठमाडौं : रसियामा फिफा विश्वकप २०१८ सुरु हुन अब एक साता मात्र बाँकी छ। यो बेला विश्वभरिका फुटबलप्रेमी उत्साहित र सक्रिय हुनु स्वाभाविकै हो तर यतिबेला फुटबलप्रेमीभन्दा बढी जुवाडेहरू सक्रिय बन्दैछन्। 

विश्वमै फुटबल र क्रिकेटका ठूला प्रतियोगितासँगै सक्रिय हुने अनलाइन जुवाडे  अर्थात् 'बुकी'हरूको सञ्जाल नेपालमा पनि फैलिएको छ। सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म एक महिना रुसमा हुने विश्वकपमा कुन दिन कुन टिमले जित्छ भनेर ठूलो रकमको बाजी खेलाउने तयारीमा नेपालका विभिन्न समूह नेटवर्क विस्तारमा सक्रिय बनिरहेको सूचना पाएपछि प्रहरी तिनको खोजीमा लागेको छ। 

पाँच वर्षयता हरेक वर्षजसो ठूला खेलमा बाजी लगाएर करोडौँको धन्दा गर्नेहरू पक्राउ परिरहेका छन्। अघिल्ला घटनाक्रमले पनि नजिकै आएको विश्वकपमा अनलाइन जुवाका अखडा बढ्ने छनक दिएका छन्। नेपालको कानुनले जुवा मान्ने यो धन्दा देशका विभिन्न शहरमा तीव्र रूपमा बढिरहेको धन्दामा संलग्नहरू लगातार पक्राउ परिरहेका घटनाले प्रष्ट पार्छन्।

घटना १
इन्डियन प्रिमियर लिग (आईपीएल) का बेला अनलाइन जुवा खेलाएको आरोपमा २०७४ जेठ १३ मा काठमाडौँ, मैतीदेवीका गौरव तिवारी पक्राउ परे।
सिभिल मलमा '१२ डी फिल्म हल' सञ्चालन गर्ने गौरवको ल्यापटप र मोबाइलको रेकर्ड अनुसन्धान गर्ने क्रममा जुवा धन्दामा संलग्न राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, काभ्रेका भूपेन्द्र कुँवर, नुवाकोटका दिनेश बोगटी, भक्तपुरका विजय श्रेष्ठ र भक्तपुरकै नरेन्द्र सुवाललाई प्रहरीले पक्राउ गर्‍यो। 

घटना २
युरोकप फुटबलमा अनलाइन जुवा खेलाएको आरोपमा २०७३ जेठ ३० मा प्रहरीले काठमाडौँको न्युरोडस्थित आरबी कम्प्लेक्सबाट २ लाख ४५ हजार रुपैयाँ नगद, कम्प्युटर र दुइटा मोबाइलसहित दीपकरत्न शाक्य र सागर खड्गीलाई पक्राउ गरेको थियो। 

घटना ३
२०७३ सालको वैशाख पहिलो साता काठमाडौँ, बालुवाटारस्थित मल्पी इन्टरनेसनल कलेजका डिसिप्लिन इन्चार्ज सुदीप गुरुङ र उनका साथी सांगे ठकुरी सोही कलेजका विद्यार्थीहरूलाई अनलाइन जुवा खेलाएको आरोपमा पक्राउ परे।
आईपीएल तथा युरोकप फुटबलमा कलेजमै बाजी खेलेर विद्यार्थीहरूले लाखौँ हारेपछि अभिभावकबाट उजुरी पर्‍यो। प्रहरीले कलेजमा छापा मार्दा गुरुङ र केही विद्यार्थीसमेत पक्राउ परे। प्रहरीको अनुसन्धानमा एउटै कलेजमा दैनिक १० लाख रुपैयाँभन्दा बढी रकमको बाजी चल्ने गरेको थाहा भयो।

घटना ४ 
२०७१ असार २६ गते ब्राजिलमा विश्वकप फुटबल भइरहँदा भाइबरबाट अनलाइन जुवा खेल्ने धरानका ज्याकी लिम्बू, बिन्ते राई, सोम लिम्बू, सुरेन प्रधान र सूर्य लिम्बूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गर्‍यो।

घटना ५
२०७० फागुन २९ मा क्रिकेट र फुटबलको अनलाइन जुवा धन्दामा सक्रिय रहेको आरोपमा काठमाडौँ, सुन्धाराका विनोद महर्जन पक्राउ परे। भारतीय नागरिकसँग मिलेर महर्जनले युरोकप, आईपीएललगायत प्रतियोगिता भएका बेला ठमेल र दरबारमार्ग क्षेत्रमा बाजीमार्फत जुवा खेलाउने गरेका थिए।

यी त केही धन्दावाल पक्राउ परेका नमुना घटना मात्र हुन्। विश्वकप जस्ता खेल हुँदा शहर-शहरमा यस्तो धन्दा सञ्चालन हुन्छ। आईपीएल २०१८ को बेला अनलाइन जुवा खेलाएको आरोपमा महानगरीय प्रहरी परिसरले छ जनालाई पक्राउ गरेपछि बाजीका रूपमा जुवा खेलाउने धन्दाका जालो निकै फैलिसकेको भेटियो। 

यो विश्वकपमा जुवाको जालो अझै फैलिने आकलनसहित प्रहरी सूचना संकलन र निगरानीमा जुटेको छ। महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी मोहनकुमार थापा भन्छन्, 'अस्ति आईपीएलमा भयो, अब वल्र्डकपमा पनि हुन्छ भन्नेमा हामी सतर्क छौँ।' 

हजारौँ संलग्न, अर्बौको खेल

विश्वकप, युरोकप, कोपा अमेरिका कप, आईपीएल जस्ता फुटबल र क्रिकेटका ठूला प्रतियोगितामा बाजी लगाएर अर्बौं रकमको कारोबार गर्ने यो धन्दालाई अनलाइन बेटिङ, सट्टेबाजी, भर्चुअल जुवा जस्ता अनेक नामले चिनिन्छ। कतिपय मुलुकमा कर तिरेर सञ्चालन गर्न पाइने यस्तो धन्दालाई नेपालको कानुनले जुवाका रूपमा लिन्छ।

काठमाडौँका न्युरोड, ठमेल, दरबारमार्ग र ललितपुरका विभिन्न स्थानमा यस्तो धन्दा हुने गरेको छ। क्यासिनो, ठूला होटलदेखि सपिङमलसम्ममा आवरणमा ठूलो स्क्रिनमा खेलको प्रत्यक्ष प्रसारण देखाइन्छ तर भित्री रूपमा जुवा धन्दा चलिरहेको हुन्छ। पर्दामा फुटबलको जीत–हार भइरहँदा जुवाडेहरूबीच करोडौँ रुपैयाँको हार-जीत भइसकेको हुन्छ।

काठमाडौँबाहिरका थुप्रै शहरमा पनि यस्तो जुवाका भर्चुअल खाल जम्ने गरेका छन्। विराटनगर, धरान, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, चितवन, सुर्खेतलगायत ठाउँमा यस्तो धन्दा बढी हुने गरेका छन्।

यी शहरका विभिन्न रेस्टुरेन्टदेखि खुला ठाउँमा समेत प्राजेक्टरबाट ठूलो पर्दामा खेल देखाइने गरिन्छ। त्यसरी चोक-चोकमा खेल देखाउनेलाई पनि प्रहरीले निगरानी गर्ने भएको छ। कतिपयले भने यसरी अनलाइन जुवा खेल्नु गैरकानुनी काम हो भन्ने नबुझी अरूको लहडमा खेल्ने गरेका छन् भने अधिकांशले बुझेरै कमाउ धन्दाका रूपमा खेलाउने र खेल्ने गरेका छन्।

नेपालमा यस्तो बाजी कहिलेदेखि सुरु भयो भन्ने प्रहरीसँग यकिन तथ्यांक छैन तर करिब एक दशकदेखि नेपालमा यसको चर्चा भएको पाइन्छ। महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल भन्छन्, 'हजारौँ नेपाली यस्तो धन्दामा संलग्न रहेको र अर्बौं रकमको खेलो हुने अनुमान गर्न सकिन्छ।'

हालै पक्राउ परेका गौरव तिवारीले २४ वटा एकाउन्ट बनाएर विभिन्न खेलमा ७ करोड ४७ लाख रुपैयाँको कारोबार गरेको भेटियो। पक्राउ परेकाको बयान र अन्य अनुसन्धानबाट प्रहरीले नेपालमा ठूलो रकमको खेल हुने गरेको पत्ता लगायो। 'यो धन्दामा ५० हजारभन्दा बढी नेपाली संलग्न छन्,' परिसरका प्रमुख एसएसपी पोखरेल भन्छन्, 'खेल भएको एक दिनमै दशौँ करोडको कारोबार हुने गरेको छ। यो हिसाबले पूरै खेलभरि अर्बोंको धन्दा हुने अनुमान गर्न सकिन्छ।' 

गुण्डादेखि प्रहरीसम्म संलग्न

सट्टेबाजीमा विभिन्न आवरणमा दलालहरू सक्रिय छन्। विभिन्न कलेजका शिक्षक, विद्यार्थी, व्यवसायी, सेयर र जग्गाको काम गर्ने, हुन्डीवाला, बैंकर, दुई नम्बरी धन्दावालादेखि प्रहरीसमेत यो धन्दामा एजेन्टका रूपमा संलग्न रहेको प्रहरीको अध्ययनले देखाएको छ। 

प्रहरीको वान्टेड सूचीमा रहेका गुन्डानाइके दावा लामा पनि यो धन्दामा रहेको र उनले चेल्सी र लिभरपुलको खेलमा १० लाख भारतीय रुपैयाँ अनलाइन अकाउन्टमार्फत लगानी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसो त प्रहरी इन्काउन्टरमा मारिएका गुन्डानाइके कुमार श्रेष्ठ (घैँटे) पनि पहिला यो धन्दामा संलग्न थिए।

प्रहरी स्रोतका अनुसार विकास भुजेल, बलराम सापकोटा, मिलन सापकोटा, राम गिरी, दिपेश लामा, विष्णु लामा, तेजेन्द्र गुरुङ, राजु सिंह, श्याम अधिकारी, किरण श्रेष्ठ, स्टालिन शेरचन आदि अनलाइन जुवामा पहिलेदेखि नै नामुद छन्। एक पूर्वप्रहरी अधिकृत भन्छन्, 'उनीहरूमध्ये कोही व्यवसायी र कोही ठेकेदार जस्ता आवरणमा यस्ता धन्दा गर्छन्। सबै पेशा र क्षेत्रमा सट्टेबाजहरू सक्रिय छन्।'

अन्तर्राष्ट्रिय गिरोहसम्म सञ्जाल

नेपालमा सट्टेबाजी धन्दा गर्नेहरूको सञ्जाल अन्तर्राष्ट्रिय गिरोहसम्म जोडिएको प्रहरीको अध्ययनले देखाउँछ। प्रहरीले पछिल्लो पटक पक्राउ गरेका गौरव तिवारीले ६५ लाख भारु खर्च गरेर लन्डनका सट्टेबाजहरूसँग मास्टर एकाउन्ट किनेका थिए। त्यसपछि आफूले २४ वटा एकाउन्ट बनाएर कारोबार गरेका थिए। यो धन्दामा संलग्नहरू कुख्यात डन दाउद इब्राहिमसँग समेत सम्पर्कमा रहेको प्रहरी बताउँछ। 

नेपालमा नागराज भनेर चिनिने अमृत अग्रवाल र उनका भाइ श्रीकान्त अग्रवालले लामो समयदेखि अनलाइन जुवाको धन्दा चलाउँदै आएका थिए। २०७३ जेठ ३० मा आरबी कम्प्लेक्सबाट पक्राउ परेका दीपकरत्न शाक्य र सागर खड्गीले पनि श्रीकान्तसँग मिलेर यस्तो धन्दा चलाएको प्रहरी बयानमा बताएका थिए। 

प्रहरीको खोजी सूचीमा रहेका अग्रवाल पछिल्लो समय भारतको गोवामा बसेर आफ्नो सञ्जालमार्फत जुवा खेलाइरहेका छन्। उनै अमृत र उनका भाइ श्रीकान्तसँग  काम गर्नेहरू पछिल्लो समय यो धन्दामा सक्रिय देखिएको प्रहरी स्रोत बताउँछ। 

अग्रवालको सिको गर्दै गौरव र सौरभ तिवारी दाजुभाइ केही वर्षदेखि यो धन्दामा सक्रिय बनेका हुन्। गौरवले भूपेन्द्र कुँवरसँग मिलेर २०७२ सालदेखि यो धन्दा गरिरहेको प्रहरीको भनाइ छ। आईपीएलमा भूपेन्द्रको खाताबाट ३ करोड २३ लाख रुपैयाँ कारोबार भएको भेटिएको छ भने २०७२ सालमा म्याच फिक्सिङमा पक्राउ परेर धरौटीमा रिहा भएका राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य अञ्जन केसी गौरव समूहका ललितपुर एजेन्ट रहेको प्रहरीको अनुसन्धानले देखाएको छ। यही धन्दामा पक्राउ परेका विजय श्रेष्ठले भूपेन्द्रमार्फत अनलाइन जुवा खेलाउने गरेका थिए। 

उनको खाताबाट १ करोड ७० लाख र  नरेन्द्र सुवालले विजयसँग मिलेर ७७ लाख रुपैयाँ यो धन्दाबाट कारोबार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डीएसपी थापा गिरोहकै रूपमा धन्दा सञ्चालन भए पनि कमजोर कानुनका कारण कडा कारबाही गर्न नसकिने बताउँछन्। भन्छन्, 'जति ठूलो धन्दा गरे पनि उनीहरू सहजै उम्किने गरेका छन्।'

दुई सय तिरेर छुट्छन् अभियुक्त

आईपीएलमा सट्टेबाजीमार्फत ७ करोड ४७ लाख रुपैयाँको कारोबार गरेको प्रमाणसहित पक्राउ परेका गौरव समूहका सदस्यहरू दुई-दुई सय रुपैयाँ जरिवाना तिरेर छुटिसकेका छन्। यसअघि पक्राउ पर्नेहरू पनि यसरी नै दुई सय रुपैयाँ तिरेर छुट्दै आएका छन्।

नेपालमा सट्टेबाजी गर्नेलाई के कारबाही गर्ने भन्ने छुट्टै कानुन छैन। त्यसैले जुवा ऐन २०२० अनुसार यो धन्दालाई जुवा मानेर कारबाही गर्ने गरिएको छ।ऐनको दफा २ मा 'जुवा भन्नाले सम्पत्ति हार्ने वा जित्ने कुनै संयोग आधारमा थापी खेलेको कुनै खेल सम्झनुपर्छ' भनी जुवालाई परिभाषित गरिएको छ। सोही ऐनको दफा ३ मा 'जुवा खेल्न वा खेलाउन प्रतिबन्ध'को व्यवस्था छ। 

दफा ३ को उपदफा १ मा भनिएको छ- 'कुनै व्यक्तिले जुवा खेल्न, खेलाउन वा जुवा खेल्ने खाल थाप्न वा आफ्नो हकको वा आफ्नो भोगचलन वा जिम्माको कुनै घर, कोठा वा ठाउँलाई जुवा खेल्ने वा खेलाउने काममा व्यवहार गर्न वा गराउन, जुवा खेलेको ठाउँमा बस्न हुँदैन।'

जुवा ऐन २०२० अनुसार त्यस्तो कसुर गर्नेलाई ऐनको दफा ४ मा सजायको व्यवस्था गरिएको छ। तर, यो सजाय अत्यन्तै न्यून छ। दफा ४ (क) मा जुवा खेलेमा 'पहिलो पटकलाई रु.२०० सम्म जरिवाना, दोस्रो पटकलाई एक महिनादेखि तीन महिनासम्म कैद र तेस्रो पटक देखिकोलाई एक वर्ष कैद' गर्ने व्यवस्था छ। यही ऐनअनुसार सट्टेबाजीको धन्दा गर्नेहरू पनि सहजै दुई सय रुपैयाँ तिरेर उम्किने गरेका छन्। 

प्रहरीले उनीहरूलाई ठगीमा समेत मुद्दा चलाउने गर्छ तर उजुरी दिने पीडितहरू नहुँदा उनीहरूलाई ठगीको कारबाही हुन सक्दैन। २०२० सालको कानुन समयसापेक्ष परिमार्जन हुन नसक्दा कानुनको त्यही कमजोरीको फाइदा उठाउँदै अनलाइन जुवा धन्दा चलाउनेले पक्राउ परे पनि सजिलै उम्किने र फेरि धन्दा गर्ने गरेका छन्। 

यसरी हुन्छ अनलाइन जुवा

अनलाइन जुवा खेलाउने एजेन्टहरू ठूला फुटबल र क्रिकेट प्रतियोगिता हुनुअघिदेखि नै टिम बनाएर जुटिसकेका हुन्छन्। यस्ता जुवा खेलाउने विभिन्न वेबसाइट छन्। बेलायतको 'बेट ३६५ डटकम' यस्तो धन्दा सञ्चालन गर्ने विश्वकै ठूलो कम्पनी हो। 

प्रायः यसैको रेट र नियमका आधारमा एजेन्टहरूले खेल हुने केही समयअघि आफ्नो सञ्जालमा भएकालाई भाइबर÷ह्वाट्सएप जस्ता माध्यममा त्यस दिनको रेट पठाउँछन्। सट्टेबाजी खेल्नेसँग त्यही रेटमा पैसा उठाइन्छ। नेपालमा भारतीय रुपैयाँको रेटमा कारोबार हुने गरेको छ। खेलाउनेहरूले सफ्टवेयर बनाउनेसँग मास्टर एकाउन्ट किन्छन्।त्यसपछि अरूलाई एजेन्ट बनाएर बाँड्छन्। 

फुटबल वा क्रिकेटमा प्रत्येक दिनका खेलअनुसार रेट र नियम फरक–फरक हुन्छन्। फुटबलमा सो दिन खेल हुने दुई टिमबीच कमजोर टिमका पक्षमा बाजी लगाउनेले जितेको खण्डमा दशौँ गुणासम्म पैसा पाउँछन् भने बलियो टिमका पक्षमा लगाउनेले कम पैसा पाउँछन्। फुटबलमा दुईमध्ये कुन टिमले जित्छ वा बराबरी हुन्छ भन्ने सम्मका बाजी हुन्छन् भने क्रिकेटमा म्यान अफ दी म्याच को हुन्छ ? टस कसले जित्छ ? ब्याटिङ कसले गर्छ ? जस्ता कुरामा पनि बाजी राखिन्छ। जित्ने एक पक्षलाई मात्र पैसा दिनुपर्ने भएकाले खेलाउनेहरू सधैं नाफामा हुन्छन्। 

खेल भएकै दिन उनीहरूले रकम निर्धारण गर्छन्। त्यही आधारमा जति बाजी राखिन्छ, त्यसको दोब्बरदेखि, दशौँ गुणासम्म रकम राख्छन्। जस्तो, इन्डिया र पाकिस्तानको खेलमा पाकिस्तानले हार्ने सम्भावना बढी हुँदा त्यसमा एक लाख रुपैयाँ राख्दा पाकिस्तानले जितेमा सट्टेबाजले १० लाखसम्म जित्ने सम्भावना हुन्छ। 

त्यसरी हार-जीत भएको पैसा हप्ता वा १५ दिनमा उठाउने र बाँड्ने गरिन्छ। यो धेरैजसो विश्वासका आधारमा खेलिन्छ। नेपालमा धन्दा गर्नेले प्रायः साप्ताहिक रूपमा कारोबार गर्ने गरेका छन्। सानातिना रकमको बाजीमा यहीँका एजेन्टहरूले नाफा बाँड्छन् भने ठूला रकम हुन्डीमार्फत विदेशसम्म पठाउँछन्। 

यो धन्दाले अर्थतन्त्रमा विचलन ल्याउँछ

अहिले नेपालमा ठूला सट्टेबाजहरू सक्रिय भइरहेको सूचना पाएका छौँ। सट्टेबाजका धेरै समूह छन्। ठूलो रकमको खेल भइरहेको छ।अस्ति आईपीएलमा भयो, अब वल्र्डकपमा हुन्छ भन्नेमा हामी सतर्क छौँ। वल्र्डकपमा यस्तो धन्दा धेरै हुन्छ भनेर विभिन्न ठाउँबाट सूचना संकलन गरिरहेका छौँ। 

एसएसपी विश्वराज पोखरेल
महानगरीय प्रहरी परिसर, टेकु, काठमाडौँ

हाम्रो अध्ययनमा सट्टेबाजीमा विशेष गरी दुई नम्बरी धन्दावालहरू सक्रिय छन्। जग्गाको कारोबार गर्ने, सेयरको काम गर्ने, ठूला व्यापारीदेखि गुन्डासम्म सक्रिय देखिएका छन्। यो धन्दाले आन्तरिक अर्थतन्त्रमा विचलन ल्याएको छ। त्यस्तै, मुलुकको पुँजी बाहिरिएको अवस्था छ। 

हामीले अनुमान गरेभन्दा ठूलो रकमको कारोबार भइरहेको छ। सट्टेबाजी खेलेको रकमको स्रोत खोज्ने हो भने कसैले पनि स्रोत देखाउन सक्दैनन्। करोडौँको कारोबार हुन्छ तर स्रोत देखिँदैन। नेपालमा भारतीय रुपैयाँमा उनीहरूको कारोबार हुने गरेको पाइएको छ। 

फुटबल तथा क्रिकेटका ठूला प्रतियोगिताका बेला हरेक दिन नेपालमा १० करोड रुपैयाँभन्दा माथिको कारोबार भएको देखिन्छ। त्यसमध्ये कति बाहिरिन्छ भन्ने यकिन तथ्यांक छैन। सट्टेबाजले जहाँबाट एकाउन्ट लिन्छ, त्यहाँ ठूलो खर्च गर्ने गरेको छ। 

नेपालमा सट्टेबाजी खेल्ने लगभग ५० हजारको हाराहारीमा छन्। ठूलो संख्यामा खेलाउने काठमाडौँमा मात्र चारपाँच वटा गु्रप छन्। चारपाँच वर्षयता सट्टेबाजी बढेको देखिन्छ।यो जुवामा कलेजका विद्यार्थी पनि ठूलो संख्यामा छन्। सबै क्षेत्र र व्यवसायका, युवादेखि प्रौढसम्मले सट्टेबाजी खेल्ने गरेको पाइएको छ। 

तपाईको कमेन्ट