‘साइकल मेरो अर्काे खुट्टा’  युवक लामा

writer

रचना श्रेष्ठ

आइतबार, २० माघ २०७५


धादिङ, बैरेनी मेरो जन्मथलो हो। सामान्य परिवारमा जन्मेँ÷हुर्कें। अरू बच्चा जस्तै मेरो जीवन पनि सामान्य थियो, रमाइलै थियो। तर, एउटा घटनाले मेरो जीवन बदलिदियो। छ वर्षअघि दिदीकोमा घुम्न काठमाडौँ आएको थिएँ। दशैँको माहोल थियो। घर फर्कदै गर्दा गाउँको उकालो बाटोमा ओभर लोडका कारण गाडीको ब्रेक फेल भएछ। ज्यान जोगाउन आत्तिएर बसको छतबाट हाम्फालेँ।

गाडी उल्टै म भएतिर पल्टियो। गाडीले मेरो देव्रे खुट्टा किचिदियो। मलाई काठमाडौँ, महाराजगञ्जको टिचिङ अस्पतालमा ल्याइयो। मेरो देव्रे खुट्टा काट्ने स्थिति आयो। होशमा आएपछि बेडमा खुट्टा छाम्दा मेरो देव्रे खुट्टा नै थिएन। म धेरै रोएँ, कराएँ। मेरो सामान्य जीवन क्षणभरमै असामान्य भयो। 

गाउँमा श्री अमन्दा देवी माविमा कक्षा छसम्म पढेँ। दुर्घटनापछि छ कक्षा दोहोर्‍याएर पढ्नुपर्‍यो। पछि दिदीले मलाई काठमाडौँमै ल्याउनुभयो। काठमाडौँ, नारायणटारस्थित खगेन्द्र नवजीवन केन्द्रमा सात कक्षाबाट पढेँ। त्यहीँबाट अहिले एसईई दिएँ। म १७ वर्षको भएँ। ललितपुर, सानेपामा बस्छु। 

दुई खुट्टा हुँदादेखि नै म साइकलप्रेमी थिएँ। मोबाइलसँग साटेर साइकल लिन्थेँ। एक खुट्टा भएपछि पनि साइकल चलाउन सकसक लाग्थ्यो। तर, चलाउन पाउँदिनथेँ। दिदीकोमा बस्दा भान्जाहरूको साइकल थियो। चलाउन खोज्दा ‘भएको एउटा खुट्टा पनि भाँचिएला !’ भनेर कराउनुहुन्थ्यो। म भने लुकी–लुकी आफ्नो रहर पूरा गर्थें। साइकलमा बसेर एउटा खुट्टाले साइकल बिस्तारै ठेल्दै, घिसार्दै अरूलाई धकेल्न लगाउँथेँ र चलाउन कोसिस गर्थें।


खगेन्द्र नवजीवनमा पढ्दाताका त्यहाँ म जस्तै थुप्रै अपांग साथी थिए। एउटा  दाहिने खुट्टा नभएको साथी थियो। उसले पनि साइकल चलाउने कोसिस गथ्र्यो। म पछि जस्तै एउटा खुट्टा नभएको यमलाल दाइसँग भेट भयो। उहाँले मजाले एउटा खुट्टाले साइकल चलाउनुहुन्थ्यो। उहाँलाई देखेर मलाई पनि साइकल चलाउने आँट आयो। खुट्टा नभएको प्याडलतिर ढुंगा च्यापेर राख्ने उपाय उहाँबाट सिकेँ। 

एउटा खुट्टाले साइकल चलाउँदा धेरै पटक लडियो। खुट्टा नहुनेपट्टि बढी ढल्किन्थेँ। हिम्मत हारिनँ, दिनदिनै कोसिस गरेँ। पाँच÷छ महिनामा लडी–लडी भए पनि एउटा खुट्टाले साइकलको प्याडल घुमाउन सिकेँ। सुरु–सुरुमा एकछिन साइकल चलाउन पनि निकै मुस्किल हुन्थ्यो। अहिले बिहानदेखि बेलुकीसम्म एउटा खुुट्टाले मजाले साइकल चलाउनसक्छु। अरूले हेर्दा लड्छ कि भन्ने लाग्छ। तर, मैले आत्मविश्वासका साथ नलड्ने गरी साइकल चलाउँछु। 

बैसाखी टेकेर हिँड्दाको दिन सम्झिँदा धेरै दुःख लाग्छ। कति मान्छेले हेय दृष्टिले हेर्थे। सहानुभूति देखाउँथे। यताउति जाँदा वा स्कुल जाँदा पनि गाडीले रोक्दैनथे। साइकल मेरो जीवनको रंगिन पक्ष हो। साइकल भएदेखि अरूको भरोसामा बस्नुपरेको छैन। कक्षा आठमा पुगेपछि बिस्तारै साइकलमै स्कुल जाने÷आउने गर्न थालेँ। सुरु–सुरुमा साइकल चलाउँदा काठमाडौँको भीडभाडमा निकै डर लाग्थ्यो। चारैतिरबाट गाडीको चाप देख्दा हान्देला भन्ने डर लाग्थ्यो। अहिले त बानी परिसक्यो।

साइकल चलाउन थालेपछि सबै कुरा पाए जस्तै महसुस भएको छ। बैसाखीको भरमा मात्र बाँचेको भए एउटा कोठामा थन्केर बस्थेँ होला जस्तो लाग्छ। अहिले त साइकल लिएर गोदावरी, वज्रबाराही, नगरकोटसम्म पुग्छु। उकालो–ओरालो, कच्ची जस्तो बाटोमा पनि चलाउनसक्छु। साथी जस्तै लाग्छ मलाई साइकल। 

पहिला मैले सानो खाले साइकल चलाउँथेँ। साइकल र्‍यालीमा जाँदा एक जना दाइले ‘मोटाची’को साइकल दिनुभयो। अहिले त्यही साइकल चलाउँछु। अब हुने ‘पारा ओलम्पिक’का लागि तयारी गर्दैछु। विभिन्न साइकल रेसतिर भाग लिन्छु। 

साइकल नहुँदा धेरै गाह्रो लाग्छ। कतै जान खुट्टा नै सर्दैन। जहाँ जाँदा पनि साइकलमै जाने गर्छु। जबदेखि एक खुट्टाले साइकल चलाउन सिकेँ, मेरो जीवनमा धेरै परिवर्तन आएको छ। साइकलबाट धेरै कुरा सिक्ने, जान्ने मौका पाएको छु। बैसाखीको सहारामा हुँदा मेरो दैनिकी अप्ठ्यारो थियो। त्यतिबेला ‘मेरो एउटा खुट्टा छैन’ भन्ने कुराले निकै सताउँथ्यो। तर, साइकल चलाउन थालेदेखि आफ्नो एउटा खुट्टा छैन भन्ने यादै हुँदैन। साइकल मेरा लागि देब्रे खुट्टासरह भएको छ। साइकलकै कारण जीवनमा केही गर्ने हौसला मिलेको छ। 

 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि