जुम्बामा उफ्रिरहेका शहरिया

writer

गोपाल दाहाल

बिहिबार, १७ माघ २०७५


जथाभावी खानपान, शारीरिक श्रमको कमीजस्ता कारणले शहरियाको जीवनशैली अस्वस्थ बनिरहेको छ। तर, सचेत शहरिया भने स्वस्थ रहन विभिन्न शारीरिक अभ्यास गर्छन्। शहरमा पछिल्लो समय फेसनका रूपमा देखिएको छ, जुम्बा। 


संगीतको चर्को धुनमा एक हूल महिला ताल मिलाई–मिलाई नाचिरहेका छन्। धुन फेरिन्छ, महिलाहरू असिनपसिन हुँदै निरन्तर नाच्छन्। हरेक बिहान र साँझ धरानको भानुचोक नजिकैको ‘झुनाज जुम्बा फिटनेस’मा यसरी जुम्बा नाच्नेको भीड लाग्छ। 

गृहिणी पूजन लिम्बू हरेक बिहान र साँझ जुम्बा धाउँछिन्। उनले नियमित जुम्बा धाउन थालेको सात वर्ष पुग्यो। उनी जुम्बासँगै एरोबिक पनि गर्छिन्। सुरुमा ६४ केजी तौल भएकी पुजन नियमित तीन महिना जुम्बा गर्दा १० केजी घटिन्। त्यसपछि जुम्बाले उनको जीवनशैली नै परिवर्तन गरिदियो। ‘पहिला खुट्टाको छेपारी फर्किने समस्या थियो,’ उनी भन्छिन्, ‘जुम्बा गर्न थालेपछि निको भयो। अहिले एक दिन जुम्बा गएन भने सास थुनिए जस्तो लाग्छ। घरमै बसिरहनुभन्दा साथीहरूसँग रमाइलो गर्दै स्वास्थ्य राम्रो बनाउनु ठीक लागेर नियमित जान्छु।’

बीपी प्रतिष्ठानको क्वार्टरमा बस्ने पूजा गच्छेदार पनि दुई वर्षयता नियमित जुम्बा जान्छिन्। उनका श्रीमान् चिकित्सक हुन्। ‘श्रीमान् हस्पिटलमा व्यस्त हुनुहुन्छ,’ उनी भन्छिन्, ‘दिनभर क्वार्टरमा बस्दा–बस्दा डिप्रेसन भए जस्तो लाग्थ्यो। रुघाखोकी, एलर्जीले सताइरहन्थ्यो।’ बीपीभित्रै जुम्बा सेन्टर रहेको थाहा पाएपछि उनी त्यहाँ गइन्। नियमित जुम्बा गर्न थालेपछि शारीरिक र मानसिक समस्या हराएको उनी सुनाउँछिन्, ‘जुम्बा जान थालेपछि शरीर फुर्तिलो भयो। अहिले त्यस्तो समस्या छैन। गृहिणीका लागि जुम्बा एकदम महत्त्वपूर्ण लाग्यो।’

अहिले पूजा घरमा कोही पाहुना आउँदा पनि उनीहरूलाई जुम्बाका फाइदा बताएर जुम्बा गर्न प्रेरित गर्छिन्। उनी जुम्बाका साथीहरूसँग मिलेर कहिले विभिन्न गाउँमा पुगेर सामाजिक सेवामूलक काम र सहयोग गर्छिन्। भन्छिन्, ‘यसले शारीरिक र मानसिक स्वास्थ्य मात्र होइन समाजसँग घुलमिल गर्न पनि सहयोग पुर्‍याएको छ।’
पूजन लिम्बू, पूजा गच्छदार जस्तै लक्ष्मी राई पनि नियमित जुम्बा गर्छिन्। उनीहरूको अनुभवमा जुम्बामा नाच्दै, रमाइलो गर्दै शरीर र मनका रोग फाल्न सकिन्छ। 

सन् १९९०को दशकमा कोलम्बियन डान्सर तथा कोरियोग्राफर अल्बर्टो ‘बेटो पेरेज’ले एक्सरसाइज फिटनेसका रूपमा सिर्जना गरेको जुम्बा डान्स अहिले विश्वका १ सय ८० देशका दुई लाखभन्दा बढी स्थानमा पुगिसकेको छ। नेपालमा पनि जुम्बा भित्रिएको एक दशकभन्दा बढी भइसक्यो। अहिले जुम्बा नेपालका शहर–शहर पुगिसकेको छ।

अनियन्त्रित खानपान, शारीरिक श्रमको कमी जस्ता कारणले शहरियाको जीवनशैली अस्वस्थ बनिरहेको छ। खराब जीवनशैलीका कारण धेरैको अकालमै ज्यानसमेत जाने गरेको छ। तर, सचेत शहरिया भने स्वस्थ रहन विभिन्न शारीरिक अभ्यास गर्छन्। शहरमा पछिल्लो समय फेसनका रूपमा देखिएको शारीरिक अभ्यास हो, जुम्बा। संगीतको तालमा नाच्दै शरीरको बोसो घटाउने र शरीरलाई फिट बनाउने जुम्बा एरोबिकमा विशेष गरी महिलाहरूको आकर्षण छ। डान्स फिटनेसका रूपमा लिइने जुम्बामा नाच्दानाच्दै वजन घटाउन सकिने भएकाले पनि यसप्रति शहरियाको आकर्षण बढ्दो छ।

पूर्वका शहर धरान, इटहरी, विराटनगर, दमक, बिर्तामोडमा पछिल्लो समय जुम्बा लहर चलेको छ। पूर्वमा धरानमा एक दशकअघि जुम्बा भित्रिएको थियो। सन् २००८मा भारतबाट जुम्बा प्रशिक्षकको तालिम लिएर आएकी झुना राईले ‘झुनाज जुम्बा फिटनेस’ सुरु गरेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, कर्मचारी र तिनका परिवार तथा केही धराने महिला यसप्रति आकर्षित भए। तर, अहिले सयौँ धराने दैनिक जुम्बामा नाचिरहेका हुन्छन्। धरानमा झुनाज जुम्बाले दुई वटा सेन्टरमा बिहान–बेलुका जुम्बा गराउँछ भने धरान फिटनेस र एनिटाइम फिटनेसले पनि तालिम प्राप्त प्रशिक्षक राखेर जुम्बा गराउने गरेका छन्। त्यसबाहेक विभिन्न फिटनेस, डान्स सेन्टरदेखि नाट्य संस्थाले समेत जुम्बा गराउने गरेका छन्। 

इटहरी, विराटनगर र झापाका विभिन्न ठाउँमा पनि जुम्बा सेन्टरह खुलेका छन्, जहाँ स्वास्थ्यप्रति सचेत शहरिया रमाइलो गर्दै जीउ घटाउन र रोग भगाउन नियमित धाउने गर्छन्। एक पटक सिकेपछि धेरै जनाले घरमै जुम्बा गर्ने गरेका पनि छन्। ‘पहिला त मान्छेले बुझेका थिएनन्,’ जुम्बा प्रशिक्षक झुना राई भन्छिन्, ‘हेरौँ न त कस्तो हुँदो रहेछ भनेर आउँथे। अहिले मान्छेहरू सचेत भएका छन्। सबै उमेरकाले गर्न सक्ने भएकाले पनि खोजी–खोजी आउँछन्।’

नियमित जुम्बा गर्नेहरू सेन्टरमा मात्र होइन, कहिलेकाहीँ विभिन्न कार्यक्रम, खुला मैदान, स्विमिङ पुलमा समेत पुगेर जुम्बा गर्छन्। यसरी विभिन्न ठाउँमा जुम्बा डान्स गर्दा रमाइलो पनि हुने र यसबारे अरूले पनि थाहा पाउने गरेको झुना बताउँछिन्।  

इन्स्ट्रक्टर झुनाका अनुसार एक घण्टा जुम्बा गर्दा चार सयदेखि पाँच सय क्यालोरी घट्छ। जुम्बामा संगीतको खुम्बिया, साल्सा, मेरेङ्गे, रेगेटर, वचाताजस्ता तालमा नाच्न सिकाइन्छ। जुम्बा सेन्टरमा सिकेपछि घरैमा पनि यो अभ्यास नियमित गर्न सकिन्छ। संगीतको तालमा नाच्ने, उफ्रिने गर्दा खल्खली पसिना आउने र शरीरको बोसो घट्ने, शरीर लचकदार हुने झुना बताउँछिन्। उनी भन्छिन्, ‘नाचेर इन्जोय गर्दै स्वस्थ रहन सकिने भएकाले शहरियाबीच जुम्बा लोकप्रिय बनेको छ। शहरियाको खानपान अस्वस्थ हुन्छ। त्यसैले पनि उनीहरूले जुम्बा, एरोबिक गर्नु अति आवश्यक छ।’

निर्भाना पनि लोकप्रिय 

जुम्बाजस्तै शहरियामाझ पछिल्लो समय भित्रिएको ‘निर्भाना’ पनि लोकप्रिय बन्दै छ। जुम्बामा हाई भोल्युम साउन्डमा नाच्ने, उफ्रिने र पसिना निकाल्ने गरिन्छ भने निर्भानामा मधुर संगीतको धुनमा श्वास लिने, थाम्ने र छाड्ने विधि अपनाइन्छ। झण्डै योगाजस्तै लाग्ने निर्भानामा तालिम प्राप्त प्रशिक्षकले आठ वटाभन्दा बढी मुभमेन्ट गराउँछन्।

धरानमा एक वर्षदेखि निर्भाना गराइरहेकी इन्ट्रक्टर सुशान्ति राईका अनुसार नेपालमा काठमाडौँ, पोखरा र धरानमा निर्भाना गराइन्छ। यो जुम्बामा जसरी नाच्न, उफ्रिन नसक्नेका लागि बढी उपयोगी छ। दमका बिरामी, चेनस्मोकर, विभिन्न शारीरिक र मानसिक समस्या भएकालाई निर्भाना बढी फाइदाजनक रहेको सुशान्ति बताउँछिन्। भन्छिन्, ‘शारीरिक र मानसिक रूपमा राम्रो गर्ने भएकाले निर्भाना शहरमा पपुलर बन्दै छ।’

निर्भाना फाइदाजनक भए पनि धेरैले थाहा नपाएकाले आगामी फेब्रुअरी १६देखि एक साता देशव्यापी विभिन्न कार्यक्रम हुन लागेको सुशान्ति बताउँछिन्। उनका अनुसार निर्भानाले हल्का शारीरिक अभ्याससँगै मानसिक रूपमा रिफ्रेस गराउने हुँदा यसप्रति शहरियाको आकर्षण बढिरहेको छ।


 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि