समीक्षकले फिल्म बनाउनु ठूलो ‘इस्यु’ होइन

writer

दीपेन्द्र लामा

बिहिबार, १७ माघ २०७५


फिल्म समीक्षकले पटकथा लेख्नु वा फिल्म निर्देशन गर्नु कुनै ठूलो ‘इस्यू’ होइन। फिल्ममा रुचि भएका जोसुकैले पनि पटकथा लेख्न वा निर्देशन गर्न सक्छन्। फिल्ममा आफ्नो कला देखाउने स्वतन्त्रता सबैलाई छ। फिल्म कसैको पेवा होइन।

यो पंक्तिकारले ‘घामपानी’ र ‘गोपी’ गरेर दुइटा फिल्म निर्देशन गरिसकेको छ। ‘घामपानी’ २०७४ को वैशाखमा रिलिज भइसकेको छ भने ‘गोपी’ यही माघ १८ गतेदेखि प्रदर्शनमा आउँदै छ। माथि नै भनिसकेँ, पत्रकारिता र समीक्षाको पृष्ठभूमिबाट फिल्म निर्देशनमा प्रवेश गर्नु कुनै नौलो कुरो होइन। 

तर, यहाँ सञ्चारकर्मीले फिल्म लेख्दा वा बनाउँदा ठूलै ‘इस्यू’ बनाइन्छ। अनेक प्रश्न गरिन्छ। एकखाले घेराबन्दीमै पारिन्छ। वास्तवमा अनावश्यक हो यो। केही त्यस्तै फजुल प्रश्न यहाँ उल्लेख गरेको छु।

समीक्षकले आफ्नो फिल्मको समीक्षा गर्न मिल्छ ?

तपाईं आफ्नो फिल्मको समीक्षा गर्नुस् न ? आफ्नो फिल्मलाई कति तारा दिनुहुन्छ ? पटकथा लेखन र निर्देशनमा हात हालेका फिल्म समीक्षकलाई यस्ता प्रश्नले पछ्याउने गर्छन्। प्रश्न झट्ट सुन्दा रोचक लाग्छ। सोध्नेलाई पनि लाग्ला, गजबको प्रश्न सोधियो।

तर, सत्य के हो भने समीक्षकले मात्र होइन, अरू फिल्मकर्मीले पनि आफ्नो फिल्मको समीक्षा गर्नुपर्छ। डाक्टरले आफ्नो रोग आफैँ चेक गर्न मिल्छ भने समीक्षकले आफ्नो फिल्ममा के–कस्ता समस्या छन्, केलाउन किन नमिल्ने ?

कुरा यत्ति हो कि आत्मसमीक्षा गर्ने बेला इमानदार हुन जरुरी छ। आफ्नो गल्तीलाई ढाकछोप गर्ने होइन, तिनलाई पत्ता लगाएर स्विकार्न सक्नुपर्छ। यसरी गल्ती स्विकार्दा भविष्यमा सुध्रिने मौका पाइन्छ। गल्ती भनेको समीक्षकबाट मात्र होइन, फिल्मकर्मीबाट पनि हुन सक्छ। सबैले आफ्नो कामको मूल्यांकन गर्न जरुरी छ। 

यति हुँदाहुँदै पनि, समीक्षकले फिल्म लेखिसकेपछि वा निर्देशन गरिसकेपछि ऊ एउटा ‘व्यापारिक डिल’मा बाँधिन पुग्छ। फिल्ममाथि निर्माताको लाखौँ रुपैयाँ लगानी भइसकेको हुन्छ। सार्वजनिक रूपमा आफ्नो फिल्मलाई आफैँले नराम्रो भन्ने छुट उसलाई दिइएको हुँदैन। त्यसैले समीक्षकबाट उसकै फिल्मको समीक्षा वा रेटिङको अपेक्षा नगर्नु नै ठीक हुन्छ।

गाली खान तयार हुन्छ त समीक्षक ? 

अरूको कमी–कमजोरी औँल्याउनु समीक्षकको धर्म हो। समीक्षकले फिल्ममा भएका त्रुटि वा कमजोरी केलाउँदै तिनमाथि बहस छेड्छ। यही नै समीक्षा हो। तर, पाठक तथा फिल्मकर्मी समीक्षालाई गाली मान्छन्।

ठीक छ, गाली नै सही ! जब कुनै समीक्षकले फिल्म बनाउँछ वा लेख्छ, ऊ ‘गाली’ खान तयार भएर बस्नुपर्छ। उसको काममाथि कसैले तर्कसंगत ढंगमा समीक्षा गर्छ भने त्यसलाई हृदयदेखि नै स्विकार्न सक्नुपर्छ।

समीक्षकले आफूमाथि भएका समीक्षाको प्रतिवाद गर्न मिल्दैन। अरूको समीक्षा गर्नेले आफूमाथि भएको समीक्षालाई पनि स्वाभाविक मान्नुपर्छ। समीक्षा गर्ने संस्कृति यसरी नै हुर्किने हो।

कसैले तर्कहीन ‘गाली’ गरेको छ भने पनि त्यसलाई लिएर आवेशमा आउनु हुँदैन। किनभने, समीक्षकको लेखाइलाई समीक्षा गर्न सक्ने पाठक पनि हामीकहाँ उपस्थित छ। आफ्नो फिल्मबारे गलत टिप्पणी भयो भनेर ‘रोइलो’ गर्न आवश्यक छैन।

फिल्म बनाइसकेपछि पनि समीक्षकले अरूको समीक्षा गर्न पाउँछ ?

आफैँले फिल्म बनाइसकेपछि अरूको फिल्ममाथि समीक्षा गर्न मिल्छ कि मिल्दैन ? यो प्रश्नको उठान हुन थालेको छ। नेपालमा आधा दर्जनभन्दा बढी सञ्चारकर्मीहरू फिल्म लेखन तथा निर्देशनमा होमिइसकेका छन्। त्यसैले यो प्रश्न यहाँ बढी सान्दर्भिक हुँदै गइरहेको हो।

फिल्मको पटकथा पनि लेख्ने अनि अर्को हातले अरूको पटकथालाई गाली पनि गर्ने ? भन्ने खालका आरोप केही सञ्चारकर्मीले खेपिसकेका छन्। समीक्षामा पूर्वाग्रहको गन्ध छ है भन्दै समीक्षालाई नस्विकार्ने फिल्मकर्मी पनि छन्।

पक्कै पनि फिल्ममा हात हालिसकेका समीक्षकले अरूको समीक्षा गर्दा यस्तो असहज स्थिति पैदा हुन सक्छ। तर, सत्य के हो भने, फिल्म उद्योगको विकासका लागि हामीले एकअर्काको स्वच्छ समीक्षा गर्नैपर्छ।

समीक्षकले मात्र होइन, एउटा फिल्मकर्मीले अर्को फिल्मकर्मीका राम्रा–नराम्रा पक्षबारे इमानदार भएर बोलिदिनुपर्छ। अरू रिसाउलान् भनेर झुटो प्रशंसा गर्दा सम्बन्धित फिल्मकर्मी मात्र होइन, फिल्म उद्योगकै लागि बेफाइदा हुन्छ। त्यसैले पटकथाकार वा निर्देशक बनिसकेका समीक्षकले पनि अरूको फिल्ममाथि टीका–टिप्पणी गर्ने यत्न जारी राख्नुपर्छ।
 

समीक्षकले बनाएको फिल्म राम्रै हुन्छ त ?

फिल्म समीक्षा गर्नु र फिल्म बनाउनुबीच त्यति भिन्नता छ, जति भिन्नता क्रिकेटको समीक्षा गर्नु र क्रिकेट खेल्नुमा छ। सन्दीप लामिछानेको बलिङ र पारस खड्काको ब्याटिङको आलोचना गर्ने खेल समीक्षकलाई नै मैदानमा उतार्‍यौँ भने उसले राम्रै क्रिकेट खेल्छ भन्ने ग्यारेन्टी हुँदैन। 

समीक्षकले लेखेको वा निर्देशन गरेको फिल्म कुनै पनि हालतमा राम्रो हुनुपर्छ भनेर ढिपी कस्न पाइँदैन। फिल्ममाथि आलोचनात्मक दृष्टिकोण राख्नु र फिल्म नै बनाउनु धेरै फरक काम हो। समीक्षकले बनाएको फिल्म अरूले बनाएको भन्दा राम्रो हुन सक्छ। तर, राम्रै हुन्छ भन्ने ग्यारेन्टी हुँदैन। 

फिल्मको समीक्षा गर्न आवश्यक ‘औजार’ जुटाउन उसले जति मिहेनत र अध्ययन गरेको छ, त्यति नै मिहेनत उसले फिल्मका लागि आवश्यक बौद्धिक, कलात्मक र प्राविधिक पूर्वाधार जुटाउन गरेको हुनुपर्छ। अनि मात्र फिल्म राम्रो बन्ने सम्भावना रहन्छ। 

समीक्षकले बनाएको फिल्म राम्रो छ भने पनि त्यो राम्रो हुनुमा उसको पेशालाई जस दिन मिल्दैन। समीक्षा गरेपछि मात्र फिल्म राम्रो बनाउन सकिने भए संसारका सबै फिल्मकर्मीले पहिला फिल्म समीक्षा नै गर्थे होलान्।

समीक्षकले बनाएको फिल्मले मिडियामा प्राथमिकता पाउँछ ?

एउटा समीक्षकले विभिन्न मिडियामा काम गरेको हुन्छ। उसको सबै मिडियासँग राम्रो चिनजान नहुने कुरै भएन। त्यसैले उसले बनाएको फिल्मले मिडियामा प्राथमिकता पाउने सम्भावना रहन्छ।

यो चाहिँ गलत हो। सञ्चारकर्मीले बनाएको फिल्मलाई मिडियाले प्राथमिकता दिनु आचारसंहिताविपरीत हो। मिडियाले जहिले पनि राम्रो फिल्म वा राम्रो हुन सक्ने फिल्मलाई प्राथमिकता दिनुपर्छ। र, फिल्ममा हात हालेका समीक्षकले पनि यो आचारसंहिता पालन गर्नुपर्छ।

केही अपवादलाई छाडेर धेरैजसो मिडियाले ‘हाम्रो’भन्दा पनि ‘राम्रो’ फिल्मलाई नै प्राथमिकता दिएको पाइन्छ। अरूले देख्दा फिल्मको लेखक वा निर्देशक सञ्चारकर्मी हो, त्यसैले राम्रो प्राथमिकता पाइरहेको छ भन्ने लाग्न सक्छ। तर, मिडियाले भने ‘स्पेस’ पाउन लायक लागेको खण्डमा मात्र कुनै पनि फिल्मलाई ‘स्पेस’ दिइरहेको हुन्छ।

समीक्षकले किन फिल्म पाउँछ ?

फिल्म लेखन र निर्देशनमा सहभागी भइरहेका पत्रकार वा समीक्षकलाई एउटा आरोप लगाइने गरेको पाइन्छ। पत्रकार भएकै कारण उसले लेखन र निर्देशनमा अवसर पाइरहेको हो भन्ने आरोप। जब कि, यो सत्य हुँदै होइन।

एउटा फिल्मको निर्माणमा एक करोड रुपैयाँको हाराहारीमा लगानी लाग्छ। कसैले त्यति ठूलो लगानीको जोखिम पत्रकारका नाममा उठाउला
र ? निश्चय पनि उठाउँदैन।

फिल्मका निर्माता वा निर्देशक जहिले पनि आफ्नो फिल्म कसरी हुन्छ, राम्रो होस् भन्ने सोचमै अघि बढिरहेका हुन्छन्। एउटा झुर फिल्मले निर्देशकको करिअर ध्वस्त बनाउन सक्छ। अहिलेको समयमा करोड रुपैयाँ सानो रकम होइन। त्यसैले निर्देशक वा निर्माताले समीक्षकलाई समाचार छापिने लोभकै कारण पटकथा लेख्न दिएका होइनन्, अथवा निर्देशन गर्न दिएका होइनन्।
 

तपाईको कमेन्ट