निन्द्रा खर्च होइन, लगानी हो

writer

डा. योगी विकासानन्द

सोमबार, १४ माघ २०७५


हामी रातरातभर जागा रहन्छौँ, निन्द्रामा ध्यान पुर्‍याउँदैनौँ। सुत्ने समय काम गरेर सफल बन्छु वा प्रतिष्ठा र धन कमाउँछु भनेर खट्छौँ। तर, निन्द्राको समय कटौती गरेर काम गर्ने मानिस कहिल्यै सफल हुदैन। किनकि, निन्द्रा लगानी हो। लगानीविना प्रतिफल हासिल हुँदैन।


बलिदानको भाषा 

कार्ल माक्र्सको परिकल्पनाअनुसार कम्युनिजम विकसित मुलकमा आउनुपर्ने हो। अर्थात्, पुँजीवादी व्यवस्थापछि मात्र समाजवादी वा साम्यवादी व्यवस्था आउने माक्र्सको अवधारण थियोे। तर, माक्र्सको परिकल्पनाभन्दा भिन्न रूपमा रुसमा कम्युनिजमको स्थापना हुन पुग्यो। माक्र्सको मान्यताअनुसार त अमेरिकाबाट कम्युनिजम सुरु हुनुपर्ने हो। तत्कालीन समयमा अमेरिकामा पनि कम्युनिस्ट पार्टीहरू मजबुत रूपमा स्थापित भइसकेका थिए। तर, अमेरिकाभन्दा आर्थिक रूपमा कमजोर रुसमा कम्युनिजम स्थापना हुन पुग्यो। 

लेनिनले सर्वहाराको सत्ता स्थापनाका लागि ‘एक कदम पछि हट र दुई कदम अगाडि बढ’को नीति अवलम्बन गरेका थिए। अझ चीनमा त माउत्से तुङले यसलाई सशस्त्र कान्तिको मुख्य हतियारका रूपमा समेत अख्तियार गरे। लेनिनले बोल्सेभिक क्रान्ति कसरी सफल बनाए भन्ने विषयमा विभिन्न विश्लेषण र व्याख्या छन्। ती विश्लेषण ठीक पनि होलान् तर ‘एक कदम पछि हट र दुई कदम अगाडि बढ’को नीतिले रुसमा कम्युनिस्ट सत्ता स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्पष्ट छ। 

यो एक कदम पछाडि र दुई कदम अगाडिको नीति कम्युनिजमका लागि मात्र होइन, समग्र जीवनकै लागि महत्त्वपूर्ण छ। तर, यसलाई कम्युनिस्टहरूको नीति ठानेर बेवास्ता गरिँदै आएको छ। यदि दुई कदम अगाडि जानुपर्छ भने एक कदमको बलिदान दिनैपर्छ। एउटै देश, उस्तै वातावरण र समाजको बीचमा साह्रै थोरै मानिस सफल र अधिकांश मानिस असफल हुनुको पछाडि अधिकांशले बलिदानको भाषा नबुझेर हो। 
प्रायः मानिसले प्रगति र समृद्धिको भाषा बुझ्छ तर बलिदान र त्यागको भाषा बुझ्दैन। धेरै पाउनु छ भने पहिला दिन जान्नुपर्छ। जित्नु छ भने पहिला हार्न सक्नुपर्छ। कमाउनु छ भने पहिला गुमाउन तयार हुनुपर्छ। 

यसलाई थप स्पष्ट पार्न एक भारतीय करोडपति माग्नेको उदाहरण लिन सकिन्छ। सडकपेटीमा बसेर माग्ने एक जना भिखारीले जम्मा १० पैसा मात्र लिने गर्न थाल्यो। त्यसभन्दा बढी दियो भने ऊ तत्काल फिर्ता गरिदिन्थ्यो। मानिसहरू धेरै पैसा दिन्थे, तर ऊ लिँदैलिँदैनथ्यो। उसको यस्तो माग्ने शैलीलाई स्थानीय पत्रिकाले समाचार बनाएर छाप्यो। त्यसपछि उसलाई १० पैसा दिनेहरूको लामो लाइन लाग्न थाल्यो। केही वर्षपछि सडकको मगन्ते करोडपति बन्यो। यदि उसले ठूलो पैसाको मोह राखेको भए ऊ करोडपति बन्दैनथ्यो। उसले ठूला नोटको बलिदान दिएका कारणले नै ऊ रोडपतिबाट करोडपति बनेको हो।

मेहनतका लागि आरामको लगानी 

त्याग, बलिदान र लगानीविना केही पनि प्राप्त हुँदैन। हामीहरूले बच्चैबाट मेहनत गर्नुपर्छ, तब मात्र सफल होइन्छ भन्ने सुन्दै आयौँ। तर, मेहनत गर्न पनि लगानी गर्नुपर्छ। अर्थात्, धेरै श्रम गर्न धेरै आरामको आवश्यकता पर्छ भन्ने विषयमा हामीबीच कहिल्यै चर्चा भएन। हामीसँग हरेक दिन २४ घण्टा समय छ। यसमध्ये एक तिहाई समय हामीले पूर्ण आराम गर्नुपर्छ। 

प्रकृति वा परमात्माले यही आराम गर्नुपर्ने कारणलाई मध्यनजर गर्दै निन्द्रा दिएको हो। तर, सभ्यता विकाससँगै मानिसले निन्द्रासँग सर्वाधिक खेलबाड गरेको छ। जसका कारण मानिस मानसिक रूपमा विक्षिप्त र शारीरिक रूपमा रोगी भइरहेको छ।

मानिस ‘डाइअर्नल एनिमल’ अर्थात् दिवाचर (दिउँसो आँखा देख्ने) प्राणी हो। मानिसबाहेक अधिकांश दिवाचर प्राणी घाम अस्ताउनेबित्तिकै सुत्छन्। उदाहरणका लागि चराहरूलाई नै हेर्नुस्। उनीहरू घाम अस्ताउनेबित्तिकै चुपचाप गुँडमा बसिसक्छन्। तर, हामी मानिस रातरातभर जागा रहन्छौँ, निन्द्रालाई ध्यान पुर्‍याउँदैनौँ। सुत्ने समय काम गरेर सफल बन्छु वा प्रतिष्ठा तथा धन कमाउँछु भनेर खट्छौँ। तर, निन्द्राको समय कटौती गरेर काम गर्ने मानिस कहिल्यै सफल हुदैन। किनकि, निन्द्रा लगानी हो। लगानीविना प्रतिफल हासिल हुँदैन। 

निन्द्रा याने मर्मत प्रक्रिया 

सुत्दा हाम्रो मस्तिष्कले शरीरको सम्पूर्ण प्रणालीलाई मर्मत गरिरहेको हुन्छ। दिनभरि काम गर्दा शरीरमा जमेको विकारलाई निन्द्राले मात्र ठीक पार्न सक्छ। निन्द्रा पुगेन भने शरीरमा बिटा एमिलोइड भन्ने प्रोटिनको मात्रा विस्तार हुँदै जान्छ। बिटा एमिलोइड मस्तिष्कको दुश्मन हो। आवश्यक निन्द्रा पुग्यो भने यो प्रोटिन शुद्ध गर्ने प्रक्रिया चल्छ। निन्द्रा पुगेन भने झनै थपिँदै जान्छ र स्मरणशक्तिमा ह्रास आउन थाल्छ। बिटा एमिलोइड बढ्दै जानु भनेको बुढेसकालमा एल्जाइमर्स लाग्नु हो। अहिले एल्जाइमर्सलाई बुढ्यौलीको रोग भन्न थालिएको छ। एल्जाइमर्स उच्च देखिनु पर्याप्न नसुत्नाकै परिणाम हो। 

रातरातभर काम गरेर मानिस धनी बन्न त सक्ला। तर, सफल बन्न सक्दैन। सफल मानिस सुखी र स्वस्थ हुन्छ। पर्याप्त निन्द्रा नभएपछि कहिल्यै शरीर स्वस्थ बन्दैन। त्यसैले दुई कदम अगाडि जानु छ भने एक कदम पछाडि फर्कनैपर्छ। १६ घण्टा स्फूर्तिसाथ काम गर्ने हो भने कम्तीमा पनि आठ घण्टा सुत्नैपर्छ। सामान्यतः मानिसलाई आठ घण्टा सुते पुग्छ भनिन्छ। तर, कसैलाई नौ÷दश घण्टा पनि सुत्नुपर्ने हुन सक्छ। महान् वैज्ञानिक अल्बर्ट आइन्सटाइन १० घण्टा सुत्ने गर्थे। हामीले के बुझ्नुपर्छ भने बिहान उठ्दा ताजा महसुस भयो भने निन्द्रा पुग्यो। भएन भने निन्द्रा पुगेन। 

विज्ञान प्रविधिको भर्खरै विकास भएको समयमा मानिसले सुत्नुलाई समयको बर्बादीका रूपमा पनि लिएको पाइन्छ। जति काम गर्‍यो, उति पैसा कमाइने भएकाले निन्द्राको समयलाई कटौती गर्ने अवधारणाहरू पनि आए। तर पछिल्लो समय निन्द्रासँग जोडिएका विभिन्न अनुसन्धानले निन्द्राको अपरिहार्यता सिद्ध गरे। 

अमेरिकामा सबैभन्दा धेरै सडक दुर्घटना दिउँसोको समयमा हुने गरेको छ। किन दिउँसो दुर्घटना हुन्छ भनेर खोजी गर्दा निन्द्रा नै प्रमुख कारणका रूपमा आयो। दिउँसो लन्च खाएर अफिस फर्कन थाल्दा झ्याप्पै निन्द्रा लाग्ने र दुर्घटना हुने !  राति पर्याप्त नसुतेपछि दिउँसो निन्द्रा लाग्नु स्वाभाविकै हो। 

‘स्लिप इन्जिनियरिङ’ 

अहिले युरोप–अमेरिकातिर अफिसमा ‘स्लिप च्याम्बर’ (सुत्ने कक्ष) निर्माणको अवधारणा अगाडि आइरहेको छ। कर्मचारीहरू आधा घण्टाजति सुतेर काममा फर्किएपछि उनीहरूको सिर्जनशीलता र निर्णयक्षमता बढ्ने गरेको विभिन्न अनुसन्धानले देखाएका छन्। ‘अब एट्याच्ड बाथरुममात्र होइन, एट्याच्ड स्लिप च्याम्बर पनि चाहिन्छ’ भन्न थालिएको छ। अहिले ‘स्लिप इन्जिनियरिङ’ भन्ने विषयको पढाइ पनि हुन थालेको छ। 

सुत्नका लागि एडेनोसिन र मेलाटोनिन भन्ने रसायन ‘रिलिज’ हुनुपर्छ। थकाइ लाग्यो भने मात्रै एडेनोसिन उत्सर्जन हुन्छ। यही रसायनका कारण शारीरिक श्रम नगर्नेलाई निन्द्रा लाग्दैन भनिएको हो। 

प्रकाश, आवाज र असन्तुलित तापमान निन्द्राका शत्रु हुन्। सुत्ने कोठामा कतैबाट पनि उज्यालो र आवाज आउनु हुँदैन। गाढा निन्द्राको लागि आवश्यक मेलाटोनिन उज्यालोमा रिलिज हुँदैन। यसका लागि गाढा अँध्यारो नै चाहिन्छ। सुत्नका लागि १७ देखि २३ डिग्री सेल्सियससम्मको तापमान उपयुक्त मानिन्छ। 

सभ्यता विकाससँगै कतिपय काम राति गर्ने प्रकृतिका छन्। अस्पतालमा काम गर्ने डाक्टर वा नर्सले राति पनि सेवा प्रदान गर्नुपर्छ। उनीहरूले ‘म दिवाचर प्राणी हुँ, राति सुत्नैपर्छ’ भनेर हुँदैन। राति काम गरेपछि दिउँसो कम्तीमा पनि आठ घण्टा सुत्नैपर्छ। तर, सुत्ने स्थल पूरै अँध्यारो, कुनै आवाज नआउने र सन्तुलित तापमान भएको हुनैपर्छ। यसो भएन भने निन्द्रा पर्याप्त हुँदैन। 

कतिपय काम गर्नेहरूको हप्तामा तीन दिन दिउँसोको र तीन दिन रातिको ड्युटी हुन्छ। यसरी काम गर्नु निन्द्राका लागि सर्वाधिक खतरनाक अवस्था हो। बरु एक वर्षभर रातिमात्र ड्युटी गर्नुस् र अर्काे वर्ष दिउँसोमात्र ड्युटी गर्नुस्। हप्तामा तीन दिन राति र तीन दिन दिउँसो गर्दा तपाईंको शरीरको सम्पूर्ण प्रणाली कमजोर बन्दै जान्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार