श्वास भए सबथोक छ : डा. योगी विकासानन्द

writer

डा. योगी विकासानन्द

सोमबार, १४ माघ २०७५


हामी श्वास लिँदा फोक्सोमा पाँच सय एमएल हावा लिन्छौँ। तर, फोक्सोको क्षमता पाँच हजार एमएलको हुन्छ। अभ्यास गरियो भने फोक्सोको हावा लिन सक्ने क्षमता बढ्दै जान्छ। जसले जति बढी हावा वा अक्सिजन लिन्छ, ऊ त्यति बढी शारीरिक र मानसिक रूपमा सबल र सिर्जनात्मक बन्दै जान्छ।


देवमूर्ति
म १०-११ वर्षको थिएँ। एक जना देवमूर्ति भन्ने भारतीय बाबाले छातीमाथिबाट डोजर गुडाए भन्ने हल्ला चल्यो। यो विषय त्यतिबेलाका पत्रिका र काठमाडौँका हरेक घरहरूको ‘हट’ विषय बन्न पुग्यो। देवमूर्तिले सञ्चारकर्मी लगायतको ठूलो जनउपस्थितिमा छातीमाथि डोजर गुडाएका थिए। छातीमा बाक्लो प्ल्यांक मात्र राखेर त्यत्रो ठूलो डोजर गुडाउनु आफैँमा आश्चर्यको विषय थियो। डोजर गुडाइसकेपछि पत्रकारहरूले ‘यो सम्भव हुनाको कारण के हो ?’ भनेर देवमूर्तिलाई सोधे।
बाबाले जवाफ दिए, ‘हावा।’  

योसिरो नाकामात्सु
अहिले संसारमा सबैभन्दा बढी  आविष्कार गर्ने व्यक्ति जापानका डा. योसिरो नाकामात्सु हुन्। भनिन्छ, उनको आविष्कारको पेटेन्ड दर्ता मात्र चार हजार नाघिसक्यो।  यति बेजोड सिर्जनशील हुनुको कारण के हो भनेर पत्रकारहरूले सोध्दा योसिरोले जवाफ दिए, ‘हावा।’

चौरंगिपा 
बौद्ध धर्म अन्तर्गतको वज्रयानमा आठौँ शताब्दीदेखि लिएर बाह्रौँ शताब्दीसम्म ८४ जना मुक्त पुरुष भए भनिन्छ। त्यीमध्ये चौरंगिपा भन्ने मुक्त पुरुषको कथा बढो मननीय छ। चौरंगिपा समृद्ध देशका राजकुमार थिए। उनकी आमा महारानीको मृत्यु भएपछि बाबाले आफूभन्दा उमेरले निकै कान्छी श्रीमती बिहे गरे। एक दिन राजा नभएको अवस्थामा कान्छी आमा (बडामहारानी) ले उनलाई सम्भोगको प्रस्ताव  गरिन्। जन्मजात नै आध्यात्मिक चेत र क्षमता लिएर आएका चौरंगिपाले उनको प्रस्ताव मानेनन्। रानी संकटमा परिन्।

छोराले बाबुलाई कुरा लगाइदियो भने बर्बाद हुन्छ भन्ने निक्र्याैलमा पुगेर रानीले राजा आइपुग्दा आफूलाई छोराले बलात्कार गर्न खोजेको शैलीमा अस्तव्यस्त रूपमा प्रस्तुत गरिन्। राजाले युवराजलाई मृत्यदण्ड दिने फैसला गरे। सिपाहीहरूले युवराजलाई मृत्यदण्ड दिन भनेर लिएर गए। तर, सिपाहीहरू युवराजको चरित्र र आनीबानीबारे जानकार थिए। सिपाहीहरूले युवराजलाई मार्न सकेनन्। बरु युवराजकै सहमतिमा उनका चार हात खुट्टा काटेर राजालाई देखाउन लगे।

हातगोडा काटिएको चोटले चिच्याइरहेका युवराजको आवाज अच्यन्तपा भन्ने मुक्त पुरुषले सुने। अच्यन्तपालाई जडीबुटीको राम्रो ज्ञान थियो। उनले जडीबुटीमार्फत युवराजको तत्काल रगत रोकिदिए र केही समयपछि घाउ निको गराइदिए। घाउ निको भए पनि चौरंगिपाका हातगोडा थिएनन्। उनले ‘अब के गर्ने’ भनेर अच्यन्तपालाई सोधेछन्।

अच्यन्तपाले गहिरो श्वास तान र फाल भन्छन्। जसलाई हामी प्राणायाम भन्न सक्छौँ। अच्यन्तपाले ‘प्राणायामको साधना सिद्धिमा परिणत भएपछि तिम्रो हातगोडा पलाउन पनि सक्छन्’ भनेकाले उनले बडो विश्वासपूर्वक प्राणायामको साधना गर्न थाले। नभन्दै उनका हातगोडा पनि पलाए र उनी मुक्त पुरुष बन्दै अमर भए। यदि हात गोडा पलाएको कुरालाई अतिशयोक्ति मान्ने हो भने पनि हातगोडा नभएको एक अशक्त मुक्त पुरुष बन्नु आफैँमा महत्त्वपूर्ण परिघटना हो। चौरंगिपाको प्राणायाम पनि उही ‘हावा’सँग सम्बन्धित विषय हो।

श्वास सामथ्र्य    
माथिका तीन उदाहरणले श्वासको सामथ्र्यलाई स्पष्ट पार्छन्। हावा (अक्सिजन) अर्थात् श्वासलाई नियन्त्रण गर्न सकियो भने महानतम् उपलब्धि हासिल गर्न सकिन्छ। बाबा देवमूर्तिले विसं २०२० को दशकको उत्तरार्धमा काठमाडौँमा पत्रकारहरूको जिज्ञासा शान्त पार्दै भनेका थिए ‘जेट प्लेन, मानिससहित पाँच लाख टनको हुन्छ। उक्त प्लेन ल्यान्ड गर्ने क्रममा उसको सम्पूर्ण तौललाई टायरभित्र रहेको हावाले थेग्छ। त्यसै गरी मैले पनि प्राणायामको शक्तिबाट फोक्सोभित्र हावालाई नियन्त्रण गर्ने अभ्यास गरेँ र डोजरलाई छातीमाथि कुदाउन सकेँ।’

बाबा देवमूर्तिले त्यतिबेला भनेको कुराले मेरो बालमस्तिष्कलाई खासै प्रभाव पार्न सकेको थिएन। पछि योग र ध्यानमा जोडिएपछि बाबाले भनेको विषय स्पष्ट हुन पुग्यो। संयोगवश तिनै देवमूर्ति बाबाको मृत्युपश्चात् भारत, उत्तरप्रदेशस्थित कानपुरमा रहेको उनको आश्रममा मैले पनि साधना गर्ने अवसर पाएको थिएँ।

सामान्यतया हामी श्वास लिँदा फोक्सोमा पाँच सय एमएल हावा लिन्छौँ। तर, फोक्सोको क्षमता पाँच हजार एमएलको हुन्छ। अभ्यास गरियो भने फोक्सोको हावा लिन सक्ने क्षमता बढ्दै जान्छ। जसले जति बढी हावा वा अक्सिजन लिन्छ, ऊ त्यति बढी शारीरिक र मानसिक रूपमा सबल र सिर्जनात्मक बन्दै जान्छ।

अनुसन्धानकर्ताहरूले मानिस बाँदरबाट मानिस बन्नुका मुख्य त दुई-तीन कारणलाई बढी जोड दिएका छन्। पहिलो दुई खुट्टाले टेक्ने हिम्मत गर्नु हो भने दोस्रो आगो पत्ता लागेपछि मानिसले मासु पोलेर वा पकाएर खान जान्नु र मासुमार्फत एमिनो एसिड प्राप्त हुनु हो। किनकि, एमिनो एसिड मस्तिष्कको विकासका लागि अनिवार्य शर्त हो।

सायद यसैलाई मध्यनजर गर्दै ओशो रजनीशले पुनाको एक प्रवचनमा ‘अहिलेसम्म साइन्समा नोबेल पुरस्कार पाउने कुनै पनि व्यक्ति भेजिटेरियन थिएनन्’ भनेका थिए। बाँदरबाट मान्छे बन्नुका यी दुई तथ्यसँगै वैज्ञानिकहरूले अर्काे एक तथ्यलाई पनि विशेष मानेका छन्। त्यो के हो भने दुई गोडा टेकेपछि छाती बाहिर आयो। छाती बाहिर आएपछि फोक्सोको आकार बढ्यो र आकार बढ्नुसँगै अक्सिजन लिने क्षमता पनि बढ्यो। जसले गर्दा मस्तिष्कको तीव्रतम विकास भयो। 

मस्तिष्कमा अक्सिजनको मात्रा बढ्नेबित्तिकै त्यसले मस्तिष्कमा रहेको ग्लुकोज र एमिनो एसिडहरूलाई शक्तिमा रूपान्तरण गरिदिन्छ। यस प्रक्रियालाई ‘अक्सिडेसन’ भनिन्छ। यही शक्तिले नै सोच्ने र सिर्जना गर्ने सामथ्र्य निर्माण गर्छ। यसरी हेर्दा सफल र असफल मान्छेका अनगिन्ती फरकमध्ये एउटा फरक के हो भने असफल मान्छेभन्दा सफल मान्छेले तुलनात्मक रूपमा बढी श्वास लिन्छ। त्यसैले हरेक मान्छेलाई सर्वसम्पन्न भनिएको हो। यदि बढी श्वास लिने अभ्यास गर्ने हो भने पनि मानिसको सफलतातर्फको यात्रा सुरु हुन्छ।

सामान्यतया सफल मानिसहरूको छाती बाहिर निक्लिएको र मेरुदण्ड नकुप्रिएको हुन्छ। जसको छाती बाहिर निक्लिएको हुन्छ अर्थात् जो कुप्रो हुँदैन, उसको फोक्सोको अक्सिजन लिन सक्ने क्षमता बढी हुन्छ। सर्वहाराको कुरा गर्ने माक्र्स, माओ, स्टालिनहरूको छाती हेर्नुस्, उनीहरूको छाती फुलेको छ। शरीरको ढाँचा गर्विलो छ। भनिरहनुपरेन, छाती बाहिर निक्लनु भनेको बढी श्वास लिनु हो। बढी श्वास लिएका कारणले नै माक्र्स माक्र्स बन्न सके भनेर तर्क गर्नु अतिशयोक्ति हुँदैन। यसबाट के बुझ्न सकिन्छ भने संसारमा सफल भएका भनिएका मानिस आममानिसभन्दा बढी श्वास लिन्छन्। 

जापानी वैज्ञानिक डा. योसिरो नाकामात्सुले आफू सफल हुनुको कारण पनि ‘हावा’ अर्थात् श्वास क्रिया नै रहेको भनेर भनेको विषय हामीले माथि नै उल्लेख गरिसकेका छौँ। डा. नाकामात्सुले यसलाई स्पष्ट पार्दै भनेका छन्, ‘म हरेक दिन अन्डरवाटर स्विमिङ गर्छु। प्राण जालाजाला जस्तो भएपछि मात्र पानी बाहिर निक्लन्छु। यसरी श्वास रोक्दा मेरो फोक्सोको ट्यांक बढ्दै जान्छ। जसले मुटुबाट मस्तिष्कमा जाने क्यारोटिड नर्भको साइज बढ्छ। नर्भको साइज बढ्नुसँगै मेरो मस्तिष्कमा अत्यधिक अक्सिजन आपूर्ति हुन्छ। अक्सिजनले मस्तिष्कको ग्लुकोज जलाउनुसँगै

मभित्र सिर्जनात्मक आइडियाको बाढी चल्छ।’

हामीहरू श्वासलाई स्वास्थ्यसँग वा जीवन र मृत्यसँग मात्र जोडेर हेर्छाैं। तर, श्वास जीवनको महानतम् सफलतासँग जोडिएको विषय हो। सायद, यसैको आधारमा सास रहेसम्म आश रहन्छ भनिएको होला। श्वास छ भने तपाईंसँग धेरै सम्भावना बाँकी छन्। 

कसरी लिने श्वासबाट फाइदा ? 

मानिसमा नकारात्मक विचार आउनासाथ छाती खुम्चन्छ। छाती खुम्चिएपछि हामीहरू कम श्वास लिन्छौँ। पाँच सय एमएल श्वास अब घटेर चार वा तीन सयमा पुग्छ। जसले सिर्जना, आँट, साहसलाई उत्प्रेरित गर्दैन, उही बाँच्ने काम मात्रै हुन्छ। दैनिक जिन्दगीको सबैभन्दा ठूलो समस्या नै नकारात्मक विचार हो। नकारात्मक विचारलाई नियन्त्रण गर्नसके फोक्सोको अक्सिजन लिने क्षमता बढ्छ। 

जब–जब मानिस मानसिक तनावमा पर्छ, उसमा अक्सिजनको मात्र घटिरहेको हुन्छ। यस्तो अवस्थामा कम्तीमा पनि २० पटक गहिरो–गहिरो सास लिने र छाड्ने हो भने मानसिक उल्झनबाट राहत पाउन सकिन्छ। रिस उठेको बेलामा, काम गर्न मन नलागेको बेलामा वा अन्योलग्रस्त भएको बेलामा के बुझ्नुपर्‍यो भने हामीलाई अक्सिजन पुगिरहेको छैन। अहिले चलनचल्तीमा रहेको ‘मुड नआउनु’  भनेको पनि मस्तिष्कमा अक्सिजन नपुग्नु हो। अक्सिजन पूर्तिका लागि गहिरो सासको अभ्यास गर्न सकिन्छ। 

काठमाडौँ जस्तो धुलैधुलो भएको र प्रदूषित स्थलमा बस्नेहरूले कसरी गहिरो श्वास लिने भन्ने प्रश्न आउन सक्छ। यसका लागि पनि उपाय छ। तपाईं मानसिक तनावमा रहेको बेलामा एउटा नाकको प्वाललाई थुनेर अर्काे नाकको प्वालबाट सास फाल्नुस्। अर्काे प्वालमा पनि त्यसै गर्नुस्। यसबाट तपाईंको कुन प्वाल खुलेको र कुन प्वाल कम खुलेको स्पष्ट हुन्छ। जुन प्वाल खुलेको छ, समस्या त्यसैबाट आइरहेको छ। अर्थात्, मस्तिष्कमा नकारात्मक विचार चलेकै आधारमा नाकको एउटा प्वाल खुला र अर्काे बन्द वा कम खुला भएको हो। खुला भएको प्वाललाई कपास राखेर बन्द गरिदिनुस् र बन्द भएको प्वालबाट मात्र श्वास लिनुस्। केही क्षणपछि नै तपाईंको विचारमा परिवर्तन आउँछ र मानसिक तनाव कम हुन्छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार