योग भारतको होइन, इजिप्टको हो

writer

डा. योगी विकासानन्द

सोमबार, १४ माघ २०७५


प्राचीन इजिप्टमा प्रयोग हुने योगलाई ‘स्माई तवी’ भनिन्छ। स्माई तवीको अर्थ ठूलो जमिन र सानो जमिनको जोड वा जोड्ने कार्य हो। हामीले भन्दै आएको आत्मादेखि परमात्मासम्मको जोड र स्माई तवीको अर्थ एउटै छ। भारतीय उपमहाद्वीपले सोझो भनेको छ भने इजिप्टले विम्बात्मक रूपमा  । यसरी हेर्दा योगासन मात्र होइन, योग नै इजिप्टबाट सुरु भएको मान्न सकिन्छ। 


ढुंगेयुगका मानिस बिहान उठेपछि सबैभन्दा पहिला आफ्नो आहाराको खोजीमा निक्लन्थे। कन्दमूल खोजेर वा शिकार मारेर ल्याएपछि मात्र उनीहरूले भोजन गर्न पाउँथे। उनीहरूको जीवनशैलीमा पहिला परिश्रम अनि मात्र भोजन थियो। त्यसैले तत्कालीन समयमा मानिसहरू अहिलेको जस्तो दीर्घ वा जीर्ण रोगबाट पीडित थिएनन्। अहिलेको आधुनिक युगको मानिस रोगबाट अति प्रताडित छ।

अझ ४० कटेपछिको शरीर त रोगकै घर बन्छ। तर, ढुंगेयुगमा यस्तो अवस्था थिएन। जसको एउटै मात्र कारण हो, व्यायाम पछिको भोजन। व्यायाम जति गर्‍यो, शरीर उति मजबुत हुन्छ। उदाहरणका लागि, जंगली कुखुराभन्दा हामीले पालेको कुखुरा कमजोर हुन्छ। जंगली कुकुरभन्दा घरपालुवा कुकुर कमजोर हुन्छ। घरपालुवामा सुविधा छ, त्यसैले उनीहरू कमजोर छन्। जंगलीसँग संघर्ष छ, त्यसैले उनीहरू बलिया छन्। 

कसरी जन्मियो योगासन ? 

 अहिलेको सभ्यता विकासको प्रारम्भ १०-१२ हजार वर्षअगाडिबाट भएको हो। सभ्यता विकाससँगै कृषि युगको प्रारम्भ हुन पुग्यो। कृषि समाजले नै सञ्चय (सम्पत्ति), विवाह र परिवारजस्ता संरचनाहरूको विकास गरायो। यिनै संरचनाबाट राज्यको निर्माण हुन पुग्यो। राज्य निर्माणसँगै राजतन्त्रको अभ्युदय हुनु स्वाभाविकै हो। 

राजतन्त्रको निर्माण र सञ्चालनसँगै समाजमा विभिन्न वर्ग देखापरे। खास गरी, कृषक, व्यापारी तथा शासक वर्गमा समाज विभक्त हुन पुग्यो। कृषक अहोरात्र परिश्रम गथ्र्यो। कृषकभन्दा व्यापारीले तुलनात्मक रूपमा कम श्रम गथ्र्यो। शासक वर्गले परिश्रमजन्य काम गर्नुपर्दैनथ्यो। दरबारमा रहेका राजपरिवारका सदस्यले श्रम नगरेपछि उनीहरूलाई भयंकर रोग लाग्न थाल्यो। ऐस–आराममा रहेका दरबारियालाई श्रम नभएका कारण शारीरिक रोग देखापरे भने, राज्य सुरक्षाको भयले उनीहरूमा मानसिक समस्या पनि देखापर्न थाले। 

दरबारसँग बुद्धिजीवी वा विद्वान्हरू पनि जोडिएकै हुन्थे। पूर्वमा उनीहरूलाई पुरोहित भनिन्थ्यो भने पश्चिममा ‘प्रिस्ट’। यस्ता पुरोहितले सम्पूर्ण भोग–विलास, ऐस–आराम र खानपानका विपरीत पनि किन रोग लाग्यो भनेर खोजी गरे। खोज र अनुसन्धानबाट उनीहरूले व्यायाम आवश्यक रहेको पत्ता लगाए। यही पृष्ठभूमिबाट नै योगासनको विकास भएको देखिन्छ।

योग भारतको होइन, इजिप्टको हो 

         

सामान्यतः योगासनको प्रादुर्भाव भारतीय उपमहाद्वीपबाट भएको मानिन्छ। तर, पछिल्ला खोज र अनुुसन्धानबाट के पत्ता लाग्दै गएको छ भने योगासनको विकास अफ्रिका (इजिप्ट) बाट भएको हो। इजिप्टमा भेटिएका करिब चार हजार वर्ष पुराना ‘वाल पेन्टिङ’मा योगासनका चित्र छन्। 

पूर्वीय सभ्यताले योगलाई दर्शनका रूपमा ग्रहण गरेको छ। पूर्वीय दर्शनको आधारमा हेर्दा योग बृहत्तर विषय हो। जसभित्र प्राणायाम, ध्यान, मुद्रा हुँदै मुक्तिसम्मको विषय समावेश छ। तर, अहिले जनमानसले जेलाई योग भनेर बुझिरहेका छन्, त्यो योगासन (व्यायाम) मात्र हो, सम्पूर्ण योग होइन। पछिल्लो समय भारतीय योगगुरु रामदेवले योगलाई व्यापक बनाइरहेका छन्। र, उनको अभियानलाई भारतीय सत्ताले पनि सहयोग गरिरहेको छ। नरेन्द्र मोदी भारतीय प्रधानमन्त्री भएपछि उनकै पहलमा जुन २१ लाई योग दिवसका रूपमा मनाउन थालिएको छ। तर, त्यो योग दिवसभन्दा पनि ‘योगासन दिवस’ मात्र हो। 

योगासन (व्यायाम) लाई भारतीयहरूले आफ्नो भनेर दाबी गरिरहेका छन्। तर, योगसँग सम्बन्धित शास्त्रहरूको अध्ययन गर्दा यो दाबी मेल खाँदैन। पतञ्जलिको योग सूत्रमा योगासनको कतै पनि व्याख्या छैन। बरु पद्मासन, सिद्धासन वा सुखासनजस्ता ध्यानासनबारे योग सूत्रमा चर्चा गरिएको छ। अहिले प्रचलनमा रहेका योगासनहरूको कतै उल्लेख छैन। योग सूत्रमा उल्लेख गरिएको श्वास क्रियाको सन्दर्भ पनि योगासन होइन, प्राणायाम हो। 

अहिले प्रचलनमा रहेको योगासनलाई शास्त्रमा खोज्दै जाँदा धेरै पुरानो पाइँदैन। योगासनहरूको उल्लेख गरिएका हठयोग प्रदीपिका, घेरण्यसंहिता, शिवसंहिताजस्ता पुस्तक दुई-तीन सय वर्षअगाडि मात्र लेखिएका हुन्। भारतको महाबलिपुरममा भेटिएको सबैभन्दा पुरानो मानिएको योगासन मूर्ति पनि १५-१६ सय वर्ष मात्रै पुरानो हो। 

तर, इजिप्टमा त्यस्ता चित्र चार हजार वर्षभन्दा पनि पुराना पाइएका छन्। यसबाट हामी के भन्न सक्छौँ भने अध्यात्म, ध्यान, प्राणायामजस्ता विषय भारतमा विकास भएको भए पनि योगासन भने अफ्रिकाबाट भारत भित्रिएको हो। 

इतिहासकार तथा मानवशास्त्रीका अनुसार हालको दक्षिण भारतीयका पूर्वज इजिप्सियन हुन्। कतिपय दक्षिण भारतीय र अफ्रिकीबीच शारीरिक बनोटमा पनि धेरै समानता पाइन्छ। पछिल्लो आधुनिक युगमा योगासनको उत्थान गर्न दक्षिण भारतीय गुरुहरूकै मुख्य योगदान रहेको पाइन्छ। कृष्णमाचार्य, बीकेएस अयंगर, पट्टाभि जोयीस, शिवानन्दजस्ता प्रसिद्ध योगगुरुहरू दक्षिण भारतीय हुन्। 

प्राचीन इजिप्टमा प्रयोग हुने योगलाई ‘स्माई तवी’ भनिन्छ। स्माई तवीको अर्थ ठूलो जमिन र सानो जमिनको जोड वा जोड्ने कार्य हो। हामीले भन्दै आएको आत्मादेखि परमात्मासम्मको जोड र स्माई तवीको अर्थ एउटै छ। भारतीय उपमहाद्वीपले सोझो भनेको छ भने अफ्रिका (इजिप्ट) ले विम्बात्मक रूपमा  । यसरी हेर्दा योगासन मात्र होइन, योग नै इजिप्टबाट सुरु भएको मान्न सकिन्छ। किनकि, इजिप्टोलोजिस्टका अनुसार इजिप्टमा १० हजार वर्षअगाडि नै योग प्रचलनमा थियो।

 अर्काे महत्त्वपूर्ण कुरा के हो भने हामीले देखेका प्राचीनतम मूर्ति र चित्रहरूमा योगासन कतै पाइँदैन।  क्रषिमुनिका चित्र र मूर्ति पनि योगासनका छैनन्। ध्यानका छन्। 

पतञ्जलिको अष्टांग योगमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि उल्लेख छन्। पतञ्जलिलाई नै आधार मानेर योगासनको चर्चा गर्ने हो भने पनि २२ सय वर्षभन्दा अगाडि जाँदैन। उनीभन्दा करिब तीन सय वर्षअगाडिका गौतम बुद्धले कहीँ पनि योगासनको चर्चा गरेको पाइँदैन। उनका सम्पूर्ण, पद्धति, मान्यता र दर्शन ध्यानसँग नै सम्बन्धित छन्। वेद, रामायण र महाभारतजस्ता ग्रन्थमा योगासनको कहीँ पनि उल्लेख गरिएको देखिँदैन। तपस्याको मात्रै बृहत् चर्चा गरिएको छ। यी सबै तथ्यहरूबाट योगासनको उत्पत्ति भारतमा नभएको स्पष्ट हुन्छ। 

ध्यान  भारतीय उपमहाद्वीपको हो

भारतीय उपमहाद्वीपमा ध्यानको परम्परा निकै नै प्राचीन रहेको ऐतिहासिक प्रमाणले स्पष्ट पारेका छन्। सिन्धुघाटी सभ्यतामा नै ध्यान प्रचलनमा रहेको थियो। सिन्धुघाटी सभ्यताका भग्नावशेषमा पाइएको मूर्तिमा पद्मासन स्पष्ट देखिन्छ। जसलाई आदि योगी भनिन्छ। पद्मासनमा बसेको आदि योगीको सिङ छ र उनका वरिपरि पशु छन्। जसलाई पशुपतिनाथ पनि भनिन्छ। यसको दार्शनिक अर्थ के हो भने पाशविक जिन्दगीबाट उठेर आध्यात्मिक जिन्दगीमा प्रवेश गर्न ध्यान आवश्यक पर्छ। 

मोहेन्जोदारो र हडप्पाको सभ्यतामा ध्यानका चित्र भेटिनु र इजिप्टको सभ्यतामा योगासनका चित्र भेटिनुले यसको उद्भव र ऐतिहासिकता स्पष्ट हुन्छ। समयक्रमसँगै दुवैको महत्त्व र आवश्यकताले योग र ध्यान एउटै सिक्काका दुई पाटाका रूपमा विकास हुन पुगे। 

दीर्घ जीवनका लागि योगासन

बुद्धले योगासन गरेको कहीँ कतै पाइँदैन। उनले ध्यान मात्र गरे। बुद्धजस्तो मुक्तात्मा ८० वर्षमा बिते भने निरन्तर योग गर्ने अयंगर ९१ वर्षमा बिते। ओशो रजनीश र जे कृष्णमूर्तिलाई मुक्त पुरुष मानिन्छ। ओशोले योगासन गरेनन्। उनी ५९ वर्षकै उमेरमा बिते। तर, कृष्णमूर्ति नियमित योग गर्थे। उनी ९० वर्षभन्दा बढी बाँचे। ३९ वर्षमा बितेका विवेकानन्द र ३२ वर्षमा बितेका शंकराचार्य दुवैले योगासन गरेको पाइँदैन। 

विपश्यना ध्यानलाई संसारभर फैलाउने सत्यनारायण गोयन्काले पनि योगासन गरेनन्। उनको शरीर अत्यन्तै मोटो थियो। उनी डाइबेटिज भएर बिते। नियमित योग गर्ने रामदेवलाई नै हेर्नुस्, उनी ६० आसपासका भइसके। यसबाट पनि योगासनको महत्त्व स्पष्ट हुन्छ। जसजसले योगासनलाई नियमित गरे, उनीहरूले दीर्घ जीवन पाएका छन्। 

योगासन र अन्य व्यायाम 

नियमित योगासन गर्नु भनेको शारीरिक व्यायाम गर्नु नै हो। योगासन पनि दौडिनु, जिम गर्नु वा ब्याडमिन्टन खेल्नुजस्तो नै हो। स्वस्थ र तन्दुरुस्त रहन योगासन नै गर्नुपर्छ भन्ने छैन। बिहान कुनै न कुनै व्यायाम गर्ने हो भने शरीर स्वस्थ रहन सहयोग पुग्छ। तर, योगासन गर्नु र अन्य व्यायाम गर्नुमा केही पृथकता छ। अहिले प्रचलनमा रहेका योगासनमा आसनसँगसँगै प्राणायाम, ध्यान र मुद्रालाई पनि जोडिएका छन्। जसले शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्य रक्षामा पनि सहयोग पुर्‍याउँछ।

अन्य व्यायाम गर्नेभन्दा योगासन गर्नेको आध्यात्मिक चेत माथि रहेको पाइन्छ। उदाहरणका लागि बिहान नियमित ब्याडमिन्टन खेल्ने मानिसले बेलुका मस्त मदिरा सेवन गरेको पनि पाउन सकिन्छ। तर, नियमित योग गर्ने मानिसले सामान्यतः मदिरा सेवन गरेको पाइँदैन। योगले चरित्र निर्माणमा पनि सहयोग पुर्‍याउँछ।

योगासान प्रयोगका आ–आफ्नै शैली 

हिले अमेरिकामा भारतीय मूलका अमेरिकी नागरिक विक्रम चौधरीले योगमा तहल्का मच्चाइरहेका छन्। उनीसँग हलिउडका प्रसिद्ध कलाकार पनि योग सिक्न आउँछन्। उनले आफ्नो योग गर्ने तौरतरिकालाई ‘विक्रम योगा’ नाम दिएका छन्। त्यसै गरी, रामदेवले सिकाउने योग पनि ‘रामदेव योगा’का रूपमा प्रचारित छ।  योग आसनहरूसँग सम्बन्धित  एक त प्राचीनतम शास्त्र छैनन्। अर्काेतर्फ, यथेष्ट स्रोत–सामग्रीको पनि अभाव छ। जसले गर्दा हरेकले आ—आफ्ना शैलीअनुसार योगासन सिकाइरहेका छन्। 

योगको बजार 

अहिले विश्वमा करिब सात अर्ब जनसंख्या छ। त्यसमा करिब ५० करोड मानिसले योग गरिरहेको बताइन्छ। यसरी हेर्दा विश्वका ७.१४ प्रतिशत मानिस योगमा जोडिइसकेका छन्। यसबाट नै योगको बजार कत्रो छ भन्ने स्पष्ट हुन्छ। आधुनिक अर्थशास्त्रको भाषामा भन्ने हो भने योगले उद्योगको रूप लिइसकेको छ।

उदाहरणका लागि, योगासन गर्नका लागि प्रयोग गरिने म्याट (ओछ्याउने) नै ठूलो उद्योगका रूपमा स्थापित भइसकेको छ। अहिले विभिन्न कलेज र स्कुलले समेत योगलाई अवलम्बन गर्न थालेका छन्। युरोप, अमेरिकातिरका होटलहरूले योगलाई आफ्ना ‘अफर’भित्र राख्न थालेका छन्। यसरी हेर्दा योग समग्र विश्वमा नै एक सामथ्र्यपूर्ण संस्कृति बन्ने निश्चित छ। 
  
 

तपाईको कमेन्ट

मुख्य समाचार