कपाल सीधा बनाउन के गर्नुपर्छ ? यसाे भन्छिन् व्युटी एक्सपर्ट

writer

रञ्जना सितिखु, ब्युटी एक्सपर्ट

शुक्रबार, ११ माघ २०७५


घुम्रिएका (कर्ली) कपालबाट दिक्क भएका र आफ्नो हेयर स्टाइल बदल्न चाहनेहरूका लागि हेयर स्ट्रेटनिङ सबैभन्दा राम्रो विकल्प हुन सक्छ। यो कर्ली कपाललाई सीधा बनाउने एक रासायनिक ट्रिटमेन्ट हो। 

सबैभन्दा पहिले कपालालाई स्याम्पू गर्नुपर्छ। त्यसपछि ड्रायरको सहायताले ६० प्रतिशत कपालाई सुकाएर कपालमा सोल्युसन लगाउने र सात मिनेटसम्म कपालमा राख्ने। फेरि सबै कपाललाई काइँयोले कोरेर नं.१ स्ट्रेटनिङ क्रिम लगाउनुपर्छ।

त्यो क्रिमलाई २५ मिनेटसम्म कपालमा राख्नुपर्छ। यदि कपाल सुक्खा छ भने क्रिम दुई–तीन मिनेटसम्म मात्र राख्नुपर्छ। त्यसपछि मनतातो पानीले कपाल पखाल्नुपर्छ। तौलियाले कपाललाई ५० प्रतिशत ड्राई गरेर भिजेको कपालमा सिरम लगाउनुपर्छ। प्रेसिङ गर्नुअघि कपालमा हिट प्रोटेक्टर लगाउनुपर्छ। यसले कपाललाई हानिकारक रसायनबाट सुरक्षा प्रदान गर्छ। 

बढी नै कर्ली कपालमा सबैभन्दा पहिला प्रेसिङ गर्नुपर्ने हुन्छ। प्रेसिङ गर्दा कपाललाई छोटो–छोटो भागमा छुटाउनुपर्छ। यसो गर्नाले स्ट्रेटनिङ राम्ररी बस्छ। त्यसपछि नं.२ स्ट्रेटनिङ क्रिम कपालमा लगाएर १० देखि १५ मिनेटसम्म राखिरहने र केही बेरपछि कपाललाई राम्ररी पखाल्नुपर्छ। नं.१ क्रिमले कपाललाई सीधा गर्छ भने नं.२ क्रिमले कपालको सीधापनलाई थप राम्रो बनाउँछ। 

स्ट्रेटनिङ क्रिम गरिसकेपछि न्युट्रिलाइजर लगाउनुपर्छ। कपाललाई धोएपछि सबै ड्राई गरेर पाँच मिनेटपछि स्याम्पू नलगाइकन पखाल्नुपर्ने हुन्छ। अनि कपाललाई ड्राई गरेर ठूलो दाँत भएको काइँयोले कपाल कोनुपर्र्छ। यसो गर्दा हेयर सोल्युसन कपालमा राम्ररी फैलिन्छ। सोल्युसनलाई पाँचदेखि सात मिनेटसम्म राख्नुपर्छ। त्यसपछि फेरि हिट प्रोटेक्टर लगाएर कपाललाई धेरै भागमा छुटाएर प्रेसिङ गर्नुपर्ने हुन्छ। यसो गर्नाले कपाल स्ट्रेट देखिन्छ। 

ध्यान दिनुहोस् 

हेयर स्ट्रेटनिङ गरिसकेपछि मेन्टेन गर्न केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ। हेयर स्ट्रेटनिङ गरेपछि ७२ घण्टासम्म कपालमा पानी पार्नु हुँदैन। यसको साथै कपाललाई कानको पछाडि लानु हुँदैन। किनकि, यसमा पानी लगाउनासाथ स्ट्रेट पर्म नबस्ने हुन्छ। कपाल मोटो दाँत भएको काइँयोले कोर्नुपर्छ। हेयर स्ट्रेटनिङ गरेको तीन दिनपछि मात्र स्याम्पू र कन्डिसनर गर्नुपर्छ। बेला–बेलामा हेयर ट्रिटमेन्ट गरिरहनुपर्छ। तेल मसाजमा पनि त्यति नै ध्यान दिनुपर्छ। 

सुन्दर कपालका लागि

–कपाललाई स्वस्थ, कालो एवं लामो राख्न नरिवलको तेल र बदामको तेलमा जाइफल र कायफल घोटेर मिलाउनुहोस्। यो घोललाई छानेर हल्का तताउनुहोस्। बिस्तारै–बिस्तारै औँलाका टुप्पाले टाउकोमा मालिस गर्नुहोस्। यसो गर्दा कपाल सुन्दर देखिन्छ। 
–यदि कपाल रुखो छ भने अण्डाको पहेँलो भाग र यदि तैलीय छ भने अण्डाको सेतो भाग मिलाएर लगाउँदा कपाल राम्रो हुन्छ। 
–अण्डालाई कुनै पनि हेयर आयलमा फिटेर कपालको जरामा लगाएर सुक्न दिने। यसो गर्दा कपाल लामो र बाक्लो हुनेछ। 
–कपालमा तेल लगाइसकेपछि मात्र बाफ दिनुहोस्। बाफ दिनाले रोमछिद्र खुल्छन् र लगाएको तेल राम्ररी कपालमा सोसिन्छ। 
–आलुको बोक्रालाई नफ्याँक्नुहोस्, त्यसलाई सुकाएर राख्नुहोस्। कपाल धुँदा बोक्रालाई पानीमा उमालेर कपाललाई धोइसकेपछि अन्त्यमा त्यो पानीले कपाल धुनुहोस्। कपाल स्वस्थ र चम्किलो हुनेछ। 
 

तपाईको कमेन्ट