‘पुन्टेले दुःख भुलाउँछ’ वर्षा शिवाकोटी, अभिनेत्री

writer

आशक्ति फुयाल

बिहिबार, १० माघ २०७५


घरपालुवा जनावर भनेपछि भुतुक्कै हुन्छु। अहिले मसँग आठ महिनाको सानो कुकुर छ। उसको नाम ‘पुन्टे’ राखेकी छु। पुन्टे सेतो र खैरो रङको छ। पुन्टेसँग हुँदा मलाई आनन्द लाग्छ। ऊसँग हुँदा आफ्ना हरेक दुःख भुल्ने गर्छु, रमाउने गर्छु। 

मलाई मन पर्छ भनेर बुबाले पुन्टे १५ हजार रुपैयाँमा किनेर ल्याउनुभएको हो। ऊ जन्मिनासाथ हाम्रो घरमा ल्याएको हौँ। त्यसैले ऊ सबैको प्यारो बनेको छ। परिवारको अभिन्न अंग बनेको छ। ममीले मलाईभन्दा बढ्ता माया पुन्टेलाई गर्नुहुन्छ। ऊ पनि ममीलाई असाध्यै माया गर्छ। ममीसँग लुटुपुटु गरेर बस्छ। 

पुन्टेबिना घर शून्य लाग्छ। उसलाई एकैछिन नदेख्दा छटपटी हुन्छ। सानो छँदा उसलाई बाहिर एक्लै राख्न अत्ति माया लाग्थ्यो। उसलाई आफ्नो कोठामै राख्थेँ। पछि उसका लागि छुट्टै खोर बनाइदियौँ। 
कोठामा बस्ने बानी भएकाले ऊ एक्लै बस्न मानेन। रोएको रोए गर्न थाल्यो। त्यसैले मेरै कोठामा राख्छु, उसलाई। मसँगै बस्छ अनि मेरै ओछ्यानमा सुत्छ। मान्छेबिना ऊ पनि बस्न मान्दैन। उसका साथमा घरको कोही न कोही हुनै पर्छ। 

उसको स्याहारसुसारमा एकदमै ध्यान दिने गरेकी छु। महिनाको एक पटक उसको स्वास्थ्य जाँच गर्न हस्पिटल लग्छु। खानेकुरामा पनि उत्तिकै ध्यान दिने गरेकी छु। स्वस्थ खानेकुरा खान दिन्छु। सपिङ जाँदा पुन्टेलाई पनि केही न केही किनिदिन्छु। 

ऊ सानो छँदा विदेशबाट समेत उसका लागि लुगा मगाएकी थिएँ। ऊ यति छिटो बढ्यो कि लुगा लगाइदिनै पाइएन। लुगा छोटो भयो। त्यो लुगा अझै साँचेर राखेकी छु। 

उसले गर्दा घरमा निकै खुशीको माहोल बनेको छ। ऊ एकदमै छुकछुक गर्छ। धेरै चकचक गरे पनि मज्जा लाग्छ। राति ९ बजे सुत्छ। बिहान ५ बजे उठ्छ। यही समय मात्रै ऊ चुपचाप हुन्छ। 

नत्र, उठेदेखि सुत्दासम्म छुकछुक गरिरहन्छ। म कतै जान लाग्दा मेरो पछिपछि लाग्छ। बाहिर जाँदा उसलाई लिएर हिँड्ने गरेकी छैन। धुलोधुवाँले उसलाई असर गर्छ भन्ने डर लाग्छ। काममा जाँदा उसलाई औधी सम्झन्छु। उसको भिडियो मेरो मोबाइलमा टन्नै छ। विदेशमा जाँदा त्यही भिडियो हेरेर चित्त बुझाउँछु। 

लामो समयपछि घर फर्किदा ऊ मलाई देख्नेबित्तिकै उफ्रिन थाल्छ, खुशी हुन्छ। पुन्टे मुडी स्वभावको छ। उसलाई केही कुरा मन परेन भने झम्टिहाल्छ। मैले ल्याइदिएको सामान उसलाई मन परेन भनेर मलाई टोकेको थियो। 

उसको त्यो बानी चाहिँ मन पर्दैन। एक पटक चोभार डुलाउन लगेकी थिएँ। दिनभरि खेलेको खेले गर्यो‍। खूब रमायो। पुन्टेसँगको त्यो पल कहिल्यै बिर्सिन सक्दिनँ। हरेक बिहान उसले मलाई जबर्जस्ती उठाउँछ। सिरक तानेर अनेक थरी गरेर मलाई उठाइ छाड्छ। पुन्टे मेरो प्यारो साथी हो। उसको धेरै माया लाग्छ। 

 

तपाईको कमेन्ट