‘स्टार’ होइन, ‘कन्टेन्ट’ चल्छ

writer

दीपेन्द्र लामा

बिहिबार, १० माघ २०७५


फिल्म राम्रो वा नराम्रो बन्नुमा सबैभन्दा ठूलो भूमिका निर्देशककै हुन्छ। फिल्म फ्लप हुनुको दोष निर्देशकलाई नै जान्छ। यसो भन्दैमा ‘स्टार’लाई उन्मुक्ति दिइनुपर्छ भन्ने होइन।


 शाहरूख खानले गरेका फिल्ममध्ये सबैभन्दा महँगो ‘जिरो’ हो। प्रशस्त भीएफएक्स गरिएकाले यसको निर्माणमा दुई अर्ब भारु खर्च भएको थियो। उनको होचो कदका कारण नै फिल्मले भरपूर चर्चा कमाइसकेको थियो। 
 
‘तनु वेड्स मनु’ र ‘राँझना’जस्ता राम्रो समीक्षा पाउन सफल फिल्म निर्देशन गर्ने आनन्द एल रायको निर्देशनमा बनेको ‘जिरो’बाट सबैले ठूलो आशा गरेका थिए। फिल्ममा ग्ल्यामर थप्न क्याट्रिना कैफ र अनुष्का शर्मा पनि थिए।

प्रचारप्रसारमा कुनै कञ्जुस्याइँ गरिएको थिएन। फिल्म गत डिसेम्बर २१ मा भारतका ४३ सय ८० वटा हलमा एकसाथ रिलिज गरियो। तर, फिल्मले बक्सअफिसमा जादु देखाउन सकेन। पहिलो तीन दिन यसले ५९ करोड मात्र कमाउन सक्यो। अहिलेसम्म यसले भारतमा १ सय १५ करोड भारु मात्र उठाएको छ। अर्थात्, फिल्म नामजस्तै जिरो साबित भइदियो।

अहिलेसम्म भारतमा सबैभन्दा ‘वाइड रिलिज’ पाएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हो। यसलाई भारतभर पाँच हजार हलमा रिलिज गरिएको थियो। ३ सय १० करोड भारुमा बनाइएको यो बलिउडको सबैभन्दा महँगो फिल्म हो।

आमिर खान र अमिताभ बच्चनले पहिलो पटक एकसाथ अभिनय गरेका कारणले पनि फिल्मको बेग्लै उचाइ थियो। आमिरका हरेक फिल्मले बक्सअफिसमा एकपछि अर्को रेकर्ड राख्दै आइरहेको थियो। समीक्षकको तारिफ पाउने दौडमा पनि उनी अरूभन्दा अगाडि नै थिए।

आमिरको अघिल्लो फिल्म ‘दंगल’को रेकर्डलाई तोड्दै चार सय करोड क्लबमा प्रवेश गर्ने पहिलो बलिउड फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ हुने अड्कल थियो। भारतको सबैभन्दा राम्रो डेट मानिने दिवालीमै फिल्म रिलिज भयो। 

यसले पहिलो दिन ५२ करोड २५ लाख भारु कमायो। कुनै पनि हिन्दी फिल्मले पहिलो दिन कमाएको सबैभन्दा ठूलो रकम हो यो। दोस्रो दिन यो २९ करोड २५ लाखमा सीमित भयो। तीन दिनमा यसको कमाइ १ सय ५ करोड पुग्यो। अमिताभ बच्चनले अभिनय गरेको कुनै पनि फिल्मले सय करोड क्लबमा प्रवेश पाएको यो पहिलो अवसर थियो।

तर, ‘ठग्स अफ हिन्दोस्तान’ले क्रमशः दर्शकको साथ पाउन छाड्यो। र, यसको घरेलु कमाइ १ सय ५१ करोड १९ लाख भारुमा खुम्चियो। आमिर खानको फ्लप फिल्मको सूचीमा नयाँ नाम थपियो। 

स्टार हुँदैमा फिल्म चल्ने ग्यारेन्टी हुँदैन भन्ने कुराको पुष्टि गर्न यी दुई उदाहरण पर्याप्त छन्। स्टारका कारण दुई वा तीन दिन फिल्म राम्रै चल्न सक्छ। तर, फिल्म फितलो छ भन्ने हल्ला फिँजियो भने फ्यानहरूसमेत हलमा आउँदैनन्। ‘ठग्स अफ हिन्दोस्तान’को इनिसियल कलेक्सन राम्रो हुनु तर त्यसपछिको व्यापार दिन प्रतिदिन खस्किँदै जानुले यही देखाउँछ।

स्टारकै भरमा फिल्मले पैसा कमाउँदैन भन्ने यस्तै उदाहरण नेपालमै पनि छन्। सन् २०१८ मा नेपालका स्टार भनिएका दुई कलाकार अनमोल केसी र प्रदीप खड्काका फिल्म क्रमशः ‘कृ’ र ‘रोज’ पनि प्रदर्शनमा आए। दुवै फिल्ममा अनमोल र प्रदीपलाई महँगो पारिश्रमिक दिइएको थियो। फिल्मले प्रदर्शनपूर्व मनग्गे चर्चा पनि कमाए। तर, रिलिजपछि पैसा कमाउन सकेनन्।

‘स्टार’ भनेर कहलिएका कलाकारलाई साइन गराएपछि फिल्म स्वतः नाफामा गइहाल्छ भन्ने सोच पालेका निर्माता–निर्देशक प्रशस्त छन् नेपालमा। उनीहरू फिल्मको पटकथाभन्दा पनि ‘स्टार’लाई साइन गराउन बढी मिहेनत गर्छन्। ‘स्टार’ले साइन गरेपछि उसका माग पूरा गर्नतिर लाग्छन्। फिल्म कसरी राम्रो बनाउने हो, त्यता ध्यान दिँदैनन्। यस्तो ढंगले बनाइएका फिल्म बक्सअफिसमा फ्लप हुनु स्वाभाविकै हो।

‘स्टार’ लिएपछि झन् राम्रो फिल्म बनाउने चुनौती हुन्छ। ‘स्टार’ अनुबन्धित हुनेबित्तिकै फिल्मको बजेट बढ्छ। पारिश्रमिक महँगो हुने नै भो। त्यसबाहेक त्यही अनुसारको कस्ट्युम, लोकेसन र तामझाम पनि चाहियो।

एक करोड रुपैयाँमा बन्ने फिल्मको लागत ‘स्टार’को इन्ट्री भएपछि दुई करोडसम्म पुग्न सक्छ। नेपालको बजारमा दुई करोड उठाउन सजिलो छैन। त्यसैले निर्देशक र सम्पूर्ण टिमले फिल्म राम्रो बनाउन थप मिहेनत गर्नुपर्छ।

अनमोलको ‘कृ’ले बक्सअफिसमा उल्लेखनीय कलेक्सन गरेको थियो। अरू नेपाली फिल्मको तुलनामा बढी नै थियो। तर, फिल्मको लागत अढाइ करोडभन्दा माथि भएकाले ‘कृ’ले निर्मातालाई नाफा दिन सकेन।

‘स्टार’ले खेलेको फिल्म बक्सअफिसमा फ्लप भएको शाहरूखको ‘जिरो’ न पहिलो हो, न अन्तिम नै। उनकै फिल्म ‘फ्यान’ पनि फ्लपको सूचीमा थियो। जति ठूलो स्टार, त्यति नै ठूलो अपेक्षा गाँसिएको हुन्छ। दर्शकको अपेक्षाभन्दा राम्रो निस्किएमा मात्र फिल्मले बाजी मार्ने हो।

फिल्म फ्लप हुनुमा ‘स्टार’को दोष हुन्छ कि हुँदैन त ? यस विषयमा बेला–बेला चर्चा हुने गर्छ। फिल्म राम्रो वा नराम्रो बन्नुमा सबैभन्दा ठूलो भूमिका निर्देशककै हुन्छ। फिल्म फ्लप हुनुको दोष निर्देशकलाई नै जान्छ। यसो भन्दैमा ‘स्टार’लाई उन्मुक्ति दिइनुपर्छ भन्ने होइन। पैसाकै लागि जस्तोसुकै टिमसँग काम गर्ने प्रवृत्ति ‘स्टार’ले त्याग्नुपर्छ।

निर्माता–निर्देशकले पनि के सोच्नुपर्छ भने ‘स्टार’ले मात्र राम्रो फिल्म बन्दैन, त्यसका लागि सम्पूर्ण टिमको मिहेनत चाहिन्छ। बरु, कम चलेका प्रतिभाशाली कलाकार लिएर सानो बजेटमै बनाए पनि फिल्मले नाम र दाम दुवै कमाउन सक्छ। सन् २०१८ मै रिलिज भएका ‘बधाई हो’, ‘अन्धाधुन’ र ‘स्त्री’ जस्ता बलिउड फिल्मले राम्रै तारिफ बटुले। 

यी सबै फिल्म कम बजेटका थिए, यिनमा ठूला ‘स्टार’ पनि थिएनन्। २९ करोड भारुमा बनेको ‘बधाई हो’ले भारतमा मात्र १ सय ३५ करोड भारु नेट उठायो। ३२ करोडमा बनेको ‘अन्धाधुन’ले १ सय ११ करोड र २३ करोडमा बनेको ‘स्त्री’ले १ सय ८० करोड भारु कमाए। 

यी तीनटै फिल्मलाई दर्शकले रोचक ‘कन्टेन्ट’का कारण रुचाएका हुन्। त्यसो त, राम्रो फिल्म बन्यो भने स्टार चाहिँदैन भन्ने नजिर नेपालमा ‘लुट’ फिल्मले नै राखिसकेको छ। नेपाली फिल्मको बजार नबढिरहेको अवस्थामा ‘स्टार’ भन्दा ‘कन्टेन्ट’मै मरिमेट्नु पर्ने देखिन्छ। निर्माता र वितरकले पनि ‘कन्टेन्ट’मै लगानी गर्नु बुद्धिमानी हुनेछ। नत्र, फेरि ‘स्टार’ भएका बिग बजेटवाला फिल्महरू नडुब्लान् भन्न सकिन्न।

तपाईको कमेन्ट

मुख्य समाचार