पाकिस्तानतर्फ उत्तर कोरियाली आँखा

writer

सम्पूर्ण

बिहिबार, १७ जेठ २०७५


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनसँगको शिखर वार्ता रोकेका छन्। यद्यपि, समयक्रममा त्यस्तो वार्ता हुने प्रस्ट पारेका छन्। यसबाट अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक सन्देश नजाओस् भनेर दक्षिण कोरियाले हतार-हतार उत्तर कोरियासँग शिखर वार्ता गर्‍यो। त्यस क्रममा लिबियाबारे चर्चा भयो। 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले सन् २००३-०४ ताका लिबियाली मोडलबाट मात्रै उत्तर कोरियाबाट सिर्जित समस्या समाधान हुने बताएका थिए। त्यतिबेला लिबियाली शासक मुअम्मार गद्दाफीले पारमाणविक कार्यक्रमसँग सम्बन्धित सम्पूर्ण सामग्री र प्रविधि अमेरिकालाई हस्तान्तरण गरेका थिए। तर, लिबियाली मोडलप्रति उत्तर कोरिया सशंकित छ।

डोमिनिक टिएर्ने 

किनकि, पारमाणविक कार्यक्रमसँग सम्बन्धित सबै सामग्री अमेरिकालाई बुझाएर लिबियाले पश्चिमलाई खुशी तुल्याउन प्रयत्न गरेको एक दशकसमेत पूरा नभई अमेरिका र उसका साझेदारले गद्दाफीको शासन ढाल्न त्यहाँका लडाकुसँग हातेमालो गरे। अन्त्यमा गद्दाफी मारिए। उत्तर कोरियाले लिबियाबाट निशस्त्रीकरणको जोखिमसम्बन्धी पाठ सिकेको छ। 

सन् २००३ मा इराकले आम विनाशकारी हतियार उत्पादन गर्ने लक्ष्य त्यागेको घोषणा गरेको थियो। साथै, अन्तर्राष्ट्रिय पर्यवेक्षकलाई इराकभित्र छिरेर आम विनाशकारी हातहतियार उत्पादन भए÷नभएको अनुगमन गर्न दिएको थियो। यति हुँदाहुँदै पनि अमेरिकाले इराकमाथि हमला गरी शासन परिवर्तन गरायो। सन् २०१५ मा इरानले आफूमाथि लागेको नाकाबन्दी खुकुलो गर्ने शर्तमा पारमाणविक कार्यक्रमलाई सीमित गर्न सहमति जनायो। तर, सन् २०१८ मा आएर त्यस्तो सहमति भंग भयो। 

यस्तोमा उत्तर कोरियाका शासकलाई विश्वस्त तुल्याउने खालको कुनै मोडल उपलब्ध छ त ? निश्चय पनि छ। तर, दुर्भाग्यवश, त्यस्तो मोडलमा जाँदा उत्तर कोरियाले पारमाणविक हतियार आफूसँगै सुरक्षित राखिरहन्छ। त्यस्तो मोडल पाकिस्तान हो। सन् १९७० को दशकपछि पाकिस्तानले पारमाणविक हतियार निर्माण गर्ने काम गम्भीरतापूर्वक अघि बढाएको थियो।

वैरी मुलुक भारतबाट सिर्जित भय समन गर्न तथा पारमाणविक हतियारमा भारतकै हारहारीमा आउन ऊ त्यस्तो हतियार उत्पादनमा केन्द्रित भएको थियो। त्यतिबेला पाकिस्तानी नेता जुल्फिकर अली भुट्टोले भनेका थिए, 'यदि भारतले बम बनायो भने घाँसपात खाएर अथवा भोकै रहेर भए पनि हामी बम बनाउँछौँ।' भुट्टो पछि गएर पाकिस्तानका प्रधानमन्त्री बने। अन्त्यमा सन् १९८८ मा पाकिस्तानले शृंखलाबद्ध रूपमा पारमाणविक हतियार परीक्षण गर्‍यो।  

'बुलेटिन अफ द एटोमिक साइन्टिस्ट'को सन् २०१६ को अंकमा पाकिस्तानमा १ सय ३० देखि १ सय ४० वटासम्म पारमाणविक मुखास्त्र (वारहेड) रहेको आकलन गरिएको छ। साथै, सन् २०२५ सम्ममा उसको शस्त्रागारमा त्यस्ता हतियार दोब्बर हुने अनुमान गरिएको छ। पाकिस्तानले सीमाछेउमा मध्यम दूरीसम्मको मारक क्षमता भएका ब्यालेस्टिक मिसाइल, क्रुज मिसाइल, एफ–१६ युद्धक विमान आदिमार्फत पारमाणविक हतियार प्रहार गर्न सक्छ। 

उत्तर कोरियाले निश्चय पनि पाकिस्तानी मोडलप्रति अभिरुचि देखाइरहेको हुनसक्छ। फेरि दुई मुलुकबीच थुप्रै समानता पनि छन्। उनीहरू दुवैका शत्रु शक्तिशाली लोकतान्त्रिक मुलुक छन्, जो कुनै समय एउटै देशका हिस्सा थिए। उत्तर कोरिया र पाकिस्तान दुवैले अन्तर्राष्ट्रिय मूल्य–मान्यता उल्लंघन गरेका छन्। सन् २००३ मा उत्तर कोरियाले परमाणु अप्रसार सन्धिबाट आफू अलग भएको घोषणा गरेको थियो। पाकिस्तानले चाहिँ सो सन्धिमा हस्ताक्षर नै गरेको छैन। दुवै मुलुक दशकौँसम्म इरानका अनौपचारिक साझेदार बनेका थिए। इरान-इराक युद्धका क्रममा उनीहरूले इरानलाई परम्परागत हातहतियार बेचेर सहयोग गरेका थिए। 

पाकिस्तान र उत्तर कोरियाले पारमाणविक कार्यक्रममा सहयोग आदानप्रदानसमेत गरेका छन्। सन् २००६ मा प्रकाशित एउटा प्रतिवेदनले उत्तर कोरियाले पाकिस्तानलाई मिसाइल प्रविधि दिएको र पाकिस्तानले उसलाई पारमाणविक हतियारसम्बन्धी जानकारी दिएको जनाइएको थियो। सन् १९९० को दशकमा उत्तर कोरियामा अनिकाल पर्दा पनि उसले पाकिस्तानको युरेनियम प्रशोधनसम्बन्धी प्रविधि अनुसरण गरेर हतियार उत्पादनलाई प्राथमिकताका साथ अघि बढाएको थियो।

त्यतिबेलाको अनिकालका कारण उत्तर कोरियामा करिब पाँच लाख मानिसको मृत्यु भएको अनुमान गरिएको छ। पाकिस्तानले उत्तर कोरियालाई पारमाणविक हतियार परीक्षण गर्नसमेत सघाएको आशंका गरिएको छ। उत्तर कोरियाले पाकिस्तानी मोडलप्रति अभिरुचि देखाउने कारण अनेक छन्। पहिलो, पाकिस्तानको पारमाणविक हतियारले भारतलाई थान्कामा राख्न सफल भएको छ। सन् १९६० र ७० को दशकमा भएको भारत–पाक युद्धमा पाकिस्तानले अपमानजनक पराजय बेहोरेको थियो। सन् १९७१ मा भारतले पूर्वी पाकिस्तान टुक्राइदिएको थियो, जुन अहिले बंगलादेशको नामले चिनिन्छ।

पाकिस्तानले पारमाणकि हतियार निर्माण गरेपछि भारतबाट भीषण हमला हुने सम्भावना टरेको छ। सन् १९८७ मा पाकिस्तानी राष्ट्रपति जिया-उल-हकले आफ्ना भारतीय समकक्षीलाई भनेका थिए, 'यदि तपाईंहरूको फौज एक इन्च मात्र पाकिस्तानी भूमिभित्र छिरे भने हामी तपाईंका शहरहरू ध्वस्त पारिदिन्छौँ।' सन् १९९९ मा पाकिस्तानी फौज भारतअधीनस्थ कश्मीरमा पस्दा कार्गिल युद्ध भड्किएको थियो। तर, भारतले युद्धलाई संयमित राख्यो। भारतीय फौज पाकिस्तानी सीमाभित्र छिरेन। पाकिस्तनसँग भएको पारमाणविक हतियारका कारण संयमता अपनाउन भारत बाध्य भएको थियो।   

पाकिस्तानसँग पारमाणविक हतियार भएकै कारण पश्चिमी मुलुकले पनि ऊप्रति हार्दिक व्यवहार गरिरहेका छन्। पारमाणविक हतियारको सुरक्षा गर्न सहज होस् भनेर अमेरिकाले पाकिस्तानलाई दशौँ लाख अमेरिकी डलर, हेलिकोप्टर र उपकरण उपलब्ध गराउने गरेको छ। पाकिस्तानले अफगानिस्तानमा अमेरिका नेतृत्वको फौजसँग युद्धरत तालिवान लाडाकुहरूलाई सहयोग गरिरहँदा पनि अमेरिकाले पाकिस्तानलाई अर्बौं डलरको सैन्य तथा आर्थिक सहायता गर्नुपछाडिको कारण पनि यही हो।

पाकिस्तानले पारमाणविक हतियारले सुसज्जित एक मात्र मुसलमानबहुल राष्ट्रका रूपमा प्रतिष्ठा आर्जन गरेको छ। पाकिस्तानीहरू आफ्नो मुलुकको शस्त्रागारमा पारमाणविक हतियार रहेकामा गर्व गर्छन्। सन् १९९८ मा पारमाणविक हतियार परीक्षण गर्दा पाकिस्तानका हिमाल र पहाड थर्किएका थिए। त्यसको खुशीयालीमा पाकिस्तानका सडकमा भव्य उत्सव मनाइएको थियो। 

पाकिस्तानले पारमाणविक हतियारका कारण चर्को मूल्य नचुकाएको होइन। यसमा गर्ने लगानी उसले शिक्षा अथवा स्वास्थ्यमा खर्च गर्न सक्थ्यो। सन् १९९८ को उसको हतियार परीक्षणको आलोचना विश्वभरि भएको थियो। परमाणु अप्रसार सन्धिमा हस्ताक्षर नगरेकाले गैरसैन्य प्रयोजनका लागि सञ्चालन हुने पारमाणविक कार्यक्रममा प्रयोग हुने प्रविधि भित्र्याउनबाट पाकिस्तान वञ्चित भएको थियो।

यति हुँदाहुँदै पनि उत्तर कोरियाले पाकिस्तानी मोडलमै जाँदा बढी लाभ हुने देखेको हुनसक्छ। त्यसविपरीत मोडलमा जाँदा सद्दाम र गद्दाफीले मारिनुप‍र्‍यो। यस्तो अवस्थामा उसले पूर्वी एसियाको पाकिस्तान बन्ने चाहना राख्न धेरै सम्भव छ।

(लेखक राजनीतिशास्त्रका उपप्राध्यापक र अमेरिकी म्यागजिन 'दी एटलान्टिक'का कन्ट्रिब्युटिङ एडिटर हुन्। उनको पछिल्लो किताब 'द राइट वे टू लुज अ वारः अमेरिका इन एन एज अफ अनविनेबल कन्फ्लिक्ट्स' हो। यो लेख 'दी एटलान्टिक'बाट लिइएको हो।)


 

तपाईको कमेन्ट

अन्य समाचार