चुरोटले कुल होइन ब्लडी फुल बनाउँछ

writer

मेनुका कोइराला

शुक्रबार, ०४ माघ २०७५


काठमाडौँ कमलपोखरीस्थित किस्ट कलेजको क्यान्टिनमा प्रकाश अर्याल, कुलदीप राउत, सुरज पौडेल, भावना धमला र मुस्कान श्रेष्ठ गफिएर बसेका थिए। उनीहरू बीबीए चौथो वर्षका विद्यार्थी हुन्। उनीहरुले गरेका क्यान्टिन गफलाई सम्पूर्णमा जस्ताकाे तस्तै।

प्रकाशः सुरज आज बिहान कलेज आइपुग्न ढिला भयो है !

सुरजः स्कुटरको स्पिड बढाए त छिट्टै आइपुगिन्थ्यो होला। अनि, बिहानै क्याफेमा एक कप चिया पनि खान पाइन्थ्यो।

सुरजः बाटोमा जताततै खाल्डाखुल्डी छन्। स्कुटर कुदाउनै डर लाग्छ, स्पिड बढाउनु त परको कुरा भयो ! 

मुस्कानः एकदमै जोगिएर चलाउनुपर्छ। बाटो ठीक छैन।

सुरजः भावना, तिम्रो ओठ त कालो पो छ त। चुरोट खान्छौ कि क्या हो?

भावनाः कहाँ खानु? त्यस्तो क्यान्सर हुने चिज पनि खान्छन्? 

प्रकाशः आजकल चुरोटको विज्ञापन आउनै छोडेछ है?

मुस्कानः अहिले हो र ! कति भइसक्यो चुरोटको विज्ञापन आउन छोडेको। 

सुरजः पहिला–पहिला आउँथ्यो टिभीमा, टक्क एउटा मोडल उभिएर चुरोट सल्काएपछि ‘साहसीको एक मात्र चाहना’ भन्थ्यो। 

कुलदीपः यो टिभी, फिल्मले नै हो के युवाहरूलाई बिगारेको। फिल्ममा चुरोट खाने  मान्छेलाई कति कुल देखाइन्छ। चुरोट खाँदा आफू पनि कुल देखिइन्छ भनेर युवाहरू पनि खान थाल्छन्। चुरोटले कुल होइन, ब्लडी फुल बनाउँछ। महामूर्ख बनाउँछ।  

मुस्कानः तिम्रो कुरा सही हो, कुलदीप। 

भावनाः हामी ब्याचलरमा पुगिसक्यौँ अहिलेसम्म के गर्ने भन्ने टुंगो छैन। एक्कासि पैसा कमाउन जाँदा कहाँ जाने होला? अहिलेदेखि नै सिक्न पाएको भए पढिसकेपछि राम्रो ठाउँमा काम गर्न पाइन्थ्यो।

सुरजः पढ्दापढ्दै केही गरुँ भनेर पनि पाइँदैन। १० देखि ४ बजेसम्म कलेज हुन्छ। हामी केही नजान्नेलाई सिकाउनका लागि कसले दिन्छ पार्ट टाइम जब। विदेशमा पो हप्ताको दुईतीन दिन कलेज हुन्छ। अरू दिन काम गरेर पैसा कमाइन्छ। नेपालमा त्यस्तो हुँदैन। 

कुलदीपः नेपालमा काम नभएको होइन, हामीसँग काम गर्ने जाँगर नभएको हो। अरू केही नगरे पनि होम ट्युसन त लिन सकिन्छ नि ! ट्युसन पढाएर महिनामा आठ–दश हजार रुपैयाँ मजाले कमाउन सकिन्छ। अफिसमा बसेर गरिने काम मात्र जागिर होइन। 

प्रकाशः हो तिमीले ठीक भन्यो कुलदीप। काम नभएको हैन हामीलाई गर्नुपर्छ भन्ने महसुस नभएको हो। आज कुरा गर्‍यो, भोलि जान्छु काम खोज्न जस्तो लाग्छ। घर पुग्यो ओछ्यान र फोन छोडेर कतै जान मन लाग्दैन। 

कुलदीपः त्यही त, आजसम्म हाम्रा सबै आवश्यकता आमाबुबाले पुर्‍याउनुभएको छ। त्यसैले किन गर्नु काम जस्तो लाग्छ। 

मुस्कानः मैले कति चोटि कलेजमा अभिभावकको कुरा सुनिसकेँ। अभिभावक आफैँ मेरो छोराछोरीलाई पढाइ दिए मात्र पुग्छ भन्नुहुन्छ। एक्लो छोरो सम्पति यसैको हो प्रमाणपत्र मात्र भए पुग्छ भन्नुहुन्छ। 

कुलदीपः त्यसैले त युवा अरूमा निर्भर भएका छन्। 

मुस्कानः युवा आफू केही गर्न खोज्दैनन् अनि दोष सरकारलाई दिन्छन्। ‘सिस्टम छैन’, ‘नेपालमा केही गर्न सकिँदैन’ भन्छन्।

प्रकाशः जे कुरा पनि राजनीतिमै आएर टुंगिन्छ। तर, राजनीतिमा आउन नहुने कुरा हो। 

भावनाः राजनीति र देशको अवस्था पनि जोडिन परिहाल्यो नि ! अवस्था नाजुक भएर नै त युवा परनिर्भर बनेका हुन्। 

कुलदीपः सरकारले जरैदेखि समस्याको समाधान गर्नुपर्छ कसैले भन्दैन। भ्रष्टाचारलाई नै हेर्ने हो भने पनि १० हजार रुपैयाँको भ्रष्टाचार गर्ने समातिन्छन्। करौडौँको भ्रष्टाचार गर्नेको खोजी हुँदैन। करौडौँ भ्रष्टाचार भएको ठाउँमा १० हजार रुपैयाँको के महत्त्व ?

मुस्कानः भ्रष्टाचारजस्ता समस्यालाई झरैदेखि उखेल्नुपर्छ।

भावनाः त्यसमा युवाहरूका भूमिका महत्त्वपूर्ण हुन्छ। यो हामी सबैले बुझ्नुपर्छ।


    
 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि