हामी हाेचाे भए पनि हिम्मत होचो छैन

writer

सम्पूर्ण

बुधबार, ०२ माघ २०७५


एउटा यस्तो परिवार

सातवर्षको उमेरसम्म तनहुँकी निर्मला केसीको शारीरिक वृद्धि र विकासस्वाभाविक तवरमा भयो। आठौँ वर्षमा भने उनको शरीरको वृद्धि र विकास रोकियो। कारण,उनलाई कुपोषणले छोयो। हलक्कै बढ्ने उमेरमा उनी कुपोषणको शिकार भइन्। कुपोषित भएपछि निर्मलाको शारीरिक वृद्धिको सम्भावना सकियो। उनको उचाइ आठ वर्षसम्म जति बढेको थियो, त्यतिमै सीमित भयो। पोषण अभावले उनीहोची भइन्। 

उपचारका लागि उनी तनहुँबाट काठमाडौँ आइन्।त्रिवि शिक्षण अस्पतालका चिकित्सकले उपचारका लागि भारतको बाटो देखाएपछि उनी यतै रोकिइन्।काठमाडौँमा काम नगरी बाँच्न गाह्रो भएपछि उनले दोहोरी साँझमा गाउन थालिन्।त्यहीँ भेटेकी थिइन् उनले,गुल्मीका निश्चल श्रेष्ठलाई। जन्मजात होचा निश्चल पनि दोहरी साँझमा गीत गाउँथे। ‘दोहोरी साँझमै भएको थियो हाम्रो पहिलो भेट। केही समय त्यहाँ सँगै काम गर्‍यौँ,’ निर्मलाले सम्झिइन्,‘पछि होचा–पुड्का संघमा पनि नियमित भेट हुन थाल्यो।’

दोहोरी साँझ र होचा–पुड्का संघको अफिसमा हुने दुई जनाको नियमित भेट बिस्तारै प्रेममा बदलियो। भेटघाट, घुलमिलको छ वर्षपछि २०६६ सालमा उनीहरूको सम्बन्ध बिहेमा परिणत भयो।‘दोहोरी साँझमा गीत गाउँदागाउँदैहामी नजिक भयौँ,’ निश्चलले भने,‘हामीले बिहे गर्‍यौँ भने जिउन सजिलो होला भन्नेलाग्यो।’

बिहे प्रस्ताव भने पहिला निर्मलाले राखेकी थिइन्। ‘मैले नै हो पहिला बिहे प्रस्ताव राखेको,’ उनले भनिन्, ‘घरमा फोन गरेर ‘मजस्तै केटा छ, बिहे गर्छु’ भनेँ। आमाबुबाले सहमति जनाएपछि सोह्रखुट्टेको गणेश मन्दिरमा बिहे गर्‍यौँ।’विवाह भएको दुई वर्षपछि २०६८ सालमा छोरी निकिता जन्मिइन्।निकिता पनि जन्मजात होची हुन्। अहिले उनी पाँचवर्षकी भइन्। 

निर्मला सोह्रखुट्टेमा बस्न थालेको १६ भयो।बिहेपछि निश्चल पनि सोह्रखुट्टेमै सरे। ‘म बिहेअघि पनि यहीँ बस्थेँ। बिहेपछि कोठा सर्छु भन्दा घरबेटी आमाबा मानेनन्। बिहे गर्दैमा कोठा सर्नुपर्छ त, यहीँ बस भन्नुभयो,’ निर्मलाले भनिन्, ‘बरु उहाँ (श्रीमान्) यता सर्नुभयो। अहिलेसम्म यहीँ बसेका छौँ।’

कोठा भाडा ६५ सय तिर्ने गरेको निश्चल बताउँछन्।‘महँगीमा घरखर्च चलाउनै गाह्रो छ,’ उनले भने,‘दोहोरी साँझमा गाउनेबाहेक हामीलाई अरू काम पाइँदैन। अरू काम गर्न पनि सकिँदैन। गुजारा टार्नै गाह्रो भइसक्यो।’‘नानी जन्मेदेखि निर्मला पनि दोहरी साँझमा काम गर्न जान सकेकी छैनन्,’ निश्चलले थपे, ‘म एक जनाको कमाइले मात्र घरखर्च टार्न गाह्रो छ।’ 

आफूले केही समय भृकुटीमण्डपको एउटा रेस्टुरेन्टमा काम गरेको उनी सुनाउँछन्।‘त्यस कामबाट पनि खासै कमाउन सकिएन। होचा–पुड्का संघका अध्यक्ष लोकनाथ ढकाल दाइ, सुन्दरी मिश्रदिदीले होटेल चलाउनुभएको थियो। केही समय त्यहीँ काम गयिो। भूकम्पपछि होटेल बन्द भयो। दाइदिदीले काम गर्न छोड्नुभयो। त्यसपछि हामीले एक वर्षसम्म चलायौँ तर खासै फाइदा भएन,’उनले भने।

छोरी निकिता सोह्रखुट्टेको दीपशिखा बोर्डिङ स्कुलमा एलकेजीमा पढ्छिन्। जिल्ला शिक्षा कार्यालयबाट सिफारिस ल्याएपछि स्कुलको मासिक शुल्क तिर्नु नपर्ने निर्मला बताउँछिन्। ‘हामी अपांग हो, केही आर्थिक सहयोग गर्नुहोस् भन्दा पहिले उहाँहरूले नसुनेझैँ गर्नुभयो। पछि जिल्ला शिक्षा कार्यालयबाट सिफारिस ल्याइयो। अहिले मासिक शुल्क तिर्नुपर्दैन,’ निर्मलाले भनिन्।

आफूहरूमा भएको समस्या छोरीमा नभइदियोस् भन्ने सोच यो दम्पतीको थियो। तर, उनीहरूले सोचेजस्तो भएन। ‘चिकित्सकको सल्लाह र निगरानीमा छोरी जन्मायौँ। हाम्रोजस्तो समस्या छोरीमा नदेखियोस् भन्ने चाहना थियो तर छोरीमा पनि उस्तै समस्या देखियो,’ निश्चलले भने। 

श्रीमान्–श्रीमती दुवै होचा भएकाले घरायसी काममा बाधा पुग्ने गरेको उनीहरू बताउँछन्। ‘घरमा ठूलो काम गर्नुपर्‍यो भने हामीलाई समस्या हुन्छ। ठूला सामान उठाउनुपरे, बाहिरबाट चामल, ग्यासजस्ता सामान ल्याउनुपरेएकदमै गाह्रो हुन्छ,’ निश्चलले पीडा पोखे। 

‘कद सानो भए पनिहोचो मान्छेको ढाड लामो र बांगो हुन्छ। लामो समय  बसेर अथवा उभिएर काम गर्दा ढाड दुख्छ,’ होचो कदका समस्या सुनाउँदै निर्मलाले भनिन्, ‘मेरुदण्डमा समस्या हुन्छ। नसा च्यापिन सक्छ।’

होचा–पुड्का मान्छेलाई काठमाडौँका मानिसले गर्ने व्यवहारमा पहिलाभन्दा परिवर्तन आएको निर्मला बताउँछिन्। ‘अहिले हामीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ। पहिला त हामीलाई ‘बामन अवतार’,‘बामपुड्के’, ‘बाउन्ने’ भने होच्याइन्थ्यो।कतिपयले त अहिले पनि हेप्छन् तर पहिलाभन्दा केही परिवर्तन चाहिँ भएको छ,’ उनले भनिन्। 

कतैबाट आफूलाई केही आर्थिक सहयोग नभएको निश्चल बताउँछन्।‘अहिलेसम्म एक सुको पनि कतैबाट पाएको छैन। हामी ‘ग’ वर्गको अपांगमा पर्छौं,’ उनले भने, ‘सरकारले केही भत्ता दिन्छ भनेर सुनेका छौँ। तर,त्यसका लागि गाउँ नै जानुपर्छ। भत्ता लिन जाँदा नै धेरै खर्च लाग्छ,कसरी लिन जानु ? बरु जम्मा गरेर वर्षभरिको एकैचोटि दिने व्यवस्था गरिदिए हुने थियो सरकारले। यस्तै,सरकारले हामीजस्ता मान्छेका लागि रोजगारीको व्यवस्था गरिदिए बाँच्न सजिलो हुन्थ्यो।’

यो दम्पती साहसी र संघर्षसँग नडराउने स्वभावको छ। निर्मला भन्छिन्, ‘हामी होचो हौँला, तर हाम्रो हिम्मत होचो छैन।’ 

तपाईको कमेन्ट

मुख्य समाचार