‘गच्छेअनुसारको घर फ्याट्टै भेटियो’ : हेमन्त शर्मा

सृजना खड्का
बुधबार, ०२ माघ २०७५
घर–संवाद
काठमाडौँमा एउटा घर होस् भन्ने सपना थियो कि थिएन ?
२०५३ सालमा काठमाडौँ छिर्दा घरको सपना थिएन। त्यतिबेला त एउटा राम्रो डेरामा बस्न पाए नि हुन्थ्यो जस्तो लाग्थ्यो। घर त सपनाभन्दा पनि माथिको सपना थियो। काठमाडौँ बसेको करिब आठ-दश वर्षपछि भने घरको सपना पलाउँदै आयो। पूरा पनि भयो।
डेरामा कति वर्ष बसियो ?
पूरै १० वर्ष बिताइयो नि।
आफ्नै घरमा सरेको दिन कस्तो अनुभव भयो ?
‘काठमाडौँमा घर जोड्न सकियो हैै’ भनेर एकदमै खुशी भएँ। २० लाख रुपैयाँ बैंकबाट ऋण लिएको थिएँ। त्यो ऋणका कारण काँधमा जिम्मेवारी थपिएको थियो। खुशी हुने अवस्था थियो तर उफ्रिएरै नाच्ने अवस्था भने थिएन। वास्तवमा भन्ने हो भने यस घरले मलाई थप मेहनती बनायो।
घर कतिमा किन्नुभयो ?
त्यतिबेला घरको मूल्य ४५ लाखमा छिनिएको थियो। पास खर्च यताउता गर्दा लगभग ५० लाख पर्यो।
सबै आफ्नै कमाइ हो कि परिवारबाट पनि भरथेग भयो ?
अधिकांश मेरै कमाइ हो। सुरुमा अलिअलि पैसा जम्मा पारियो। साथीभाइसँग मिलेर १९ आना जग्गा किनियो। मेरो भागमा ८९ हजार परेको थियो। त्यसलाई बेचेर ४ लाख २९ हजारमा फेरि अर्को जग्गा किनेँ। त्यही जग्गालाई २१ लाख ६५ हजारमा बिक्री गरेँ। त्यसमा बैँकबाट लिएको पैसा थपेँ। केही अपुग पैसा घरबाट बुबाले सपोर्ट गर्नुभयो।
रकम जुटाउन कत्तिको गाह्रो भयो?
एकदमै गाह्रो त भएन। सानातिना अप्ठ्यारा त आइहाल्छन् नि।
आफ्नो घर हुँदाको मज्जा के रहेछ ?
घर भएपछि आफू पूर्ण भएको महसुस गरिँदो रहेछ। आफ्नो घर भएपछि आफ्नै सुविधाअनुसार नडराई चौडा छातीले जुनसुकै बेला पनि आउजाउ गर्न सकिन्छ। डेरामा बस्दा बिसञ्चो भएर रातबिरात निस्कनुपर्यो भने पनि भोलि घरबेटीले केही भन्ला कि भन्ने डर हुन्छ।
घरलाई केले सुन्दर बनाउँछ ?
पारिवारिक माहौलले घरलाई सुन्दर बनाउँछ। कतिपय ठूलाठूला महल पनि परिवारका सदस्यको व्यवहारले कुरूप हुन सक्छ। घर राम्रो हुन परिवारका सबै सदस्यको मन राम्रो हुनुपर्छ।
घरसँग जोडिएका दुःख-सुखका कथा के–के छन् ?
यो घर मेरा लागि सुखद छ। आफ्नै घरमा आएपछि मैले संसारका १८÷२० देश घुम्ने मौका पाएँ। मेरा दुई सन्तान यहीँ हुर्किए। यही घरबाट मैले मोटरसाइकलबाट कारको यात्रा गरेँ।
घरमा जोड्न मन लागेको केही छ कि ?
खासै केही छैन। म सन्तोषी मान्छे हुँ। जे छ, त्यसैमा सन्तोष मान्छु। आफूलाई चाहिने आधारभूत कुरा घरमा छँदै छन्।
घर किन्दा काठमाडौँको धापासी नै चाहिँ किन रोज्नुभयो ?
बानेश्वर, न्युरोडतिर घर किन्ने सोचै भएन। रिङरोडबाहिर कतै घर भेटिन्छ कि भनेर खोज्दै हिँडियो। आफ्नो गच्छेअनुसारको घर फ्याट्टै भेटियो। आफन्त पनि यतैतिर भएकाले यतै बस्ने निधो गरेँ।
आफ्नो घरको आफैँलाई मन पर्ने केही छ ?
मलाई आफ्नो घरभित्रको रङ असाध्यै मन पर्छ। हरियो रङ छ। एकदमै ‘कुल’ लाग्छ, हरियो रङ। आँखालाई आराम दिने खालको रङ छ।
घर बहालमा दिनुभएको छ ?
भुइँतला बहालमै दिएको छु।
घर किनेपछि साथीभाइलाई भोज खुवाउनुभयो होला नि ?
खुवाइनँ। मसँग जोडिएका साथी घरमा आए भने सधैँ पार्टीजस्तै हुन्छ। तर, त्यो पार्टी सौहार्दपूर्ण हुन्छ, उच्छृंखल खालको हुँदैन। त्यस्तो तामझाम त गरेनौँ तर सानो पूजा लगाएर घर भित्रिएका थियौँ।
कसको घर देख्दा लोभ लाग्छ ? मेरो पनि यस्तै घर भइदिए भन्ने लाग्छ ?
अरूको घर देखेर त्यस्तो लोभ लाग्दैन। तर, मलाई एउटा अर्को घर फेरि बनाउन मन छ। भूभाग अग्लो होस्। काठ र प्रिफ्याबको चिटिक्क परेको घर बनाउन मन छ।
कति जनाको परिवार छ ?
परिवारमा आमाबुबा, श्रीमती र दुई छोरा छन्। आमाबुबा भैरहवामा बस्नुहुन्छ। कहिलेकाहीँ आउनुहुन्छ। छोराहरू पढ्न विदेश गएका छन्। अहिले त घरमा श्रीमती र म मात्रै छौँ।
दुई जनालाई मात्र ठूलो भएन र घर ?
भयो। तर, विगतमा एउटा कोठामा चार जना बसेर पनि बिताइयो। त्यो हाम्रो बाध्यता थियो। अहिले हामी चार वटा कोठामा दुई जना बस्छौँ। पाहुनापाछा आउँदा यत्तिको घर त चाहिन्छ।
अहिले बेच्नुपर्यो भने कतिमा बेच्नुहुन्छ घर ?
छिमेकका घरहरू पौने दुई करोड-दुई करोडमा कारोबार भएको सुनिन्छ। यस हिसाबले यस घरको पनि मूल्य दुई करोड त आउनुपर्ने हो।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७