युद्धमा होमिएको थियो हाम्रो सिंगो परिवार : अग्नि सापकोटा

writer

सम्पूर्ण

बुधबार, ०२ माघ २०७५


 मेरो परिवार
२०१४ सालमासिन्धुपाल्चोकको कुभिन्डेमा किसान परिवारमा म जन्मिएँ। मेरो बुबाको नाम धनपति सापकोटा, आमाको नाम तिलारूपा हो।आमाबुबा, काकाकाकी सबै किसान हुनुहुन्थ्यो।चारदाजुभाइमाम साइलो हुँ। 

२०३१ सालमा एसएलसी पास गरेँ। एसएलसी पास गरेपछि २०३२ सालमा प्राथमिक विद्यालयको शिक्षक भएँ। प्राथमिक विद्यालयको हेडमास्टर पनि बनेँ। आईए पास गरेपछि प्राथमिक विद्यालयलाई निम्न माध्यमिक विद्यालय बनाएँ।अनि, बीए पास गरेँ। निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाएँ। 

त्यहाँको पनि हेडमास्टर भएँ। १५ वर्ष शिक्षणमा जिन्दगी बिताएँ।त्यो बेला पढाउने मात्रै मेरो जिम्मेवारी थिएन। एकातिर माध्यमिक विद्यालयको हेडमास्टर थिएँ भने अर्कोतिर नेपाल राष्ट्रिय शिक्षक संगठनको महासचिव पनि थिएँ। तत्कालीन भूमिगत पाटी चौथो महाधिवेशन(चौम)को संस्थापक सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी पनि थिएँ। 

२०३३ साल ज्येष्ठमा मेरोमागी बिहे भयो। श्रीमतीको नाम तारादेवी हो। विवाह हुँदासम्म पनि हाम्रो देखभेट भएको थियो। हाम्रो नाता पनि थियो। मेरो दिदीको बिहे उनको दाजुसँग भएको थियो। 

हामी दाजुभाइबीच पहिले नै अंशबण्डा भयो। आमाबुबा बित्नुभयो। मेरो आफ्नै परिवार चाहिँ अहिले नौ जनाको छ। हामी श्रीमान्–श्रीमतीभइहाल्यौँ। हाम्रा तीन छोरा छन्।

जेठो छोरा दीपक,उनकीश्रीमती चेतना वैद्य। उनी मोहन वैद्य ‘किरण’जीकी छोरी हुन्। किरणजीसँग हाम्रो सम्धी–सम्धीको नाता पर्छ। 

दीपक–चेतनाको एक छोरी छिन्। दीपक अहिले यूएनडीपीको डोनेसनअन्र्तगत राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा सञ्चार संयोजक छन्। उनी पहिले पत्रकार थिए। ‘जनादेश’मा उनले लामो समय काम गरे। आफ्नै सम्पादकत्वमा अंग्रेजी भाषाको‘प्रोगे्रस’ भन्ने पत्रिका पनि निकाले। ‘नयाँ पत्रिका’मा पनि उनले काम गरे। 

माइलो रूपक, उनले पर्वतबाट बिहे गरेका हुन्। उनको पनि एक छोरी छिन्। रूपकले अहिलेचीनको बेइजिङस्थित रनविङ विश्वविद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्धमा पीएचडी गरिरहेका छन्। एक–दुई महिनामै त्यो सकिन्छ। 
कान्छो अनुशील, उनी लोकसेवा पास गरेर कानुन मन्त्रालयमा अधिकृत छन्।
 
पहिले कृषक परिवार भए पनि अहिले हाम्रो राजनीतिक परिवार हो।हामी चारै दाजुभाइ जनयुद्धमाहोमियौँ। जेठो दाइका दुई जना छोरा थिए उनीहरूदुवै युद्धमा शहीद भए। माइलो दाइका तीनछोरा थिए, ती सबै युद्धमा लागे। उनीहरू अहिले सबै राजनीतिमै छन्।माइलो छोरा विष्णु अहिले प्रेस सेन्टरका महासचिव छन्। जेठो माधव सिन्धुपाल्चोक जिल्लाको पार्टीे अध्यक्ष भइसकेका छन्। कान्छो किशोर पनि काठमाडौँ क्षेत्र नम्बर १ का इन्र्चाज छन्। 

कान्छो भाइकी छोरी सुभद्राको जनयुद्धका बेला हत्या भयो। उनी जनकलाकार थिइन्।जेठी र माइली भाउजूबाहेक सबैले युद्धका बेला घर छोडे र सबै भूमिगत भए। 

हाम्रो परिवारमा दशैँका बेला सबैसँग अनिवार्य भेटघाट हुन्छ। अरू बेला अनुकूल समय मिलाएर भेट हुन्छ। पहिलेभन्दा अहिले हाम्रो पारिवारिक भेटघाट पातलिएको छ।भेटघाट हुँदा राजनीतिक विषयमै बढी छलफल हुन्छ।प्रायः खाना खाने बेला राजनीतिक गफगाफ हुन्छ। बेलुका हामी सकेसम्म सँगै बसेर खाने वातावरण मिलाउँछौँ। 

परिवारका सबैसँगै बसेर खाना खाँदा कुराकानी गर्न पाइन्छ। व्यावहारिक कुरामा पनि त्यो बेला छलफल हुन्छ। तर, बढी त राजनीतिक कुरा नै हुन्छन्। छोराहरू इमेल, इन्टरनेट चलाउँछन्। राजनीतिक कुरामा उनीहरू बढी ‘अपडेटेड’ हुन्छन्।राजनीतिक घटनाक्रमबारे उनीहरूले नै मलाई जानकारी गराउँछन्।मैले उनीहरूबाट राजनीतिक कुरामा ‘फिडब्याक’ लिनेगरेको छु। 
 
सधैँ पार्टीका लागि समय दिँदा परिवारसँगघुमघाममा निस्कने समय नै मिलेन। व्यस्तताले बाहिर त कुरै छोडौँ,देशभित्र पनि खासै घुम्न गइएन। तर, पछिल्लो समय मलाई यस्ता कुराका लागि पनि समय छुट्याउनुपर्छ भन्ने लागेको छ। 
बाहिरका नेताले परिवारलाई धेरै समय दिएको देखिन्छ। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले परिवारलाई दिने समय र प्राथमिकता प्रशंसित छ। 

राष्ट्रपति हुँदा जति व्यस्त भए पनि उनी सकभर परिवार सँगै खाना खाने, समय मिलाएर घुम्न जाने गरेको चर्चा थियो। विदेशका अरूनेताले पनि बिदा लिने, समुद्रतिर घुम्न जाने गरेको सुनिन्छ। हाम्रोतिर त्यस्तो संस्कारको विकास भएन। अर्को, हाम्रोमा अलि विशिष्ट परिस्थिति पनि भयो। पहिले हामी युद्धमा थियौँ। त्यो बेला झन् असाधारण परिस्थिति भइहाल्यो। शान्ति प्रक्रिया पनि असाध्यै जटिल, पेचिलो र उतार–चढावपूर्ण भयो। त्यो एक किसिमको संक्रमणकाल थियो। संघीय चुनाव नहुञ्जेलसम्म अझै संक्रमण बाँकी नै रहन्छ।  देश आर्थिक समृद्धितर्फ गएपछि मात्रै हाम्रोमा पनि विदेशी नेताको जस्तो संस्कार बस्ला। 
 
मेरो परिवारले सबैभन्दा पीडा भोगेको संकटकालमा हो।‘कति बेला सेना आउने हो ? के गर्ने हो ?’ भन्ने आतंकमा सधँैभरि बाँच्नुप¥यो।कान्छो भाइकीर मेरी श्रीमती युद्धमा‘होलटाइमर’भए। दुई भाउजूहरू हुन सकेनन्। उनीहरूलाई सेनाले आएर कहिले ‘आगो लगाइन्छिु’ भन्थ्यो, कहिले ‘सबैलाई मारिदिन्छु’ भनेर ‘टर्चर’ गथ्र्यो। संकटकालमा यस्ता दुःख धेरै भोग्नुपर्‍यो। युद्धमा हामी श्रीमान्–श्रीमती प्रायः सँगै भयौँ। छोराहरू पनि सबै युद्धमा हिँडे। जेठो र माइलाले पढ्दापढ्दै क्याम्पस छाडे। पछि प्राइभेटबाट पढाइ पूरा गरे। कान्छोले पनि एसएलसी दिएपछि हिँड्नुपर्‍यो। शान्ति प्रक्रियापछि पढेर उनले डिग्री पास गरे।

राजनीतिक जीवन भनेको धेरै जोखिमपूर्ण हुन्छ, उतार–चढावले भरिपूर्ण। राजनीतिमा लागिसकेपछि निरन्तर सक्रिय भइरहनुपर्छ र त्यसमै जीवन खोज्नुपर्छ। ठूलठूला समस्या पनि आउँछन्, समाधान पनि आउँछन्। चुनौती खडा हुँदै जान्छन्, त्यसलाई समाधान गर्दै जानुपर्छ। समाधान गर्दै जाँदा क्षमता अभिवृद्धि हुँदै जान्छ। वास्तवमा राजनीतिमा जीवन हुन्छ। 
 
परिवारको मप्रति भन्दा पनि मेरो चाहिँ परिवारप्रति अलि बढ्ता गुनासो हुन्छ। परिवारका अरूले मलाई अलि समय दिएनन्, वास्ता गरेनन् कि जस्तो लाग्छ। तर, मेरो राजनीतिक करिअरमा परिवारको देन अद्वितीय छ।उनीहरूको सहयोगले म यहाँसम्म पुगेको हुँ।

परिवार भएरै राजनीतिमा सहयोग हुन्छ। विवाहको धेरै अर्थ र औचित्य छ। बिहे नै नगर्ने हो भने नजिकबाट सहयोग गर्ने अर्को मान्छै हुँदैन।त्यो जैविक हिसाबले पनि आवश्यक छ। राजनीतिलाई अगाडि बढाउन पनिपरिवार आवश्यक हुन्छ। 

संयुक्त परिवार अलिकति परम्परागतजस्तो पनि हुन्छ। यो पनि ‘म्यानेज’ गर्न सक्दा राम्रै हुन्छ। तर, क्षमता, प्रतिस्पर्धी चेतनाको विकास एकल परिवारमै राम्रो हुन्छ। एकल परिवार हुँदा आफ्ना सबल, दुर्बल पक्षबारे थाहा पाइन्छ। एकल परिवारमा समझदारी पनि राम्रो बन्ने रहेछ।


 मेरो नजरमा मेरो परिवार, तारादेवी, श्रीमती

उनी अलि पढेलेखेकी छैनन्। राजनीतिक कुरा बुझाउन कहिलेकाहीँ गाह्रो पर्छ। म बढी ‘एग्रेसिभ’ छु। उनी शालीन छिन्। यसले हामीबीचमा समझदारी कायम गर्न सहयोग पुर्‍याएको छ। हामीबीच घण्टौँ धेरै दिनसम्म नबोल्ने गरी झगडा भएको छैन। धेरै रिसाए एक दिनजति मात्रै हो। 
दीपक, जेठो छोरा

उनी अलि बढी बौद्धिक छन्। पढाइमा पनि अब्बल थिए। विद्यालयमा सधैँ प्रथम हुन्थे। शालीन, उदार र मानवीय भावनाका छन् उनी।
रूपक, माइलो छोरा

छलफल, बहसमा खरो उत्रिन्छन्। तीक्ष्ण बुद्धिका छन्। उनको राजनीतिक, कूटनीतिक दुवै क्षेत्रमा राम्रो दख्खल छ। स्वभाव पनि सन्तुलित छ। 
अनुशील, कान्छो छोरा

अनुशील आफूलाई चित्त नबुझेसम्म तर्क गरिरहन्छन्। उनको पढाइको विषय पनि तर्क गर्ने (कानुन) पर्‍यो। उनी अडान लिन्छन्। सबैभन्दा कान्छो भए पनि सबैभन्दा परिपक्व सल्लाह दिन्छन्। कानुनमा त उनको झन् राम्रो छ। कानुनी सल्लाह म उनीबाटै लिन्छु। 

तपाईको कमेन्ट

मुख्य समाचार