‘राजनीति बुझ्ने श्रीमतीका कारण यहाँसम्म आइपुगेँ’: लालबाबु पण्डित

writer

सृजना खड्का

मङ्गलबार, ०१ माघ २०७५


मेराे परिवार

मेरो जन्म २०१५सालमा सर्लाही जिल्लाको एक किसान परिवारमा भयो। हामी दुई दाजुभाइ हौँ। म कान्छो छोरा हुँ। दाइ इन्जिनियर हुनुहुन्थ्यो। अहिले ‘रिटार्यड’ भइसक्नुभयो। उहाँ वीरगञ्जमा बस्नुहुन्छ, म विराटनगरमा बस्छु। हाम्रो पैतृक सम्पत्ति सर्लाहीमा छ। अझै अंशबन्डा भएको छैन। 

म २०४० सालमा विराटनगरमा बसाइँ सरेँ। २०५८ सालमा विमला महतसँग जनवादी विवाह भयो। पार्टीको व्यवस्थापनमा पार्टी अफिसमै हामीले बिहे गरेका थियौँ। राजनीतिक कार्यक्रमको सिलसिलामा मेरो विमलासँग भेट भएको थियो।  अहिले हाम्रो परिवारमा तीन जना छौँ। छोरी अर्चना र हामी दुई बुढाबुढी। अर्चना अहिले १६ वर्षकी भइन्। कक्षा १२ मा पढ्छिन्। 

मैले बालाजु औद्योगिक क्षेत्रमा जागिर पनि खाएँ। २०३५ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएँ। २०४१ सालमा पार्टीको सदस्यता लिएँ। पञ्चायतविरुद्ध लड्दा केही समय जेल पनि गइयो। त्यो बेला परिवारले पनि अप्ठ्यारो झेल्नुप¥यो। राजनीतिकर्मीका परिवारले हरदम यस्ता अप्ठ्यारा झेल्नुपर्छ। अप्ठ्यारालाई पनि अप्ठ्यारा नमानी, जस्तोसुकै संकटमा पनि परिवारसँग छलफल गरी काम गरिरहेका छौँ। 

जीवन नै  राजनीतिमा लगाएपछि स्वाभाविक रूपमा परिवारभित्र पनि राजनीतिका कुरा भइहाल्छन्। मेरो श्रीमती पनि राजनीति गरेरै आएकी हुन्। उनले महिला संगठनमा काम गरेकी छिन्। युवा संघको जिल्ला अध्यक्ष पनि भइन्। २०५४ सालको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएर पनि काम गरिन्। २०६२-०६३ को आन्दोलनमा ११ दिन जेलमा पनि परिन्। उनी अहिले पनि राजनीतिक, सामाजिक काममा सक्रिय छिन्। अहिले उनी मोरङ समाजकी उपाध्यक्ष हुन्। यसले गर्दा पनि हाम्रो परिवारमा राजनीतिका कुरा धेरै हुन्छन्। 

राजनीतिकर्मीले बढीभन्दा बढी सार्वजनिक जिन्दगी जिउनुपर्ने हुन्छ। त्यसो गर्दा निजी जिन्दगीका कतिपय चाहनालाई त्यतिकै पन्छाउनुपर्ने हुन्छ। जनताका समस्यामा बढ्ता ध्यान दिनुपर्छ। त्यसमै धेरै समय बिताउनुपर्ने हुन्छ। 

परिवारसँग घुमघाम गर्ने भनेर अहिलेसम्म खासै समय छुट्याउन पाइएको छैन। बिहे भएदेखि नै हामी खासै घुम्न गएका पनि छैनौँ। म २०४८ सालदेखि अहिलेसम्म सिनेमा हल पसेको छैन। 

अरू देशका नेताहरूले परिवारलाई समय दिएको, घुम्न गएको देख्न पाइन्छ। उनीहरू र हामीमा फरक छ। उनीहरूका देशमा सिस्टमले काम गरेको हुन्छ। दुनियाँका कुनै पनि देशमा एउटा नागरिक ‘बिरामी भएँ’ भनेर सहयोग माग्न राष्ट्रपतिकहाँ जानुपर्दैन। तर, हाम्रोमा सिस्टमभन्दा व्यक्ति बढ्ता हाबी हुन्छन्। सिस्टमले काम नगर्दा जनता स–साना समस्या लिएर आउँछन्। हामी त्यस्तै काममा बढी अल्झिनुपर्छ। हाम्रो सामाजिक संरचना पनि फरक छ। मान्छेका बिहे, व्रतबन्ध, मृत्युमा हामीहरू जानैपर्छ। यस्तै–यस्तै काममा हाम्रो समय सकिन्छ। 

घरको धेरैजसो काम श्रीमतीले नै गर्छिन्। फुर्सद भएका बेला म पनि उनीसँग तरकारी किन्न गइदिन्छु। तरकारी केलाइदिने पनि गर्छु। म खासै स्वादिलो खाना पकाउन जान्दिनँ। मैले पकाउँदा पेट भरिने हिसाबले मात्रै पकाउँछु। उनी मीठो पकाउँछिन्। 

छोरीको राजनीतिप्रति त्यति आर्कषण छैन। उनी राजनीति गाह्रो विषय रहेछ भन्छिन्। ‘मेरो बिँडो थाम्ने हो?’ भन्दा उनी ‘सबै कुरा गर भन्नुस् तर राजनीति गर नभन्नुस्’ भन्छिन्। राजनीति गर्दा हामीले भोगेको अप्ठ्यारा, साह्रो-गाह्रो देखेर होला उनलाई राजनीति अप्ठ्यारो रहेछ भन्ने लागेको छ। पछि यो बुझाइमा परिर्वतन पनि आउन सक्छ। 

घरमा हाम्रो खासै झैझगडा हुँदैन। खानेकुरामा मेरो विशेष केही पनि रोजाइ हुँदैन। कहिलेकाहीँ यस्तो खान्छु भनेर इच्छा व्यक्त गरिदिए हुन्थ्यो भन्ने कुरामा उनको गुनासो हुन्छ। यो स्वाभाविक पनि हो। रिसाइहाले पनि मलाई फकाउन आउँदैन। घरमा मान्छे आइरहन्छन्। उनीहरूलाई स्वागत गर्नुपर्ने हुन्छ। यसले गर्दा पनि हामी धेरै बेर रिसाएर बस्ने वातावरण नै हुँदैन।

मैले अलि ढिलो बिहे गरेँ। एक्लो रहनुहुँदैन, समयमै बिहे गर्नुपर्छ भन्ने लाग्छ। यद्यपि, ढिलो-चाँडो बिहे गर्नुका आ–आफ्नै राम्रा-नराम्रा पक्ष छन्। निजी कुराहरूमा समाजभन्दा पनि परिवारबाटै सहयोग धेरै पाइन्छ।

हाम्रो समाजको संरचनाअनुसार श्रीमतीलाई अन्तिम क्षणसम्म हेरचाह गर्ने छोरी÷ बुहारी र श्रीमान्ले हो। श्रीमान्लाई अन्तिमसम्म हेरचाह गर्ने श्रीमतीले नै हो। त्यस कारण पनि हाम्रो समाजमा बिहे महत्वपूर्ण छ। 

राजनीतिमा परिवारको ठूलो महत्व हुने रहेछ। मेरो राजनीतिक ‘करिअर’ मा श्रीमतीको ठूलो हात छ। उनको पृष्ठभूमि पनि राजनीतिक भएकाले मलाई धेरै सहज भएको छ। गैरराजनीतिक पृष्ठभूमिको भएको भए बुझाउनै गाह्रो हुन्थ्यो होला। म घरमा नभएका बेला घरमा आउने पाहुनाहरूको सत्कार उनले राम्रोसँग गर्छिन्। मेरो राजनीतिक कार्यक्रम व्यवस्थापनमा पनि उनले राम्रो सहयोग गरिदिएकी छिन्। यस पटकको चुनावमा उनले मलाई धैरै सहयोग गरिन्।

अहिलेसम्म भोगेको जिन्दगीलाई ‘रिभ्यू’ गर्दा जिन्दगीप्रति त्यति साह्रो गुनासो केही छैन। म आफ्नो जीवनसँग पूर्ण सन्तुष्ट छु। 


‘छोरी फ्य्रांक छिन्’ 

अर्चना,छोरी 
हामीलाई उनी साह्रै माया गर्छिन्। भेटघाटका लागि घरमा आएका मान्छेलाई पनि राम्रो व्यवहार गर्छिन्। उनी ‘फ्य्रांक’ छिन्। साथी छिटो बनाउँछिन्। 

‘उनी हक्की छिन्’
विमला महत पण्डित, श्रीमती

जे देख्या, त्यो भनिहाल्ने खालको उनको हक्की स्वभाव छ। उनी कहिलेकाहीँ अलि हतारो पनि गर्छिन्। राजनीतिमा धैर्य धेरै चाहिन्छ। राजनीतिमा तत्काल अगाडि देखिएको कुरा बोल्दा कहिलेकाहीँ पछि गलत हुन्छ। त्यसैले बोल्नुअघि धेरै सोच्नुपर्छ। 

उनी धेरै माया गर्छिन्। अप्ठ्यारो परिस्थितिमा नडराउन ढाडस दिन्छिन्। उनको यही कुरा नै मलाई धेरै मन पर्छ। उनी एउटै कुरा धेरै दोहोर्‍याउँछिन्। त्यसलाई सुधारिदिए हुन्थ्यो भन्ने लाग्छ। 

श्रीमतीको नजरमा लालबाबु पण्डित
‘उहाँ सहनशील हुनुहुन्छ’, 
विमला महत पण्डित

उहाँ धेरै सहनशील हुनुहुन्छ। उहाँको स्वभाव धेरै राम्रो छ। धैर्य पनि गर्न सक्नुहुन्छ। मलाई उहाँका अधिकांश बानी मन पर्छन्। जनताका लागि मरिमेटी लाग्नुहुन्छ। सबैसँग राम्रोसँग बोल्नुहुन्छ। 

मैले भनेका धेरै कुरा उहाँले सुनिरहेको भए पनि त्यसको प्रतिक्रिया दिनुहुन्न। प्रतिक्रिया नदिँदा सुन्नुभएन कि जस्तो लाग्छ। त्यसैले एउटै कुरा धेरै पटक भनिराख्नुपर्छ। उहाँले यस्तो बानी छोडी दिए हुन्थ्यो भन्ने लाग्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार