‘आमाबुवा हाँसेको घर उज्यालो हुन्छ’ : सम्झना बुढाथाेकी

सृजना खड्का
मङ्गलबार, ०१ माघ २०७५
घर संवाद
काठमाडौँमा घर होस् भन्ने सपना थियो कि थिएन ?
अवश्य पनि थियो। मैले मात्र होइन, यो आम नेपालीले देख्ने सपना हो। म त झन् डेरामै जन्मिएँ, डेरामै हुर्किएँ। त्यसकारण पनि सानैदेखि म घरको सपना देख्थेँ।
घर बनाएको कति भयो ?
त्यस्तै सात-आठ वर्षजति भयो।
घर बनाउनुभन्दा पहिला कति ठाउँ डेरा सरियो ?
छ÷सात ठाउँमा स¥यौँ। तर, जहाँ सर्यौँ, एकदमै लामो समय बस्यौँ। सबैसँग राम्रो सम्बन्ध कायम भएको थियो।
डेरामा बस्दाका नरमाइलो क्षण पनि त होलान् नि ?
किन नहुनु ? अहिले पो फ्ल्याट सिस्टम आयो। पहिला त्यस्तो थिएन। एउटै ट्वाइलेट सबैले प्रयोग गर्थे। घरबेटीहरूले ट्वाइलेट बस्दाबस्दै पनि निकाल्थे। ‘मलाई हतार भइसक्यो, भित्र को हो ? निस्क’ भनेपछि नुहाइरहेको बेलामा पनि टाउको र जीउभरि साबुनको फिज बोकेर निस्किनुपथ्र्यो। ननिस्किएर पनि के गर्नु, नत्र घरबाटै निकाल्देलान् भन्ने पिर !
घर बनाएर सरेको पहिलो दिन कस्तो अनुभव भएको थियो ?
बयान गरेर साध्य छैन। जग हालेको दिनदेखि नै घर कहिले बन्ला जस्तो लाग्थ्यो। घर बनाउँदै गर्दा जब घरको आकार आयो, त्यो बेलामै खुशीले भुइँमा खुट्टा थिएन। घर सरेको पहिलो दिन ‘मेरो पनि काठमाडाँैमा घर भयो है’ भन्ने अनुभव भएको थियो। भुइँचालो आउँदा घर के भयो होला ? भनेर निकै रोएकी थिएँ। अलिकति हल्लायो कि चौरमा बसेको ठाउँबाट दौडिएर घर हेर्न पुग्थेँ।
घर बनाउन बालाजुको पैयाटार नै किन रोज्नभयो ?
मेरो दिदी र भिनाजु यहीँ बस्नुहुन्थ्यो। उहाँहरूले नै जग्गा देखाइदिनुभएको थियो। मैले जग्गा लिँदा यो ठाउँ पूरै एउटा डाँडो मात्र थियो। आफ्नो जग्गा आफैँ चिन्दिनथेँ।
घर बनाउँदाका सुखदुःख के–के थिए ?
त्यो बेला हामी बालुवाटार भाडामा बस्थ्यौँ। बुबा किरानापसल चलाउनुहुन्थ्यो। म सुटिङमा व्यस्त हुन्थेँ। घर बनाउने बेला भिनाजुले धेरै सहयोग गर्नुभयो। म पनि दिनदिनै हेर्न आउँथे। झ्याल हाल्ने बेलामा झ्यालमा नै बसिरहन्थेँ। ‘यो कोठामा म यस्तो गर्छु’ भनेर सपना सजाउँथेँ।
कहिलेकाहीँ सुटिङ लोकेसनमा पुगिसकेको हुन्थेँ। ठेकदारले ‘दिदी सिमेन्ट-रड केही पनि छैन, सबै सकियो, तपाईं आएर हेर्दिनुपर्यो’ भनेर फोन गर्थे। त्यस्तै सामानहरू किन्ने बेलामा पनि आइडिया नभएर निकै दुःख पाएँ।
बनेकै घर किन्न सजिलो हुन्थ्यो होला नि। यत्रो दुःख किन उठाउनु भएको ?
घर किन्नका लागि त्यो बेलामा हामीसँग पर्याप्त पैसा थिएन। सुटिङ र विदेशको कार्यक्रमबाट आएकै पैसाको भर पर्नुपथ्र्यो। घर किन्नका लागि एकैचोटि लगानी गर्नुपथ्र्यो। कमाउँदै गर्नुपर्ने भएकाले घर किन्ने आँट गरिनँ। तैपनि, ऋण नगरी घर बनायौँ।
भनेपछि नाचेरै घर बनाइयो ?
हो नि। नाचेरै बनाइयो। मेरो कलालाई दर्शकले बुझ्नुभयो। त्यहीँबाट आएको पैसा मैले घरलाई बुझाएँ।
घरमा अहिले को–को बस्नुहुन्छ ?
आमाबुबा र म।
आफ्नो घर हुनुको मज्जा के रहेछ ?
घर हुनुको मज्जैमज्जा छ। आनन्द छ। कसैको प्रेसर हुँदैन। जतिखेर आए पनि भयो, जतिखेर गए पनि भयो। ‘तिम्रो घर कहाँ ?’ भनेर सोध्दा ‘काठमाडौँ, बालाजु’ भन्नुको मज्जा झन् बेग्लै छ।
घरमा केही जोड्ने इच्छा छ कि ?
केही समयअगाडि गाडी जोड्ने ठूलो इच्छा थियो। बरन्डाबाट तल आँगनमा हेर्दा त्यहाँ कहिले गाडी होला भन्ने सोच्थेँ। त्यो इच्छा पनि दशैँमा पूरा गरेँ।
घर बहालमा पनि दिनुभएको छ ?
तल्लो तला बहालमा दिएकी छु।
कति वटा कोठा छन् ?
१२ वटा।
घर बनाइसकेपछि पार्टी पनि त दिनुभयो होला नि ?
घर बनाएपछि ‘मेरो घर पनि कसैले देखोस्’ भन्ने हुँदोरहेछ। ‘मेरो घर हेर्न आओ’ भन्ने कुरा आउँदैनथ्यो। तैपनि, एक पटक जन्मदिनको अवसर पारेर आफ्नो सर्कलका कलाकार साथीहरूलाई बोलाएकी थिएँ।
अहिले बेच्नुपर्यो भने कति आउला घरको मूल्य ?
चार आनाभन्दा अलि बढी छ। अहिले आनाको नै २० लाख चलिरहेको छ। त्यो बेलामा मैले पूरै जग्गा २० लाखभन्दा पनि कम मूल्यमा लिएकी थिएँ। घर बेच्ने भन्ने सोच नै छैन। त्यसैले कति आउला भन्ने थाहा भएन।
मोडलिङमा नआएको भए घर बनाउने सपना पुरा हुन्थ्यो कि हुँदैनथ्यो ?
अलि गाह्रै पथ्र्यो। किनभने, मैले अहिलेसम्म जति कमाएँ, आफूले व्यक्तिगत रूपमा कहिल्यै राखिनँ। आमाबुवालाई ल्याएर दिएँ। उहाँहरूले बचत गरिदिनुभयो। त्यसैले आज घरको सपना साकार भयो।
कसको घर देखेर एकदमै लोभ लाग्छ ?
हास्य कलाकार किरण केसी दाइको घर देखेर एकदमै लोभ लाग्छ।
खुशी, माया र एकअर्काको साथ–सहयोगले घर सुन्दर बनाउँछ। मेरो विचारमा घर उज्यालो हुनका लागि आमाबुवा उज्यालो हुनुपर्यो। उहाँहरू हाँसेको हुनुपर्यो।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७