स्कुल स्मृति : आलु चप सम्झिरहन्छु

writer

सम्पूर्ण

बिहिबार, १७ जेठ २०७५


हास्य कलाकार, कुञ्जना घिमिरे

मैले कक्षा १० सम्म कञ्चन सेकेन्डरी बोर्डिङ स्कुल, काठमाडौँमा पढेँ। सानोमा म चञ्चले स्वभावकी थिएँ। जिद्दी पनि उस्तै थिएँ। तर, नचाहिनेभन्दा राम्रो कुराका लागि जिद्दी गर्थें। 

एसएलसी पढ्दा कक्षामा हामी जम्मा १३ विद्यार्थी थियौँ। सबै जना सहयोगी स्वभावका थियौँ। कसैले पनि फट्याइँ गर्दैनथे। टिचरले भनेका कुरा सबैले मान्थे। सबैले हाम्रो ब्याचको निकै प्रशंसा गर्थे।

स्कुल पढ्दाका क्षण मेरा लागि प्रिय छन्। साथीभाइसँग खूब गफ गरिन्थ्यो। स्कूूलमा ठूलो चौर थियो। त्यहाँ फुटबल, भलिबल खेलिन्थ्यो। स्कुलमा हुँदा जाडो र गर्मी यामका बिदामा विभिन्न कार्यक्रम हुन्थे। म हरेक कार्यक्रममा भाग लिन्थेँ। नाच्न भनेपछि भुतुक्कै हुन्थेँ। सबैजसो नृत्य प्रतियोगितामा भाग लिन्थेँ। 

पढाइमा ठीकै थिएँ। कक्षामा दोस्रो, तेस्रो पोजिसन ल्याउँथेँ। कहिल्यै स्कुल बंक गरिनँ। सबै कक्षामा उपस्थित हुन्थेँ। त्यसैले होला परीक्षा दिँदा कहिल्यै डर लागेन। जुनियर, सिनियर सबैसँग मिल्थेँ। सबैले मलाई धेरै माया गर्थे।

ममीले टिफिनका लागि पैसा दिनुहुन्थ्यो। टिफिन टाइममा सबै साथी पैसा जम्मा गथ्र्यौं अनि आलु चप खान जान्थ्यौँ। स्कुलनजिक एउटा पसल थियो, त्यहाँ साह्रै मीठो आलु चप पाइन्थ्यो। त्यो आलु चपको स्वाद अहिले पनि मेरो जिब्रोमा झुण्डिएको छ। स्कुले जीवनको आलु चप सम्झिरहन्छु। 

स्कुल पढ्दाताका मलाई खूब प्रेम प्रस्ताव आउँथे। तर, म वास्तै गर्थिनँ। प्रेमबारे बुझ्ने उमेर पनि थिएन त्यतिबेला। मेरो नाम सबैले मन पराउँथे। स्कुलमा त्यसताका नाम बिगार्ने चलन थियो। तर, मेरो नाम सबैलाई मन पर्ने भएकाले कसैले बिगारेनन्। कुनै-कुनै टिचरले चाहिँ मायाले 'कुञ्जु' भनेर पनि बोलाउनुहुन्थ्यो।  प्रस्तुतिः आशक्ति फुँयाल

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि