समीक्षकले राम्रो भन्ने, दर्शकले हाम्रो नभन्ने

writer

दीपेन्द्र लामा

आइतबार, २९ पुष २०७५


विगतभन्दा अहिले नेपाली फिल्ममा विविधता आएको छ। फिल्म निर्देशक, कलाकार र प्रविधिमा मात्र होइन, फिल्मको ‘ड्रामाटिक स्ट्रक्चर’मा पनि विविधता भेटिन्छ। हल्काफुल्का मात्र होइन, वजनदार खुराक पनि फिल्ममा पस्किइन थालेको छ। तर, दुःखलाग्दो के छ भने, अझै पनि उच्च स्तरको कलात्मक अभिव्यक्तिका रूपमा उभिएका अर्थपूर्ण फिल्मले दर्शकलाई तान्न सकेका छैनन्। त्यस्ता फिल्म बनाउने निर्माताको पैसा सुरक्षित हुन सकेको छैन। समीक्षकका नजरमा अब्बल ठहरिएका फिल्मले किन पैसा कमाउँदैन त ? केही कारण खोतल्ने प्रयास गरिएको छ।

‘ब्रान्ड’को अनुपस्थिति
बजारमा फिल्म चल्नलाई कुनै न कुनै ‘ब्रान्ड’ चाहिन्छ। स्टार भनिएका कलाकार, कहलिएका निर्माता वा हिट निर्देशक फिल्मका लागि ब्रान्ड मानिन्छन्। दर्शकलाई हलसम्म तान्न यस्ता ब्रान्डले सघाइरहेका हुन्छन्। राम्रो समीक्षा पाउने फिल्ममा यी तीनै थरी ब्रान्ड उपलब्ध नहुन सक्छन्। बरु यस्ता फिल्मले कुनै अन्तर्राष्ट्रिय अवार्ड पाएको हुन सक्छ अथवा प्रतिष्ठित फिल्म फेस्टिभलमा छानिएको हुन सक्छ। विदेशमा चाहिँ फिल्म फेस्टिभलमा पाएको अवार्ड वा सहभागितालाई पनि ब्रान्ड मानिन्छ र त्यसले ठूलो अर्थ राख्छ। नेपालमा चाहिँ फिल्म फेस्टिभललाई ब्रान्ड मान्ने चलन सर्वमान्य भइसकेको छैन। 

कमजोर ‘पब्लिसिटी’
कलात्मक फिल्म कम लगानीमा बनेका हुन्छन्। यथेष्ट प्रचारप्रसार गर्न बजेट पनि नहुन सक्छ। बजेट भए पनि त्यस्ता फिल्मकर्मीले अनावश्यक तडकभडकमा विश्वास गर्दैनन्। तर, कामचलाउ फिल्मका निर्माता भने आफ्नो प्रोडक्ट बिकाउन जस्तोसुकै स्क्यान्डल रच्न पनि हिच्किचाउँदैनन्। मिडियालाई विज्ञापन दिएर प्रभावित पार्छन्। हरेक अन्तर्वार्ता र टेलिभिजन सोमा कमसल फिल्म बनाउने नै छाइरहेका हुन्छन्। राम्रा फिल्म बनाउनेहरू पब्लिसिटीमा पछि नै पर्छन्। केही समीक्षकले राम्रो लेखिदिएका भरमा फिल्म चल्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ।

‘फिल्म लिट्रेसी’को कमी
अधिकांश नेपाली दर्शक बलिउडका फर्मुला फिल्म हेरेर हुर्केका छन्। रोनाधोना, मारधाड, रोमान्स, नाचगान, जीउडाल मिलेका हिरोहिरोइन आदि बलिउडका मसला हुन्। यही मसला नै नेपालका अधिकांश निर्माताले चलाउँछन्। कलात्मक रूपले अब्बल फिल्ममा यस्ता मसला मोलिएको हुँदैन। चार वटा गीत, चार वटा फाइट हुँदैनन्। नेपाली दर्शकलाई यस्ता मसला नभएको फिल्म खल्लो लाग्न सक्छ। आफूले हेर्दै आएभन्दा फरक खालको फिल्मलाई स्विकार्न नसक्नु भनेको फिल्म साक्षरताकोे कमी नै हो। विश्वभरका फिल्म हेरेर आफूलाई फराकिलो बनाउने दर्शक पनि छन्, तर पर्याप्त छैनन्।

‘रिभ्यू कल्चर’को अभाव
नेपालमा फिल्मको समीक्षा गर्ने, त्यसलाई मनन गर्ने र समीक्षाका आधारमा फिल्म हेर्ने कि नहेर्ने भन्ने विषयमा विचार बनाउने ‘कल्चर’ भर्खर सुरु हुँदै छ। यो छिटोछिटो हुर्किन आवश्यक छ। अनि मात्र समीक्षकको ‘रेटिङ’ हेरेर फिल्म हेर्ने दर्शकको संख्या बढ्नेछ। अहिले चाहिँ समीक्षकको टिप्पणी होइन, प्रचारप्रसार, गसिप वा अतिरञ्जित समाचारमा विश्वास गरेर फिल्म हेर्न जाने जमात बढी छ। अर्को कुरा, पाठकका नजरमा विश्वसनीय बन्न समीक्षकले पनि आफ्नो लेखन र ‘फिल्म बुझाइ’को स्तर उकास्न आवश्यक छ।

‘फेमिली इन्टरटेनर’को अभाव 
जुनसुकै उमेर, लिंग र बौद्धिकता भएकालाई रिझाउन सक्ने फिल्मको नै टिकट बढी बिक्छ। जीवनका जटिल विम्ब, दर्शन वा कुनै वादमा आधारित फिल्म कम बौद्धिकता भएकाले बुझ्न सक्दैनन्। परिपक्व मनोविज्ञान पस्कियो भने बालबालिकालाई पट्यार लाग्न सक्छ। यौनको प्रसंग देखाइयो भने पारिवारिक दर्शकले टिकट नै काट्दैनन्। राजनीतिक विषयको फिल्म हो भन्ने थाहा पायो भने राजनीतिप्रति वितृष्णा हुनेहरू हल नै जाँदैनन्। समीक्षकका नजरमा गतिलो ठहरिएको फिल्म ‘फेमिली इन्टरटेनर’ नहुन सक्छ। त्यस्ता फिल्मले सेन्सर बोर्डबाट ‘एडल्ट’ सर्टिफिकेट पनि पाएको हुन सक्छ। अर्थात्, सपरिवार दर्शकलाई प्रवेश निषेध !  

‘स्केपिजम’को समस्या 
समाजका समस्यालाई मिहीन ढंगले केलाइएको यथार्थपरक फिल्म नै समीक्षकले मन पराउने हुन्, जहाँ समाजमा व्याप्त गरिबी, अशिक्षा र भ्रष्टताजस्ता पक्षलाई उजागर गरिएको हुन्छ। धेरैजसो दर्शक आफूले भोगिसकेका यस्ता विषयमा घोत्लिनुभन्दा अर्कै ‘फ्यान्टासी’मा रमाउन चाहन्छन्। यो ‘स्केपिज्म’ अर्थात् पलायनवाद हो। यही कारणले गर्दा पनि दर्शकको ठूलो हिस्सा यथार्थपरक फिल्मदेखि तर्किएका हुन्। दर्शकको यो पलायनवादी सोच फिल्मकर्मीका लागि ठूलो चुनौती हो।

मिडियाको असहयोग
फरक काम गर्ने फिल्मकर्मीलाई मिडियाले सहयोग गर्नुपर्ने हो। मिडियाले सधैँ नयाँ शैली, सोच र विषयका फिल्मलाई प्रोत्साहित गर्नुपर्ने हो। तर, हामीकहाँ अधिकांश फिल्म पत्रकार यो मामिलामा जागरुक छैनन्। नेपालमा ‘एक्सपेरिमेन्टल’ अथवा प्रयोगवादी र अर्थपूर्ण फिल्म बन्यो भने त्यसको प्रवद्र्धनमा अरू विधामा कलम चलाउने पत्रकार अगाडि सर्छन्। फिल्म पत्रकार चाहिँ मौन बसिदिन्छन्। यसो हुनुमा दुई कारण छन्, धेरै फिल्म पत्रकारले फिल्म नबुझ्नु र फिल्मले विज्ञापन नदिनु। कुनै पनि फिल्म किन राम्रो वा किन नराम्रो भन्ने विश्लेषण गर्न नसक्ने फिल्म पत्रकार पनि छन्। उनीहरूलाई ‘आर्टिस्टिक’ फिल्मले नछुन सक्छ। त्यस्तै, विज्ञापन दिने फिल्मको मात्र प्रचार गरिदिने प्रवृत्ति केही फिल्म पत्रकारमा पाइन्छ।  

वितरक-प्रदर्शकको उदासीनता 
नेपालमा फिल्म बनाउनभन्दा चलाउन गाह्रो छ। निर्माताहरूको यस्तो खाले गुनासोमा दम छ। वितरक तथा प्रदर्शक सधैँ ठूला कलाकारका पछाडि मात्र कुद्छन्। कलाकार होइन, ‘कन्टेन्ट’लाई प्राथमिकता दिनुपर्छ भन्ने मान्यता उनीहरूको छैन। उनीहरूलाई पैसा कमाउने फिल्मको मात्र सुर्ता हुन्छ। कसैले फरक खालको फिल्म बनाएको छ, तर त्यसमा लोकप्रिय कलाकार छैन भने वितरकले फिल्म लिन नै मान्दैनन्। प्रदर्शक अर्थात् हलवालाले पनि फिल्म चलाउने इच्छा देखाउँदैनन्। प्रायः समीक्षकले मन पराउने फिल्ममा लोकप्रिय कलाकार हुँदैनन्।

राम्रो तर अपर्याप्त
समीक्षकले नेपाली सन्दर्भमा रहेर फिल्मको मूल्यांकन गरेका हुन्छन्। नेपालमा अहिले बनिरहेका फिल्मको तुलनामा फरक र नयाँ लाग्ने फिल्मलाई खुलेरै तारिफ गर्छन्। तर, यसको मतलब यो होइन कि, ती फिल्म संसारकै उत्कृष्ट फिल्म हुन्। समीक्षकले त प्रोत्साहन होस् भनेर पनि फिल्मको गुणगान गाइरहेका हुन्छन्। र, यो कुरा बुझ्ने दर्शक पनि नेपालमा छन्। उनीहरूलाई नेपाली समीक्षकका नजरमा मात्र राम्रो ठहरिएका होइन, अन्तर्राष्ट्रिय स्तरमै राम्रो ठहरिने फिल्मले मात्र आकर्षित गर्न सक्छ। त्यसैले त्यस्ता दर्शकलाई समेत लोभ्याउन सक्ने फिल्म नेपालमा बन्न जरुरी छ।
 

तपाईको कमेन्ट